वीरबहादुर रावल
कुनै पनि देशका स्वास्थ्य सूचकमध्ये सबैभन्दा महत्वपूर्ण सूचक हो, मातृमृत्यु। स्वास्थ्यका सबै सूचक धेरै राम्रो भएर मातृमृत्यु बढी देखिएको छ भने अन्य सूचकको कुनै अर्थ रहँदैन।
नेपालमा सुरक्षित मातृत्व कार्यक्रम अनुसार गत आव २०७५/०७६ मा देशभरि गर्भवती अवस्थामा १५ जना, प्रसूति अवस्थामा २६ जना र सुत्केरी अवस्थामा ५७ जना आमाको र ६८० जना नवशिशुको मृत्यु भएको छ। देशभरिका अस्पतालबाट प्राप्त प्रतिवेदन अनुसार ६२ जना आमाको गर्भका कारणले र १२६८ जना नवशिशुको मृत्यु भएको प्रतिवेदन प्राप्त भएको छ।
हाल नेपालमा ७५३८६६ जना अनुमानित गर्भवती छन्। यहाँ प्रजनन स्वास्थ्यका बारेमा धेरै अध्ययन र सर्वेक्षण भएका छन्। ती अध्ययन अनुसार महिला सुरक्षा र कार्यस्थलमा तिनीहरूको प्रजनन स्वास्थ्य नेपालका लागि चुनौती भएको छ। कार्यस्थलमा गर्भावस्था सम्बन्धी स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्नु मातृ र शिशु स्वास्थ्यको प्रवर्द्धन र संरक्षणको लागि उचित रणनीति बनाउनु निकै आवश्यक छ।
नेपालमा धेरैजसो महिलाले नै घरेलु काम गर्छन्। घरसफा गर्नु, बच्चा, बिरामी र वृद्धहरूको हेरचाह गर्नु, घरका सबै सदस्यका लागि खाना बनाउनु, बच्चालाई पढाउनु लगायतका कामको जिम्मेवारी सामान्यतया: महिलालाई नै दिइएको पाइन्छ। दुर्गम गाउँका महिलाले खेतमा काम गर्दा, गाइगोरूका लागि घाँस काट्दा, अन्य घरेलु काम गर्दा र सहरमा भएका महिलाले विभिन्न कलकारखानामा काम गर्दा, कार्यालयमा काम गर्दा, कार्यस्थलमा महिलाले सामना गर्ने दुई समस्या व्यावसायिक जोखिम र प्रजनन स्वास्थ्य जोखिम हुन्।
महिलाले काम गर्दा चोटपटक लागेर वा दुर्घटना भएर विभिन्न शारीरिक समस्या भएको हुनसक्छ। जसले गर्दा महिला प्रजनन जोखिम र यौन स्वास्थ्य समस्यामा परेका हुन्छन्। धेरै व्यावसायिक रोग दीर्घकालीन हुन्छन्। निको हुन लामो समय लाग्छ र निको नहुन पनि सक्छ। व्यावसायिक स्वास्थ्य जोखिम महिलाको सुरक्षाको कुरा मात्र होइन, यो लैंगिक विभेद पनि हो।
अन्य क्षेत्रको भन्दा स्वास्थ्य सेवामा काम गर्ने महिला काम सम्बन्धी दुर्घटनामा पर्नसक्ने सम्भावना धेरै हुन्छ। विभिन्न अध्ययनबाट जानकारी भएअनुसार स्वास्थ्यमा काम गर्ने महिला कर्मचारी साइलोमेगा भाइरस जस्ता जैविक एजेन्टको संक्रमणमा परेको पाइएको छ। यस्ता संक्रमणहरूबाट नर्स बढी संक्रमित भएका छन्, किनकि तिनीहरू विभिन्न रोगबाट पीडित बिरामीहरूको प्रत्यक्ष र अप्रत्यक्ष हेरचाहमा संलग्न छन्।
हाल नेपालमा विभिन्न अस्पतालमा रहेका कोभिड-१९ संक्रमितको हेरचाहमा अन्य कर्मचारीको तुलनामा महिला स्वास्थ्यकर्मी बढी सहभागी भएका देखिन्छन्। पुरुष र महिला जैविक र सामाजिक रूपले (संस्कृति र पालनपोषणको आधारमा) फरक हुन्छन्। त्यसैले तिनीहरूमा समान स्वास्थ्य जोखिमहरूबाट पनि फरकफरक अवस्था हुन सक्छ।
महिलाले धेरै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जस्तै: आमा, पत्नी, साथी, कर्मचारी, हेरचाहकर्ता आदि। महिलामा यी भूमिकाको जटिलताको कारण जीवनभर उतारचढाव हुनसक्छ। सबै भूमिकाको अपेक्षा पूरा गर्न नसकेर दबाबका कारण महिलालाई डिप्रेसन हुनसक्छ। महिलामा हुने जैविक परिवर्तन (प्रजनन परिवर्तन मासिक चक्र) को कारणले उनीहरूले सम्पन्न गर्ने कार्य पुरूषको तुलनामा कम हुनसक्छ र अझ बढी डिप्रेसनका लक्षण देखा पर्नसक्छ।
