रमेश कुँवर
जसले सत्रु र आफ्नो क्षमताको बारेमा पूर्ण जानकारी राख्छ, उसैले युध्द जित्न सक्छ। चिनियाँ दार्शनिक एवं सैन्य रणनीतिकारको एउटा प्रसिध्द भनाइ छ, 'जसलाई कतिखेर लड्ने र कतिखेर नलड्ने भन्नेबारेमा थाहा हुन्छ, उसैले जित्छ।'
अहिले विश्वमा कोभिड-१९ को महामारीलाई हेर्ने हो भने संक्रमण कुनै निश्चित उचाइमा पुग्छ र त्यसपछि ओरालो लाग्ने क्रम सुरु हुन्छ। स्थानीय सरकार क्वारेन्टाइन व्यवस्थापनमा, प्रदेश र संघीय सरकार राहत वितरण र विदेशबाट आएका नेपाली नागरिकको उद्धारमा, अस्पताल सामान्य कोभिड-१९ संक्रमितको उपचारमै थकित भइसके भन्दा धेरै फरक नपर्ला।
युध्द त भर्खर सुरु भएको छ। अन्त्य नहुँदासम्म लड्नु वा लडेझैं गर्नुको विकल्प पनि छैन। लड्नको लागि हाम्रो स्वास्थ्य प्रणाली सुहाउँदो रणनीति बनाउनुपर्छ होला। अन्य देशको रणनीति वा अनुभव हुबहु लागू नहुन पनि सक्छ। कोभिड-१९ महामारीमाथि विजय प्राप्त गर्नका लागि हामीले विश्वका सिध्दान्तलाई आधार मानी स्थानीय परिस्थिति अनुकुल रणनीति तयार गर्नुपर्छ भन्नेमा दुईमत नहोला।
जबसम्म हामीले हाम्रा सबल पक्षको गहिरो अध्ययन एवं विश्लेषण गर्दैनौं तबसम्म ठोस रणनीति तय गर्न सक्दैनौं। ठोस रणनीतिबिना युद्ध लड्ने परिकल्पना आफैंमा पराजित हुनु हो। एकचोटी सोचेर हेरौं त! हाम्रो रणनीति ठोस हो वा तरल? परिणाम सहजै अनुमान गर्न सकिन्छ, लड्नै पर्दैन।
कोरोनासँग हामी लड्ने हो, डराउने हैन। अहिलेको सन्दर्भमा लकडाउनको आडमा युध्दको पूर्ण तयारीमा चुक्न हुँदैन। कोभिड महामारीसँग लड्न दुई तरिकाले सोच्न सकिन्छ। पहिलो संक्रमण हुन नदिनु र दोस्रो संक्रमितहरुको उचित व्यवस्थापन गर्नु। संक्रमण रोकथाममा सरकार र सरोकारवालाहरुले आफ्नो पूर्ण प्रयास गरीरहेका छन् भने संक्रमितहरुको व्यवस्थापनमा आवश्यकता अनुसारको तयारी अझै पुगेको छैन भन्ने कुरा जनजिब्रोबाट सुन्नमा पाइन्छ। अबको हाम्रो रणनीति बढी जस्तो दोस्रो पाटोमा केन्द्रित हुनपर्छ होला। यसो भनिरहँदा पहिलो पाटोलाई नजर अन्दाज गर्ने भन्न खोजिएको किमार्थ हैन।
स्वास्थ्य प्रणाली र पध्दति रातारात च्याउ उमारेझैं सुधार गर्न सकिने विषय हैन र सम्भव पनि छैन। कोभिडसँग लड्न सक्नेगरी स्वास्थ्य प्रणाली एक/दुई महिनामै बनाउँछु भन्नु अल्पज्ञान मात्रै हुन्छ। विसं २०११ मा स्वास्थ्य मन्त्रालय स्थापनादेखि अहिलेसम्मको स्वास्थ्य प्रणालीको अवस्था हेर्दा सहजै अनुमान गर्न सकिन्छ, नेतृत्व (इलेक्टेड र सेलेक्टेड दुवै) कस्तो थियो भनेर! अहिले केन्द्रित सुधार गरौं र युद्धपश्चात् समग्र सुधार गर्नु बाहेक विकल्प छैन। अहिले सीमित स्रोत-साधन, सरकार र सरोकारवालाको सामर्थ्य र कोभिड महामारीबीच तालमेल र सामञ्जस्यता कायम गरी सन्तुलित युद्ध रणनीति बनाउनु नै बुद्धिमता हुन्छ।
सबै कोरोना संक्रमितहरुको चिकित्सकमार्फत अस्पतालमा उपचार गर्छु र गराउँछु भन्ने कमजोर आकलन हुनसक्छ। छिट्टै अस्पतालहरुले आत्मसमर्पण गर्नु बाहेक अन्य विकल्प नहुन सक्छ। जटिलता सहितका संक्रमितको मात्रै चिकित्सकद्वारा अस्पतालमा उपचार र सामान्यहरुको हकमा गैरचिकित्सकमार्फत घरमै वा अन्य स्वास्थ्य संस्थामा उपचार गर्नेतिर केन्द्रित हुनपर्छ होला। अहिलेका गतिविधि हेर्दा सरकारको रणनीति लगभग यस्तै छ।
