खिम लामिछाने काजी
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग भाइरसका कारण लाग्ने गर्छ। सामान्यतया डेंगु भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।
कोरोना कहरले आक्रान्त पारेको वर्तमान अवस्थामा डेंगु सक्रमण पनि बढिरहेको पाइन्छ। डेंगुको उपचार गर्न अस्पातल जान पनि धेरै गाह्रो अवस्था छ। सबैको ध्यान कोरोना भाइरस (कोभिड-१९) मा भएकोले गर्दा देशका सबैजसो अस्पतालमा सजिलै उपचार पाउने अवस्था पनि छैन।
गत वैशाख महिनामात्रै म्याग्दी जिल्लामा डेंगु सङ्क्रमितको संख्या ७ पुगिसकेको थियो। त्यसैगरी केही दिन अगाडि मात्रै बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलसनमा रहनुभएका बबई गाउँपालिका- ६ का ३० वर्षीय पुरुषमा जाँच गर्दा डेंगु भेटिएको थियो । मौसम परिवर्तनसँगै जेठ महिनासम्म गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा २, कास्कीमा ३, बाग्लुङमा ३, स्याङ्जामा १, नवलपरासी सुस्ता पूर्वमा १ जनासँगै ११ जना डेंगुका बिरामी भेटिएका छन्।
प्रदेश १ को झापामा १, मोरङमा ३, सुनसरीमा २ गरी ६ जना डेंगु रोगका बिरामी भेटिएका छन्। त्यसैगरी, काठमाडौंमा ३, ललितपुरमा ३, रामेछापमा १, मकवानपुरमा १, नुवाकोटमा १ जना गरी बागमती प्रदेशमा ९ जना रोगी भेटिएका छन्। प्रदेश नम्बर ५ मा नवलपरासी सुस्ता पश्चिम १, रुपन्देही १४, कपिलवस्तु १, बाँके १ गरी १७ जना डेंगुका बिरामी भेटिएका छन्। सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा १ र कैलालीमा १ गरी दुई जना बिरामी देखापरेका छन्।
देशभर डेंगु सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ। सुनसरी जिल्लामा एकै गाउँमा २०७६ सालमा मात्रै तीन हजारभन्दा बढी व्यक्तिलाई डेंगुको सङ्क्रमण भएको पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ। २००६ यता यो प्रकोपका रूपमा क्रमश: बढ्दै गएको छ।
नेपालमा १४ जनाले डेंगुका कारण ज्यान गुमाइसकेका छन्। विकिपिडियाका अनुसार प्रत्येक वर्ष संसारभरि करिब ५ करोड मानिसहरु डेंगु संक्रमणको सिकार बन्ने गर्छन्, जसमध्ये करिब १० हजार जनाले सोही संक्रमणका कारण ज्यान समेत गुमाउने गर्छन्।
प्लाष्टिकजन्य वस्तुहरुको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगु सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ। अण्डाबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेंगु सङ्क्रमित लामखुट्टेको जीवनचक्र चार साताको हुन्छ। यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन। यो लामखुट्टेको स्वभाव घर वरिपरि रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ।
कोरोनाबाट बच्नका लागि सरकारले लकडाउनको नीति अपनाइरहेको अवस्थामा मान्छेहरु घर भित्र बस्दै गर्दा बाहिरी वातावरणमा रहेका पानी जम्ने खोल्टाहरु, बाहिर मिल्काइएका भाँडा, टायर लगायत पानी जम्ने ठाउँमा लामखुट्टेले फूल पारी लामखुट्टेको संख्यामा व्यापक वृद्धि भइरहेको छ। त्यसैले कोरोना सङ्क्रमणसँगसँगै डेंगु सङ्क्रमणबाट बच्ने उपायहरु समयमै अबलम्वन नगरिए माहामारी पनि निम्तिन सक्ने सम्भावना रहेको छ।
डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइका कारणले हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ।
डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्छ। डेंगु रोग इन्डियन सबकन्टिनेन्ट, साउथ एसिया, साउथर्न चाइन, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका जस्ता ठाउँहरुमा बढी पाइने गरेको छ। सबैभन्दा धेरै साउथ इस्ट एसिया र वेष्टर्न पेसिफिक आइल्यान्डमा देखिएको छ। २०१५ को सेप्टेम्बर महिमाना भारतको नयाँदिल्लीमा मात्रै १८७२ जना बिरामी डेंगु रोगले संक्रमित भएको पाइएको थियो।
नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। सन् २००६ मा चितवनमा डेंगुका रोगीहरु भेटिएका थिए। सन् २०१० मा ९०० भन्दा धेरै बिरामी देशका विभिन्न ठाउँमा भेटिएका थिए। तीमध्ये पाँच जनाको मृत्यु भएको थियो। विसं २०७३ मंसिरमा झापाको दमकमा डेंगुको सङ्क्रमणबाट एक जना भारतीय नागरिकको मृत्यु भएको थियो। सन् २०१२ अक्टुबरमा भारतीय सिनेमा उद्योगका चर्चित व्यक्ति यस चोपराको डेंगु रोगको कारण मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले निरन्तर वृद्धि भइरहेको छ।
२०१६ मा वर्ड हेल्थ अर्गनाइजेसनले डेंगुको लागि 'सनोफी पास्चर डेङभ्याक्सिए’ नामको भ्याक्सिन बनाएको थियो। यो भ्याक्सिन ९ देखि ४५ वर्ष उमेर समूहका बिरामीलाई दिने गरिन्छ। तर यो भ्याक्सिन त्यति प्रभावकारी नदेखिएको हुँदा वर्ड हेल्थ अर्गनाइजेसनले नै लामुखुट्टेबाट बच्ने र लामखुट्टे मार्नुलाई नै बढी प्रथामिकता दिएको छ।
अहिलेसम्म डेंगु मानिसबाट मानिसमा सरेको छैन। डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्छ। लामखुट्टेको अलावा मानिसको तीव्र बसाइसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ। भारतका केही ठाउँमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवाना लगायत दण्ड सजाय दिने भनिएको थियो।
