डा बुद्धिप्रसाद पौडेल
वैदिककालभन्दा पहिले सुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो। आयुर्वेद नेपालको मौलिक राष्ट्रिय चिकित्सा प्रणाली हो। ब्रह्माण्डका रचयिता अर्थात् सृष्टिका प्रारम्भकर्ता ब्रह्मा (आयुर्वेदका प्रथम उपदेष्टा) स्वयंले स्मरण गरी एक हजार अध्यायमा एक लाख श्लोकयुक्त आयुर्वेदको रचना गर्नुभएको र उहाँबाट क्रमशः दक्षप्रजापति, अश्विनीकुमारद्वय तथा इन्द्रलाई प्राप्त भएको इतिहास पाइन्छ।
देवताबाट ऋषि हुँदै मानव चिकित्सकमा आयुर्वेद चिकित्सा प्रणालीको अवतरण भएको पाइन्छ। नेपालमा आयुर्वेद चिकित्सा प्रणालीको विकासक्रम हेर्दा मल्लकालमा वैद्यखाना जुन अहिले सिंहदरबार वैद्यखानाको रुपमा छ। राणाकालमा राजकीय आयुर्वेद महाविधालय तथा चिकित्सालय जुन अहिले नरदेवी आयुर्वेद चिकित्सालय र आयुर्वेद क्याम्पसको रुपमा छन्, पञ्चायतकालमा आयुर्वेद विभाग र प्रजातन्त्रकालमा राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र स्थापना भएको देखिन्छ।
आयुर्वेद पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धति हो। आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति हो। पाँच वटा आधारभूत तत्वहरू (पञ्चमहाभूत) पृथ्वी, जल, अग्नि, वायु र आकाशले यो ब्रह्माण्ड बनेको छ। ब्रह्माण्डमा भएका सबै जस्तै: मानिस, खाना, औषधि यिनै पाँच वटा आधारभूत तत्वहरू (पञ्चमहाभूत) ले बनेका हुन्छन्। आयुर्वेदको शरीरक्रिया विज्ञान अनुसार हाम्रा शरीर तीन दोष (वात ,पित्त र कफ), सात धातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) र तीन मल( मूत्र, पुरिष र स्वेद) ले बनेको हुन्छ। यी घट्दा वा बढ्दा रोगलाग्ने र यथावत हुँदा स्वस्थ रहिन्छ भन्ने आयुर्वेदको मान्यता छ।
चिकित्सा गर्दा शरीरको जुन चिज जेले बनेको छ, त्यस्तै सेवन गर्दा त्यो चिज बढ्छ र विपरीत सेवन गर्दा घट्छ भन्ने सिद्धान्त छ। प्राकृतिक आहार, विहार, आचार र औषधि विधि अपनाउने हुनाले आयुर्वेद चिकित्सा हानिरहित छ। आयुर्वेद चिकित्सा पद्धतिमा दैवव्यपाश्रय‚ युक्तिव्यपाश्रय र सत्वावजय चिकित्सा मूलभूत प्रचलित चिकित्सा विधिहरूमा प्रचलनमा छन्। आयुर्वेदमा वर्णित दैवव्यपाश्रय चिकित्सामा मन्त्र‚ औषधि‚ मणि‚ मङ्गलवस्तु‚ बलि‚ उपहार‚ होम‚ नियम‚ प्रायश्चित्त‚ उपवास‚ स्वस्त्ययन(कल्याणकारक धार्मिककृत्य) प्रणिपातगमन (तीर्थस्थलहरु यात्रा गर्नु) पर्छन्।
दैवव्यपाश्रय चिकित्साको प्रभाव मस्तिष्क क्रियामा पर्छ। युक्तिव्यपाश्रय चिकित्सा अन्तर्गत बहिःपरिमार्जन, अंतःपरिमार्जन र शस्त्रप्रणिधान पर्छन्। युक्तिव्यपाश्रय चिकित्सा अन्तर्गत बहिःपरिमार्जनमा स्नेहन(शरीरमा तेल लगाउने विधि), स्वेदन(शरीरको सेकाइ गर्ने विधि)‚ प्रदेह‚ परिषेक‚ उन्मर्दन आदि पर्छ्न भने अंतःपरिमार्जनमा शरीर र मनका लागि प्रयोग हुने औषधि र आहारका साथै औषधि सेवन, , पञ्चकर्म, दिनचर्या र ऋतुचर्या पालन गर्नु, स्वास्थ्य रक्षाका लागि गर्न हुने र नहुने विधि (सद्वृत) पालन गर्नु, आचार रसायन, योग, ध्यान अन्तर्गतका विधि पर्छन् भने शस्त्रप्रणिधानमा छेदन‚ भेदन‚ व्यधन‚ दारण‚ लेखन‚ उत्पाटन‚ प्रच्छान ‚सीवन‚ एषण‚ क्षार जलौका आदि पर्छन्।
