उमेशप्रसाद गुप्ता
कम्प्युटर र इन्टरनेटको द्रुत वृद्धि र विस्तारसँगै विश्व अहिले डिजिटल विश्वको रुपमा विस्तारित भइसकेको हामी सबैले अनुभव गर्न सक्छौं। दस वर्ष अगाडिसम्म हामीले प्रयोग गर्दै आएका अध्यापन, साक्षरता र सेवा प्रवाह जस्ता शब्दहरु अहिले डिजिटलअध्यापन, डिजिटल साक्षरता र डिजिटल सेवा प्रवाह जस्ता शब्दमा रुपान्तरित हुन थालिसकेका छन्।
बढ्दो स्वचालित उपकरणहरूको प्रयोग तथा प्रयोगशाला सूचना प्रबन्धन प्रणालीको प्रयोगले स्वास्थ्य प्रयोगशाला सेवा पनि अहिले डिजिटल भइसकेको अवस्था छ। केही वर्ष अगाडिसम्म विकसित मुलुकमा मात्रै प्रयोग भएको यो प्रणाली अहिले नेपालका रेफरल प्रयोगशाला तथा केही सरकारी प्रयोगशालामा पनि प्रयोग गर्न थालिएको छ।
प्रयोगशाला सूचना प्रबन्धन प्रणाली एउटा सफ्टवेयर प्रणाली हो, जसले प्रयोगशालामा बिरामीको नमुना परीक्षण र तिनका परिणामहरु तथा सोसँग सम्बन्धित डाटाहरुलाई व्यवस्थित गरी प्रयोगशालाको समग्र काम कारबाहीलाई सजिलो बनाउँछ।
परम्परागत रुपमा प्रयोगशालामा बिरामीहरु जाँदा तिनका नाम लगायतका जानकारीहरु पेपर अथवा ढड्डामा लेख्ने गरिन्थ्यो। बिरामीका नमुना संकलन गर्ने भाँडोहरुमा पनि नाम अथवा नम्बर लेखी कोडिङ गर्ने गरिन्थ्यो। प्रयोगशाला परीक्षणपश्चात आएका परिणामहरु पनि लेखेर नै दिने गरिन्थ्यो। यी सबै काम हातले नै गर्नुपर्ने हुँदा कहिलेकाहीँ बिरामीको नाम उमेर अथवा रिपोर्ट नै गलत लेखिने समस्या आउने गर्थ्यो।
सफ्टवेरको प्रयोगले यी सबै समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। बिरामीको विस्तृत विवरण कम्प्युटर अथवा ट्याब्लेटमार्फत सफ्टवेयरमा राखिसकेपछि, यसैले बार्कोड निकाल्ने र परीक्षणका नतिजाहरु स्वचालित रूपमा प्रिन्ट गर्न अथवा बिरामी र चिकित्सकलाई इमेलमार्फत पनि पठाउन मिल्ने हुन्छ। यदि प्रयोगशालामा स्वचालित मेसिनहरु प्रयोग गरिएको छ भने ती मेसिनलाई यो सफ्टवेयरसँग द्विदिशात्मक इन्टरफेसिङ गर्न सकिन्छ। यसबाट मेसिनले नै बिरामीको नमुनाको भाँडोमा टाँसिएको बार्कोडमा भएको जानकारी अनुसारको परीक्षण स्वतः गर्ने तथा परीक्षणका परिणामहरु पनि स्वतः सफ्टवेयरमा पठाउन सक्छ।
विकसित मुलुकका परिष्कृत तथा उच्च टेक्नोलोजीका प्रयोगशालामा बिरामीका रगत पनि मेसिनले नै निकाल्ने गरिन्छ। यसरी सबै स्वचालित मेसिनहरुलाई यस सफ्टवेयरमा जडान गरिसकेपछि, बिरामीको परीक्षण विवरणसहितको बार्कोड निकाल्ने र नमुनाको भाँडोमा टाँस्ने , बिरामीको रगत झिक्ने, परीक्षणका नमुनाहरु स्वचालित ट्रलीमार्फत सम्बन्धित मेसिनमा पुर्याउने, मेसिनले परीक्षण गर्ने तथा परीक्षणका परिणामहरु सफ्टवेयरमा आउने जस्ता सम्पूर्ण काम स्वचालित रूपमा हुने गर्छ। त्यसैले ती प्रयोगशालाहरूमा बिरामीको रगतको नमुना झिक्न तथा मेसिन चलाउनको लागि प्रयोगशाला विज्ञहरूको आवश्यकता नै पर्दैन। प्रयोगशाला विज्ञहरुले उक्त प्रणालीको प्रयोग गरी मेसिनले पठाएका रिपोर्टहरुलाई भेरिफाइ गर्ने काम मात्रै गर्छन्
