गंगाराज अर्याल
हरेक वर्षझैं यस वर्ष पनि ‘स्वस्थ र सुन्दर संसार, स्तनपानको एकमात्र आधार’ भन्ने नाराका साथ अहिले स्तनपान सप्ताह मनाइराखिएको छ। विश्वव्यापी व्यापक चेतना अभिवृद्धिमार्फत विश्वभरिका शिशु तथा बालबालिकाका अभिभावकलाई सक्षम गराई प्रभावकारी स्तनपानबाट शिशुको सुरक्षा, शारीरिक तथा मानसिक वृद्धि–विकास र स्वास्थ्यको सुधार गर्नुपर्ने महसुस गरी सन् १९९० मा विश्वव्यापी अभियानका रुपमा स्तनपानलाई प्रवर्धन गर्ने घोषणा गरियो। त्यसै अनुरुप १९९१ मा विश्वस्तरीय स्तनपान प्रवर्धन समूहको स्थाापना भयो।
शिशु एवं बालबालिकाका लागि स्तनपान प्रवर्धन गर्न अभिभावक, परिवार, समाज सबैको सहयोग जुटाउन विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोष लगायत सरकारी, गैरसरकारी संघ–संगठनको आह्वानमा सन् १९९२ देखि मातृ–शिशुको स्वस्थकर जीवनका लागि कामकाजी महिलाको कार्यस्थल, वातावरण, शैक्षिक एवं आर्थिक क्षेत्र, तथा मानवाधिकार क्षेत्रबाट सघाउ पुर्याई स्तनपानलाई अभियानकै रुपमा चलाउन हरेक वर्ष अगस्ट महिनाको १–७ तारिखसम्म ‘विश्व स्तनपान सप्ताह’ मनाउन सुरु गरिएको हो।
स्तनपान के हो? जन्मनासाथ शिशुलाई प्राकृतिक तरिकाबाट आमाको आफ्नै दूध (स्तन) चुसाउन सुरु गर्ने र कम्तीमा दुई वर्षसम्म नछुटाई दूध चुसाउनुलाई नै स्तनपान भनिन्छ। शिशु जन्मनासाथ १ घन्टाभित्रै आमाको नाङ्गो छातीमा टाँसेर बिगौती दूध खुवाउने, मागेअनुसार र नछोडेसम्म खान पाउने गरी आमाले आफ्नै स्तनपान गराउनुपर्छ।
२४सै घन्टा शिशुले मागेअनुसार तथा आमालाई दूध खुवाउनुपर्ने महसुस वा चाहना भएसम्म कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुलाई नै ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ।
विश्व स्तनपान सप्ताहको लक्ष्यः सन् २०२५ सम्म जन्मेदेखि ६ महिनासम्म कम्तीमा ५० प्रतिशत शिशुले प्रचुर मात्रामा स्तनपान गर्न पाउने छन्।
विश्व स्तनपान सप्ताहका उद्देश्यः
१) विश्वका शिशु एवं बालबालिकाको स्वास्थ्य सुधार गर्न स्तनपानलाई प्रोत्साहन गर्ने।
२) शिशुलाई स्तनपान गराउन आमालाई सचेत र सक्षम गराउने।
३) सही तरिका र समयसम्म स्तनपान गराउन मातृ–शिशु स्वास्थ्य संस्थालाई सहयोग पु¥याउन सरकारी, निजी एवं सामुदायिक क्षेत्र समेतमा बहस–पैरवीमार्फत सक्षम गराउने।
४) शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउन घरपरिवार एवं छिमेकी समेतलाई सहयोग गर्न बहस–पैरवी चलाउनुका साथै व्यापक चेतना अभिवृद्धि गर्ने।
५) कामकाजी आमालाई शिशुलाई स्तनपान गराउन पाउने वातावरण (कार्यस्थलमा स्तनपान कक्ष, कामबाट स्तनपान गराउन फुर्सद, कानुनी प्रावधान) मिलाउन घरपरिवार, छिमेकी समाज, मानव अधिकार एवं सामाजिक सञ्जालमार्फत बहस–पैरवी चलाई सहयोग पु¥याउने।
स्तनपान सप्ताहको पृष्ठभूमिः