युक्तिव्यपाश्रय चिकित्साका विधिहरु शारीरिक रोगको रोकथाम र उपचारमा प्रयोगमा आउँछन्। सत्वावजय चिकित्सा अन्तर्गत मनप्रशमन गर्ने विधिहरु ज्ञान‚विज्ञान‚धैर्य‚ स्मृति‚ यम‚ नियम‚आसन‚ प्राणायाम‚ प्रत्याहार‚धारणा‚ ध्यान‚ समाधि आदि पर्छन्। सत्वावजय चिकित्साले शरीर‚ मन र आत्माबीच सन्तुलन बनाउन सहयोग गर्छ। मनोरोग उपचारमा सत्वावजय चिकित्सा अत्यन्त महत्वपूर्ण छ।
आयुर्वेद चिकित्सामा वर्णित रसायनतन्त्रमा प्रशस्त मात्रामा रस रक्तादि धातुहरूको वृद्धि गर्ने आहार‚ विहार‚ आचार एवं औषधि‚ दीर्घ जीवन‚ स्मरणशक्ति‚ धारणाशक्ति‚ सुस्वास्थ्य शारीरिक पुष्टि‚ इन्द्रीय शक्ति‚ बलवृद्धि र वाक्शक्ति प्रदान गरी चीरकालसम्म वृद्धावस्थाका लक्षण आउनबाट बचाई उत्तम स्वास्थ्य, बल, पौरुष एवं दीर्घायु प्राप्ति एवं वृद्धावस्थामा उत्पन्न हुने विकार हटाउने विधिहरुको सविस्तार वर्णन गरिएको पाइन्छ।
मानव जीवनका पुरुषार्थ चतुष्टय भनिने धर्म‚ अर्थ‚ काम‚ मोक्ष प्राप्त गर्न आरोग्य (स्वस्थ रहनु) महत्वपूर्ण छ। कायचिकित्सा(इन्टरनल मेडिसिन)प्रधान ग्रन्थ चरक संहितामा स्वास्थ्य रक्षाका थुप्रै विधि र जडीबुटीहरु वर्णित छन्।
चरक संहितामा उल्लेखित ५० महाकषायमध्ये जीवनीय‚ बृंहणीय‚ दीपनीय‚ बल्य‚ वर्ण्य‚ कण्ठ्य‚ हृद्य‚ क्रिमिघ्न‚ विषघ्न‚ स्तन्यजनन‚ स्तन्यशोधन‚ शुक्रजनन‚ शुक्रशोधन, स्नेहोपग, स्वेदोपग‚ कासहर‚ श्वासहर, शोथहर, ज्वरहर, श्रमहर, दाहप्रशमन, शीतप्रशमन, उदर्दप्रशमन‚ अङ्गमर्दप्रशमन‚ शूलप्रशमन शोणितस्थापन‚ वेदनास्थापन‚ संज्ञास्थापन‚ प्रजास्थापन र वयःस्थापन यी ३० वर्गमा १०-१० वटा जडीबुटी वर्णन गरिएको छ। यी जडीबुटीहरु शरीरको रोगप्रतिरोध क्षमता बनाइराख्न सहयोगी छन्।
त्यसैगरी चरक संहितामा चिकित्सास्थान रसायनपादमा उल्लेखित हरीतकी‚ आमलकी‚ ब्रह्मरसायन‚ च्यवनप्राश‚ घृत‚ विडङ्ग‚ नागबला‚ बला‚ भल्लातक‚ लोह‚ ऐन्द्र‚ मेध्य रसायन (मण्डूकपर्ण्याः स्वरसः प्रयोज्यः क्षीरेण यष्टीमधुकस्य चूर्णम् रसो गुडूच्यास्तु समूलपुष्प्याः कल्कः प्रयोज्यः खलु शङ्खपुष्प्याः)‚ पिप्पली‚ त्रिफला‚ शीलाजित‚ इन्द्र रसायन‚ द्रोणीप्रावेशिक रसायन‚ कुटीप्रावेशिक रसायन‚ आचाररसायन उल्लेखित छन्। आयुर्वेद चिकित्साशास्त्रले सुझाएका यी विधिहरु चिकित्सकीय परामर्शमा सेवन गर्दा स्वास्थ्यबर्धक हुन्छन्।
सबै किसिमले प्रयोग गरिने जडीबुटीको चिकित्सकीय उपयोग बताउने ज्ञानको श्रोत भनेको आयुर्वेद चिकित्साशास्त्र नै हो। ऋग्वेदमा ६७, यजुर्वेदमा ८१, अथर्ववेदमा २८९, ब्राह्मण ग्रन्थहरुमा १२९ उपनिषदमा ३१, कल्पसूत्रमा ५१९, पाणिनीय अष्टाध्यायी तथा वार्तिकमा १५२, पातञ्जल महाभाष्यमा १०९, निरुक्तमायास्ककृत २६, चरक संहितामा ११००, सुश्रुत संहितामा १२७० जडीबुटी वर्णित छन्। यति धेरै जडीबुटीको ज्ञानको अपनत्व आयुर्वेद विभागले लिन सकेको छैन।
संविधानले परिकल्पना गरेका ७५३ स्थानीय सरकारसँग पनि स्थानीय सम्पत्तिका रुपमा आफ्नो क्षेत्रमा कति संख्यामा जडीबुटी छन् भन्ने आधिकारिक तथ्यांक छैन। हरेक स्थानीय तहले आफ्नो भूगोलभित्रका जडीबुटीको तथ्यांक तयार पार्ने नमूना जडीबुटी उधान तयार गर्ने र बीज संरक्षण कार्यक्रम प्राथमिकतामा राख्न जरुरी छ। आयुर्वेदकर्मीको बौद्धिक सम्पदा अधिकारको पहलकदमी गर्न जरुरी छ। नेपाल जननीलाई माया गर्ने देश सञ्चालक राजनीतिकवृत र उच्च तहका नीति-निर्माणकर्ताले यीमध्ये कति जडीबुटी हाम्रो देवभूमिमा छन्, अब खोजी गर्ने बेला भइसकेको छ। यस्तो सम्पदा र ज्ञानको धनी देशका हामी सो ज्ञानको बौद्धिक अधिकार बोकेका आयुर्वेदकर्मीलाई स्वतन्त्र रुपमा अगाडि बढ्न राष्ट्रको साथ सहयोग र हौसलाको खाँचो छ।