हाम्रो देशका अस्पताल र चिकित्सकको संख्या हेर्दा जटिल संक्रमित बाहेक अन्यको हकमा अस्पताललाई व्यस्त नबनाएकै ठिक हुन्छ। जटिल संक्रमण (बढीमा ५ प्रतिशत) को हकमा अस्पताल र चिकित्सकलाई तयार गरौं र सामान्य संक्रमण (९५ प्रतिशत) को हकमा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र आदीलाई तयार पारौं। इतिहासलाई मात्रै नियाली हेर्ने हो भने अहिलेसम्मका जति पनि महामारी वा संकटकाल लगायतका आपतकालीन अवस्थामा पनि गैरचिकित्सकीय स्वास्थ्यकर्मीहरुको योगदान र भूमिका निकै प्रशंसनीय छ। गर्व गर्न लायकको छ।
काममा दिन/रात खटिने तर जस पाउने बेला अरुले नै पाएको देख्दा पो दु:ख लाग्छ। गैरचिकित्सक भन्नाले स्वास्थ्य प्रणालीमा करिब ९० प्रतिशतभन्दा बढी हिस्सा ओगेटेका हेल्थ असिस्टेन्ट, सि-अहेब, नर्स, प्रयोगशालाकर्मीहरु लगायतका स्वास्थ्यकर्मी हुन्। छोटकरीमा भन्ने हो भने नेपालमा स्वास्थ्य क्षेत्र यिनीहरुकै काँधमा छ भन्दा सायदै फरक नपर्ला। हाम्रो देशको स्वास्थ्य प्रणालीको बलियो पक्ष भनेको हामीसँग लगभग प्रत्येक समुदायमा यिनको उपस्थिति र स्वास्थ्य संस्थाको संरचनाको पहुँच छ। हाम्रो स्वास्थ्य प्रणालीको बलियो पक्षलाई कसरी यस युद्धमा प्रयोग गर्न सक्छौं भन्नेतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
हाम्रा प्रत्येक स्वास्थ्य चौकीलाई अहिले गाउँघरका अस्पतालको रुपमा मानौं र त्यहाँको नेतृत्व हेअ/सि-अहेबलाई दिउँ। सामान्य संक्रमितहरुको उपचारको सम्पूर्ण जिम्मेवारी बहन गर्न सक्नेगरी उहाँहरुलाई तयार पारौं। यति गरिरहँदा विश्वस्तरका मापदण्डका कुराहरु आउलान्, जुन स्वभाविक पनि हो। सामान्य अवस्थामा मापदण्ड भन्ने कुराले निकै महत्व राख्छ तर असामान्य परिस्थितिमा अर्जुनदृष्टि शैली मात्रै अपनाउँदा गन्तव्यमा पुग्न सकिन्छ।
अहिलेको अवस्थामा अर्जुनदृष्टि शैली भनेको प्रत्येक घरलाई क्वारेन्टाइन र आइसोलेसन बनाउने, प्रत्येक स्वास्थ्य संस्था (प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, पोलिक्लिनिक आदि) लाई सामान्य संक्रमितको उपचार स्थल बनाउने (यहाँनेर 'सामान्य' शब्द निकै अर्थपूर्ण छ), सरकारी र निजी अस्पतालहरुलाई जटिलतायुक्त संक्रमितको उपचार स्थल बनाउने भन्ने बुझ्नुपर्छ। यही मार्गमा हाम्रा सीमित स्रोत-साधनलाई विवेकपूर्ण तरिकाले केन्द्रित गर्न सक्यौं भने स्थितिलाई केही हदसम्म नियन्त्रण गर्न सक्छौं। यसो गर्ने भनिरहँदा व्यक्तिगत सुरक्षामा कुनै पनि कमी हुन दिनु हुँदैन। प्रत्येक स्वास्थ्य संस्थामा पिपिई, मास्क, ग्लोभ्स, अत्यावश्यक औषधि लगायतका सामग्रीहरु र कम्तीमा जिल्लास्तरमा पिसिआर प्रविधियुक्त प्रयोगशाला विस्तार गर्ने कुरामा नजरअन्दाज गर्न सकिँदैन।