सन् २०१६ देखि विश्व स्तनपान सप्ताह र दिगो विकास लक्ष्यको सहकार्य सुरु भयो र सन् २०१८ मा विश्व स्वास्थ्य संघ साधारण सभाले विश्व स्तनपान सप्ताहलाई महत्वपूर्ण स्तनपान प्रवर्धन रणनीतिको रुपमा अनुमोदन गरेको हो। विश्व स्तनपान सप्ताह–२०२० संसारभरका शिशु/बालबालिका एवं नागरिकको स्वास्थ्यमा केन्द्रित रहेको छ भने यस वर्ष विश्व स्तनपानको अभियानले दिगो विकास लक्ष्य २०३० तथा वातावरणका साथै मौसम परिवर्तनमाथि प्रकाश पारेको छ।
विश्वभरिका ५ जना बालबालिकामध्ये ३ जनाले जन्मेको १ घन्टाभित्र स्तनपान गर्न पाएका छैनन् भने ६ महिनासम्मका शिशुमध्ये ४१ प्रतिशतले मात्र आमाको स्तनपान गर्दछन्। स्तनपानको प्रभावकारी प्रवर्धन गरेमा जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका ५ वर्ष मुनिका कम्तीमा ८ लाख २० हजार बालबालिकाको स्वास्थ्य बचाउन सकिन्थ्यो। सन् २०१६ को अध्ययन अनुसार विश्वका करिब १ अर्ब ५५ करोड बालबालिका बामपुड्के (उमेर अनुसार होचो), ५२ करोडजति लुरे (उचाइ अनुसार पातलो) र ४१ करोडजति कुपोषण (बढी तौल) भएका छन्।
स्वास्थ्य सेवा विभागको २०७४/७५ को प्रतिवेदन अनुसार नेपालका ६६ प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन् भने ३ जना शिशुमध्ये २ जनाले ६ महिनासम्म प्रचुर मात्रामा स्तनपान गर्न पाएका छैनन्। ११ महिनासम्मका करिब ४ प्रतिशत र ११ देखि २३ महिनासम्मका झन्डै ६ प्रतिशत शिशु जन्मँदै कम तौल (२५०० ग्रामभन्दा कम) भएका पाइन्छन्।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार ५ वर्ष मुनिका बालबालिकामध्ये ३६ प्रतिशत बामपुड्के, १० प्रतिशत उचाइ अनुसार दुब्लो (लुरे), २७ प्रतिशत उमेर अनुसार कम तौल र १२ प्रतिशत जन्मँदा कम तौल भएका छन्। साथै ६८ प्रतिशत जति ६ देखि २३ महिनासम्मका बालबालिका र ५३ प्रतिशत जति ५ वर्षमुनिका बालबालिकाका तथा ४६ प्रतिशत प्रजनन उमेरका गर्भवतीमा रक्तअल्पता पाइएको छ भने झन्डै ४४ प्रतिशतजति १५ देखि १९ वर्ष उमेरका किशोरीमा रक्तअल्पता पाइएको छ। दीर्घ कुपोषणको यस्तो अवस्थालाई सुधार गर्न सन् २०१२ मा बहु–क्षेत्रगत सुनौलो पोषण कार्यक्रम ल्याइयो भने संयुक्त राष्ट्रसंघीय साधारण सभाद्वारा सन् २०१६ देखि २०२५ सम्मको अवधिलाई पोषण कार्य योजनाको दशकको रुपमा घोषणा गरियो। तर घोषणा गरेको ४ वर्ष बितिसक्दा पनि पोषणको साटो कुपोषणको स्थिति बढ्दो छ।
स्तनपानको महत्वः सुत्केरी हुनासाथ स्तनबाट पहिलो, पहेंलो, बाक्लो बिगौती दूधमा शिशुको सुरुका ६ महिनाका लागि सम्पूर्ण वृद्घि—विकासमा आवश्यक कार्बोहाइडे«ट, प्रोटिन, बोसो, भिटामीन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छन्। स्तनपान शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्ण खाना हो, जसले शिशुलाई रुघाखोकी, श्वासप्रश्वास, किटाणु तथा जिवाणुको संक्रमण, पेटमा हुने संक्रमण, मधुमेह २ एवं कतिपय क्यान्सर हुनबाट बचाउँछ। आमाको दूध तयारी, सजिलै पाउन सक्ने शिशुले चाहेमा जुनसुकै बेला खुवाउन सकिने मात्र नभई मुख, दाँतको समस्या नआउने, बोली चाँडो आउने र शरीरको राम्रो वृद्धि विकास हुने हुँदा आमाको दूधलाई अमृत पदार्थ भनिन्छ।
