सकिला चौलागाईं
प्रत्येक वर्ष अंग्रेजी महिनाको अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरुको स्तनपान गर्ने बानी-व्यवहारमा परिवर्तन ल्याउनु हो। यस वर्ष पनि विश्व स्तनपान सप्ताह मनाइँदै छ, जसको नारा 'स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार' रहेको छ। यो नाराबाट नै प्रष्ट हुन्छ, स्तनपानको महत्वको दायरा कति फराकिलो छ भनेर।
बालबलिकाको मृत्युदर कम गर्ने सबै प्रतिकारात्मक उपायमध्ये पूर्ण स्तनपान एकमात्र सबैभन्दा प्रभावकारी उपाय भएको अध्ययनहरुले देखाएका छन्। एक तरिकाको सर्वमान्य कथन नै छ कि, आमाको दूधलाई प्रतिस्थापन गर्ने कुनै पनि कुरा छैन। आमाको दूधले आमा र बच्चामा गर्ने अनगिन्ती फाइदालाई बुझेर सन् १९९० को इनोसेन्टी धोषणा पश्चात् सन् १९९२ देखि अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो।
सन् २०१६ पछि त स्तनपानलाई दिगो विकास लक्ष्यसित जोडेर हेर्न थालिएको छ। दिगो विकास लक्ष्यमा उल्लेखित सम्पूर्ण १७ वटै लक्ष्य प्राप्त गर्नमा स्तनपानको ठूलो महत्व रहेको कुरालाई अंगिकार गर्दै सन् २०१८ मा विश्व स्वास्थ्य सभाले विश्व स्तनपान सप्ताहलाई स्तनपानको प्रवर्धन गर्ने एक रणनीतिको रुपमा अंगिकार गरेको थियो।
उदाहरणका लागि स्तनपानलाई जलवायु परिवर्तन रोक्नका हिसाबले पनि एकदमै महत्वपूर्ण ठानिएको छ। एक केजी पाउडर दूध उत्पादन गर्न करिब ४ हजार लिटर पानीको आवश्यकता पर्छ भने ६ वटा एसियाका देशमा बिक्री हुने दूधलाई प्रतिस्थापन गर्ने पदार्थबाट करिब २९ लाख टन हरितगृह ग्यास निस्कने कुरा तथ्यांकले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि, स्तनपानको महत्व अप्रत्यक्ष रुपमा कति फराकिलो छ भनेर।
स्तनपानमा तीनवटा ‘ई’ को सूत्र एकदमै महत्वपूर्ण छ। पहिलो ‘ई’ अथवा 'अर्ली इनिसिएसन अफ ब्रेस फिडिङ'। भन्नाले जन्मेको १ घण्टाभित्र स्तनपान गराउने। दोस्रो ‘२’ अथवा 'एक्सक्लुसिभ ब्रेस्ट फिडिङ'। भन्नाले पूर्ण स्तनपान वा बच्चालाई जन्मेको ६ महिनासम्म पानी सहित कुनै पनि बाहिरी खानेकुरा नखुवाई आमाको दूध मात्र खुवाउने र तेस्रो ‘ई’ अथवा 'एक्सटेन्डेड ब्रेस फिडिङ'। भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म थप आहाराका साथै स्तनपान पनि निरन्तर गराइराख्ने भन्ने बुझिन्छ। यसरी माथि उल्लेखित ३ वटा स्तनपान सम्बन्धी सूत्रहरुको पालना गर्न सकेमा आमा र बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने विभिन्न अध्ययनहरुले देखाएका छन्।
स्तनपानका असीमित महत्वहरु हुने भए तापनि हालको तथ्यांकलाई हेर्ने हो भने, विश्वमा ६ महिनाभन्दा कम उमेरका बालबालिकामध्ये जम्मा ३८ प्रतिशतले मात्र पूर्ण स्तनपान गरेको तथ्यांक रहेको छ। नेपालमा भने हालै प्रकाशित बहुसुचक सर्वेक्षण अनुसार जम्मा ६२ प्रतिशत आमाले आफ्ना बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराएको पाइएको छ। आश्चर्य लाग्दो कुरा, तुलनात्मक रुपमा शिक्षित आमाहरु बस्ने बाग्मती प्रदेशमा सबैभन्दा कम करिब ५१ प्रतिशत आमाहरुले मात्र पूर्ण स्तनपान गराएको तथ्यांक रहेको छ। सन् २०१४ को नेपाल बहुसुचक सर्वेक्षणमा करिब ५७ प्रतिशत रहेको पूर्ण स्तनपान दर २०१९ मा करिब ५ प्रतिशतले बढे तापनि यसलाई २०१६ को नेपाल स्वास्थ्य सर्वेक्षणको तथ्यांकसित दाँज्ने हो भने करिब ४ प्रतिशत कम भएको देखिन्छ।
