डा विमला शर्मा
बच्चाको स्वास्थ्य र जीवन सुनिश्चित गर्न स्तनपान सबभन्दा प्रभावकारी र सरल तरिका हो। बच्चा जन्मेदेखि ६ महिना (१८०दिन) सम्म विशेष स्तनपान (आमाको दूध मात्र खुवाउन) सिफारिस गरिएको छ।
विशेष स्तनपान भनेको बच्चालाई आमाको दूधमात्र दिनु हो, यो समयमा खोप र बिरामी पर्दा गरिने उपचार बाहेक अन्य कुनै तरल अथवा ठोस पदार्थ दिनु पर्दैन। आमाको दूधमा बच्चाको लागि चहिने सम्पूर्ण पोषक तत्व हुन्छ। ६ महिनापछि आमाको दूधसँग अरु पुरक खाना दिनुपर्छ र स्तनपानलाई कम्तीमा २ वर्षसम्म निरन्तरता दिनुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार १८० दिन स्तनपान मात्र गराउने भनेर सिफारिस गरिएको भए पनि विश्वमा ३ मध्ये झण्डै २ जना शिशुलाई सिफारिस गरिएको समयसम्म विशेष स्तनपान गराइएको छैन र यो दर २ दशकमा सुधार पनि भएको छैन।
नेपाल जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार, नेपालमा ९९ प्रतिशत बच्चाहरूलाई स्तनपान गराइएको छ। ५५ प्रतिशत बच्चालाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ, जुन सिफरिस गरिएको समय हो। यही सर्वेक्षण अनुसार दुई तिहाइ बच्चालाई मात्र तोकिएको समयसम्म आमाको दूधमात्र खुवाइन्छ। तर समुदाय तहका अध्ययनहरुले ६ महिनासम्म आमाको दूध मात्र खुवाउने आमाको प्रतिशत धेरै कम देखाएको छ; जुन चिन्ताको विषय हो।
बच्चा तथा आमाको लागि स्तनपानका अनगिन्ती फाइदा छन्। स्तनपान शिशुको लागि पूर्ण पौष्टिक आहार हो; यो सुरक्षित हुन्छ, सफा हुन्छ र एन्टिबडीहरू समावेश भएको हुन्छ जसले रोगबाट बचाउन सहयोग गर्दछ; त्यसैले आमाको दूधलाई बच्चाको पहिलो खोप पनि भनिन्छ। स्तनपानले ६ महिनासम्म बच्चाको लागि चाहिने सबै ऊर्जा र पोषण प्रदान गर्छ। आमाको लागि स्तनपानले सुरुका केही महिनासम्म परिवार नियोजनको काम गर्छ, गर्भवतीको समयमा शरीरमा लागेको बोसो घटाउँछ तथा स्तन क्यान्सरको जोखिम पनि कम गर्छ। स्तनपान आर्थिक रुपमा सस्तो र सजिलो छ।
स्तनपान नेपाल जस्तो मुलुकको लागि शिशु र बच्चाको कुपोषण, संक्रमण र मृत्यु कम गर्ने सबभन्दा सस्तो, सजिलो र सरल तरिका हो। प्रत्येक आमासँग आफ्नो नवजात शिशुलाई स्तनपान गराउन सक्ने क्षमता हुन्छ। आमाको दूध खान पाउनु बच्चाको नैसर्गिक अधिकार हो र यो अधिकार सुनिश्चित हुनुपर्छ। अब प्रश्न रह्यो यो अधिकार सुनिश्चित कसले गर्ने? के एउटा आमाले मात्र गर्न सक्छिन्? बाबु, परिवार, समाज र राज्य व्यवस्थाको दायित्व के हुन्छ?
बच्चालाई स्तनपान गराउने त आमाले नै हो। तर यसको लागि उसलाई श्रीमान्, परिवारका सदस्य, स्वास्थ्यकर्मी, समाज र राज्यको सहयोग र साथ चाहिन्छ। कुपोषित आमा, भोकाएकी आमा, कामले थाकेकी आमा, रोगले थलिएकी आमा, डराएकी आमा तथा हतारिएकी आमाले राम्रोसँग स्तनपान गराउन सक्दिनन्। स्तनपानलाई प्रभावकारी बनाउनको लागि आमा मानसिक रुपमा तयार र समर्पित हुनुपर्छ। आमाको स्वास्थ्य तथा पोषणको अवस्था राम्रो हुनुपर्छ।
अर्कोतर्फ, पर्याप्त समय र शान्त वातावरण हुनुपर्छ, परिवारको हौसला र साथ चहिन्छ। बच्चाको बाबु र परिवारका सदस्यहरुले स्तनपान गराउने आमालाई थप खाना खुवाउनुपर्छ, उसले गर्दै आएको काममा सहयोग गर्नु, स्तनपानलाई पर्याप्त समय दिनु, बच्चालाई पटकपटक स्तनपान गराउन प्रोत्साहन गर्नु, स्तनपानको लागि शान्त वातावरण मिलाइदिनु स्तनपानलाई सहयोग र प्रवर्धन गर्नु हो, जुन अति आवश्यक छ। प्रथम पटक आमा बनेकाहरुलाई सही तरिकाले स्तनपान गराउने ज्ञान दिनुपर्ने हुन्छ; जसको लागि परिवार र स्वास्थ्यकर्मीको ठूलो भूमिका रहन्छ।
