प्रणय उदास
लामो समयदेखि सुनिँदै आएको छ- भिटामिन डी हड्डीको स्वास्थ्य, कार्डियोमेटाबोलिक स्वास्थ्य, क्याल्सियम अवशोषण र अन्य उद्देश्यका लागि महत्वपूर्ण छ। भिटामिन डीले जन्मजात प्रतिरक्षाको लागि महत्वपूर्ण कार्य गर्नुका साथै विभिन्न भाइरल रोगहरुको रोकथामका लागि प्रतिरक्षाको काम गर्छ। हालै प्राप्त विभिन्न प्रमाणको आधारमा (कोभिड-१९) संक्रमणको जोखिम र यस रोगको गम्भीरताको सवालमा भिटामिन डी अझ प्रभावकारी सिद्ध हुनसक्छ।
भिटामिन डी र कोभिड-१९ बीचको सम्बन्धका बारेमा भएका अध्यन तथा अनुसन्धान
- केही दक्षिण एसियाली मुलुकहरूले गरेको अनुसन्धानमा शरीरमा भिटामिन डीको कमी सामान्य कोभिड-१९ भन्दा गम्भीर कोभिड-१९ बिरामी हुनेहरूमा बढी देखिएको थियो। भिटामिन डीको स्तर बढी हुनेहरूको तुलनामा भिटामिन डीको कमी भएकाहरूमा कोभिड-१९ को जोखिम ८ गुणा बढी देखिएको थियो।
- बेलायतका अनुसन्धानकर्ता पेड्रे क्रिस्टियानो इलीका अनुसार २० युरोपियन देशमा कोभिड-१९ को अनुसन्धान गर्दा जुन देशका नागरिकको शरीरमा औसत भिटामिन डीको मात्रामा कमी देखिएको थियो, त्यहाँ कोभिड-१९ को संक्रमण र मृत्युदर धेरै देखिएको थियो।
- अमेरिकाको टेक्सास र लुजियाना राज्यमा अनुसन्धानकर्ताले कोभिड-१९ बाट संक्रमित २० व्यक्तिको मूल्यांकन गर्दा आइसियुमा भर्ना भएका सबै संक्रमितहरूमा भिटामिन डीको कमी भेटिएको थियो।
- इन्डोनेसियाका अनुसन्धानकर्ताले ७८० कोभिड-१९ संक्रमित व्यक्तिमा गरेको अनुसन्धानमा मृत्यु भएका धेरैजसो संक्रमितहरूमा भिटामिन डीको मात्रा सामान्यभन्दा कम पाइएको थियो।
भिटामिन डी हामीलाई कति चाहिन्छ र केबाट पाइन्छ?
भिटामिन डी चिल्लोमा घुल्ने शरीरलाई अति आवश्यकीय सूक्ष्म पोषक तत्व हो। इन्डियन काउन्सिल या मेडिकल रिसर्च (आइसिएमआर) का अनुसार एउटा वयस्क मानिसलाई दैनिक ४०० अन्तर्राष्ट्रिय एकाई बराबर भिटामिन डीको मात्रा आवश्यक पर्छ। प्राकृतिक रूपमा धेरै कम खानामा मात्र भिटामिन डी पाइन्छ। पशुपक्षीजन्य स्रोतहरुमध्ये माछा भिटामिन डीको प्रमुख स्रोत हो। केही मात्रामा भिटामिन डी कलेजो, चिज, अण्ड को पहेलो भाग आदिबाट पनि प्राप्त गर्न सकिन्छ।
पशुपक्षीजन्य स्रोतमा भिटामिन डी, भिटामिन डी३ को रूपमा पाइन्छ, जसलाई कोलेक्याल्सिफेरोल पनि भनिन्छ। केही च्याउहरुमा भिटामिन डी२ को रुपमा भिटामिन डी प्राप्त गर्न सकिन्छ। भिटामिन डी शरीरमा पुगेपछि क्यल्सिट्रोलमा परिणत भएपछि मेटाबोलिजम हुन्छ।
सबैभन्दा सजिलो भिटामिन डी प्राप्त गर्ने माध्यम सूर्यको पराबैजनी किरण हो। जब सूर्यको पराबैजनी किरण शरीरमा पर्छ तब शरीरमा भएको कोलेस्टेरोल, कोलेक्याल्सिफेरोल वा भिटामिन डी३ को रुपमा प्राप्त हुन्छ। विभिन्न मुलुकले खाना सुदृढीकरणको माध्यमबाट भिटामिन डीलाई नागरिकको दैनिक पहुँचमा पुर्याइरहेका छन्।
अमेरिका, क्यानडा जस्ता विकसित मुलुकमा भिटामिन डीलाई दूधमा फोर्टिफिकेसन माध्यमबाट उपलब्ध गराउँछन् किनकि यी मुलुकमा रिकेट्स रोग जनस्वास्थ्यको ठूलो समस्यामध्येको एक हो।
विभिन्न मुलुकले बिहान खाने लगायत थुप्रै खाद्य पदार्थमा भिटामिन डीलाई फोर्टिफिकेसन गरेको पाइन्छ। शरीरमा सही पोषक तत्वको पूर्ति गर्न प्याकिङ गरिएको खाद्य पदार्थको पछाडि पोषणको सही मात्रा हेरेर खरिद गर्ने बानी बसाउन अत्यन्त जरूरी देखिन्छ।
भिटामिन डी भिभिन्न फार्मेसीबाट सजिलै पाउन सकिन्छ। तर धेरै अध्ययन-अनुसन्धान अनुसार भिटामिन डी प्राकृतिक रूपमा प्राप्त गर्न नै उत्तम हुने देखिन्छ किनकि सिधै खाएको सप्लिमेन्ट शरीरले उचित मात्रामा पाउन सक्दैन।
अहिलेको बन्दाबन्दीको अवस्थामा बिहान उठेर खुला आकाशमुनि व्यायाम गर्नु र केही समय बिनावस्त्र घाममा बस्नु भिटामिन डी प्राप्त गर्न सकिने सबैभन्दा सजिलो, सस्तो र अत्यन्तै प्रभावकारी तरिका हुन सक्छ।
(लेखक पोषणविद् हुन्)