नेपालमा करिब ५७ प्रतिशत सुत्केरी मात्र स्वास्थ्य संस्थामा हुने तथ्यांक रहेको हुँदा स्तनपान प्रवर्धन गर्नका लागि सर्वप्रथम संस्थागत सुत्केरीलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने कुरा सोच्नु अत्यन्त आवश्यक छ किनकी बच्चा जन्मिने वित्तिकै गराइने स्तनपान र त्यसपछि स्वास्थ्य संस्थाबाट डिस्चार्ज हुने बेला गरिने स्तनपान सम्बन्धी परामर्श एकदमै महत्वपूर्ण हुन्छ। यति भनिराख्दा स्वास्थ्यकर्मीहरुलाई स्तनपान सम्बन्धी परामर्श गर्दा अपनाउनुपर्ने विधि, स्तनपान सम्बन्धी सम्पर्क र आसन सम्बन्धी विषयहरुको बारेमा तालिम दिने र त्यसको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भनेर अनुगमन गर्ने दरिलो प्रणाली समेत आवश्यक छ।
तर, समस्याको समाधान यो मात्र होइन, अर्को कहालीलाग्दो पाटो स्वास्थ्य संस्थामै छ। काठमाडौंमा गरिएको एक अध्ययनले करिब ५६ प्रतिशत आमाहरुले त्यस्तो आमाको दूध प्रतिस्थापन गर्ने पदार्थहरु सेवन गर्ने गरेको पाइएको छ। झन् अचम्म लाग्ने कुरा त प्राइभेट अस्पतालहरुमा गर्भजाँच, सुत्केरी हुने वा सुत्केरीपछिको जाँच गर्ने आमामध्ये करिब ६८ प्रतिशत आमालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले त्यस्ता पदार्थ खुवाउन सल्लाह दिने गरेको पाइएको छ। अनि त्यस्ता स्वास्थ्यकर्मीबाट परामर्श पाउने आमाहरुमा परामर्श नपाउने आमाहरुभन्दा करिब १७ गुणा त्यस्तो पदार्थ खुवाउने सम्भावना रहेको अध्ययनले देखाएको छ।
यसरी हेर्दा स्वास्थ्य संस्था जसले स्तनपान गर्न प्रवर्धन गर्नुपर्ने हो, त्यो नै आमाको दूध नखान प्रोत्साहन गर्ने अखडा बन्दै गएको त होइन भन्ने प्रश्न खडा भएको छ, जसको उत्तर नियमन र नियन्त्रण गर्ने निकायहरुले खोज्नु अत्यन्त आवश्यक छ।
यसका साथै बच्चा जन्मने वित्तिकै स्तनबाट आउने बिगौती दूधले बच्चाको पहिलो खोपको रुपमा काम गर्ने भए तापनि नेपालमा गरिएको एक अध्ययनले करिब १६ प्रतिशत आमाहरुले अझै पनि बिगौती दूध नखुवाउने गरेको पाइएको छ।
नेपालमा सन् १९९२ मा आमाको दूध प्रतिस्थापन सम्बन्धी ऐन निर्माण भई कार्यान्वयनमा आएको छ, जसले आमाको दूध प्रतिस्थापन गर्ने पदार्थहरुको बिक्री, वितरण र प्रवर्धन गर्नमा नियमन गर्ने र आमाको दूध खुवाउनमा प्रर्वधन गर्ने कुरा उल्लेख गरिएको छ। तर राजधानीकै स्वास्थ्य संस्था तथा अस्पतालहरुमा खुलेआम रुपमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले नै त्यस्ता पदार्थको प्रर्वधन गरेको पाइन्छ। जसलाई सम्बन्धित निकायहरुले मुकदर्शक भएर हेर्नुभन्दा केही उल्लेखनीय कार्यहरु गरेको पाइँदैन।
सरकारले अबको एक हप्ता तामझामका साथ स्तनपान सप्ताह मनाउने छ। केही फोटो र भिडियो टिभी तथा सामाजिक सञ्जालहरुमा देखिनेछन् तर एक सातापछि सबै कुरा यथास्थितिमै फर्किने छ। हामी जहिले पनि दिवसहरुलाई एक दिन वा एक हप्तामा सीमित राख्छौं, जसको कारण समस्याको जडसम्म पुगेर समाधान गर्नुभन्दा क्षणिक नाराहरुमा नै सम्बन्धित निकायहरु रमाउँछन्, अनि जो लक्षित वर्ग हो, त्यो सधैं जोखिमा नै रहन्छ।
कोभिड महामारीले संसार तथा नेपाल पनि आक्रान्त भइरहेको परिपेक्ष्यमा रोगसित लड्न सक्ने क्षमताको विकास गर्नका लागि स्तनपानको महत्व अझै बढेको छ। आशा छ, यस वर्ष सम्बन्धित निकायले आफना कार्यक्रमहरु नारामै मात्र सीमित नराखी यसको दिगो कार्यान्वयनमा जोड दिने छन्।
आज जन्मिएका बच्चाहरुलाई प्रभावकारी रुपमा स्तनपान गराए मात्र स्वस्थ र सुखी नेपालीको परिकल्पना भविष्यमा सफल पार्न सम्भव हुने हुँदा त्यसतर्फ सम्बन्धित सबै पक्षको ध्यान जानु जरुरी छ।
(चौलागाईं नेपालमा उत्पादित व्यावसायिक मिडवाइफको पहिलो व्याचकी मिडवाइफ हुन् र हाल वीर अस्पतालमा अस्पताल नर्सिङ निरीक्षकको रुपमा कार्यरत छिन्।)