डा प्राण श्रेष्ठ
२५ वर्षीया महिलालाई पहिलो बच्चा जन्माउनका लागि ३५ हप्ताको गर्भावस्थामा अस्पताल ल्याइन्छ। बच्चाले खेल्ने पानी अत्यन्त कम भएकोले तुरुन्त शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने हुन्छ। शल्यक्रियापूर्व गरिने सम्पूर्ण जाँच गरी आमालाई शल्यक्रिया कक्षमा लगिन्छ।
साधारणतयाः अन्य धेरै बच्चा पेट चिरेर निकालिने शल्यक्रिया जस्तै यसमा पनि ढाडदेखि तल मात्र बेहोस पारी शल्यक्रिया गरिन्छ। करिब एक घन्टा लगाएर शल्यक्रिया सफल हुन्छ। बिरामी केही समय निरीक्षणको लागि पिएसियु (पोस्ट एनेस्थेसिया केयर युनिट) मा राखिन्छ।
यसबीचमा बिरामी एकदमै रिसाउने, कराउने, उफ्रिने भई अक्सिजन स्याटुरेसन कम हुन थाल्छ। अक्सिजन स्याचुरेसन भनेको शरीरको रातो रक्तकोषले कति मात्रमा अक्सिजन बोकेको छ, त्यसलाई जनाउँछ। साधारणतयाः यो ९५ प्रतिशतभन्दा माथि हुने गर्छ। बिरामीले राम्ररी श्वास फेर्न नसक्दा ७५ प्रतिशतसम्म गिरावट आउँछ। छातीमा धेरै मात्रामा पानी जम्मा भई श्वास फेर्न कठिनाइ भएकोले बिरामीको अक्सिजन स्याटुरेसन घट्छ, जसलाई पल्मोनरी इडेमा भनिन्छ। अर्थात् फोक्सो सुन्निनु।
यसको उपचार भनेको मुखबाट श्वासनलीमा पाइप राखी कृत्रिम श्वासप्रश्वास दिने मेसिन–भेन्टिलेटरमा राखी आवश्यक उपचार गराउनु हो। भेन्टिलेटरको अभावमा करिब ५ घन्टासम्म चिकित्सक एवं नर्सको सहायताले आफैले ब्यागको माध्यमबाट बिरामीलाई कृत्रिम श्वासप्रश्वास दिइन्छ।
तर यहीबीचमा बिरामीको १०–१५ जना आफन्तको भीड आई चिकित्सकमाथि शंका गर्ने र ठमठम हिँडाएर ल्याएको बिरामीको यस्तो अवस्था कसरी आयो भनी अराजक बन्न खोज्छ। यस्तो अवस्थामा पनि चिकित्सक आफ्नो कर्तव्यबोधमा अडिग रही बिरामीको उपचारमा तल्लिन नै रहन्छ।
यसैबीचमा बिरामीलाई भेन्टिलेटरको अभावमा अन्य अस्पताल पठाइन्छ। र, त्यसबीचमा त्यहाँका चिकित्सकसँग निरन्तर सम्वादमा रही बिरामीको अवस्थाको बारेमा जानकारी लिई नै रहनुपर्छ। त्यहाँ बिरामीको मुटुको भिडियो एक्स–रे गर्दा मुटुको भल्भ साँघुरिएको भनी रोगको निदान हुन्छ। मुटुको माइट्रल भल्भ साँघुरिएको कारणले रगत पूर्ण रूपमा शरीरमा फ्याल्न नसकेको कारण फोक्सोमा जम्मा भई बिरामीलाई पल्मुनरी इडेमा भएको हुन्छ।
यो समस्या अरु बेलामा खासै नदेखिए पनि गर्भवती अवस्थामा, अझ बच्चा जन्माई सकेपश्चात् सुरुको २४–४८ घन्टाभित्र शरीरमा रगतको मात्र अत्यधिक बढ्ने हुँदा साँघुरिएको भल्भबाट राम्ररी निकास गर्न सक्दैन। यस्तो बेलामा विकराल रूप लिन्छ र बिरामकिो ज्यान समेत जाने जोखिम बढ्छ।
रोगको सही समयमा निदान गरी आवश्यक उपचार गर्नाले बिरामीको ज्यान बचाउन हामी सफल हुन्छौं। प्रायजसो चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जाने आरोप लागिरहेको हुन्छ। तर यहाँ सफलताको कथा खासै लेखिँदैन। यदाकदा चिकित्सकको लापरबाहीले बिरामीलाई असर गरेको पनि होला। तर यस्तो अवस्थामा भीडले दोषी ठह¥याएर चिकित्सकमाथि हातपात गर्नु र अस्पतालको भौतिक संरचनालाई क्षति गर्नु, चिकित्सकको मनोबल घटाउनु राम्रो होइन। बिरामी र बिरामीका आफन्त सधैं सजग रहनु जरुरी छ। अतः आवश्यक अनुसन्धान गरी दोषी ठहरिएको खण्डमा आवश्यक कारबाही गर्नु पनि जरुरी छ।
कुनै पनि चिकित्सक बिरामीको जीवनरक्षा गर्न अन्तिम समयसम्म भोक, प्यास र निद्रा त्यागेर लागिपरेको हुन्छ। सीमित स्रोत–साधन र कार्यको उच्च मूल्यांकन नहुनुको बीचमा पनि चिकित्सकले आफ्नो कर्तव्य भुलेको हुँदैन।
रोगको सही निदान र सही समयमा आवश्यक उपचार गर्नाले कति रोग निको पार्न सकिन्छ। रोग फैलिन नदिने र अझ भयावह हुन नदिने काम पनि चिकित्सककै हो। तर कति कुरामा विज्ञान पनि प्रकृतिसँग र अझ भनौं भगवानसँग कमजोर भइदिन्छ।