दान, पुण्य, धर्म, जप, तप, यज्ञ यज्ञादि, धूप, दीप, आरती, प्रदक्षीणा, चरुहोम, समाधि, तपस्या, दीप प्रज्वलन, शंख, घंट, पंचाङ्ग पूजन, मंगलाचरण, वैदिक भोजन र भोजन विधि यी यति धेरै आध्यात्मिकतासँग जोडिएका शब्दभित्र लुकेका निर्मलीकरण, शुद्धीकरण, शारीरिक र मानसिक स्वास्थ्य संरक्षण, पथपरहेज, प्रकृतिजन्य शुद्धता मनन गरौं।
विश्व मानव समुदायमा "मातृदेवो भव:" "पितृदेवो भव:" "अतिथिदेवो भव:" "वसुवधैव कुटुम्बकम्" जस्ता भावना जागृत गराउने पृथ्वीका सम्पूर्ण मानवमा दया‚ माया‚ करुणा‚ प्रेम‚ सहानुभूति‚ सत्यता‚ स्वच्छता‚ स्पष्टता‚ आत्मीयता‚ प्रसन्नता‚ समता‚ उदारता‚ शुद्धि, शिष्टता‚ कान्ति‚ माधुर्य‚ सेवा‚ पवित्रता‚ निर्मलता‚ शुद्धता‚ निस्वार्थता, नैतिकता, परोपकारिता आदि कोमल मानवीय गुणहरुको पुष्पित र पल्लवित गराउने शिक्षा गर्भमा लिएको तथा यम (अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह) नियम (शौच, संतोष, तप, स्वाध्याय र ईश्वर-प्रणिधान) जस्ता सामाजिक र व्यक्तिगत स्वास्थ्य अनुशासन सिकाउने चिकित्साशास्त्र राष्ट्रिय उपेक्षामा पर्नै हुँदैन।
आश्चर्यलाग्दो जैविक विविधता जस्तै ५००० जातका फूल फुल्ने बिरूवा‚ १६५० (वनस्पति विज्ञ) ७०० (वनस्पति विभाग) सूचीकृत गरिएका जडीबुटी‚ ३५० व्यावसायिक रूपमा व्यापार गर्न सकिने जडीबुटी‚ १५० धेरै प्रयोग हुने जडीबुटी‚ १८१ जातका स्तनधारी ८४४ जातका चरा‚ १८५ जातका माछा‚ ६३५ जातका पुतली‚ २२५२ जातका कीरा फट्याङ्ग्रा भएको देश‚ पशुपतिनाथको देश‚ गौतम बुद्धको देश‚ सगरमाथाको देश‚ ६ वटा ऋतु भएको विश्वकै उत्कृष्ट हावापानी भएको देश यस्तैयस्तै थुप्रै विशेषणले विश्वमा प्रख्यात देश सञ्चालक सौभाग्यशालीहरुले यस देशभित्र भएका माथि उल्लेखित ज्ञान, सिप र प्रविधिलाई प्राथमिकता नदिंदा विस्तारै देशको पहिचान गुम्दो अवस्थामा छ। पूर्वीय दर्शन, संस्कृति र चिकित्सामा गर्व गरौं।
कोरोना सङ्क्रमणले विश्व मानसिकतालाई भौतिकताबाट पूर्वीय दर्शनको आध्यात्मिकतातिर फर्काएको छ। हामी नेपालीले हाम्रो प्रकृति र संस्कृतिको गर्व नगरे कसले गर्ने। वैज्ञानिकहरूले विकास गरेका धेरै प्रविधिहरु हामीले हाम्रो भनेर दावी गर्न सक्दैनौं तर प्रकृति दिएका तथा संस्कृति र संस्कारले सिकाएका असंख्य विषयहरु हाम्रो धन र बौद्धिक सम्पदा भनी दावी गर्न सकिन्छ। हामीले अन्धविश्वास भन्ने गरेका हाम्रो संस्कृतिका धेरै तथ्यहरुमाथि पश्चिमाहरुले बौद्धिक सम्पदा अधिकार स्थापित गरिसके। भविष्यमा हामीले हाम्रो भनी गर्व गर्ने केही नरहलान्। सधैं दाता निर्देशित र दाताको ''हुन्छ व्यक्ति'' बन्ने राष्ट्र सञ्चालकहरुले पुनर्विचार गर्नुपर्ने आवश्यकता वर्तमान संकटले निर्देशित गरेको छ।
देशमा शोषणको अन्त्य गरी लोकतन्त्र स्थापनाका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूको पनि ठूलो योगदान रहेको छ। तर बलियो सरकार स्थापना गर्न बलिदानी योगदान पुर्याउने आयुर्वेद स्वास्थ्यकर्मीहरू अहिले पनि आफूलाई शोषित महसुस गरिरहेका छन्। देश सञ्चालक राजनीतिकवृत्त र उच्च तहका नीति-निर्माणकर्ताले भाषणमा आयुर्वेद चिकित्सा जगतका लागि मिठा आश्वासन बाँडे पनि व्यवहारमा यस क्षेत्रले आत्मगौरव गर्न सकेको छैन।
