शरदचन्द्र ओझा
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब बजेट बिनियोजन गरेको छ। कुल रकममध्ये स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ छुट्याइएको छ जुन ६.१५ प्रतिशत हो।
स्वास्थ्य क्षेत्रलाई अझै परिणाममुखी बनाउन खोजेको ०७७/७८ को बजेटमा औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पैठारीमा मूल्य अभिवृद्धि कर छुट दिई त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था मिलाइएको छ। आयुर्वेदिक औषधिको कच्चा पदार्थको भन्सार महसुल घटाएको छ।
बजेटमा समेटिएका यस्ता विषय सुन्न र पढ्नमा केही हदसम्म राम्रो लागे पनि अहिलेको विषम परिस्थितिको सन्दर्भमा भने आयात घटाउँदै स्वदेशी उत्पादनलाई द्रुत गतिमा देशभित्र र बाहिर पनि पठाउन सक्ने क्षमता वृद्धि तथा व्यावहारिक प्रक्रियामा छुटको व्यवस्था मिलाउने विषयमा चुकेको देखिन्छ।
भारत लगायत अरु आत्मनिर्भर राष्ट्रहरुको उदाहरणबाट के हामीले सिक्न सक्दैनौं र? अहिले कोरोनाले फैलाएको महामारीको अवस्थामा, स्यानिटाइजर बनाउन केही छुट दिएको जस्तै स्वदेशी उद्योगहरुको प्रवर्धनमा जोरले लागेको खण्डमा राष्ट्र र जनताले अवश्यमेव लाभ पाउने थिए र यो हाम्रो निमित्त गौरवको विषय पनि हुन सक्ने थियो।
सिमाना मिच्दा उम्लिने राष्ट्रवादलाई यी लगायतका यस्तै कार्यहरुले टेवा पुर्याउन सक्छ भन्ने तथ्य हामीले बिर्सनु हुन्न। औद्योगिक क्रान्ति ल्याउनु आजको आवश्यकता हो भन्ने कुरो पनि उत्तिकै सान्दर्भिक छ। भूकम्प गएको बेला होस, भारतबाट औषधि नपठाइएको बेला होस र अहिले कोरोना कहरको बेला पनि नेपाल भित्रकै उत्पादनहरुले आपूर्ति थेग्न खेलेको भूमिकाले पनि राष्ट्रिय उद्योगको सम्वर्धन हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ।
इतिहासको विगतको कालखण्डमा सरकारहरुको निरन्तर आयातमुखी व्यवस्थाहरुको बेलामा पनि कयौँ पटक यस्तो समय आयो, जब देशभित्रै उद्योगहरुको सम्वर्धनको आवश्यकता महसुस पनि भयो। तर पनि बाटाहरु खोज्दै जाँदा आयातकै विषयमा जहिले पनि निर्णयको सुई तेर्सिएको देखिन्छ। एक किसिमको डर जहिले पनि रहने, आयात घट्दा राजस्व होस अथवा देशभित्र र बाहिरबाट विरोधका स्वरहरु उठ्छ कि भन्ने हाउगुजी हावी नै रहेको देखिन्छ।
परनिर्भरताबाट आत्मनिर्भरतातिर जानु भनेको राष्ट्रले एउटा ऐतिहासिक फड्को मार्नु हो। रोजगारी सिर्जना हुनु हो, अर्थतन्त्रलाई टेवा पुग्नु हो। आपूर्ति व्यवस्थित हुनु हो र सबैभन्दा उच्च हाम्रो शीर ठाडो हुनु हो भन्ने कुरा हामी सबैले नबुझेको पनि होइन। तर पनि बिरालाको घाँटीमा घण्टी झुण्ड्याउने कार्य गर्नमा सधैँ हिचकिचाहट हुनुमा पनि कुनै अर्थ छ जस्तो लाग्दैन। हाम्रो नेपाललाई आत्मनिर्भर बनाउन जनता सरकार र सबैको उत्तिकै जिम्मेवारी हुन्छ भन्ने कुरो पनि हामीले बिर्सनु हुन्न।
