डा ऋषिकेश रिजाल
कोरोना महामारीले पुर्याएको मानवीय क्षतिसँगै अब आउँदा दिनमा सामाजिक-आर्थिक एवं स्वास्थ्य क्षेत्रमा डरलाग्दो र अकल्पनीय क्षति पुर्याउने निश्चितप्राय: नै छ। कोरोना महामारीले निम्त्याउने समस्या न्यूनीकरणका उपायबारे विभिन्न क्षेत्रका निकाय र विज्ञहरुमाझ छलफलसँगै योजनाहरु सुरु भएका छन्। तर सबैभन्दा संवेदनशील, मानव जीवनसँग प्रत्यक्ष जोडिएको र सबैभन्दा धेरै प्रभावित हुने स्वास्थ्य क्षेत्रले अब कसरी अगाडि बढ्ने, क्षति न्यूनीकरण गर्दै कसरी स्वास्थ्य सेवा प्रवाह गर्ने भन्ने विषयमा आवश्यक छलफल र पूर्वतयारीमा अग्रसरता देखाएको पाइँदैन।
भाइरसले निम्त्याउने क्षति न्यूनीकरणबारे अझै ढिलासुस्ती गर्ने र बेलैमा बुद्धि नपुर्याउने हो भने हामी जसरी महामारी नियन्त्रण गर्न कमजोर र असफल देखिएका छौं, त्योभन्दा खराब र जर्जर अवस्थाको सामना गर्नुपर्ने छ।
महामारीको असर घट्ने क्रमसँगै विस्तारै लकडाउन खुकुलो हुँदै जाँदा मानिसको आवागमनमा वृद्धि, विदेशबाट स्वदेश फर्कने मानिसको संख्या बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्ने छ र संक्रमण फैलने खतरा स्वत: बढेर जाने छ। यस्तो अवस्थमा संक्रमणको जोखिम न्यूनीकरण कसरी गर्ने, बिरामी र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने गम्भीर प्रश्न खडा हुन्छ।
अब बिरामीको उपचार गर्दा पहिलेको भन्दा अवस्था फरक हुने छ किनकि कोरोनाको जाँच युनिभर्सल प्रिकसनमा समावेश हुने छ। हामीसँग जाँचको उपलब्धता कति छ? यदि पोजेटिभ आएमा बिरामी आइसोलेसनमा राख्नुपर्ने हुन्छ। त्यसका लागि हामीसँग सबै अस्पतालमा आइसोलेसन वार्डको उपलब्धता छ कि छैन? बिरामी उपचार गर्न आवश्यक पिपिई, मनिटर, भेन्टिलेटर लगायतका साधनको मात्रा कति छ र आवश्यकता पूर्ति गर्न सक्षम छौं कि छैनौं? उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी र तिनीहरुको परिचालन कसरी गर्ने? यसका लागि आवश्यक तयारी के छ?
अर्कोतर्फ, अतिप्रभावित क्षेत्र मातृ सुरक्षा र नवजात शिशुको सुरक्षा रहेको छ। केही वर्षदेखि लागू गरिएको मातृ सुरक्षा कार्यक्रम र खोपको दायरा बढेसँगै क्रमश: अहिले नेपालको मातृ मृत्युदर २३९ प्रति एक लाख जीवित जन्म, शिशु मृत्युदर २६.७ प्रति एक हजार जीवित जन्ममा झरेको थियो। तर केही महिनादेखि प्रभावित सुत्केरी सेवा तथा उपचारले फेरि यो संख्या बढ्ने सम्भावनासँगै हजारौं बालबालिका आमाविहीन हुने छन्।
त्यस्तै नियमित खोप सेवा पाउनबाट लाखौं बालबालिका बन्चित छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भन्ने दादुरा मात्रको खोप पाउनबाट विश्वभरका करिब एक करोड बच्चा बन्चित हुने छन्। यसैलाई अधार मान्दा पनि हाम्रो जस्तो सुविधा कम भएको र सबै ठाउँमा आवश्यक सेवा पुर्याउन असफल राष्ट्रमा हजारौँ बच्चाले खोप नपाई कलिलै उमेरमा जीवन गुमाउने अवस्था आउने छ भने अभिभावक सन्तानविहीन बन्ने छन्। यो अवस्था आउन नदिन हाम्रो तयारी के छ?