नेपालको संविधान भाग ४ को धारा ५१ (ज) को ७ मा ‘नेपालको परम्परागत चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद, प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने’ भनी उल्लेख गरिएको छ। संविधानका अनुसूचीहरू ५ को १६, अनुसूची ७ को १२ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थान दिइएको छ।
हाम्रो देशमा भएका आयुर्वेद संरचनाहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नेपाल आयुर्वेद चिकित्सा परिषद, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी आयुर्वेद चिकित्सालय (११८ शय्यायुक्त देशको एकमात्र केन्द्रीय आयुर्वेद अस्पताल), ३० शय्यायुक्त प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी, दाङ; निर्माणाधीन ५० शय्यायुक्त प्रादेशिक आयुर्वेद अस्पताल २ (दुई) (प्रदेश १ प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुर, झापा र सुदूरपश्चिम प्रादेशिक आयुर्वेद अस्पताल, गेटा, कैलाली); निर्माणाधीन ५० शय्यायुक्त राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र, बुढानीलकण्ठ, काठमाडौ; १४(चौध) अञ्चल आयुर्वेद औषधालयहरू; ६१(एकसठ्ठी) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू; ३०५ (तीन सय पाँच) आयुर्वेद औषधालय छन्। ७५३ स्थानीय तहमध्ये ३११ स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा र आयुर्वेद स्वास्थ्य संस्थाहरू विस्तारित छन् भने आयुर्वेद स्वास्थ्य संस्थाहरू नभएका स्थानीय तह ४४२ छन्।
नेपालमा आयुर्वेद चिकित्सा प्रणालीलाई सुचारू रूपले सञ्चालन गर्न आयुर्वेदिक औषधिको उत्पादन र प्रयोग गर्ने पद्धतिलाई विकास गर्न तथा चिकित्सकहरूको नाम दर्ता गर्नको लागि स्थापना गरिएको आयुर्वेद चिकित्सा परिषदमा ४७५१ जना आयुर्वेद जनशक्ति दर्ता छन्।
हालसम्मको तथ्यांक अनुसार एमडी/एमएस (स्नातकोत्तर) गरेका विशेषज्ञ आयुर्वेद जनशक्ति नेपाली १०३ जना र गैरनेपाली ४ जना गरी जम्मा १०७ जना छन्। यीमध्ये कायचिकित्सा २७, द्रव्यगुण ११,शल्यमा १०, स्त्री तथा प्रसूति ७, पञ्चकर्म ५, सिद्धान्त र संहिता ५, बालरोग ४, शालाक्य ४, रसशास्त्र ४, रोगनिदान २, स्वस्थवृत्त २, शरीर क्रिया १, शरीर रचना १, मनोविज्ञान तथा मानस रोग १ र अगदतन्त्र विषयमा १ तथा परम्परागत चिनियाँ चिकित्सामा १५, जनस्वास्थ्य १, योग १ र एमफर्मा (आयुर्वेद) १ जना छन्। स्नातक (बिएएमएस) गरेका ७२७ जना, स्नातक आयुर्वेद फार्मेसी ५ जना, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका १५२६ जना र आयुर्वेदमा टेक्निकल एसएलसी उत्तीर्ण गरेका २३६५ जना जनशक्ति छन्।
सरकारी संयन्त्रको पदसोपानमा एमडी/एमएस (स्नातकोत्तर) उत्तीर्ण गरेका विशेषज्ञ आयुर्वेद जनशक्तिको प्रमुख/कन्सल्टेन्ट आयुर्वेद विज्ञ, बिएएमएस (स्नातक) उत्तीर्ण गरेका जनशक्तिको वरिष्ठ आयुर्वेद चिकित्सक/आयुर्वेद चिकित्सक, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका जनशक्तिको वरिष्ठ कविराज/कविराज र आयुर्वेदमा टेक्निकल एसएलसी उत्तीर्ण गरेका जनशक्तिको वरिष्ठ वैद्य/ वैद्य पदनाम दिइएको छ।