यसै सन्दर्भमा छिमेकी मुलुक भारतको औषधि उत्पादनको इतिहास केलाएर हेर्दा, हामीलाई पनि प्रेरणा मिल्न सक्ने प्रशस्त तथ्यहरु भेटिन्छन्।
भारतमा पहिलो कम्पनी १९०१ मा आचार्य पिसी रेले बङ्गाल केमिकल स्थापित गरेका थिए। त्यसभन्दा पहिले र त्यसपछि पनि सम्पूर्णजसो औषधिको आवश्यकता विदेशबाट नै पूर्ति हुने गर्दथ्यो। तर १९३९-१९४५ भारत स्वतन्त्र हुनुपूर्व नै, जब विदेशबाट आयातमा दरो रुपमा कमी हुन गयो, तब भारतले आफ्नै देशभित्र उत्पादनको दायरा बढाउनुपर्छ भन्ने महसुस गर्यो। जसको फलस्वरुप नयाँ उद्योग स्थापना हुन थाले। उक्त समयमा युनिकेम, केमो फर्मास्युटिकल्स, जण्डु फर्मास्युटिकल वर्क, कलकत्ता केमिकल, स्टान्डर्ड केमिकल, केमिकल इण्डस्ट्रियल एण्ड फर्मास्युटिकल्स ल्याबोरेटोरी (सिप्ला), इस्ट इण्डिया फर्मास्युटिकल वर्क्स इत्यादि कम्पनीहरु स्थापनामा आए।
त्यही समयको सेरोफेरोमा भारतको आफ्नै उत्पादनले देश भित्रको आवश्यकताको ७० प्रतिशतसम्म थेग्न थाल्यो। यही वैज्ञानिक नीति अवलम्बन गर्दै पछिका नीति-नियम तथा सरकारहरुको दूरदर्शी प्रयासले गर्दा वर्तमानसम्म आइपुग्दा भारत विश्वको औषधि बजारको एक अग्रणी खेलाडी हुन पुगेको छ। आज परिणामको आधारमा तेश्रो, बिक्री मूल्यको आधारमा १४औं राष्ट्र हुन पुगेको छ।
जेनेरिक औषधिमा चौथो, निर्यातमा १७औं रहेको भारतले आज १५० देशमा फर्मुलेसन निर्यात गर्छ भने संसारका करिब २०० देशमा आफ्नो औषधि बिक्री गर्ने गर्छ। औषधि मात्र होइन, उत्पादनमा प्रयोग हुने मेसिन लगायत सम्पूर्ण वस्तुहरुको निर्यात गर्छ र देशलाई प्रशस्त विदेशी मुद्राको कमाइमा सहयोग पुर्याएको छ।
नेपालमा फार्मेसी पेसाको इतिहास केलाएर हेर्दा सन् १६४१-१६७४ मा प्रताप मल्लले दरबारभित्र आयुर्वेदिक औषधि उत्पादन गर्ने लघु उद्योग खोलेको देखिन्छ। सुगौली सन्धिपछि राणाकालमा पहिलो पटक ब्रिटिस रेसिडेन्सीको सहयोगमा काठमाडौंमा एउटा फार्मेसी स्थापना गरी उतैबाट आएका चिकित्सकहरुमार्फत सुरुवाती उपचार भएको तथ्यहरु भेटिन्छ।
देशमा पहिलो पटक सन् १९६९ मा केमी ड्रग इण्डस्ट्रिजले एलोप्याथिक औषधि उत्पादन सुरु गरेको थियो भने १९७२ मा तत्कालीन शाही उद्योग लिमिटेडको स्थापना भएको थियो। नेपाल सरकारले यसको नियामक निकाय औषधि व्यवस्था विभाग सन् १९७९ मा स्थापित गरी प्रारम्भिक कार्यहरु सुरु गरेको थियो।