हेअ/सि-अहेबले सामान्य कोभिड-१९ संक्रमितको उपचार गर्न सक्लान्? प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा भएका स्टाफ नर्स वा अनमीले संक्रमितको हेरचाह गर्न सक्लान्? स्थानीय वा जिल्ला स्तरका प्रयोगशाला वा प्रयोगशालाकर्मीले आरडिटीमार्फत परीक्षण गर्न सक्लान्? (पिसिआर प्रविधिको लागि सरकारी संयन्त्रमा नेतृत्व जनशक्ति पर्याप्त नहोला तर अन्य संयन्त्र वा बजारमा त छन्!), के भौतिक पूर्वाधारयुक्त प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी छन्? छोटो समयमा कसरी नेतृत्वलाई सेवा प्रवाहको लागि तयार गर्न सकिन्छ? आदि प्रश्नहरुले मनमस्तिष्कमा भ्रमण गर्न सक्छन् होला, जुन स्वाभाविक पनि हो। उपरोक्त प्रश्नहरुको प्रतिउत्तरमा यो बाहेक हामीसँग अन्य कुनै राम्रो विकल्प छ? यदि छैन भने यसैमा अवसर खोज्ने र चुनौतीको समाधान गर्नेतिर लाग्दा राम्रो होला।
देशकै जेष्ठ वीर अस्पतालदेखि साना अस्पतालमा आकस्मिक उपचारको लागि जानुभएको छ भने त्यहाँ सबैभन्दा पहिला बिरामीको अवस्था बुझ्ने, प्रारम्भिक परीक्षण/उपचार गर्ने स्वास्थ्यकर्मी हेअ वा सि-अहेब नै हुन्छ। बढीजसो बिरामीको हेरचाह गर्ने महिला स्वास्थ्यकर्मी तिनै अनमी वा स्टाफ नर्स नै हुन्छन्।
रगत, दिसा, पिसाब, खकार आदिका नमुना संकलन गर्ने व्यक्ति तिनै ल्याब असिस्टेन्ट वा टेक्निसियन नै हुन्छन्। यही क्षमता भएको जनशक्ति प्रत्येक स्थानीय तहमा छन्। फरक यत्ति हो कि ठूला अस्पतालमा यिनी (पारामेडिक्स) सैनिक थिए भने अब यिनलाई कमाण्डर बनाउनुपर्छ। इच्छाशक्ति र ऊर्जा हेर्ने हो भने रामेडिक्सको अर्थपूर्ण परिचालनले कोभिड-१९ नियन्त्रण गर्न सकिनेमा आशावादी हुन सकिन्छ।
सरकारको एउटा सफल दूरदृष्टिलाई बलियो पक्षको रुपमा लिन सकिन्छ। त्यो के हो भने, अहिले नेपाल सरकारले निर्माण गरिसकेका वा गरिरहेका स्वास्थ्य चौकीहरुको भौतिक पूर्वाधार भविष्यमा १५ शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने गरी निर्माण भएका छन्। तिनै भौतिक पूर्वाधारहरुलाई न्यूनतम मापदण्ड पूरा गरी सदुपयोग गर्न सकिन्छ । सामान्य संक्रमितको उपचारको लागि संघीय सरकारले तालिम सामग्री, मापदण्ड, उपचार पुस्तिका, नीतिगत सहजीकरण, वित्तीय सहजीकरण गरिदिने हो भने प्रदेश सरकारले भर्चुअल माध्यमबाट स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा एक दुई हप्तामै नेतृत्व र सिप हस्तान्तरण गर्न सक्छ। प्रत्येक जिल्लामा रहेका प्रदेश सरकारका अस्पताल र स्वास्थ्य कार्यालयहरुले नजिकबाट प्रशिक्षण दिन सक्ने अवसर छ। उपलब्ध स्रोत-साधनको सदुपयोग नहुनु भनेको आफैंमा दुरुपयोग पनि हो।
अन्त्यमा, गैरस्वास्थ्यकर्मी नेतृत्व जति विद्वान भए पनि स्वास्थ्य क्षेत्रको गहिराइमा पुग्नै सक्दैन। गहिराइमा नपुगी स्वास्थ्य क्षेत्र सुधार हुन सक्दैन। जबसम्म निर्णायक तहमा पूर्ण नियन्त्रण स्वास्थ्यकर्मीको हुँदैन, तबसम्म पूर्ण स्वास्थ्यमैत्री निर्णय नहुन सक्छ। दुईमा दुई जोडेर चार हुने जस्तो अंकगणित स्वास्थ्य जस्तो प्राविधिक क्षेत्रमा लागू नहुन सक्छ। स्वास्थ्य विशेष सेवा हो, विशेष जोड र नजरबिना विशेषता महसुस नहुन सक्छ। सायद यिनै कुराको अभावले कोभिड-१९ व्यवस्थापनमा अस्तव्यस्तता आएको हुनसक्छ।
(कुँवर सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य अधिकृत हुन्।)