आयुर्वेद चिकित्सा क्षेत्रलाई कसरी पछि पारिँदै लगियो भन्ने हाम्रा अग्रजहरुले बताउने गरेका केही तीता अनुभवहरु छन्। आयुर्वेद चिकित्सा परिषद्सम्बन्धी व्यवस्था गर्न बनेको ऐन(२०४५ सालको ऐन नं. २१) लालमोहर र प्रकाशन मिति २०४५।७।२८ रहेकोमा आयुर्वेद चिकित्सा परिषद् (पहिलो संशोधन) ऐन, २०५५ नामबाट २०५५।१०।२७ मा कार्यान्वयनमा आयो। २०५० सालमा अवधारणाको गर्भाधान भई विभिन्न चरण पार गर्दै चीन सरकारले त्रिभुवन विश्वविधालयको हातामा निर्माण गरिदिएको ९२ कोठा भएको २ तल्ले अत्याधुनिक आकर्षक भवनमा अनुसन्धान‚ तालिम र अस्पताल सञ्चालन गर्ने गरी अत्याधुनिक उपकरण सहित २०६७ साल चैत्तमा हस्तान्तरण भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले न अहिलेसम्म कानूनी हैसियत प्राप्त गरेको छ न एक जना स्थायी दरबन्दी नै छ।
पुरानो धरोहर सिंहदरबार वैद्यखाना जीर्णरोगी भएको छ। उत्पादनको राष्ट्रिय माग थेग्नुपर्ने देशकै जेठो गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गर्ने संस्था राजनीतिक खिचातानीमा परेर थला परी उत्पादन शून्यप्राय:को स्थितिमा छ। २०६० सालमा स्नातकोत्तर जनशक्ति उत्पादन गर्ने पवित्र सोचका साथ अवधारणापत्र पेस २०६१ ऐनको मस्यौदा साथ प्रतिवेदन पेस भई सचिवालय समेत स्थापना भइसकेको राष्ट्रिय आयुर्वेद प्रतिष्ठान नरदेवी आयुर्वेद असपतालको एउटा कोठामा विश्राम गरिरहेको छ भने नेपालमा उत्पादित आयुर्वेद स्नातक जनशक्तिले स्नातकोत्तर अध्ययनका लागि भारतीय राजदूतावासमा अनुनय विनय गर्नु परिरहेको छ।
त्रिभुवन विश्ववालय अन्तर्गतको आयुर्वेद क्याम्पसमा आयुर्वेद अध्ययन संस्थान स्थापनाको सन्दर्भ उठिरहेको‚ आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा आयुर्वेद विषयमा उच्च शिक्षा प्रदान गर्न योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको तथा ऐनको मस्यौदा साथ प्रतिवेदन पेस भई सचिवालय समेत स्थापना भइसकेको राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको ऐन तुरुन्त संसदबाट पारित गरी संघीय संरचनामा भएका सबै आयुर्वेद संरचनाका भौतिक पूर्वाधार‚ प्रदेश आयुर्वेद अस्पतालको भौतिक संरचनाका भौतिक पूर्वाधार र आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत विशेषज्ञ जनशक्ति परिचालन गरी आयुर्वेद विषयको स्नातकोत्तर पठनपाठन यथाशीघ्र सञ्चालन गर्न आवश्यक छ।
स्वतन्त्र संरचना विकास गर्दै विकासमा बामे सरिरहेको सरकारी आयुर्वेद क्षेत्रलाई २०७२ पछि एकीकरणको ललिपपमा फसाएर नयाँ संस्था स्थापनामा रोक लगाइएको छ। वडासम्म स्वास्थ्य संस्था स्थापना गर्ने नीति तथा कार्यक्रम आइरहँदा ४४२ स्थानीय तहमा आयुर्वेद स्वास्थ्य संस्था स्थापनाको बारेमा सरकार मौन छ। ७५३ स्थानीय तहमा चिकित्सक सहितको आयुर्वेद स्वास्थ्य संस्था स्थापना गर्ने‚ सातै प्रदेशमा आयुर्वेदका विविध विशेषज्ञता सहितको प्रदेश आयुर्वेद अस्पताल निर्माण गर्ने तथा रुकुम पूर्व र नवलपरासी पश्चिममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्थापनाका नीतिगत निर्णयका लागि आयुर्वेद विभागद्वारा पठाएका फायल स्वास्थ्य तथा जनसंख्याको दराजमा चीरनिद्रामा छन्।
