गंगाराज अर्याल
नेपालमा समय–समयमा फैलिने विभिन्न सरुवा एवं नसर्ने रोगले निकै चुनौती थपेका छन्। केही वर्षयता भने सरुवा रोगभन्दा नसर्ने रोगले बढी आक्रान्त पारेको अवस्था छ। स्वास्थ्य सेवा विभागको २०७४÷७५ को वार्षिक प्रतिवेदनअनुसार सरुवा रोग (३४ प्रतिशत) को तुलनामा नसर्ने रोग (६६ प्रतिशत) को बाहुल्यता रहेको तथ्य सार्वजनिक भएको छ। मुलुकभरिका स्वास्थ्य संस्थामा सेवा लिन आएका बिरामीमध्ये श्वास–प्रश्वास सम्बन्धी, झाडापखाला, चर्मरोग, टाइफाइडजस्ता रोगी अत्यधिक पाइएका छन् भने नसर्ने रोगमध्ये दीर्घ श्वास–प्रश्वास, क्यान्सर, मधुमेह, मुटुसम्बन्धी रोगी नै अत्यधिक पाइएका छन्।
जनस्वास्थ्य समस्या
नेपालमा धेरैलाई आक्रान्त गर्नुका साथै मृत्युको मुखमा समेत पु¥याउने सरुवा रोगमध्ये रुघाखोकी, श्वास–प्रश्वास सम्बन्धी, झाडापखाला, आउँ, रगत, टाइफाइड, क्षयरोग, ग्यास्ट्रो–इन्टराइटिस, जुकाको संक्रमण, हेपाटाइटिस, चर्मरोग, यौन्यजन्य रोग, औलो, हात्तिपाइले रोग, भाइरल इन्सेफलाइटिस, डेंगुज्वरो, आँखाका (कञ्जन्टिभाइटिस, ट्रकोमा) रोगका साथै समय–समयमा फैलिने स्क्रब टाइफस, सिक्कलसेल एनेमिया, लेप्टोस्पाइरोसिस, डेंगु ्लगायतका समस्या नै प्रमुख छन् भने पोषण तत्वको कमीबाट उत्पन्न हुने विभिन्न स्वास्थ्य समस्या पर्दछन्।
साथै, हालै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट १७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ४० जनाको मृत्युसमेत भइसकेको छ। गत माघ १० गते नेपालमा पहिलो संक्रमित भेटिएकोमा झन्डै चार महिनासम्ममा संक्रमितको संख्या १७ हजार नाघिसकेको छ भने अझ कतिसम्म पुग्ने हो, केही अनुमान गर्न सकिएको छैन। त्यसैले अब त आफैं सुरक्षित रही कोरोना भाइरससँग बच्नुपर्ने अवस्थामा आइपुगेको अड्कल काट्न सकिन्छ।
त्यसैगरी, क्यान्सर, मधुमेह, श्वास–प्रश्वास तथा उच्च रक्तचाप लगायतका मुटु सम्बन्धी रोग नै मुलुकका नागरिकलाई आक्रान्त तथा मृत्यु गराउने मुख्य नसर्ने रोग हुन्।
बानी–व्यहोरा र जीवनशैलीमा आधारित समस्या
अधिकांश सरुवा तथा नसर्ने रोगहरुको संक्रमण हामीले दिनहुँ अपनाउने बानी–व्यहोरा तथा जीवनशैलीमा आधारित हुन्छन्। दैनिक खानपान तथा राम्रो काम गरेमा कुनै पनि रोग लाग्न पाउँदैन। तर अल्छी, सुस्ती, लापरबाही गरेमा सानादेखि ठूला रोगले आक्रमण गर्न सक्छन्। जसको फलस्वरुप जीवनभर विभिन्न सरुवा तथा नसर्ने रोगको सिकार भई गरिबीको घेराभित्र दीर्घरोगीका रुपमा बाँच्नु वा मर्नुपर्दा पारिवारिक, सामाजिक, आर्थिक, सामाजिक, मनोसामाजिक दयनीय अवस्था उत्पन्न हुन्छ।
जीवनशैलीमा परिवर्तन
नराम्रा र परम्परागत बानी–व्यहोरामा परिवर्तन गर्नुपर्छ। किनभने दिनहुँ बिहान उठेपछि सूर्तिजन्य पदार्थ सेवन गर्ने, शारीरिक व्यायाम नगर्ने, पानी कम पिउने, भोक लागे पनि नलागे पनि र जे पायो, जति पायो खाइहाल्ने, लामा–लामा, फोहर जमेका नङ नकाट्ने, नुहाउन र लुगाधुन अल्छी गर्ने, जतिबेलै पाउनासाथ मद्यपान गर्ने आदिबानीलाई समयमै परिवर्तन गर्न नखोजेमा वा नगरेमा जुनसुकै सरुवा वा नसर्ने रोगको सिकार हुनुपर्छ भने यसबाट पारिवारिक, सामाजिक, आर्थिक, मनोसामाजिक अवस्था सधैं दयनीय हुनुका साथै अकालमै मृत्युको मुखमा पर्न सकिन्छ।
