डा अनिलकुमार शाह
कोरोनाको विश्वव्यापी माहमारीले थला पर्न लागेको नेपालको स्वास्थ्य व्यवस्थाले भविष्यमा आउनसक्ने यस्ता महामारीसँग कसरी लड्ला? उचित तयारी, आवश्यक स्वास्थ्य जनशक्ति, उपकरण, औषधि, स्वास्थ्य संरचना र उपयुक्त स्वास्थ्य व्यवस्थापनको लागि अहिलेदेखि नै सरकारका पदाधिकारीहरुले विचार गर्नु जरुरी छ।
नेपालमा उपलब्ध चिकित्सा शिक्षा महँगो भयो भन्ने चर्चा आजदेखिको होइन। सारा संसारकै स्वास्थ्य व्यवस्था संक्रमित भइसकेको अवस्थामा कम खर्चमा स्वास्थ्य जनशक्ति उतपादन गर्न उपयुक्त लगानी गर्नु सरकारको दायित्व बन्न जान्छ। अझै पनि महँगो लगानी गरी स्वास्थ्य शिक्षा हासिल गर्ने प्रक्रियाको उचित समाधान नखोज्नु मुर्खता हुन जान्छ।
यो होइन कि अन्य मुलुकमा पूर्ण नि:शुल्क स्वास्थ्य शिक्षाको व्यवस्था छैन। हाम्रै नजिकैका मुलुक जस्तै: बंगलादेश, पाकिस्तान, चीन, सिंगापुर इत्यादिमा स्नातकोत्तर चिकित्साशास्त्र पूर्ण रुपमा नि:शुल्क प्रदान गरिने व्यवस्था छ। तर मुलुकमा पैसा तिरेर पनि उक्त डिग्री हासिल गर्न सकिने पर्याप्त प्रावधान नै छैन। अब प्रश्न उब्जिन्छ, अन्त छैन भने हाम्रो देशमा चाहिँ किन हुनुपर्यो, यस्ता महँगामहँगा स्नातकोत्तर चिकित्सा शिक्षा?
आफ्नो र आफ्नो परिवारको ढाड सेकिने गरि हासिल गरेको चिकित्साशास्त्रको उपलब्धिबाट कुन मनले नैतिक उपचारको आशा गर्ने? एउटा चिकित्सकको अध्ययन पूर्ण रुपमा नि:शुल्क हुनुपर्छ भन्ने आवाज एउटा चिकित्सकले मात्र उठाउनु हुँदैन, यो त सारा नेपालीले उठाउने आवाज हुनपर्ने हो। इमान्दारीका साथ बोल्ने हो भने एक जना चिकित्सकले आफ्नो घरजग्गा बेचेर आर्जन गरेको डिग्रीबाट पूर्ण रुपमा नि:शुल्क र सस्तो उपचार गर्न सक्दैन, आफ्नो लगानी उठाउन खोज्नु उसको व्यक्तिगत र पारिवारिक धर्म बन्न जान्छ।
आवाज महँगो उपचारका विरुद्धभन्दा पनि नि:शुल्क चिकित्सा शिक्षाका लागि उठ्न जरुरी छ। त्यसैले हामीले नजिकैका मुलुकबाट राम्रा कुरा सिक्न जरुरी छ। ती मुलुकमा चल्दै आइरहेका राम्रा प्रक्रिया हामीले अबलम्वन गर्न जरुरी छ।
अब कुरा आउँछ, एमबिबिएसपश्चात् स्नातकोत्तरस्वरूप हासिल गरिने पूर्ण नि:शुल्क पाकिस्तान, बंगलादेश, ब्रिटेन जस्ता देशमा चल्दै आएको फेलोसिप डिग्रीको। पाकिस्तानमा सञ्चालित उक्त प्रवृत्तिको एफसिपिएस डिग्री नेपालका कम्तीमा दर्जन वटा स्वास्थ्य संस्थामा सञ्चालित छन्, जहाँ धेरैको ध्यानाकर्षण हुन सकेको छैन। ध्यान गए पनि यहाँको बजारमा त्यस्ता अनेक विकृत सोच, व्यवहार र लोभ छन्।