वैदिक परम्परा, संस्कृति र संस्कार समाहित भएको हाम्रो मौलिकता र पहिचानसँग जोडिएको विषय भएको र यसका धेरै विषयगत कुराहरुको पेटेन्ट, ट्रेडमार्क र बौद्धिक सम्पदा अधिकार स्थापित गर्नुपर्ने तथा राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरुमा आयुर्वेद चिकित्सा विधाका प्रतिकारात्मक, उपचारात्मक तथा प्रबर्धनात्मक विषयहरु लागू गराउन आवश्यक भएकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधाको राष्ट्रिय स्वतन्त्र प्रशासनिक संरचना हुनु जरुरी छ।
७५३ वटा स्थानीय तहमा चिकित्सक तथा अन्य आवश्यक मानव संसाधन र भौतिक पूर्वाधार सहितको स्वतन्त्र आयुर्वेद स्वास्थ्य संस्था, विधमान जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति तथा प्रदेशमा आयुर्वेद निर्देशनालय र आयुर्वेद तथा विविध चिकित्सा विधाका विशेषज्ञता सहितको पर्याप्त मानव संसाधन र भौतिक पूर्वाधारयुक्त प्रदेश आयुर्वेद अस्पताल निर्माण गरी आयुर्वेद विधाको एक छुट्टै राष्ट्रिय सञ्जाल निर्माण गरी यस आयुर्वेद विधाको र यस विधाभित्रका कर्मीहरुको आत्मगौरव बढाउनु राष्ट्रिय प्राथमिकता हुनुपर्छ । त्यसपछि मात्र आधुनिक चिकित्सातर्फका स्वास्थ्य संस्थाहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधाका परभावकारी विशेष सेवाहरू विस्तार गर्दा उपयुक्त हुन्छ। अहिले नै अरुको छातामुनि ओत लाग्न खोज्दा आयुर्वेदको अस्तित्व समाप्त हुन सक्छ।
केन्द्रीय आयुर्वेद संरचनाहरु सिंहदरवार वैधखाना, नरदेवी अस्पताल, आयुर्वेद विभाग, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रहरुलाई कानुनी, भौतिक, मानव संसाधन, वित्तीय सम्पन्नता प्रदान गरी राष्ट्रिय आयुर्वेद प्रतिष्ठान स्थापना गरी स्वदेशमै जनशक्ति उत्पादन गर्ने उपयुक्त वातावरण बनाउन पहल गर्न जरुरी छ। आयुर्वेदकर्मीहरु पनि कोटरीहरुको स्वार्थभन्दा माथि उठ्न आवश्यक देखिन्छ। व्यक्तिगत होइन संस्थागत सोचौं।
एक जना नेताले स्थानीय, क्षेत्र, जिल्ला, केन्द्रसम्म आफूलाई स्तरोन्नति गर्दै मन्त्री र प्रधानमन्त्री बन्नेसम्म महत्वाकांक्षा बोकेको हुन्छ। त्यस्तैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधाका विशेषज्ञ र वैज्ञानिकहरुलाई पनि आफ्नो स्वतन्त्र पहिचान राष्ट्रियस्तरसम्म बनाउन र आफ्नो क्षेत्रको स्वतन्त्र प्रशासनिक नेतृत्व गर्ने वातावरण बनाउन पहल गर्न आग्रह छ।
विश्वले भरोसा बढाउँदै लगेको हाम्रो आफ्नो पहिचानको आधार मौलिक चिकित्सा विज्ञानलाई कतै लगेर नजोडौं। हाम्रो विधा भनेको चिकित्सा विज्ञानको अथाह ज्ञानको महासागर हो। छिमेकी मुलुकहरुबाट पनि सिकौं। अहिलेको अवस्थामा कतै मिसिँदै गर्दा त्यहाँ रहने नेतृत्वको यस विधाप्रतिको ज्ञान, प्रवृति र व्यवहार जुन हामी आयुर्वेदकर्मीहरुले भोगिरहेका छौं, त्यसप्रति गम्भीर हुनैपर्छ।
आगामी वर्ष काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधासम्पन्न छुट्टै सरुवा रोग अस्पताल निर्माण, काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २५० शय्या आइसियु बेड स्थापना र सबै प्रदेश राजधानीमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने तथा पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने विषय उल्लेख भए पनि बजेट वक्तव्यमा नयाँ आयुर्वेद स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नतिबारे केही बोलिएको छैन।
