डा सन्देशरमण पराजुली
कोरोना महामारीका कारण सार्वजनिक यातायात झन्डै १०० दिन चलेनन्। यो लामो र कष्टकर समयमा पनि धेरै बिरामी अस्पताल आइपुगे। अस्पताल आउने धेरैको आग्रह एउटै हुन्थ्यो, 'सर, आज दिनभरि कुर्छु तर सबै काम आजै सकियोस् है। सबै उपचार यहीँ होस। एम्बुलेन्सलाई धेरै पैसा तिरेर आएका हौं।'
सार्वजनिक बसमा १५-२० रुपैयाँमा पुगिने ठाउँमा पनि एम्बुलेन्समा सयौं रुपैयाँ तिर्नु पर्दाको पीडा देखिन्थ्यो धेरैको मुहारमा। बिरामीको प्रारम्भिक जाँचपश्चात् केही बिरामी यस्ता हुन्थे, जसको उपचारको लागि माथिल्लो तहको अस्पताल जानुपर्ने हुन्थ्यो। तर बिरामीलाई एम्बुलेन्सले नजिकैको अस्पताल ल्याएर छोडिदियो। आफ्नो 'काम' पूरा गर्यो।
एम्बुलेन्स सेवाको अतुलनीय र स्वार्थरहित भूमिकालाई यहाँ नजरअन्दाज गर्न खोजिएको होइन। गल्ती एम्बुलेन्सको पनि होइन। गल्ती त हाम्रो प्रणालीको हो। हामीले एम्बुलेन्सलाई बिरामी बोक्ने सवारीका रूपमा मात्रै बुझ्यौं।
बिरामीको प्रारम्भिक जाँच र आकस्मिक उपचार एम्बुलेन्स भित्रै हुन सक्छ, जानुपर्ने अस्पतालको बारेमा पूर्वजानकारी दिनुपर्छ र तदनुरूप एउटा उचित निर्णय लिन सकिन्छ भन्ने हामीले बुझ्न चाहेका छैनौं।
बाढी-पहिरोको मौसम छ। यातायात कम चलेकोले सवारी दुर्घटनाका समाचार भने कम मात्रै सुनिएका छन्। तर पनि दिनहुँ धेरै घाइते हुन्छन्, मृत्यु पनि हुन्छ। सबैको ध्यान कि घटनास्थलमा हुन्छ कि त अस्पतालमा। घाइते कसरी उद्धार भयो र अब ऊ कसरी अस्पताल पुग्छ भन्ने कुरामा कमैको मात्र चासो छ। चासो राख्नुपर्ने निकायहरुको ध्यान पनि एम्बुलेन्स किन्नुमा मात्रै गएको छ। गाउँपिच्छे एम्बुलेन्स किन्ने क्रम जारी छ। तर त्यसको गुणस्तर र त्यसका न्यूनतम आवश्यकताप्रति कुनै चासो छैन।
केही दिन पहिले घर नजिकै गाडीबाट खसेर एकजना दाइको ज्यान गयो। अस्पताल १०-१५ मिनेटमै पुर्याएको हो भनियो। तर कसरी पुर्याइयो, कसैले भनेनन्।
केही वजनले थिचेको, गाड़ी दुर्घटनामा परेको वा ढाडमा चोट लागेको बिरामीको गर्धन कमजोर हुन्छ। कड़ा स्ट्रेचरमा राखेर, गर्धनको पेटी लगाएर मात्रै घाइते उद्धार गर्नुपर्छ। नत्र टाउको र शरीर बीचको कनेक्सन रोकिन्छ र बिरामीको ज्यान जान्छ। रगत बगेको भए रोक्नुपर्छ, धेरै बगेको भए सलाइन पानी दिनुपर्छ। रगतको लागि ब्लड बैंकलाई खबर गर्नुपर्छ। घाइतेलाई मुख बाट खान-पिउन दिनु हुँदैन। यी अति नै सामन्य तर बिरामीको ज्यान बचाउन महत्वपूर्ण काम हुन्।
हाम्रो देशमा भने धेरै घाइतेलाई टाउको र खुट्टामा समातेर एम्बुलेन्समा हालिन्छ र अस्पताल पुर्याइन्छ। एम्बुलेन्स भने पनि न त्यहाँ कुनै स्वास्थ्य सामग्री हुन्छन्, न त बिरामीलाई दिने अक्सिजन नै। इमरजेन्सी औषधि र स्वास्थ्यकर्मी समेत हुँदैनन्। यी सुविधा बिनाका एम्बुलेन्स बिरामी बोक्ने 'ठेला' मात्रै हुन्। सरकारको आफ्नै वर्गीकरण अनुसार पनि धेरै एम्बुलेन्स ग र घ वर्गका छन्। क वर्गका एउटा पनि छैन पूरा देशमा।