अब चर्चा गरौं नेपालमै चल्दै आएका एफसिपिएस डिग्रीको बारेमा। एफसिपिएस भन्नाले फेलो अफ फिजिसियन एण्ड सर्जन पाकिस्तान भन्ने बुझिन्छ। यो कलेज अफ फिजिसियन एण्ड सर्जन पाकिस्तान (एफसिपिएस) द्वारा प्रदान गरिने स्नातकोत्तर मेडिकल डिग्री हो, जुन निश्चित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि एफसिपिएसद्वारा मान्यताप्राप्त विशेषज्ञ अस्पताल तथा मेडिकल कलेजमा एफसिपिएसद्वारा नै मान्यताप्राप्त सुपरभाइजर र संकायको प्रत्यक्ष निगरानीमा निर्धारित पाठ्यक्रम अनुसार निश्चित समयको तालिम, पढाइ, कार्यशाला र अनुसन्धान सम्बन्धी कार्य पूरा गरी अर्को दुई स्तरको परीक्षा उत्तीर्ण गरेपछि पाइन्छ।
एफसिपिएस पाकिस्तानमा स्नातकोत्तर चिकित्सा शिक्षा प्रदान गर्ने प्रमुख संस्था हो। यसको स्थापना आजभन्दा लगभग ६० वर्ष अगाडि सन् १९६२ मा तत्कालीन पाकिस्तान सरकारका स्वास्थ्य मन्त्री जेनेरल बुर्कीको नेतृत्वमा ५० जना वरिष्ठ पाकिस्तानी चिकित्सकहरुको संलग्नतामा गरिएको थियो। यस संस्थाको प्रमुख उद्देश्य पाकिस्तान र पाकिस्तान बाहिर चिकित्सा शिक्षा सम्बन्धी उत्तम ज्ञान, सिप, तालिम हासिल गर्नसक्ने, नयाँनयाँ खोज–अनुसन्धान गर्नसक्ने क्षमता भएका विभिन्न विषयका दक्ष र विशिष्ट चिकित्सक उत्पादन गर्नु हो।
एफसिपिएसले आफ्नो स्थापनाकालदेखि नै लगातार रुपमा स्नातकोत्तर चिकित्सालाई स्तरोन्नति गरी संसारमा चलिआइरहेका यस्तै प्रकारका अन्य पोस्ट ग्र्याजुएट मेडिकल प्रोग्रामको तुलनामा एफसिपिएसलाई सर्बोत्तम स्तरमा राख्न सफल भएको छ। सयौंको संख्यामा संगठित विशेषज्ञ चिकित्सकहरुको कार्यकारी टोलीले देशभित्र र बाहिर आ-आफ्ना कार्यक्षेत्र अनुरुप एफसिपिएस पढ्दै गरेका सम्पूर्ण निवासी चिकित्सकहरुको दैनिक क्रियाकलापको निगरानी गर्ने, इलेक्ट्रोनिक लगबुक चेक गर्ने, वर्कसप र रिसर्च सम्बन्धी क्रियाकलापलाई अनुगमन गर्ने, समय अनुकूल आवश्यकता अनुसार पाठ्यक्रम परिमार्जन गरिराख्ने, परीक्षा लिने, नयाँ इच्छुक अस्पताल र सुपरभाइजरको आवश्यक कागजात, भौतिक आधारभूत आवश्यकता र अन्य चिजहरुको अनुगमन गरी सम्बन्धन दिने र सम्बन्धन गरिएका अस्पताल तथा सुपरभाइजरहरुलाई समयसमयमा अनुगमन गरिराख्ने जस्ता अनेकौ कार्य गर्ने गर्दछ।