आव २०७७/७८ को बजेट वक्तव्यमा आयुर्वेद विषयमा उच्च शिक्षा प्रदान गर्न योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको, स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पताल सञ्चालनमा एकरुपता ल्याई व्यवस्थित गर्न एकीकृत छाता ऐन तर्जुमा गर्ने उल्लेख भएको तथा स्वास्थ्य सेवाको विधमान दरबन्दीलाई पुनरावलोकन गरी स्वास्थकर्मीको संख्या थप गर्न, सेन्टर फर डिजिज कन्ट्रोल, फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाका लागि प्रारम्भिक कार्य सुरु गर्न बजेट व्यवस्था गरेको उल्लेख छ।
बजेट वक्तव्यको बुँदा नं ४१ मा निरोगी नेपाल निर्माण अभियान अघि बढाउन सुदृढ सार्वजनिक स्वास्थ्य सेवाका अतिरिक्त स्वच्छ र सन्तुलित आहार, शारीरिक व्यायाम, सरसफाइ सहितको स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रोत्साहित गरिने छ। आयुर्वेद लगायतका वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गर्दै रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा मानसिक स्वास्थ्य सम्वर्द्धन गर्न स्थानीय तह एवं सामुदायिक संघसंस्था समेतको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र सञ्चालन गरिने छ भनी आयुर्वेदसँग सम्बन्धित विषय उल्लेख भए पनि आयुर्वेद स्वास्थ्य संस्था, मानव संसाधन र क्षमता विकासका बारेमा केही बोलेको देखिँदैन।
कोभिड -१९ मा आयुर्वेदको रसायन चिकित्साको हाल विश्वव्यापी महत्वलाई मध्यनजर गर्दै र स्वास्थ्यको भावी पुन:संरचना हुँदैगर्दा नसर्ने खालका रोग (जस्तै मोटोपना, उच्चरक्तचाप, मधुमेह, रगतमा बोसो बढ्ने, तनाव, अनिद्रा, दम, हड्डी खिइने जोर्नीका रोग, क्यानसर, थाइराइड सम्बन्धित समस्या, मानसिक रोग जसले लगभग जनसंख्याको ७० प्रतिशतलाई प्रभावित पारिराखेको छ ) लाई न्यूनीकरण गर्न प्राकृतिक आहार, विहार, आचार र औषधि विधि अपनाउने आयुर्वेद चिकित्सा विधाका स्वास्थ्य संस्था र दक्ष आयुर्वेदकर्मीको पहुँच हरेक स्थानीय तहसम्म पुर्याई आयुर्वेद चिकित्साशास्त्रले सुझाएका स्वदेशी र स्थानीय रुपमा उपलब्ध आहार र औषधि सेवन, पूर्वकर्म अन्तर्गत स्नेहन (शरीरमा तेल लगाउने विधि), स्वेदन (शरीरको सेकाइ गर्ने विधि), पञ्चकर्म, क्षारसूत्र, अग्निकर्म, जलौका प्रयोग, दिनचर्या र ऋतुचर्या पालन गर्नु, स्वास्थ्य रक्षाका लागि गर्न हुने र नहुने विधि (सद्वृत) पालन गर्नु, आचार रसायन, योग, ध्यान, आध्यात्मिक चिकित्सा अन्तर्गतका विधि पालन गर्न जनतालाई व्यापक सचेतना फैलाउने र केमिकल औषधिको प्रयोग तथा तयारी र पत्रुखाना सेवनलाई निरुत्साहित पार्दै मुटु रोग‚ मिर्गौला रोग‚ क्यान्सर जस्ता अत्यन्त महँगा खालमा दीर्घरोगको दर घटाई नागरिक र राष्ट्रको व्ययभार कम गराई गुणस्तरीय जीवनयुक्त स्वस्थ नागरिक बनाउन सिङ्गो राष्ट्रको ध्यान केन्द्रीत हुनुपर्छ।
सिंहदरबार वैद्यखाना, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नरदेवी आयुर्वेद चिकित्सालय, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ; प्रदेश १ प्रादेशिक आयुर्वेद अस्पताल, झापा र सुदूरपश्चिम प्रादेशिक आयुर्वेद अस्पताल, कैलाली; राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र, काठमाडौं मिलाएर राष्ट्रिय आयुर्वेद प्रतिष्ठान पुनर्जीवित गरी आयुर्वेद विषयमा उच्च शिक्षा अध्यापन गराउने कार्यको तुरुन्त सुरवात गर्नुपर्छ।