त्यस्तै, सार्वजनिक स्थल, अस्पताल, स्वाथ्य केन्द्र, कार्यालय र कार्यस्थलहरुमा स्तनपानको लागि ठाउँको व्यवस्था हुनुपर्छ; स्तनपानको लागि सबैले स्तनपान गराउने आमालाई सहयोग गर्नुपर्छ। कामकाजी आमाहरुलाई स्तनपानको लागि काममा बिदा दिने, स्तनपान कक्षको प्रबन्ध गर्ने तथा अन्य विशेष सुविधाहरु दिएर स्तनपानलाई प्रोत्साहन गर्न सकिन्छ।
सरकारी तहबाट गरिएका स्तनपान सम्बन्धी नीति र तीनको कार्यान्वयनले स्तनपानलाई ठूलो प्रभाव पार्छ। निम्न आय भएका समुदायमा स्तनपानलाई प्रवर्धन गर्नु अझ बढी आवश्यक छ, तर यो चुनौतीपूर्ण पनि छ। गरिब, खाद्य सुरक्षा नभएका, मजदूरी गर्ने तथा कामकाजी आमाहरुले चाहेर पनि स्तनपान प्रभावकारी रुपमा गराउन सकिरहेका हुँदैनन्।
आमा भोकाएको बेला खाना दिन, थाकेको बेला आराम दिन, बिरामी हुँदा उपचार गर्न, आत्तिएको र डराएको बेला हौसला र सहयोग गर्न, स्तनपानको लागि चाहिने ज्ञान, सिप र अनुकुल वातावरण सुनिश्चित गर्न तथा यसको यसको लागि चाहिने समयको व्यवस्था गर्न परिवार, समाज र राज्य व्यवस्था सबैले आआफ्नो दायित्व बोध गर्नुपर्छ।
अहिले विश्व स्तनपान सप्ताह २०२० ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार' भन्ने नाराका साथ सुरु भएको छ। यसबाट पनि स्तनपान समाजिक दायित्व हो भन्ने कुरा प्रष्ट देखिन्छ। त्यसैले आमाको दूध खान पाउने बच्चाको नैसर्गिक अधिकार सुनिश्चित गर्न आमाको मात्र नभएर बाबु, परिवारका सदस्य, समाज र राज्यको भूमिकामा परिवर्तन आउन अति आवश्यक छ।
अहिले धेरै आमाहरुमा आफ्नो दूधले बच्चालाई नपुगेको हो कि भन्ने चिन्ता देखिन्छ। यसको लागि आमाहरुको आत्माविश्वास सबभन्दा ठूलो कुरा हो। एउटा स्वस्थ आमासँग आफ्नो बच्चालाई पूर्ण रुपमा स्तनपान गराउने क्षमता हुन्छ। आमाको मानसिक अवस्थाले स्तनपानलाई निकै प्रभाव पर्छ। प्रत्येक आमाले आफ्नो दूध बच्चाको लागि पर्याप्त हुन्छ भनेर ढुक्क हुनु निकै जरुरी हुन्छ।
स्तनपान गर्ने आमाले थप खान खाने, सन्तुलिन खाना खाने, अरु बेलाको तुलनामा बढी आराम गर्ने, तनाव नलिने गरेमा स्तनपानले बच्चाको लागि ६ महिनासम्म पर्याप्त पुग्छ। त्यस्तै, बच्चाको माग अनुसार पटकपटक दूध चुसाउने, पालोपालो दुवै स्तन चुसाउने, स्तनको ख्याल गर्ने, स्तनमा समस्या आएमा स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ। यी सबै कुरा अनुकुल हुनको लागि परिवार, समाज, स्वास्थ्य र सामाजिक प्रणालीले स्तनपानलाई महत्व दिनुपर्छ।
अहिले जीवनशैलीमा परिवर्तन आएसँगै स्तनपानको अभ्यासमा पनि परिवर्तन देखिन थालेको छ। शिशु जन्मिने बित्तिकै बट्टाको दूध तयारी गर्ने, समय अगाडि नै पुरक खाना खुवाउन सुरु गर्ने; बच्चालाई छिटो हृस्टपुस्ट र मोटो बनाउने चाहनाले बजारिया खानाहरु खोजी गर्ने, आमाको दूधभन्दा वैकल्पिक तरिकालाई महत्व दिने जस्ता अभ्यास बढ्दै गएको देखिन्छ। आमाहरुमा नै स्तनपान नगरे पनि हुने हो कि, थोरै गरे पनि हुने हो कि, स्तनपान भन्दा बट्टाको दूध बाक्लो र पोषिलो हुने हो कि भन्ने जस्ता भ्रम बढ्दै गएका छन्।
अर्कोतर्फ, आधुनिकताको विकाससँगै, स्तनपानले शरीरिक बनावट र सुन्दरतामा कमी आउँछ भन्ने भ्रम पनि उत्तिकै सुनिन थालेको छ। यस्ता अभ्यासले परिवारलाई आर्थिक भार थपिन्छ भने बच्चाहरुमा संक्रमण, कुपोषण र मृत्युको दर पनि बढ्छ। यसका साथै संक्रमित र कुपोषित बच्चाहरुको उपचार र व्यवस्थापनमा राज्यको ठूलो स्रोत खर्च हुन्छ।
स्तनपान ५ वर्षमुनिका बालबालिकामा हुने बिरामीदर र मृत्युदर कम गर्ने सबभन्दा सस्तो, सजिलो र सरल तरिका हो। बच्चालाई स्तनपान गराउनु आमाको अधिकार र कर्तव्य दुवै हो। तथापि पारिवरिक, सामाजिक र नीतिगत सहयोग र सुधारविना सबै शिशु तथा बच्चाको स्तनपान प्रभावकारी रुपमा सुनिश्चित गर्न असम्भव छ। त्यसैले स्तनपान प्रवर्धनलाई एउटा सामाजिक दायित्वको रुपमा लिनुपर्छ।
(जनस्वास्थ्यविद् शर्मा गण्डकी मेडिकल कलेजकी सहप्राध्यापक हुन्।)