एफसिपिएसले पाकिस्तानभित्र र बाहिर गरेर विश्वव्यापी मान्यताप्राप्त ७३ वटा ४ वर्षे विशेषज्ञ चिकित्सक फेलोसिप (प्रथम फेलोसिप), ५ वर्षे अति विशेषज्ञ चिकित्सक फेलोसिप (प्रथम फेलोसिप) र ७ वर्षे थप अति विशेषज्ञ चिकित्सक फेलोसिप कार्यक्रम (दोस्रो फेलोसिप) सञ्चालन गर्नुका साथै २२ वटा विशेषज्ञ चिकित्सक सदस्यता कार्यक्रम (एमसिपिएस) चलाउँदै आइराखेकोछ। यस्तैयस्तै उपलब्धिको कारणले नै एफसिपिएस आजको दिनमा संसारका अन्य भागमा चल्दै आएका अन्य पोस्ट ग्र्याजुएट मेडिकल डिग्रीभन्दा अलि फरक, अन्य भन्दा अलि बढी वैज्ञानिक, चिकित्सक र बिरामीले स्वस्फुर्त रुचाएका सम्मानित उपाधि मानिन्छ। पाकिस्तानमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुमध्ये लगभग ८५ प्रतिशत चिकित्सकले एफसिपिएस डिग्री नै गरेको तथ्यांक छ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य द ग्रेट ब्रिटेन, क्यानडा, अस्ट्रेलिया, सिंगापुर, नेपाल, बंगलादेश, श्रीलंका, मलेसिया, गल्फ मुलुकहरु (जस्तै: दुबई, कुवेत, साउदी अरेविया) तथा अन्य धेरै देशहरुमा सञ्चालित विभिन्न विशेषज्ञ चिकित्सक डिग्री र एफसिपिएसलाई समान मान्यताको डिग्री मानिन्छ। एफसिपिएस डिग्री उत्तीर्ण गरेपश्चात् एक जना विशेषज्ञ चिकित्सकले सम्बन्धित मुलुकको मेडिकल काउन्सिलमा दर्ता गरेपछि माथि उल्लेखित र यसबाहेक अन्य धेरै देशमा आरामले कामकाज गर्न पाउँछन्।
देश बाहिरका पनि ठूलाठूला मेडिकल संस्थासँग समन्वय गरी एफसिपिएस डिग्रीलाई विश्वव्यापी बनाउने उद्देश्यले नै सन् १९९८ मा सिपिएसपी र इन्स्टिच्युट ओफ मेडिसिन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबीच समझदारी भई नेपालमै पहिलो पटक आइओएम-सिपिएसपी लिंकेज प्रोग्राम सञ्चालन गरिएको हो। उक्त समझदारीपश्चात् नै लगातार नेपालका विभिन्न मेडिकल शिक्षण संस्थामा एफसिपिएस प्रोग्राम चल्दै आएको छ। यी दुई संस्थाबीच बेलाबखत एकअर्काको प्रोग्रामको परीक्षा लिने हेतुले नै कम्तीमा ७५ जना नेपाली प्रशिक्षक चिकित्सकहरु पाकिस्तान गएर जाँच सञ्चालन गरी फर्केका र कम्तीमा १० जना पाकिस्तानी प्रशिक्षक चिकित्सक नेपाल आएर यहाँको जाँच लिई फर्केको तथ्यांक सिपिएसपी क्षेत्रीय केन्द्र काठमाडौँमा उपलब्ध छ।
प्रवेश परीक्षास्वरुप लिइने एफसिपिएस भाग १ परीक्षा
एफसिपिएस डिग्री पढ्नको लागि मेडिकल स्नातक डिग्री हासिल गरिसकेका मेडिकल ग्र्याजुएट्स (एमबिबिएस/बिडिएस) उत्तीर्ण गरेर १ वर्षको इन्टर्नसिप तालिम सकिसकेपछि नेपाल मेडिकल काउन्सिलको दर्ता पाइसकेका) चिकित्सकले एफसिपिएस भाग १ को परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।