हालको अवस्थामा सूक्ष्मदर्शक यन्त्रबाट गरिने परीक्षणहरु तथा केही अनुवंशिक परीक्षण बाहेक अन्य सबै खालका परीक्षण स्वचालित मेसिनबाट गर्न सकिन्छ। ती मेसिनहरुलाई यस सफ्टवेयरमा जडान गरिसकेपछि प्रयोगशाला विज्ञहरुले प्रयोगशाला बाहिर रहेर पनि परीक्षणका नतिजालाई भेरिफाइ गर्ने तथा प्रमाणित गर्ने कार्य गर्न सक्छन्। प्रयोगशाला परीक्षणको यो आधुनिक युगमा, कुनै पनि प्रयोगशालाले आइएसओ, एनएबिएल, क्याप तथा क्लिया गुणस्तरको मान्यता लिन चाहेमा यो सफ्टवेयरको प्रयोग अनिवार्य रुपमा गरेको हुनुपर्छ।
नेपालको परिवेशमा एनपिएचएल लगायत केही सरकारी प्रयोगशालामा यसको प्रयोग भए तापनि यसलाई पूर्ण विकल्पको रुपमा प्रयोग गरिएको भने पाइँदैन।
कोभिड-१९ महामारीको व्यवस्थापनमा प्रयोगशाला परीक्षणको धेरै ठूलो महत्व देखिएको छ। हाल करिब २० ठाउँबाट सरकारी तवरले कोभिड-१९ निदानको लागि रियल टाइम पिसिआर प्रविधिबाट प्रयोगशाला परीक्षण भइरहेको छ। यो राष्ट्रिय स्तरमा प्रयोगशाला परीक्षण सेवामा भएको ठूलो उपलब्धि हो। तथापि परीक्षण नतिजाको ढाँचा र परीक्षणको नतिजा दिने प्रणालीमा एकरुपता भएको भने पाइँदैन। जसले सम्पर्क ट्रेसिङ प्रणालीलाई जति सहयोग हुनुपर्ने हो त्यो भएको देखिँदैन।
नमुना परीक्षण गर्नु अगावै बिरामीको विस्तृत विवरणको अभिलेख राम्रो तरिकाले नराख्नाले पनि सम्पर्क ट्रेसिङमा समस्या निम्त्याएको देखिन्छ। केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयबाट प्रकाशित गरिएका कोभिड-१९ बिरामीहरूको संख्याबाट पाँचजना बिरामीको संख्या भुलबस थप हुन गएकोले पछि घटाइएको थियो। त्यस्तै केही बिरामीहरूको उमेर र ठेगाना पनि फरक पर्न गएको थियो। पोजेटिभ बिरामीको विस्तृत विवरणसहित स्वास्थ्य मन्त्रालयले दिने प्रत्येक दिनको लिखित प्रेस विज्ञप्ति पनि कहिलेकाहीँ दिन नसकेको हामीले देखेका छौँ। यी समस्याबाट पार पाउनको लागि पनि प्रयोगशाला सूचना प्रबन्धन प्रणालीको समुचित प्रयोग हुन जरुरी छ।
अहिले ६५ हजार व्यक्तिको रियल टाइम पिसिआर परीक्षण गरिसकिएको छ। तीमध्ये पोजेटिभ आएका व्यक्तिहरूको नतिजाको अभिलेख स्वास्थ्य मन्त्रालयले राख्ने गरेको तर निगेटिभ आएका व्यक्तिहरूको रिपोर्टको अभिलेख राम्रो तरिकाले राख्ने गरिएको पाइएको छैन। २-३ वटा प्रयोगशाला बाहेक अन्य बाँकी सबैजसो प्रयोगशालामा परीक्षणको नतिजा दिनको लागि विधुतीय प्रणाली अपनाइएको देखिँदैन। यसबाट कति संख्यामा परीक्षण भयो भन्ने कुरा थाहा पाउन सकिएता पनि कुन मितिमा, कुन व्यक्तिले कसरी परीक्षण गरे भन्ने कुरोको जानकारी पाउन सकिँदैन।
एकचोटी निगेटिभ आएको व्यक्ति पछि पोजेटिभ आउँदैनन् भन्ने ठोकुवा गर्न सकिँदैन। यस्तो अवस्थामा पहिले निगेटिभ तर अहिले पोजेटिभ आएको व्यक्तिको योभन्दा अगाडि कहाँ परीक्षणका गरिएको थियो, कसले गरेको थियो र कसरी गरिएको थियो भन्ने कुराको अभिलेख राख्नु त्यत्तिकै जरुरी छ। ६५ हजार व्यक्तिको रियल टाइम पिसिआर परीक्षण भनेको ५० करोडभन्दा बढीको खर्च हो। यति धेरै लगानीमा गरिएको यो परीक्षण प्रणाली कति उपयुक्त रह्यो अथवा कहाँ के कमीकमजोरी रह्यो भन्ने कुरोको बोध हुनको लागि पनि निगेटिभ नतिजाहरूको अभिलेखको पनि महत्व रहन्छ।