विपतको समयमा हाम्रा सुरक्षा निकायको भूमिका सराहनीय छ। सेना, प्रहरीमार्फत हुने उद्धार धेरै राम्रो हुन्छ। तर यतिमै खुसी हुने ठाउँ छैन। न त सबै सेना, प्रहरी उद्धार कार्य र विशेषगरी त्यसपश्चात् गरिने इमरजेन्सी केयरका निम्ति प्रशिक्षित नै छन् न सबै ठाउँमा उनीहरु पुग्छन् भन्ने छ। जस्तै: तपाईं-हाम्रो घरमा कोही बेहोस भयो भने हामीले बोलाउने एम्बुलेन्समा कुनै पनि इमरजेन्सी केयर पाउन मुश्किल छ।
यसरी बिरामीको उपचार घटनास्थलबाट सुरु हुनुपर्नेमा अब अस्पतालमा सुरु हुन्छ। तबसम्म धेरै महत्वपूर्ण समय गुमाएको हुन्छ बिरामीले।
संसारका धेरै विकशित देशमा हामीले फिल्ममा देख्ने जस्तै इमरजेन्सी नम्बर हुन्छ। त्यसमा फोन गर्ने बित्तिकै बिरामीको सम्भावित अवस्थाको आकलन गरी तदनुरूप मेडिकल टिम सहितको एम्बुलेन्स पुग्छ। जस्तै: एउटा उच्च रक्तचापको बिरामी छाती दुःखेर लड्यो भने, एम्बुलेन्सको मेडिकल टिमले उसको सम्भावित समस्याको आकलन गर्छ। गाडीमा राख्ने बित्तिकै बिरामीको प्रेसर नाप्छ। उसलाई अक्सिजन लगाउँछ। धेरैले त इसिजी पनि गर्छन्। बिरामीको समस्या मुटुको छ भन्ने थाहा भएपछि त्यसै अनुसारको अस्पताल लगिन्छ। तर यस्तै बिरामी हाम्रोमा भए उसलाई एम्बुलेन्समा राखिन्छ। छिटो-छिटो कुदाएर नजिकैको स्वास्थ्य संस्थामा लगिन्छ। त्यहाँ न त पूर्वजानकारी गराइएको हुन्छ, न त्यस किसिमको उपचार हुन्छ भन्ने थाहा हुन्छ। अझ पीडा त तब हुन्छ, जब बिरामीलाई बेडको अभावका कारण वा त्यहाँ उपचार हुनसक्ने कारण रेफर गरिन्छ। यसरी धेरै बिरामी यस्तै रनभुल्लमा परेर, समयमा उचित उपचार नपाएर देह त्याग गर्छन्। यसरी आफ्ना प्रियजन गुमाउन पुग्दा धेरैले आक्रोश अस्पतालमा पोख्छन्। सुन्दा होइन कि जस्तो लाग्छ, चलचित्रको कहानी जस्तो लाग्न सक्छ। तर धेरै बिरामीसँग यस्तै भएको हुन्छ।
विकशित देशमै जस्तो हुन नसके पनि कम्ती हाम्रो छिमेकी मुलुकहरुमा जस्तो गर्न चाहिँ सकिन्छ। पाकिस्तानको पञ्जाब प्रान्तमा रेस्क्यु ११२२ भन्ने सेवा छ। त्यो सेवा सुरु गर्ने त्यस बेलाका मुख्यमत्री आजसम्म पनि उनले सुरु गरेको सेवाका लागि जनतामाझ प्रिय छन्। भारतको महाराष्ट्रमा १०८ ले राम्रो काम गरेको छ। यो एउटा सुनौलो मौका पनि हो, जनतालाई काम गरेर देखाउने।
नेपालमा पनि अब 'एकीकृत उद्धार तथा एम्बुलेन्स सेवा' सुरु गर्नुको विकल्प छैन। एउटा टोल फ्री नम्बरमा सबै एम्बुलेन्स सेवालाई जोड्नु पर्छ। र, त्यसमा स्वास्थ्यकर्मी सहितको आधारभूत मेडिकल तथा इमरजेन्सी (खासगरी ट्रमा) सेवा हुनुपर्छ। भर्खरै १०२ लाई एम्बुलेन्स सेवाको निम्ति छुट्टाइएको छ। तर यो सेवा अझै पनि संघीय राजधानी बाहिर सुरु हुन सकेको छैन। सुरु भएको ठाउँमा पनि एम्बुलेन्स बोलाउने काममा मात्र सीमित छ।
हिमाली भेगबाट धेरै सुत्केरीको हेली रेस्क्यु गरेर सरकारले आफ्नो प्राथमिकतामा उद्धार सेवा पनि रहेको देखाएको छ। गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विपत व्यवस्थापन र बेसिक लाइफ सपोर्टको तालिम सुरु गरेको छ।
आशा गरौं, अब १०२ को सेवा केवल 'बिरामी बोक्ने' काममा सीमित हुने छैन। बिरामीको उपचार र व्यवस्थापन 'मिनेट जीरो' देखि 'ग्राउन्ड जीरो' मा सुरु गर्ने काम हुनेछ। यति गर्न सके धेरै नेपालीले अकालमा ज्यान गुमाउनुपर्ने थिएन। आशा छ, त्यो दिन छिट्टै आउने छ।