१. स्तनपान शिशुको पहिलो खोप होः शिशुको अधिकतम वृद्धि–विकास जन्मेको ६ महिनासम्ममा भइसकेको हुन्छ। त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो १ घन्टाभित्र सुरु गरी ६ महिना नपुग्दासम्म लगातार स्तनपान गराएमा शिशुको शारीरिक, मानसिक आदि सम्पूर्ण वृद्घि—विकास हुन्छ। आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) मा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा स्तनपान गरेका शिशुलाई घातक संक्रामक रोगका साथै केही क्यान्सरले समेत आक्रमण गर्न सक्दैन।
२. स्तनपानमा आमालाई फाइदाः प्रचुर मात्रामा स्तनपान गराइरहेकी आमालाई गर्भान्तर गर्न परिवार नियोजनका साधन प्रयोग गर्न पर्दैन। किनभने स्तनपान गराउँदा ६ महिनासम्म ९८ प्रतिशत प्राकृतिक तवरले गर्भान्तर गर्ने अवसर प्राप्त हुन्छ। त्यतिमात्र नभई स्तनपान गराउने आमालाई स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप २ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून हुन्छ भने आमा तथा शिशुबीच माया–ममता बढ्नाको फलस्वरुप मातृ–शिशु स्वास्थ्य स्वस्थकर हुन्छ।
स्तनपान गराउने सही तरिका प्रायजसो नवसुत्केरीहरुले स्तनपान गराउने सही तरिकाको ख्यालै नगरी दूध चुसाइरहको पाइन्छ। यसो गर्दा शिशुले पूर्ण रुपमा दूध खान पाउँदैन र अघाउँदैन, किनभने–
- गर्भवतीको स्तनको मुन्टो धसिएको, सानो हुन सक्छ। त्यसो भएमा धसिएको मुन्टोलाई आफैंले तेल लगाई मालिस गरेमा विस्तारै सामान्य अवस्थामा ल्याउन सकिन्छ। यति गर्दा नआएमा नजिकका स्वास्थ्यकर्मीलाई देखाउनुपर्छ।
- स्तनपान गराउँदा स्तनको मुन्टो (निपल) वरिपरिको कालो भाग समेत शिशुको मुखभित्र पसेको हुनुपर्छ। तवमात्र शिशुले अघाउञ्जेल दूध चुस्न पाएको मानिन्छ।
- शिशुलाई आमाका हातका औंलाले दुधको मुन्टो थिची सजिलोसँग स्तनपान गराउनुपर्छ। किनभने स्तनले शिशुको नाक थिच्न सक्छ र राम्ररी दूध चुस्न नपाउने मात्र होइन, कहिलेकाहीं श्वास फेर्न नसकी मृत्यु समेत हुनसक्छ।
- स्तनपान गराउदा आरामका साथ बस्नु पर्छ। किनभने सुरुको पहिलो दूध पातलो हुन्छ। बाक्लो दूध आउन एकछिन समय लाग्छ। त्यसैले एक पटकमा कम्तीमा एकातिर कम्तीमा १५ मिनटसम्म चुसाई पालैपालो अर्को दूध चुसाउनु पर्छ। कामको बोझ वा लाजले गर्दा हतारमा केही मिनेट जति चुसाएर छोडिहाल्दा पहिलो पातलो दूधमात्र चुस्न पाएको शिशुले बाक्लो दूध आउने बेलामा चुस्न नपाई अघाउनै पाउँदैन। त्यसैले दुवै दुध चुसाएपछि घोप्टो पारी शिशुलाई छातीमा टाँसेर पिठ्युमा थमथमाउनु पर्छ। यसो गर्दा शिशले डकार्छ र वान्ता गर्ने डर पनि हुँदैन।
स्तनपानमा देखिएका समस्या
नेपालका महिलाको साक्षरता दर कम, चेतनाको कमी, परिवार, समाजमा स्तनपान सम्बन्धी रुढिवादी परम्पराले स्तनपानमा असहयोग, नकारात्मक र अस्वस्थकर संस्कारले जरो गाडेको छ। चेतनाको कमीले गर्भावस्थामा कम्तीमा ४ पटक गर्भ परीक्षण गराउनेको संख्या कम छ। पहिलो पटक गर्भवती वा सुत्केरी महिलामध्ये धेरैजसोलाई स्तनपानको महत्वबारे ज्ञान, धारणा र बानीको कमी, सुत्केरी भएपछि साल ननिस्केसम्म दूध चुसाउन नहुने, जन्मनासाथ शिशुलाई स्तनपानको सट्टा घिउ, मह, चिनी, सख्खर ख्वाउने प्रचलन छँदैछ।