प्रयोगशाला परीक्षणका नतिजाहरुको तथ्यांक राम्रो तरिकाले पाउन सकिएन भने सम्पर्क ट्रेसिङ राम्रो तरिकाले गर्न सकिँदैन। अहिले नेपालभरिको २० ठाउँबाट भइरहेको कोभिड-१९ परीक्षणका नतिजाहरु तथा बिरामीको विस्तृत विवरण वास्तविक समयमा स्वास्थ्य मन्त्रालय तथा सम्पर्क ट्रेसिङ गर्ने समूहले पाउन जरुरी छ। नेपालमा अहिले स्वदेशी तथा विदेशी गरी विभिन्न प्रयोगशाला सूचना प्रबन्धन प्रणालीका सफ्टवेयरहरु उपलब्ध छन्। यसमध्ये कुनै एउटा भरपर्दो वेब बेस्ड सफ्टवेयरलाई प्रयोगमा ल्याउनुपर्ने हुन्छ। यसको लागि धेरै खर्च पनि नहुने तथा थोरै समयमा यो प्रणालीलाई प्रयोगमा ल्याउन सकिन्छ। यसको लागि सर्वप्रथम प्रयोगशाला विशेषज्ञहरूको टिमले कोभिड-१९ परीक्षण नतिजाको ढाँचा तयार गर्न जरुरी छ। परीक्षण नतिजाको ढाँचा र इडिसिडीले तयार पारेको बिरामीको विस्तृत विवरण भर्ने खाकालाई सफ्टवेयरमा सम्मिलित गराउनु पर्छ। प्रत्येक प्रयोगशालामा परीक्षणको नतिजा प्रमाणित गर्ने व्यक्तिको नाम र सम्बन्धित व्यावसायिक परिषद दर्ता नम्बर अनि विधुतीय दस्तखत पनि सम्मिलित गराउनुपर्छ। अन्त्यमा सो सफ्टवेयरलाई स्वास्थ्य मन्त्रालयको सर्भरमा राखिसकेपछि प्रत्येक प्रयोगशालाले आफ्नो युजर नेम र पासवर्ड पाउँछन्। यसपछि प्रयोगशालामा कुनै पनि बिरामीको नमुना आउँदा मन्त्रालयको सो सफ्टवेयर खोल्नुपर्ने हुन्छ र त्यसमा उल्लेख भएको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ।
सम्पूर्ण विवरण सहितको दर्ताको प्रक्रिया पूरा भइसकेपश्चात सफ्टवेयरको माध्यमबाट बार्कोड निकाल्न सकिन्छ। सो बार्कोड सम्बन्धित बिरामीको नमुनाको ट्युबमा टाँसिसकेपछि परीक्षणका लागि पठाउनुपर्ने हुन्छ। परीक्षणपश्चात आएको नतिजालाई सो सफ्टवेयरमै भर्नुपर्ने हुन्छ, अनि परीक्षणको नतिजालाई सम्बन्धित विज्ञले प्रमाणीकरण गरिसकेपछि प्रमाणीकरण गर्ने व्यक्तिको विधुतीय दस्तखत स्वतः सो परीक्षण नतिजामा देखा पर्छ। अन्त्यमा सो परीक्षणको नतिजा बिरामीलाई प्रिन्ट गरेर अथवा इमेलमार्फत उपलब्ध गराउन सकिन्छ।
सफ्टवेयर, मन्त्रालयको सर्भरमा राखिने भएकोले तोकिएको सम्बन्धित व्यक्तिले अहिलेको वास्तविक समयमा कुन प्रयोगशालामा कति वटा बिरामीको नमुना दर्ता गरियो, कति परीक्षण भयो र कति परीक्षण नतिजाहरु बिरामीहरुलाई बाँडियो भन्ने कुरा मोबाइलमार्फत पनि जहाँकहीँबाट हेर्न सक्छन्। यसरी वास्तविक समयमा भइरहेको परीक्षणका नतिजाहरु सम्पर्क ट्रेसिङ गर्ने समूहले पनि मोबाइलमार्फत हेर्न सक्छन्। यसबाट सम्पर्क ट्रेसिङ सजिलो र चाँडो हुनसक्छ।
सफ्टवेयरबाट कुन प्रयोगशालामा कति परीक्षण किट उपलब्ध छन्, कति प्रयोगमा आए र कति नोक्सान भयो भन्ने कुराको पनि अभिलेख राख्न सकिन्छ।
रियल टाइम पिसिआर परीक्षण किट धेरै महँगो हुन्छ। यदि १ अर्बको किट खरिद गरियो र त्यसमा १० प्रतिशत पनि नोक्सान भयो भने त्यो १० करोडको नोक्सान हो। तसर्थ, पिसिआर किटको सदुपयोग तथा सम्पर्क ट्रेसिङ सजिलो र चाँडो बनाउनका लागि मन्त्रालयले प्रयोगशाला सूचना प्रबन्धन प्रणालीको प्रयोग अति शीघ्र गर्न जरुरी छ।