संघीय संरचनामा रहेका आयुर्वेद संरचनाहरु आयुर्वेद तथा वैकल्पिक विभागको मातहतमा ल्याई १२औं तहको महानिर्देशकले नेतृत्व गरेको सर्वाधिकार सम्पन्न आयुर्वेद तथा वैकल्पिक विभागको स्थापना हुनुपर्छ। सिंहदरबार वैद्यखाना विकास समितिमा राजनीतिक नियुक्तिबाट आउने ४ वर्षे अतिथि प्रबन्ध निर्देशकका कारण सो संस्था थला परिसकेकोले नेपाल सरकारका आयुर्वेदतर्फका ११ तहका जनशक्तिले नेतृत्व गर्ने व्यवस्था मिलाई राष्ट्रिय धरोहर बचाइराख्नु पर्छ।
सेन्टर फर डिजिज कन्ट्रोल, फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कञ्जुस्याँई नगरी माथि उल्लेखित बमोजिमका आयुर्वेद संस्थामा पर्याप्त मानव संसाधनको दरबन्दी स्वीकृत गर्न जरुरी छ। आयुर्वेद तथा वैकल्पिक विभागमा १२ तहको महानिर्देशक, सिंहदरबार वैद्यखाना, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, प्रादेशिक आयुर्वेद चिकित्सालय, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र र प्रादेशिक आयुर्वेद निर्देशनालयमा ११ तहको निर्देशक, नरदेवी आयुर्वेद चिकित्सालयमा १२ तहको निर्देशक र आयुर्वेदका सबै विशेषज्ञ चिकित्सा विधाका विभाग स्थापना गरी ११ तहको निर्देशक र आयुर्वेद तथा वैकल्पिक विभागमा जडीबुटी तथा नेपाली परम्परागत खाना तथा परम्परागत चिकित्सा सम्बन्धी अन्य ज्ञान, सिप र प्रविधिको पेटेन्ट, ट्रेडमार्क र बौद्धिक सम्पदा अधिकार स्थापना गर्न वन, वनस्पति, भूगर्भ, कृषि, आधुनिक खाध्य प्रविधि तथा अन्य सम्बन्धित सरोकारवालाहरुसँग समेत समन्वय गरी काम गर्ने गरी ११ तहको निर्देशक सहितको पेटेन्ट, ट्रेडमार्क र बौद्धिक सम्पदा अधिकार महाशाखा स्थापना हुनुपर्छ।
हरेक जिल्लामा ९ तहको जनशक्तिको नेतृत्वमा पर्याप्त मानव संसाधन र भौतिक पूर्वाधार सम्पन्न आयुर्वेद अस्पताल तथा ७५३ वटै स्थानीय तहमा आठौं तहको आयुर्वेद चिकित्सकको नेतृत्वमा पर्याप्त मानव संसाधन र भौतिक पूर्वाधार सम्पन्न आयुर्वेद स्थापना गर्नुपर्छ।
अन्तमा, दाता निर्देशित भई अरुद्वारा नियोजित रुपमा थोपरिएका स्वास्थ्य कार्यक्रमहरु लागू गर्नुभन्दा माथि उल्लेखित अपार चिकित्सकीय ज्ञानमाथि अनुसन्धान गर्न प्राथमिकता प्राप्त कार्यक्रमहरु बनून्। हाम्रो मौलिक चिकित्साले निर्देशित गरेका स्वास्थ्य रक्षाका विधिहरु पालना गर्न/गराउन जनजनमा सचेतनामूलक कार्यक्रमहरु बनून्। नसर्ने रोगको दिनानुदिन बढ्दो प्रकोप कम गराई जनतामाथि परेको स्वास्थ्य खर्च र महँगा रोग तथा आधुनिक चिकित्सा विज्ञानलाई समेत चुनौती बनेका कोभिड- १९ लगायतका संक्रामक रोगको निकास दिन आयुर्वेदमा उल्लेखित औषधि र चिकित्सा विधितर्फ ध्यान दिई स्वदेश भित्रकै बहुविशेषज्ञताको सहयोगबाट विश्वलाई केही दिने राष्ट्रिय प्रतिवद्धताका सबै विधाका स्वास्थ्यकर्मी आयुर्वेदतर्फ फर्कौं।
आयुर्वेद चिकित्साकर्मीहरुले पनि आपसी सम्मान‚ सहयोग‚ सहकार्य‚ सद्भाव‚ समन्वय‚ सदासयता कायम गर्दै माथि उल्लेखित संस्थागत‚ पेसागत तथा चिकित्सकीय विकासका सम्मानजनक पूर्वाधार तयार पार्न सरकारलाई घच्घचाइरहन र सकारात्मक सुझावका साथ अघि बढ्न आवश्यक छ।
(डा पौडेल स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराका कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ हुन्)