रामकुमार धमला
कोभिड–१९ को महामारीबीच अहिले तीन तहकै सरकारले आगामी आव २०७७/०७८ लागि धमाधम बजेट बनाइरहेका छन्। कोभिड–१९ को महामारीका कारण बजेटमा निश्चय नै स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ।
कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्दै स्वस्थ र समृद्ध नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न बजेटमा स्वास्थ्यका विषयहरु प्राथमिकताका साथ समेट्न आवश्यक छ। स्थानीय तह पालिकास्तरीय बजेट बनाउँदा आफ्नो पालिकाको स्वास्थ्य प्रणाली हाल कस्तो छ र कस्तो बनाउने भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ।
स्वास्थ्य संस्थाको पछिल्लो तीन वर्षको एचएमआइएसको तथ्यांक र स्थानीय आवश्यकताको आधारमा स्वास्थ्यको नीति तथा कार्यक्रम बनाउनुपर्छ। जनताको स्वास्थ्य आवश्यकतालाई पूरा गर्न हरेक पालिकाको स्वास्थ्य प्रणाली सुदृढ र सबल हुनुपर्छ। सामान्यतयाः स्वास्थ्य प्रणालीका ६ वटा स्तम्भ रहेका छन्। मानव स्रोत, औषधि उपकरण, आर्थिक स्रोत, नेतृत्व तथा सुशासन, सूचना प्रणाली र स्वास्थ्य पूर्वाधार स्वास्थ्य प्रणालीका स्तम्भहरु हुन्।
यी स्वास्थ्यका आधार स्तम्भहरु एकआपसमा अन्तरसम्बन्धित छन्। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यी सबै आधार स्तम्भहरुको प्रभावकारी व्यवस्थापन हुने गरी बजेट विनियोजन गर्न जरुरी हुन्छ। अहिले सबैको चासो र ध्यान स्वास्थ्य क्षेत्रमा रहेकोले आगामी बजेटमा पालिकाहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम गर्नु उपयुक्त देखिन्छ। पालिकास्तरीय बजेटमा स्वास्थ्यमा निम्न २५ विषय समेट्न सकिन्छः
१. कोभिड–१९ संक्रमण निगरानी, टेस्ट र उपचारको लागि व्यवस्था मिलाउने।
२. सरुवा तथा महामारीजन्य रोगहरुको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेट विनियोजन गर्ने।
३. स्वास्थ्य क्षेत्रको विकास, सहयोग र समन्वय गर्न पालिकाका क्षेत्रका स्वास्थ्य विज्ञ र स्वास्थ्यमा जानकार व्यक्तिहरुको विज्ञ स्वास्थ्य समूह बनाई सहयोग लिने।
४. पालिकास्तरीय स्वास्थ्य संस्थाहरुलाई जनशक्ति व्यवस्थापन, औजार, उपकरण र भौतिक पूर्वाधारलाई विकास गर्ने।
५. संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी सम्भव भएसम्म स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई सुदृढीकरण र स्तरोन्नति गर्ने।
६. हरेक नागरिकको वर्षमा दुई पटकसम्म स्क्रिनिङ, स्वास्थ्य जाँच गर्ने बानी पार्न विशेष अभियान सञ्चालन गर्ने।
७.. सर्ने तथा नसर्ने रोगको प्रकोप न्यूनीकरण सहित हामी स्वास्थ्य, हाम्रो पालिका स्वास्थ्य भन्ने अभियान सञ्चालन गरिने छ।
८. किशोर–किशोरीको स्वास्थ्य सबल बनाउन प्रत्येक स्कुलमा स्कुल हेल्थ क्लब गठन गर्ने, जसमा पोषण, मुख स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य एवं मानसिक स्वास्थ्य, बालविवाह, लागू औषध दुव्र्यसन विरुद्ध जस्ता पक्षलाई सम्बोधन गर्न स्वास्थ्य जनशक्तिमार्फत अभिमुखिकरण गर्ने।
९. पालिका क्षेत्रमा बालबालिकामा कुपोषण, सिकलसेल एनिमिया, वर्थडिफेक्ट जस्ता स्वास्थ्य समस्या समाधानका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने।
१०. जेष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुको लागि वार्षिक रुपमा पालिका प्रमुख घरघरमा स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गर्ने।
११. स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गरी पालिकाको सबै नागरिकको स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने नीति अबलम्वन गर्ने।
१२. पालिका अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थाको चिकित्सक नर्स तथा अन्य पारामेडिक्सको क्षमता अभिवृद्धि गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम र अन्यको लागि कन्टिन्युड मेडिकल एजुकेसन (सिएमई) सञ्चालन गर्ने।
१३. पालिका उपप्रमुख महिला स्वास्थ्य स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने।
१४. सम्भव भएसम्म चिकित्सक उत्पादनका लागि मेडिकल छात्रवृत्ति कोष खडा गर्ने। व, पालिकाले स्वास्थ्य प्रतिष्ठानहरुसँग सहकार्य गरी पालिकाका केही विद्यार्थीहरुलाई मेडिकल शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गर्ने।
१५. पालिकाको र्यापिड रेस्पोन्स टिमलाई वर्षभरि नै सक्रिय बनाइनुका साथै आवश्यक बजेट छुट्याउने।
१६. स्वास्थ्य संस्थाजन्य फोहोर मैला व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गर्ने।
१७. पालिका अन्र्तगतका सरकारी कार्यक्रमहरुमा पोषणविद्हरुबाट तयार गरिएको स्वास्थ्य तथा सन्तुलित खानाको मेनु तयार गरी सोही अनुसारको खाना–खाजा वितरण गर्न अनिवार्य गर्ने। साथै स्कुल, कलेजमा जंक फुड रहित खाजाको मापदण्ड बनाई कडाइ गर्ने।
१८. पालिकाको निजी स्वास्थ्य संस्थाहरुको अनुगमन र नियमनलाई कडाइ गर्ने तथा सहयोग, समन्वय गर्ने।
१९. स्वास्थ्य शैक्षिक संस्थामार्फत सिटिइभिटी वा अन्य मान्यताप्राप्त शिक्षण संस्थासँग समन्वय गरी पालिकाले आफ्नै स्वास्थ्यतर्फको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्भाव्यता अध्ययन र सञ्चालन प्रक्रिया अगाडि बढाउने।
२०. तथ्य र तथ्यांकमा आधारित भई स्वास्थ्यका सुचांकहरुको विश्लेषण गरी सुदृढीकरण गर्न कार्यक्रम बनाउने।
२१. निजी स्वास्थ्य अभ्यासमा हुने माल प्राक्टिस, ड्रग रेसिस्टेन्ट आदिलाई न्यूनीकरण गर्न पालिकास्तरीय उपचार स्ट्यान्डर्ड मापदन्ड तयार गर्ने।
२२. पालिकास्तरीय एक्बुलेन्सको मापदन्ड तयार गर्ने र सेवा प्रभावकारिता नियमन गर्ने।
२३. अस्पताल, स्वास्थ्य चौकीहरु र स्वास्थ्य एकाइहरुमा पर्याप्त औषधि तथा औजार–उपकरणको प्रबन्ध मिलाउने।
२४. स्वास्थ्य सम्बन्धी परामर्श दिन निःशल्क हटलाइन नम्बर सहित चिकित्सक र स्वास्थयकर्मीहरुको व्यवस्था गर्ने।
२५. पालिकाको हेल्थ प्रोफाइल तयार गर्न बजेट विनियोजन गर्ने।
(धमला राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य हुन्।)