विभिन्न सरुवा तथा नसर्ने रोगबाट सजिलै बच्नका लागि सकारात्मक बानी–व्यहोरा र जीवनशैली अपनाउन निम्नानुसारका स्वस्थकर बानी–व्यहोरा अपनाउनु पर्छः
शारीरिक व्यायाम गर्ने बानीः बिहान सबेरै उठेर शौच गरिसकेपछि हलुका कपडा र खेलकुदका जुत्ता लगाएर कम्तीमा ३० मिनेट छिटो–छिटो हिंड्नु पर्छ। हिंड्न नसकेमा घरको वरिपरि वा तलमाथि गरेर पनि शारीरिक व्यायाम गर्न सकिन्छ। खेलकुद गर्ने बानी र वातावरण भएमा खेलकुद गर्ने, जिममा पनि शारीरिक व्यायाम गर्ने बानी बसाल्नु पर्छ।
पानी पिउने बानीः बिहान शारीरिक व्यायाम गरेपछि उमालेको एक लिटर मनतातो पानी पिउनु पर्छ। त्यसपछि नास्ता, दूध वा दूधरहित चिया, कफी पिउन सकिन्छ। खना खाएको कम्तीमा आधा घन्टा र सकेसम्म एक घन्टापछि मात्र पानी पिउनुपर्छ। दिनभरमा कम्तीमा ३ लिटर पानी पिउनु अत्यन्त लाभदायक हुन्छ। तर खाने वित्तिकै पानी पिउनु हुँदैन। उभिएर अनि अम्खोरा वा लोटाबाट ठाडो घाँटी लगाएर पानी पिउने बानी कदापि गर्नु हुँदैन।
खानेकुरा खाने बानीः दाल, भात, रोटी, ढिंडो, हरियो तरकारी, सागपात, खुर्सानीलाई हाम्रा नियमित खानेकुरा बनाउनुपर्छ। यस्ता खानेकुराबाट शरीरलाई आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, फलाम, भिटामिन, खनिज पदार्थ आदि पाउन सकिन्छ। हरियो तरकारी–सागपात बढी मात्रामा मिसिएका खानेकुरा सजिलै पच्न सक्छन् भने आवश्यक पौष्टिक एवं खनिज पदार्थ पाइन्छन्। दूध, दही अत्यन्त लाभदायक पदार्थ हुन्। दही बिहानको खानामा र बेसार मिसाएको मनतातो दूध राति सुत्नु अगाडि खाँदा अत्यन्त फाइदा हुन्छ। बजारमा पाइने सब्जी वा मिट मसलाको साटो जिरा, धनिया, मेथी, ज्वानो, बेसार, टिमुर, अदुवा, कागती, लसुन, प्याज आदि मसला सर्वोत्तम हुन्। यस्ता मसलामा रोग प्रतिरोधक शक्ति हुन्छ भने स्वादिष्ट समेत हुन्छन्। अन्डा, माछा, मासु राम्ररी पकाएर मात्र खाने बानी बसाल्नु पर्छ।
मास्कको प्रयोग गर्ने बानीः कोरोना भाइरस संक्रमणका साथै धुवाँ, धुलो लगायत अन्य सरुवा र नसर्ने रोगबाट बच्नका लागि नाक, मुख छोपिने गरी मास्क लगाएर बाहिर निस्कने गर्नुपर्छ। कतिपयले नाकमात्र छोपिने गरी, चिउँडोमा सारेर, टाउकोमा राखेर वा सुरक्षाकर्मीलाई देखाउन हातमा बेरेर राखिएको पाइन्छ। मास्क लगाउँदा नाक, मुख पूर्णरुपमा छोपिने गरी सही किसिमले लगाउनु पर्छ। साथै एक पटक राम्ररी लगाएको मास्क सकेसम्म निकाल्नु वा चिउँडोमा सार्नु हुँदैन। यदि निकाल्नै परेमा कानमा लगाउने फित्तामा मात्र समाएर निकाली नाक, मुख छोप्ने भागलाई पट्याएर सुरक्षित राख्नु पर्छ। सर्जिकल मास्कलाई दिनभरि प्रयोग गरी बेलुका फ्याँक्नु पर्दछ भने अन्य मास्कलाई दूषित नहुने गरी राख्नुपर्छ र कम्तीमा पनि तीन दिनमा साबुन वा सर्फले धोएर घाममा सुकाई प्रयोग गर्ने बानी बसाल्नु पर्छ।