यो ५१ वर्षको अवधिमा राष्ट्रिय गौरव बन्न सक्ने स्वदेशी औषधि उद्योगले अप्रत्यासित फड्को मारिसक्नुपर्ने थियो। आकांक्षा अनुरुप प्रगति नभए पनि निजी क्षेत्रको प्रयासबाट प्रविधिमा विश्वसापेक्ष विकास र गुणस्तरीय उत्पादन एवं वैज्ञानिक बजारीकरण अवधारणाको माध्यमले ४५ प्रतिशतसम्मको सेयर नेपाली बजारमा स्थापित गर्न सक्नु अत्यन्तै सराहनीय छ। अझै पनि देश पूर्ण आत्मनिर्भर हुन ५५ प्रतिशतको सेयरको स्थान रिक्त छ। यही ५५ प्रतिशतको निमित्त राज्यले र विद्यमा उद्योगहरुले हातेमालो गर्दै होस्टे अनि हैँसे गर्नुपर्ने देखिन्छ।
औषधि उद्योगको विकास क्रममा केही उलेख्य तथ्यहरुले मार्ग प्रशस्त गर्ने गर्दछन्:
(१) सुरुवातमा हाम्रो देशमा विदेशी कम्पनीहरुको वर्चस्व थियो भने व्यवस्थित स्वदेशी प्रतिष्ठानहरुको कमी थियो।
(२) सन् १९७९ मा नियामक निकाय औषधि व्यवस्था विभागको स्थापना र कार्यव्यवस्थापन प्रारम्भ, वर्गीकरण तथा कानुनहरुको तर्जुमा गर्ने कार्यहरुको थालनी, स्वदेशी उद्योगहरुको पनि विस्तार प्रारम्भ।
(३) प्रविधिको विकास, उत्पादनका निमित्त चाहिने पूर्वाधारहरु जगेर्ना (विकास) अनि यसका साथै निर्याततिर पनि राज्य लगायत सबैको सोच हुनुपर्ने थियो, जुन भएको देखिएन।
(४) सबै मिली स्वदेशी बजारीकरणमा उलेख्य प्रगति, वैज्ञानिक खोज र अनुसन्धानमा जोड।
(५) नेपाली फर्मुलेसनको विकास, परिणाममुखी अनुसन्धान हुनुपर्छ।
माथि उल्लेखित विकासक्रमलाई नियाल्दा हामी २०२० को मध्यतिर आइपुग्दा अझै पनि तेस्रो अथवा चौथोमा रुमलिइरहेका छौँ। अझै गर्न धेरै बाँकी रहेको अवस्थामा अभिभावकत्व त राज्यले नै लिनुपर्छ भन्ने लाग्छ। बेलाबेलामा आपूर्तिको सवालमा आइपर्ने अप्ठ्याराहरुलाई मात्रै पनि घोत्लिएर हेर्दा यसको आवश्यकता महसुस हुन्छ।
दुई ढुङ्गाबीचको तरुल हामीले व्यापारिक साँघुको रुपमा आफ्नो विज्ञता देखाउन सके यसबाट थप ऊर्जा बढ्ने निश्चित छ।
यता दक्ष जनशक्तिको उत्पादन र विकासको कुरा गर्नु पर्दा, नेपाल भित्रै अनि विदेशबाट पढेर आएका युवा वैज्ञानिकहरुको उल्लेख्य सहभागिता भइसकेको छ। प्रारम्भमा छिमेकी मुलुक भारतबाट आएका उत्पादन विज्ञहरुले यहाँ आफ्नो सिप देखाउँथे भने अहिले प्राय: सबै स्वदेशी उद्योगमा आफ्नै योग्य जनशक्तिले आफ्नो योगदान दिइरहेका छन्। यो पनि हाम्रो मुलुकमा औषधि उद्योगको विकास गर्न महत्वपूर्ण स्रोत हुन गएको छ।
अन्त्यमा, आत्मनिर्भर हुन चाहिने पूर्वाधारहरुको उचित व्यवस्थापन भइसकेको, राष्ट्रलाई पनि आपूर्ति सहजताको आवश्यकता रहेको, राष्ट्रको शीर उचो राख्नुपर्ने भएको, रोजगारीको पनि प्रशस्त सम्भावना वृद्धि हुन सक्ने अवसर भएको कारणलाई हृदयङ्गम गर्दै सबैको सेवा, सद्भावबाट यस क्षेत्रलाई अझै माथि उकास्न योगदान गर्नुपर्छ। यो आजको प्रमुख आवश्यकता हो।
(ओझा आइडियल फर्मास्युटिकल्स कम्पनी प्रालिका कार्यकारी निर्देशक हुन्)