यो परीक्षा पाकिस्तानमा वर्षको ४ पटक सञ्चालन गरिन्छ भने पाकिस्तान बाहिरका देशमा वर्षको २ पटक मात्र लिइन्छ। यो परीक्षामा १००/१०० पूर्णांकको २ वटा पेपर हुन्छ। एकै दिनमा लिइने उक्त परीक्षा एउटा पेपरको अवधि ३ घन्टाको हुन्छ। परीक्षा उत्तीर्ण हुनको लागि प्रत्येक पेपरमा ७५ प्रतिशत अंक प्राप्त गर्न जरुरी हुन्छ। परीक्षा अनुत्तीर्ण भएमा कम्तीमा ४ महिनाको अन्तरालमा अर्को परीक्षा दिन पाइन्छ। एफसिपिएस भाग १ को आवेदन फारम भर्दा आफूले रोजेको विशेषज्ञता समूह निवेदकले सुरुमै रोज्नुपर्ने हुन्छ।
एफसिपिएस भाग १ को पहिलो पेपर (१०० प्रश्न) जुनैसुकै समूहका लागि पनि एकै किसिमको हुन्छ। तर दोस्रो पेपरको १०० प्रश्न विशेषज्ञता अनुसार फरकफरक हुने गर्छन्। उत्तीर्ण उम्मेदवारहरुले यसपछि सिपिएसपीद्वारा मान्यताप्राप्त मेडिकल संस्थामा आफू उत्तीर्ण गरेको विषयमा आफनो रेजिडेन्सी गर्नका लागि आवेदन दिन पाउँछन्। उक्त संस्थाले आफ्नो नियम अनुसार फेरि पनि उक्त विद्यार्थीसँग लिखित/मौखिक जाँच लिई आफ्नो संस्थाको क्षमता र सिपिएसपीको प्रचलित नियम अनुसार रेसिडेन्ट चिकित्सक राख्न पाउँछन्।
रेजिडेन्ट डाक्टरलाई रेजिडेन्सी कार्यक्रमको लागि कुनै संस्थाले छनोट गर्दा उहाँहरुसँग कुनै किसिमको आर्थिक अनुदान तथा शुल्क लिन पाउने सिपिएसिपीको नियम हुँदैन। रेजिडेन्ट डाक्टरले संस्थाको नियम अनुसार अनिवार्य मासिक तलब सुविधा पनि पाउने नियम छ।
विद्यार्थीलाई मासिक तलब नदिने अथवा उल्टै विद्यार्थीसँग अनुदान, शुल्क अथवा अन्य कुनै आर्थिक भार थोपर्न खोज्ने संस्थाको सम्बन्धन जुनै बेला पनि सिपिएसपीले खारेज गर्न सक्ने नियम हुन्छ। तसर्थ, एफसिपिएस डिग्री पूर्ण रुपमा नि:शुल्क र अनिवार्य रुपमा मासिक तलब सुविधा प्रदान गरी पढाइने डिग्री हो।
एफसिपिएस भाग १ को फारम भर्दा विद्यार्थीले रोज्न पाइने विषय र विषयको समूह यसप्रकार हुन्छन्:
१. सर्जरी तथा सम्बन्धित विषय
२. मेडिसिन तथा सम्बन्धित विषय
३. प्रसूति तथा स्त्री चिकित्साशास्त्र
४. रेडियोलोजी
५. एनेस्थेसिओलोजी
६. प्याथोलोजी
७. अफ्थलमोलोजी
८. नाक, कान, घाँटी विषय
९. दन्त चिकित्साशास्त्र
१०. मनोविज्ञान चिकित्साशास्त्र
११. सामुदायिक स्वास्थ्य विज्ञानशास्त्र
(लेखको दोस्रो भाग आगामी दिनमा प्रकाशित गरिने छ।)