डा श्रवणकुमार मिश्र
नेपालमा बायोलोजिकल नमुना भण्डारण गर्नका लागि राष्ट्रिय बायोलोजिकल नमुना भण्डारण केन्द्र स्थापना गर्नु आवश्यक छ। नेपालमा हुने संक्रामक रोगहरुको प्रकोप हेर्दा यसको स्थापना र शाखा विस्तार सातै प्रदेशमा गर्नु आवश्यक देखिन्छ।
नमुना भण्डारण केन्द्र स्थापनाले नेपालमा देखिएका संक्रामक रोगबारे अध्ययन र अनुसन्धान गर्न सहज त हुन्छ नै, संक्रामक रोगको प्रकृति अनुसार रोकथाम र व्यवस्थापनमा पनि सहज हुनेछ।
नेपालमा देखिएका नयाँ संक्रामक र नयाँ स्वरूप फेरिएका पुनः देखिने संक्रामक रोगहरुको प्रकार, रोगको प्रकृति लगायत मानिसको मांसाहारी खानपान आहार इत्यादिलाई हेर्दा र जनावरमा पाइने रोगहरु मानिसमा सर्नसक्ने विभिन्न प्रकारका जिवाणुहरु मानिसमा रोग गराउनेसक्ने भएको हुनाले नेपालमा पाइने सूक्ष्म जीवाणुहरुको प्रोफाइल तयार पर्नुपर्ने हुन्छ्र।
राष्ट्रिय बायोलोजिकल नमुना भण्डारण स्थापना गर्दा उक्त रोगहरुको निदानको लागि चाहिने टेस्ट किट्स, रोगको विरुद्ध औषधि उत्पादन, खोप निर्माण लगायत अन्य अनुसन्धान कार्यको लागि समेत रोग लागेको व्यक्तिबाट विभिन्न प्रकारका नमुनाहरुलाई उचित प्रकारले भण्डारण गर्नुपर्छ। त्यसको सुरक्षा र उचित प्रयोग राष्ट्रिय हितमा गर्नुपर्छ।
हाल देखिएको सार्स कोरोना भाइरस–२ महामारीमा देखिएको कोरोना भाइरसको प्रकृति र यसको विरुद्धमा नेपालीमा उत्पन्न भएको प्रतिरक्षात्मक शक्ति लगायत लक्षण नदेखिएका संक्रमित र मृत्यु भएका मानिसहरुको रोगको प्रकृति हेर्दा समेत संक्रमित व्यक्तिहरुबाट विभिन्न नमुनाहरु संकलन गरेर राख्नुपर्ने देखिन्छ। यो रोगको विभिन्न आयामहरुमा विस्तृत अध्ययन र अनुसन्धान गर्नुपर्ने हुन्छ।
तसर्थ, संक्रमित बिरामीका नमुना अमूल्य र महत्वपूर्ण हुनेछ। हामीले अहिले नमुनाहरु भण्डारण गर्न सकेनौं भने पछि पश्चाताप गर्नुबाहेक अरु विकल्प हुने छैन। यसबारे समयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु जरुरी छ।
त्यसैले निम्न अनुसार सात प्रकारका नमुनाको उचित संकलन, तापक्रम नियन्त्रित ओसारपसार र उचित भण्डारण हुनु आवश्यक हुन्छः
१. नाकबाट निकालिएको स्वाब
२. घाँटीबाट निकालिएको स्वाब
३. फोक्सोको तल्लो भागबाट निकालिएको तरल पदार्थ
४. खकार
५. रगत
६. पिसाब
७. दिसा
यी नमुनाहरु उचित संकलन, भण्डारण र तापक्रम निरन्तर नियन्त्रण गरी सुरक्षित राख्नुुपर्छ। यस्ता नमुनाहरुमा अनुसन्धान गरेर विषाणुको प्रकृति, रोगको प्रकृति, रोगको मधुरोपन, कडापन लगायत निदानको लागि चाहिने टेस्ट किट्स, रोगको विरुद्ध औषधि उत्पादन, खोप निर्माण समेत गर्न सकिन्छ।
यसको माध्यमबाट नेपालको विषाणुको नेपाली परिवेश, अध्ययन अध्ययापन, अनुसन्धान गर्न सकिन्छ। यसको लागि सूक्ष्म जीवाणु र रोगको प्रकृति अनुसार बायोसेफ्टी लेभललाई समेत ध्यानमा राखेर भण्डारणको व्यवस्था हुनुपर्छ।
यसरी भण्डारण गरिएका प्रयोगशालाको स्थापनाले नमुनाको चोरी, जिनको अवैध निर्यात र अवैध अनुसन्धान, जर्नल प्रकाशन लगायत अन्य सम्पूर्ण पाटो व्यवस्थित हुन्छ।
हाल नेपालमा यसको नियन्त्रण नहुँदा विभिन्न किसिमका अन इथिकल कार्य समेत हुँदै आएका छन्। तसर्थ सम्पूर्ण नमुना र जिन लगायतका समस्यालाई व्यवस्थित गर्न नेपालमा राष्ट्रिय बायोलोजिकल नमुना भण्डारण केन्द्र स्थापना गर्नु अत्यावश्यक छ।
(डा मिश्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्टका रुपमा कार्यरत छन्।)