सुरुमा स्तनपान गराउँदा दूध कम आउन सक्छ। तर नछोडिकन नित्य चुसाउँदै जाँदा दूध आउन थाल्छ। तर चेतनाको कमीले गर्दा परिवारबाट स्तनपानभन्दा काममै जोड दिने, कम दूध आएको बहानामा नचुसाउने, अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, एकातिरको स्तन मात्र चुसाउने, जहाँ, जसरी भए पनि टुसुक्क बसेर, सुतेर वा उठेरै स्तनपान गराई शिशुलाई सुुताइछाड्ने अनुचित चलनले ठूलो समस्या उत्पन्न भएको छ भने बढ्दो र बिग्रँदो सहरीकरण, सुत्केरीपछिको परीक्षण नगराउने बानीले समस्या उत्पन्न भएका छन्। अर्कोतिर, बजारमा स्तनपानलाई प्रतिस्थापन गर्ने सेरेलेक, ल्याक्टोजिन जस्ता हानिकारक पदार्थको प्रचार एवं सहजै उपलब्धताका कारणले पनि नेपालमा प्रभावकारी स्तनपानमा अनगिन्ती समस्या छन्।
स्तनपान प्रवर्धनमा सरकारी कदम
नेपाल सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाएको छ तर कार्यान्वयन पक्ष अत्यन्त फितलो छ। प्राथमिकता क्रममा स्तनपान प्रवर्धन तथा शिक्षाका कार्यक्रम सञ्चालनमा पनि कमजोरी देखिन्छ। पोषण कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) र अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले सहयोगी संस्था देखिन्छन्। सुआहारा कार्यक्रम लागू भएको तीन वर्ष पुगेको छ, तर सुनौला हजार दिनमा शिशुको अवस्था वर्षेनी खस्कँदो मात्र नभई कुपोषित बालकालिकाको संख्या वर्षेनी बढ्दो छ। अझैसम्म ३० प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गरेको पाइन्छ। सुनौला हजार दिनभित्र पर्ने स्तनपान ६६ प्रतिशतले मात्र पाउने तर बजेट भने सिध्याउने यस्ता देखावटी पोषण कार्यक्रमको सरकारले प्रभावकारी अनुगमन तथा मूल्यांकन गरी आवश्यक सुधार ल्याउन सकेको छैन।
स्तनपान प्रवर्धन अभियान कसरी गर्ने?
१. आमाको दूधलाई प्रतिस्थापन गर्ने पदार्थ नियन्त्रणः सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने बजारमा सेरेलेक, ल्याक्टोजिनजस्ता विभिन्न दुग्ध पेयपदार्थ विरुद्ध कानुन त बनाएको घेरै वर्ष बितेको छ, तर यसको कार्यान्वयन पक्ष अत्यन्त फितलो छ। अझै पनि शिशुलाई आमाको स्तनपान गराउँदा काउकुती लाग्ने, शिशुलाई नपुग्ने बहानामा बजारकै नक्कली र तयारी दुग्ध पदार्थ किनेर ख्वाइन्छ। फलस्वरुप, मात्रृ वात्सल्यको कमी, कृत्रिम दुग्ध पदार्थबााट शिशुलाई नपच्ने, विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने हुन्छ। त्यसैले यस्ता पेय पदार्थलाई निरुत्साहित गर्न कानुनी प्रावधान र अनुगमन बढाई त्यस्ता पदार्थको बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउनु पर्छ। कामकाजी आमालाई कार्यालयमा स्तनपान कक्षको थालनी गरिएको छ, तर सबै कार्यस्थलमा लागू गर्नुपर्छ।