पञ्जाको प्रयोग गर्ने बानीः अधिकांश व्यक्तिले हातमा रबरका पञ्जा लगाएर दिनभरि काम गर्ने, समय–समयमा पञ्जा लगाएकै हातले नाक, मुखमा छुने, वस्तुको आदान–प्रदान गरेको देखिन्छ। एकजना मानिसले दिनभरिमा कम्तीमा १२ देखि १५ पटकसम्म नाक र मुख (चेहरा) मा हातले छुने गर्दछन्। यस्तो बानीले पञ्जाको माध्यमबाट कोरोना लगायतका भाइरस सजिलै सार्न सक्छन्। किनभने रबर, प्लाष्टिकमा कोरोना भाइरस दुई दिनसम्म बाँच्न सक्छ। क्दाचित पञ्जामा भाइरस बसेको भए सजिलै श्वास–प्रश्वास नलीमा संक्रमण गर्न सक्छ। त्यसैले एक जोर पञ्जा बिहानदेखि बेलुकासम्म लगाएर वस्तु आदान–प्रदान गर्दा मैलो हुने, भाइरस सार्ने प्रवल सम्भावना हुन्छ। त्यसैले असुरक्षित किसिमले पञ्जा लाउनु हुँदैन र पर्दैन।
हातधुने बानीः कुनै वस्तु छुनासाथ वा बाहिरबाट घरभित्र पस्नासाथ कोरोना लगायत अन्य भाइरस र ब्याक्टेरियालाई निष्क्रिय पार्न र मार्न फिँज निस्कने जुनसुकै साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म हातका औंला, पञ्जा सबै ठाउँ मिचिमिची धोएमा अरु केही गर्नु पर्दैन। यदि साबुनपानीले हातधुन पाइएन भने राम्रो कम्पनीको कम्तीमा ७० प्रतिशत अल्कोहलमा आधारित सेनिटाइजर हातको चारैतिर विस्तारै रगड्दा पनि ब्याक्टेरिया र भाइरस नष्ट हुन्छन्। बाहिरबाट घरभित्र छिर्नासाथ सबभन्दा पहिले हातधुने बानी गर्नुपर्छ।
सूर्तिजन्य र मदिराजन्य पदार्थ सेवन नगर्ने : सूर्तिबाट बनेका चुरोट, बिंडी, गुट्खा, जर्दा, तम्बाकु आदि सबै सूर्तिजन्य पदार्थ हुन्। थकाइ लाग्दा, शुभ समाचार वा अवाञ्छित समाचार सुन्दा साथै दिनभरिको थकावट र तनावलाई निराकरण गर्न बेलुका मदिराजन्य पदार्थको सेवन गर्ने बानी परेको पाइन्छ। यस्ता पदार्थले स्वस्थ, संक्रमित वा दीर्घरोगी सबैलाई अत्यन्त खराब गर्छ। यस्ता पदार्थले श्वास–प्रश्वास, क्षयरोग, मिर्गौला, कलेजोको रोग, क्यान्सर लगायत शरीरका हरेक अंगमा अत्यन्त प्रतिकुल असर गर्ने हुँदा कोरोना संक्रमितलाई अझ बढी हानि गर्छ। त्यसैले यस्ता पदार्थको सेवन सुरु नगर्ने र सुरु गरेको भए आजैबाट त्यागिदिनु पर्छ। साथै मदिराजन्य पदार्थको हानिकारक प्रयोग नगर्ने बानी बसाल्नु पर्छ।
शारीरिक सरसफाइः हात, गोडाका नङ बढ्नासाथ काट्ने, बिहान र बेलुका खाना खानासाथ नरम र सफा बुसले दाँत माझ्ने, धोएका सफा लुगा लगाउने, नियमित नुहाउने बानी बसाल्नु पर्छ।
सुरक्षित बानीः घरबाट बाहिर निस्कँदा नाक, मुख टम्म छोपिने गरी लगाएको मास्क अत्यावश्यक नहुँदासम्म नफुकाल्ने, मास्कलाई बाहिरी वा भित्री भागमा नछुने बानी बसाल्नु पर्छ। दिसा, पिसाबपछि, खाना तयार गर्नु अगाडि, खाना खानु अगाडि र पछाडि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हातधुने बानी बसाल्नु पर्छ। नाक कोट्याउने, मुखमा हातले छुने, औंला टोक्ने, औंलामा थुक लगाएर नोट चलाउने, गिन्ती गर्ने वा किताब–कापीका पाना गिन्ती गर्ने वा पल्टाउने, जतासुकै थुक्ने, सिंगान फाल्ने जस्ता बानी गर्नु हुँदैन। सकेसम्म घरमा झ्याल, ढोकाको बाहिर जाली लगाउने, सकिँदैन भने झुल टाँगेर मात्र सुत्ने वा किटनाशक मल्हम लगाएर सुत्ने, तारेका खानेकुरा, बजारका तयारी खानेकुरा नखाने, घरमै तयार गरेका परम्परागत र सुधारिएका ताजा र तातो पारिएका खानेकुरा मात्र खाने बानी बसाल्नु स्वास्थ्यका लागि अत्यन्त फाइदा हुनुका साथै कोरोना लगायत सबैजसो भाइरस, ब्याक्टेरिया, पारासाइट, फङ्गस लगायतबाट सरुवा वा नसर्ने रोगको संक्रमण हुन नपाउने हुँदा यस्ता सुरक्षित बानी बसाल्नु जरुरी छ।
(अर्याल जनस्वास्थ्य/स्वास्थ्य प्रबर्धन विशेषज्ञ हुन्।)