रमेश कुँवर
भनिन्छ, हिँडाइ सबैभन्दा पुरानो र सबैभन्दा नयाँ शारीरिक व्यायाम हो। सर्नेभन्दा नसर्ने रोगको भार दिनानुदिन बढिरहेको हाम्रो जस्तो देशमा त शारीरिक व्यायामको महत्व अधिक हुन्छ।
हाम्रो देशमा विद्यमान स्वास्थ्य क्षेत्रको साँघुरो बुझाइ र स्वास्थ्यमा व्यक्तिगत गैरजिम्मेवारीपन त उदेकलाग्दो छ। यदि कतै स्वास्थ्यको कुरा आयो भने धेरैको प्रश्न सरकारतिरै तेर्सिन्छ।
नागरिकलाई स्वस्थ बनाउन कसको बढी जिम्मेवारी हुन्छ होला? भन्ने प्रश्न सोध्यौं भने धेरैले नसोची सरकारको वा सरोकारवालाहरुको भन्नुहुन्छ होला! दोषारोपणको महामारी चलिरहेको वर्तमान परिप्रेक्ष्यमा देश र व्यक्तिलाई स्वस्थ बनाउन जरुरी छ। व्यक्ति स्वस्थ बन्नका लागि सरकार भन्दा पनि आफ्नै जिम्मेवारी बढी हुन्छ।
तपाईंले एक दिनमा आफ्नो स्वास्थ्यको लागि समय छुट्याउनु भएको छ वा छैन? छ भने कति समय? यदि छुट्याउनु भएको छैन भने छुट्याउनुपर्छ जस्तो लाग्दैन? तपाईंको जीवनका हरेक सफल वा असफल अवस्थाहरु व्यक्तिगत स्वस्थतासँग सम्बन्धित छैनन्? मेसिन राम्रो भए पो वस्तु राम्रो उत्पादन गर्न सकिन्छ, हैन र?
जुनसुकै देशको सरकारले पनि पहिला तपाईंले आफैं प्रयास गर्नुहोस, त्यसपछि बाँकी हामी छौं भन्ने त हो। मेडिकल भाषामा भन्दा व्यक्तिको एनाटोमी राम्रो भए फिजियोलोजी राम्रो हुन्छ, दुईटै राम्रो भए मात्रै साइकोलोजी राम्रो हुन्छ। छोटकरीमा भन्नु पर्दा एनाटोमी, फिजियोलोजी र साइकोलोजी तीन वटै राम्रो भएमा मात्रै व्यक्ति स्वस्थ हुन सक्छ र व्यक्ति स्वस्थ भएपछि मात्रै देश स्वस्थ हुनसक्छ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो भनिन्छ। प्रायः हरेक व्यक्तिले प्रत्येक दिन १४४० मिनेटबाट कम्तीमा ३० मिनेट मात्रै आफ्नो स्वास्थ्यको लागि छुट्याइदिने हो भने पनि धेरै हदसम्म सरकारको लगानी खेर जानबाट जोगाउन सकिन्छ। सरकारको लगानी जोगाउने कुरा त धेरै टाढाको प्रतिफल हो, घरायसी लगानी जोगाउन सकिन्छ।
३० मिनेटले व्यक्तिको सफलता वा असफलता निर्धारण गर्न सक्ने सामर्थ्य राख्छ भन्दा सायद फरक नपर्ला। तपाईंलाई ३० मिनेटले जति ३० करोडले स्वस्थ नबनाउन सक्छ। दैनिक कम्तीमा ३० मिनेटको नियमित हिँडाइले तपाईंको जीवनमा के प्रभाव पार्न सक्छ भनेर विभिन्न अध्ययनहरुले देखाएका छन्। सायद यही कुरा आत्मसात गरेर होला सुदूरपश्चिम प्रदेशले 'म हिँड्छु, मेरो प्रदेश हिँड्छ' भन्ने प्रादेशिक अभियान चलाउँदै छ, जुन बाँकी प्रदेशको लागि सिकाइ हुनसक्छ।
नेपालमा नसर्ने रोग र त्यसको जोखिमको बारेमा अध्ययन भएको छ। केही तथ्यांकहरु निकै सोचनीय छन्। जनस्वास्थ्य क्षेत्रमा समस्या सकस लाग्दो छ तर रोकथाम सामान्य छ। अहिले सुदूरपश्चिम प्रदेशमा १०० मा करिब २१ जनालाई उच्च रक्तचाप, १०० मा ४ जनालाई मधुमेह र १०० मा १० जनालाई उच्च कोलेस्ट्रोल छ।
