डा शान्ति भुर्तेल नेपाल
संयोग पनि कस्तो, दस वर्ष अगाडि म जस्तो थिएँ, तिमी अहिले त्यस्तै छ्यौ। हाम्रा स–साना स्वभाव पनि मिल्छ। तिमी पनि साकाहारी, म पनि। पहिला पनि एउटै कार्यालयमा कार्यरत हामी अहिले भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत छौं।
कोरोना महामारीपछि आइसोलेसनको अवधारणा विकसित भयो। तर आइसोलेसन शब्द मेरा लागि चाहिँ नौलो थिएन। श्रीमान् गुमाएपछि मलाई कसैसँग पनि कुरा गर्न र खुल्न मन पर्दैनथ्यो। म एक प्रकारले आइसोलेसनमै थिएँ। त्यसैले नै होला, म फेसबुकको पनि प्रयोग गर्दिनँ।
हाम्रो समाज अझै पनि पुरुषप्रधान छ। चरित्रहीन र अनुशासनहीन प्रवृत्तिका पुरुषले पटकपटक आफ्नो घाउमा नुनचुक छर्न केही कसर छोडेनन्। समय बलवान हुँदो रहेछ। आफ्नो समस्या स्वीकार गर्न सक्नु नै सबैभन्दा ठूलो शक्ति रहेछ। तिम्रा भिनाजु नभए पनि उहाँले दिएका दुई अमूल्य हिरा छन्।
छोरी आरभीको जन्मदिन, त्यसपछि बहिनीकी छोरीको अन्नप्रासन अनि अहिले मेरा बाबु–नानीलाई हेरेर गुन लगाउनु भएका मेरा बहिनी ज्वाईंको जन्मदिन। लगातार ती दिनमा परिवारसँग हुन नपाउँदा मलाई खल्लो र नरमाइलो लागेको थियो। कोरोना अस्पतालमै खटिन परेकाले छुट्टै क्वारेन्टाइनमा छु। त्यसैले चाहेर पनि म घर जान सक्दिनँ।
आफ्नै संसार अनि आफ्नै दुनियाँमा रमाउन आफ्ना पीडा, दुःख र भोगाइ लेख्दै गरेकी मलाई तिमीले सोधेकी थियौ– दिदी के लेख्नुभएको? यी लेखलाई छापौँ न! मैले सोचेकी थिएँ, यस्तो पनि छापिन्छ र? तिम्रै कुरा विश्वास गरेर समाजमा जनचेतना जगाउने र सकारात्मक सन्देश दिने कुरा समेटिएका लेख लेख्न सकें। यस्तो विषम परिस्थितिमा पक्कै पनि त्यसले विशेष महत्व राख्छ भनेर आफ्ना अनुभव लेख्ने प्रयत्न गरेकी हुँ।
चितवनमा एकै दिन तीस जना संक्रमित थपिए। तीमध्ये तीन जना स्वास्थ्यकर्मी हुन् भन्ने थाहा भएपछि जिल्लामै दिनभर तनाव थियो। फोन आउने क्रम रोकिएन। जाँच गराउने सबै त्रसित थिए। यो अस्पताल पहिले महानगर अन्तर्गत भएको र पछि भरतपुर अस्पतालले जिम्मा लिएको हुनाले यहाँको व्यवस्थापनमा अभैm पनि धेरै चुनौती छन्।
सुरुवाती दिनमा धेरै समस्या भयो। अस्थायी अस्पताल भनिए पनि प्राविधिक छैनन्, कामचलाउकै भरमा काम गर्ने हो। संक्रमित भेटिने बित्तिकै व्यवस्थापनमै जुट्न थाल्यौँ। स्टोरमा औषधिको पर्याप्त संकलन छ÷छैन। पिपिई र एन् ९५ मास्कको उपलब्धता, बिरामी राख्ने ठाउँमा पङ्खा, बत्ती, पानी, पानी उमाल्ने सामान आदिको व्यवस्थापन गर्नुप¥यो। तर हप्तौँदेखि क्वारेन्टाइनमा राखिएका सामान्य व्यक्तिलाई राति साइरन बजाउँदै अस्पतालमा ल्याइने र सम्पूर्ण जिल्लाबासीलाई नै त्रसित बनाउने के अहिलेको आवश्यकता हो? यहाँको माहोल र भागदौड देख्दा लाग्थ्यो, कतै आगलागी या प्राकृतिक विपद् पो आइलाग्यो कि?
उनीहरू दिनभरि भोकै छन्, डराएका छन् र अन्योलमा छन्। यहाँ व्यवस्थापन छ, स्वास्थ्यकर्मी छन्, सुरक्षाकर्मी छन्, संक्रमितलाई परामर्श गर्ने व्यक्ति छन्। त्यसो भए यो बिरामी ल्याएको भन्दै बाजा बजाउने काम बन्द गर्न सकिँदैन? त्यो साइरनको आवाजले तिमी–हामी जस्ता यहीं दिनरात बिताउने स्वास्थ्यकर्मी डरायौँ भने ती चौध वर्ष उमेरदेखिका अबोध संक्रमितको मानसिकतामा कस्तो असर प¥यो होला, त्यो कसले विचार गर्ने?
तिमी–हामी अस्पतालमै रमाउँछौँ। अहिले त यो नै अर्को परिवार जस्तो बन्यो। बिरामीलाई सजिलो कसरी बनाउने, हौसला कसरी दिने भन्नेमा ध्यान दिने गरेका छौं। हामीले उच्च मनोबल राख्दै आपूmलाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्छ। परीक्षणको दायरा बढेसँगै संक्रमितको पहिचान हुनेछ।
उनीहरूलाई अन्य व्यक्तिबाट छुट्टै राख्न सक्नु सकारात्मक कुरा हो। विज्ञहरूले भनेकै छन्, अन्य देश र हाम्रो देशको धरातल फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ। त्यसैले अन्य देशको अवस्था हेरेर डर मानेर के गर्ने? बिरामीहरूले पनि धेरै कुरा सिकाउनुभएको छ। उहाँहरूको आत्मविश्वास देख्दा हामीले उल्टै धेरै कुरा सिकिरहेका छौँ जस्तो लाग्छ।
साँच्चै भिनाजु गुमाएपछि म यसरी खुलेको तिमी नै पहिलो व्यक्ति हौ रश्मी। यस अस्पतालको परिवारमा तिमी मेरा लागि एक चिकित्सक मात्र नभएर मेरी बहिनी, साथी अनि मनभित्र गुम्सिएका पीडा बाहिर निकाल्ने एक सहयोगी पनि हौँ। अहिले मैले भित्रैबाट धेरै हलुका महसुस गरेकी छु।
तिमीलाई धेरै धन्यवाद दिँदै जन्मदिनको शुभकामना भन्न चाहन्छु।
(डा भुर्तेल भरतपुर कोरोना विशेष अस्थायी अस्पतालकी प्रमुख हुन्।)