डा सन्देशरमण पराजुली
नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको करिब ५ वर्ष भयो। यसपालिको बजेटमार्फत आगामी ३ वर्षभित्र सबै जनताको पहुँचमा बिमा पुर्याउने भनिएको छ। राज्यले जनताको स्वास्थ्यलाई आफ्नो ज़िम्मेवारी हो भनेर बिमा सुरु गरेको हो।
बिमा लागू भएको 'प्रस्थान बिन्दु' अस्पतालमा काम गर्ने हुनाले बिमा र बिमितसँग जोडिएका केही आधारभूत कुरासँग दिनहुँ अन्तर्क्रिया भइरहेको आधारमा केही विषय यहाँ प्रस्तुत गर्दै छु।
केही वर्ष अघिसम्म कुनै दुर्घटना नभई वा कुनै रोगले नथलिएसम्म अस्पताल नै नआउने ठूलो जनसंख्यालाई आजकल 'ग्यास्ट्रिकको औषधि लिन', 'प्रेसर नाप्न' मात्र भए पनि बिमाले अस्पताल पुर्याएको छ। धेरै वृद्ध-वृद्धा घरबाट अस्पताल आउँदा भेटिने आफ्ना दौतरीसँग गफिन मात्र भए पनि अस्पताल आउँछन्। एकचोटी तिरेको पैसाले वर्षभरि खल्तीबाट पैसा निकाल्न नपरेपछि सजिलो भएको छ।
झारफुक, धामी-झाँक्रीमा आज पनि उत्तिकै विश्वास गर्ने यो पुस्तालाई 'प्रेसर ले ढाल्नु' अघि 'प्रेसर नाप्न' अस्पतालसम्म डोर्याउन सक्नु बिमाको सफलता हो। यसरी महिनैपिच्छे औषधि लिन जाने, रगत जचाउने, डाक्टर भेटने क्रममा रक्तचाप, मधुमेह जस्ता 'साइलेंट किलर' हरुप्रति धेरै जनता चनाखो हुँदै छन्, रोग समयमैं पत्ता लाग्दैछन्, अस्पतालसँगको जनताको दूरी कम हुँदै छ।
अस्पताल गएपछि २-३ टेस्ट गर्नुपर्छ, ३-४ औषधि खानुपर्छ अनि ४-५ हजार पैसा सकिन्छ भनेर नजाने धेरै छन्। गइहाले पनि पूरा उपचार नहुँदै निस्कन खोज्ने उत्तिकै हुन्छन्। नौलो ठाउँमा, पाइलैपिच्छे पैसा बुझाउनुको पीडा कम हुँदैन। यस्तोमा बिमाले त्यो पीडामा थोरै भए पनि मल्हम लगाएको छ। भरोसा दिएको छ।
मधुमेहले गर्दा झर्न आँटेको गोडा लिएर आएकी ७७ वर्षीया आइतिसुबालाई सरकारले आफैं प्रिमियम तिरेर गरिदिएको बिमाले बचायो। बिमा नभएको भए अस्पताल आउने नै थिइनँ भन्दै थिइन् उनी।
आफ्नो जेठो छोरा नवीनको हात भाँचिदा पैसाको अभावले राम्रो उपचार गराउन नपाएकी राधिकाले त्यसलगत्तै बिमा गरेकी रहिछन्। आज आफ्नो सानी छोरीको उपचार गराउन आउँदा ढुक्क थिइन्, बिमा हुन्छ भनेर।
यसरी बिरामीलाई अस्पताल जानुअघि दिमाग़मा आउने 'आर्थिक डर/अवरोध' बाट मुक्त गराउँदै अस्पताल जानुपर्छ भन्ने बानीको विकास गर्न बिमा सफल हुँदै छ।
यस बाहेक बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा बिरामी चाप बढेसँगै सरकारलाई अस्पतालमा सुविधा बढाउनुपर्ने चुनौती थपिएको छ। सबैको नजर विस्तारै अस्पतालतिर पर्न थालेसँगै त्यहाँका समस्याहरु सम्बोधन हुन थालेका छन्। समुदायको चासो अनि सहभागिता बढेको छ।
यति भनिरहँदा बिमा कार्यक्रमका कमजोरी नभएका भने होइनन्। एकै पटक ३ हजार रुपैयाँ प्रिमियम तिरेर बिमा गराउन नसक्ने समाजमा अझै धेरै परिवार छन्। अर्कोतिर बिमा गराइसकेपछि पूरै १ लाखकै सुविधा लिनुपर्छ भनेर अनावश्यक रगत जाँच, भिडियो एक्स-रे, सिटी स्क्यान गराउन खोज्नेको पनि कमी छैन।
२४ वर्षीया छोरीलाई पाठेघरको मुखको जाँच गराउनुस् भन्दा रिसाउने आमा, आफ्नो घाँटी दुःखेको भन्दै थाइरोइड जँचाउन खोज्छिन्। होल बडी चेकअपका नाममा अनावश्यक टेस्ट गराउने धेरै छन्। चिकित्सकको सल्लाहबिना आफैं टेस्ट गराउन आउने धेरै हुन्छन्। आवश्यक टेस्ट भने छुटिरहेको हुन्छ। ग्यास्ट्रिकको औषधि नलिई अस्पतालबाट पाइला नचाल्ने पनि छन्।
एउटै संस्थामा बिमाका सबै औषधि नपाइने समस्या पनि धेरै छ। पहुँच भएकाहरु अनावश्यक रूपमा प्रेषण लिई विशेषज्ञ सेवाका निम्ति ठूला अस्पताल पुगिदिँदा त्यहाँ अत्यधिक भीड हुने गरेको छ। जसले गर्दा आजकल बिरामीहरु बिमाका बिरामीलाई डाक्टरले यथेस्ट समय नदिएको भन्ने गुनासो गर्दै छन्।
यी र यस्ता यावत् समस्याका बाबजुद हाम्रो जस्तो स्वास्थ्य सूचकहरुमा पछि रहेको देश जहाँ आज पनि धेरै परिवार बिहान-बेलुकाको छाकको चिन्तामा हुन्छन्। त्यहाँ बिमा कार्यक्रमको महत्त्व झन् धेरै छ। जनतालाई धेरै आर्थिक भार नपारी उसको स्वास्थ सेवा पाउने मौलिक हक सुनिश्चित गर्नु लोककल्याणकारी राज्यको दायित्व पनि हो।