त्यस्तै १०० मा करिब ३३ जना सुर्तीजन्य पदार्थको सेवन र १०० मा १८ जनाले धूमपान गरिरहेका छन्। पहिलो पटक धूमपान गर्नेको औसत उमेर १७ वर्ष रहेको छ। १०० मा ७ जनाले अत्यधिक मदिरा सेवन गरिरहेका छन्। यहाँनेर अत्यधिक भन्ने शब्द अर्थपूर्ण छ। त्यस्तै १०० मा ९ जनाले मात्रै अपर्याप्त शारीरिक गतिविधि गर्दा रहेछन् (प्रति हप्ता १५० मिनेटभन्दा कम समय मध्यम परिश्रम गर्ने वा सो सरह)। १०० मा करिब ११ जना अधिक वजन वा मोटोपनाबाट ग्रसित छन्।
यी त केही प्रतिनिधित्व सूचकांक मात्रै हुन्। विभिन्न कुराहरुले गर्दा नसर्ने रोगको जोखिम बढिरहेको छ। यदि सबैले व्यक्तिगत स्वास्थ्यप्रति जिम्मेवारी निर्वाह गरिदिने हो भने उल्लेखित समस्याबाट उन्मुक्ति पाउन वा जोखिम न्यूनीकरण गर्न सकिन्छ।
सबैभन्दा सस्तो जनस्वास्थ्यको अस्त्र अब हिँड्नु र हिँडाउनुपर्छ। पहिलापहिला पो मोटोघाटो व्यक्तिलाई हुनेखानेको दर्जामा राखेको जनजिब्रोमा सुनिन्थ्यो। अहिले त विशेषगरी सहर-बजारमा जता हेर्योे त्यता भुँडीवाला (मोटोपना भएको व्यक्ति) बढी देखिन्छन् (गर्भवती, मेडिकल जटिलता र केही रोग बाहेक)। मोटोपनाले अस्वस्थताका साथै आत्म अनुशासनमा अनुत्तीर्णको प्रमाणपत्र पनि झल्काउँछ।
नागरिकहरुले उपदेश र निर्देशनभन्दा पनि व्यवहारबाट धेरै सिक्छन्। सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी लगायतका समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वहरुले आफ्नो व्यवहार मात्रै स्वास्थ्यमैत्री बनाइदिने हो भने पनि जनस्वास्थ्य क्षेत्रमा अर्बौंको काम हुनसक्छ। प्रत्येक दिन जम्मा ३० मिनेट मात्रै हिँड्ने हो भने विभिन्न थरीका रोगहरुको जोखिम न्यूनीकरण र धेरै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। क्रमश: भन्ने हो भने प्रत्येक दिन कम्तीमा ३० मिनेट हिँडाइका निम्न फाइदाहरु छन्:
१) मुटु रोगको जोखिम घटाउँछ,
२) रक्तचापको अवस्था सामान्यमा ल्याउँछ,
३) रक्त लिपिड प्रोफाइलमा सुधार ल्याउँछ,
४) शारीरिक तौललाई सन्तुलित राख्न मद्दत गर्छ,
५) मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,
६) हड्डी खिइने जोखिम घटाउँछ,
७) स्तन क्यान्सरको जोखिम घटाउँछ,
८) मधुमेहको जोखिम घटाउँछ,
९) मोटोपना घटाउँछ,
१०) डिप्रेसन र चिन्ता रोगको जोखिम घटाउँछ,
११) स्ट्रेस घटाउँछ, मुड ठिक पार्छ,
१२) हड्डी र मांसपेसी बलियो बनाउँछ,
१३) ठूलो आन्द्राको क्यान्सरको जोखिम घटाउँछ,
१४) रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
यो अभियानको सुन्दर पक्ष भनेको यसमा लगभग शून्य लगानी, विशेष खालका औजार-उपकरणको आवश्यकता नहुने र हाम्रो जस्तो प्रदेशमा सजिलै लागू गर्न सकिने खालका गतिविधि पर्छन्। यस अभियानको मुख्य रणनीति भनेको जसरी भए पनि नागरिकलाई स्वस्फुर्त आफ्नो अवस्था अनुसार हिँडाइको (शारीरिक व्यायाम) लागि बिहान वा बेलुका वा आफ्नो समय अनुकुल हप्तामा कम्तीमा १५० मिनेट (वा कम्तीमा ३० मिनेट प्रत्येक दिन) हिँड्न उत्प्रेरित गरी स्वस्थ नागरिक बनाउने नै हो।
(कुँवर सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका जनस्वास्थ्य अधिकृत हुन्।)