त्यस्तै दु:ख सहिरहेका वृद्धवृद्धा, दम, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुरोग लगायतका दीर्घरोगीहरुको समूहको अवस्था त अझ सोचिनसक्नु गम्भीर र भयङ्कर छ। नियमित स्वास्थ्य उपचार र स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने यस्ता लाखौं बिरामीमध्ये कति जनाले उपचार अभावमा ज्यान गुमाए र आगामी दिनमा त्यो संख्या कति घट्छ बढ्ने भन्ने तथ्यांकको लेखाजोखा न त सरकारले राखेको छ न त सेवाप्रदायक संस्थाहरुले नै। आगामी दिनमा उपचार सेवा लिन अस्पताल आउने उच्च जोखिममा रहेको यो समूहका बिरामीलाई सम्भावित संक्रमणबाट बचाई कसरी सेवा प्रदान गर्ने भन्नेबारे हामी सबै उत्तरिवहीन छौं।
बढ्दै गरेको गर्मी र वर्षासँगै फैलने विभिन्न सरुवा रोगको उपचार र नियन्त्रण अर्को चुनौती बनेर आउने छ। तर यस्ता कहालीलाग्दा, गम्भीर र अत्यन्त संवेदनशील विषयमा पनि सम्बन्धित निकायको ध्यान नपुगेको देख्दा दु:ख लाग्छ।
हाम्रो जस्तो दह्रो उभिन आवश्यक मेरुदण्ड नै कमजोर भएको, आफैंभित्र अनेकन समस्याले घेरिएर घिस्रिरहेको र अहिलेसम्म 'जे पर्ला सो टर्ला' भन्दै काम चलिरहेको स्वास्थ्य क्षेत्रले यो महामारीका बेला यत्रो दु:ख, उतारचढाव देखिसकेपछि जुन सुझबुझका साथ आवश्यक परिवर्तन र कार्ययोजना बनाएर तयार हुनुपर्थ्यो, त्यसको कमी देखिएको छ। यथास्थितिमा चल्न खोजे हामीले भोग्ने दु:ख र समस्या सम्हालिनसक्नु हुने छ।
त्यसैले अब कसरी अगाडि बढ्ने, सेवा प्रवाहको स्वरुप कस्तो हुने, बिरामी र स्वास्थ्यकर्मीको सुरक्षाका लागि के-कस्ता उपाय अबलम्वन गर्ने, पूरै स्वास्थ्य संरचनालाई सुधार गर्दै कसरी बलियो र प्रभावकारी बनाउने भन्ने विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी, सेवा प्रदायक संस्था, स्वास्थ्य मन्त्रालय लगायत सबै सम्बन्धित निकायले गम्भीर अध्ययन, बहस र योजना बनाई अगाडि बढ्नुपर्ने देखिन्छ।
यसको लागि नेतृत्व गर्नुपर्ने सरकार भने नेपालीको रोग प्रतिरोधात्मक शक्ति धेरै भएको, हामीले दैनिक प्रयोग गरिरहेका वस्तुहरु नै अचुक र उत्तम औषधि भएको भन्दै भ्रमको खेती गर्न व्यस्त देखिन्छ।
केही दिनदेखि चुलिएको सीमा विवाद सरकारलाई स्वास्थ्य क्षेत्रका कमजोरी, आलश्यता, अक्षमता, असंवेदनशीलता र अकर्मन्यता लुकाउन तुरुपको एक्का सिद्ध भएको छ। तर सधैं आफ्नो हातमा तुरुप नपर्न सक्ने यथार्थलाई आत्मसात गर्दै बेलैमा सबै सम्बन्धित निकायलाई समेटेर विचार-विमर्श, छलफल गर्दै आवश्यक नीति-योजना बनाएर अगाडि बढे सम्भावित क्षति कम गर्न सकिने छ। अन्यथा ठूलो मानवीय क्षति व्यहोर्नु पर्ने छ।