महिला केवल सिपमा आधारित काममा मात्र नभएर व्यवस्थापक र वित्तीय अधिकारीहरू जस्ता उच्च पदमा काम गर्नेहरू पनि स्वास्थ्य समस्याबाट पीडित हुन सक्छन्। ती महिला, जो बढी धूमपान वा मादक पदार्थ सेवन गर्छन् तिनीहरू बढी जोखिममा पर्न सक्छन्। उनीहरूमा फोक्सोको क्यान्सर र अन्य रोगका कारण मृत्युदर उच्च हुनसक्छ। स्वास्थ्य जोखिम बाहेक महिलाहरु काम गर्ने स्थानमा दुर्व्यवहारको सिकार हुने गरेका सूचनाहरू पनि बेलाबेलामा बाहिर आइरहेका हुन्छन्। केही प्राइभेट संस्थाहरूले महिलालाई पुरुषभन्दा थोरै पारिश्रमिक दिने गरेका समाचार पनि सुनिन्छ।
नेपालमा पुरूषकोऔषत आयू ७०.१ वर्ष र महिलाको औषत आयू ७३.२ वर्ष रहेको छ,यसरी नेपालमा पुरूषको भन्दा महिलाको औसत आयु बढी छ, त्यसैले उनीहरूले रोजगारी पाउँदा धेरै कमाउनुपर्छ। महिलाले कमाएको रकम उनीहरूले आफनो नाममा जम्मा गर्नु जरूरी छ, ताकि जब तिनीहरू बुढा र बेरोजगार हुन्छन्, तब आफ्नो रेखदेख आफैं गर्न सकून्।
महिलालाई कार्यस्थलमा सुरक्षित बनाउन धेरै कानुन र नियम तयार गरिएको छ। तर कार्यान्वयन भने खासै राम्ररी गर्न सकिएको छैन। गर्भावस्थाको पहिलो तीन महिना महिलाका लागि सबैभन्दा कमजोर अवधि हो, किनकि यस अवधिमा शारीरिक र मनोवैज्ञानिक चुनौतीहरू धेरै हुन्छन्। तसर्थ, पूर्व हेरचाह भनेको स्वास्थ्य प्रबर्धन, स्क्रिनिङ र प्रजनन उमेरका महिलाको अधिकार प्रदान गर्न सिफारिस गरिएको रणनीति हो, जसले सम्भावित रूपमा भावी गर्भधारणलाई असर गर्नसक्ने जोखिमलाई कम गर्नसक्छ।
पुरुषहरूलाई समेत कार्यस्थलमा महिलाले सामना गर्ने समस्याहरू सम्बन्धी तालिम दिइनुपर्छ। जस्तै: महिलालाई केही खास काम गर्ने बेलामा सहयोग गर्ने आधारभूत ज्ञान र संस्थाका पर्यवेक्षकहरू, व्यवस्थापकहरूलाई पनि तालिम दिनैपर्छ ताकि तिनीहरू पक्षपाती नबनून् र उनीहरू सुपरिवेक्षण गर्दा काम गर्ने महिलाप्रति बढी संवेदनशील बनून्।
महिलालाई बच्चा जन्माउने उमेर र गर्भवती समयमा गर्नुपर्ने काम र व्यक्तिगत स्वास्थ्य, अस्पतालमा जान यातायात, प्रशिक्षित स्वास्थ्यकर्मीहरूका बारेमा जानकारी गराउनुपर्छ। प्रजनन उमेरका महिलालाई गर्भ जोखिम मूल्यांकन गर्नसक्ने बनाउनुपर्छ। जसबाट उनीहरू गर्भावस्थामा महिलामा हुने स्वास्थ्य जोखिम कम गर्ने उचित उपायहरू थाहा पाउन सकून्।
महिलालाई सम्मान गर्ने र गर्भावस्थाको लागि उचित योजना बनाउने संगठनात्मक सम्बन्धले महिलामाथिको मानसिक दबाब कम हुनसक्छ। यसरी महिलाले उनीहरूको कार्य पनि गर्नसक्ने र एक सुन्दर बच्चालाई यस सुन्दर संसारमा ल्याउन सक्नेछन् र आफू पनि सुरक्षित हुनेछन्। देशको मातृमृत्युको स्वास्थ्य सूचक अन्य देशको भन्दा राम्रो हुनेछ। भनिएको छ, 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' जननी र जन्म भूमिलाई स्वर्गभन्दा माथिल्लो स्थान दिनु छ। महिलाको सम्मान भए हामी सबैको सम्मान आफैं हुनेछ।
(रावल स्वास्थ्य सेवा विभागका डेमोग्राफर हुन्।)