२. स्तनपान प्रवर्धन कार्यक्रमः राज्यका हरेक तहका सम्बन्धित स्वास्थ्य संस्थामार्फत समुदायस्तरसम्म व्यापक रुपमा सही किसिमबाट स्तनपान गराउन गर्भवती, सुत्केरी आमाहरुलाई सहभागी गराई स्तनपान शिक्षा, अन्तक्रिया, अभिमुखीकरण गर्नुपर्छ। यसो गर्दा अधिकतम गर्भवती र सुत्केरी आमाहरुले स्तनपानबारे गलत ज्ञान, अवधारणा र बानीहटाई सही किसिम र समयसम्म स्तनपान गराउने बानी बसाल्न सक्छन्। स्वास्थ्य संस्थामा सुत्केरी हुने झन्डै ६० प्रतिशत आमालाई घर पठाउँदा शिशुलाई स्तनपानको महत्वबारे बुझाउनु पर्छ।
जन्मेको ६ महिनासम्म प्रचुर मात्रामा, एकपटकमा कम्तीमा १५/१५ मिनेट दुवै स्तन गरी ३० मिनेटसम्म र शिशुले चुस्न खोजेसम्म जतिबेला पनि चुसाउनुपर्ने सन्देश पुर्याउनुपर्छ। हालसम्म सरकारी, निजी गरी ५९५३ भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरी गर्भवती र आमालाई स्तनपान प्रवर्धन गर्नुपर्छ।
३. स्तनपान र आमाको पोषणः किशोरी, गर्भवतीलाई पोषिलो खानाबारे राम्ररी शिक्षा दिनुपर्छ। पोषण नै बलियो र निरोगी स्वास्थ्यको आधार भएकाले किशोरी, गर्भवती र सुत्केरीलाई घरमा बनाइने दाल, भात, गेडागुडीको रस, ज्वानोको झोल, हरियो तरकारी/सागपात र मौसम अनुसारका फलफूल तथा भएसम्म दूध, अन्डा, माछा–मासु आदि पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ।
४. स्तनपान सप्ताह अभियानः हरेक वर्षको एक पटक अर्थात् अगस्ट महिनाको १ देखि ७ तारिखसम्म मात्र काठमान्डौ उपत्यकाका तारे होटलमा एकघन्टा जतिको छोटो कार्यक्रम गरी बजेट सिध्याइन्छ। बिहान सबेरै विद्यालय, कलेजका विद्यार्थी, शिक्षक, स्वास्थ्य मन्त्रालयका पदाधिकारीको सहभागितामा प्रभातफेरी गरी आधा घन्टाको भाषण गरेर स्तनपान सप्ताह मनाइन्छ। त्यस्ता कार्यक्रममा गर्भवती, सुत्केरी आमालाई सहभागी बनाइँदैन। मन्त्रालय र विभाग वरिपरि एक/दुई वटा व्यानर भने टाँगिएको हुन्छ। त्यतिले मात्र स्तनपान स्तनपान सप्ताहको सार्थकता हुँदैन।
त्यसैले काठमान्डौ उपत्यकामा मनाउँदा गर्भवती, सुत्केरी, शिक्षक, स्वास्थ्यकर्मी, अभिभावक, नागरिक समाजका सदस्य आदिको सहभागितामा व्यापक चेतना अभिवृद्धि गर्ने कार्यक्रम गरी मनाइनुपर्छ। यसरी मनाइएको सप्ताह सकेसम्म अधिकांश आमाहरुलाई सहभागी गराई सही तरिकाले, सही मात्रामा आफ्नै स्तनपान गराउन सिकाउन र सहयोग गर्नुपर्छ। मुलुकका हरेक तहका सरकारको नेतृत्वमा समुदायस्तरका स्वास्थ्यकर्मी, किशोरी, गर्भवती, सुत्केरी, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय अगुवाहरु, नागरिक समाजका सदस्य, महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता गराई प्रभातफेरी, सडक नाटक, लेख, कविता, निबन्धको प्रतियोगितात्मक कार्यक्रम गर्ने, स्थानीय शैक्षिक तथा जानकारीमूलक कार्यक्रम गरी मनाइएमा बढी उपलब्धिमूलक हुन्छ।
स्थानीय सरकारसँगै सुआहारा कार्यक्रमलाई व्यापक परिचालन गरी सुनौला हजार दिनमा व्यापक स्तनपान अभियान सञ्चालन गरिनुपर्छ। स्थानीय सरकारद्वारा बजेट उपलब्ध गराई हरेक गाउँघर क्लिनिक र खोप केन्द्रमा सकेत विशेष स्तनपान सप्ताह अभियानका रुपमा मनाउनुपर्छ। यसो गरेमा मात्र स्तनपान सप्ताहको उद्देश्य पूरा हुनसक्छ।
(अर्याल जनस्वास्थ्य प्रवर्धन विशेषज्ञ हुन्।)