डा सुधीर अधिकारीका अनुसार डेंगुको खास उपचार छैन। यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। गम्भीर अवस्थाका डेंगुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ। डेंगुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ, तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुन्छ। यसका साथै रक्तचाप ब्लड प्रेसर कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ।
डेंगु एक भाइरसको कारणले हुने रोग हो। यो ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखा पर्छ। वर्षाको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्छ।
डेंगु एक प्रकारको भाइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै: डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखा पर्दछन्। यो रोगको बिरामीलाई समय मै अस्पातल पुर्याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ। हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ।
डेंगु रोगले सक्रमित व्यक्तिमा रुघाखोकी र तीव्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धडकन कम हुने, आँखा रातो हुने, अनुहार गुलावी देखिने, खल्खली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमीराहरु देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, विशेषगरी नाक, मुख र मांसपेसीबाट, डेंगु हेमोरेज फेबर, पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगहरुमा रक्तसञ्चार सुचारु हुन नसक्ने जस्ता लक्षण देखिन्छन्।
डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगका लक्षणसँग पनि मिल्दाजुल्दा हुन्छन्।
डेंगु रोगबाट बच्न सावधानीका उपाय
• डेंगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्ने।
• घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिने।
• लामखुट्टे भएको ठाउँमा जाँदा शरीर पूरै ढाकिने गरी कपडा लगाउने।
• घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्ने।
• बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मल्हम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ।
• घरभित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनुपर्छ।
• औषधि छर्किसकेपछि घरको झ्यालढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्दा राम्रो हुन्छ।
• डेंगुको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ।
• डेंगु लागेको लक्षणहरु देखा परेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने।
• जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने।
• घरका झ्यालढोकामा लामखुट्टे भित्र जान नदिन जाली राख्नुपर्छ।
• लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने।
• ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ।
• डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थ सेवन गर्ने।
• अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्ने।
डेंगुका बिरामीले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ भनिन्छ। डेंगुका बिरामीलाई एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्न दिनुहुँदैन। यस्ता औषधिले रक्तश्राव बढाउँछ। पारासिटामोल तथा कोडिन जस्ता औषधिको प्रयोग गर्न सकिन्छ। गम्भीर बिरामीलाई अस्पतालमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ। १० वर्षभन्दा कम उमेर समूहका बालबालिकामा यो रोग सर्ने प्रबल सम्भावना हुन्छ। यो रोगको कारण ६ प्रतिशतदेखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्युदर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेमा मृत्यु हुने सम्वाभना बढी हुन्छ।
लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो। त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। कोरोना भाइरसबाट बच्ने उपाय अपनाइरहँदा घर वरपर रहेका पानी जम्नसक्ने ठाउँहरु पुर्ने र सरसफाइमा ध्यान दिने, कसरी हुन्छ लामखुट्टेको टोकाइबाट बच्ने गर्नुपर्छ।
पहिले डेंगु संक्रमित भइसकेकालाई पुनः संक्रमण भएमा स्वास्थ्य स्थिति जटिल बन्न सक्छ। त्यस्तै गर्भवती र डेंगु पुन: संक्रमित रोगी, दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने हुन्छ। त्यसैगरी कोरोनासँगै डेंगुको पनि संक्रमण भयो भने ज्यानै जान सक्ने सम्भावना हुन्छ। त्यसैले कोरोना संक्रमणको भयावह अवस्थामा डेंगु संक्रमणको रोकथाम गर्न ज्यादै नै आवश्यक देखिन्छ।
'प्रिभेन्सन इज बेटर देन केयर' रोग लागेर उपचार गर्नुभन्दा रोकथामको उपाय गर्नु नै बेस हुन्छ। सजक हौं, सावधानी अपनाऔं, कोरोना तथा डेंगु लगायत सबै प्रकारका संक्रमण हुनबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं!