सीता कोइराला / राघबेन्द्र मिश्र
बच्चाको उमेरअनुसार पोषणको आवश्यकता अनुरुप बनावट बदलिरहने अचम्मको गुणसँगै आमाको दूधमा आमा र बच्चाको लागि फाइदाजनक अन्य धेरै गुणहरु हुन्छन्। स्तनपान बच्चाको लागि पहिलो खोप हो। आमाको दूधले बच्चाको पोषण आवश्यकता पूरा गर्ने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ल्याउने, बच्चाको बौद्धिक क्षमता बढाउने, गिजा, दाँत तथा जबडाको विकासमा मद्दत गर्ने, आमा र बच्चाबिच आत्मीयता बढाउने जस्ता फाइदाहरु बच्चालाई पुग्छ।
आमाको दूध सधैं स्वच्छ र तयारी अवस्थामा रहन्छ। बच्चालाई हुने अनेकौं फाइदाका साथै स्तनपानले आमालाई पनि कैयौं फाइदा पुर्या उँछ। स्तनपान गराउनाले सुत्केरी पश्चातको रक्तस्राव कम गर्ने, पाठेघर पुन: यथास्थानमा फर्किन मद्दत गर्ने, परिवार नियोजनको साधनको रुपमा काम गर्ने, स्तन गानिने समस्या, स्तन तथा पाठेघरको क्यान्सरजस्ता समस्याको सम्भावना कम गर्ने जस्ता विभिन्न फाइदा आमालाई पुग्ने गर्छ।
विश्व स्वास्थ्य सङ्गठनले जनमानसले खतरनाक मानेको एचआइभी र क्षयरोग जस्ता अवस्था वा हालको कोभिड-१९ को महामारीको अवस्थामा पनि बच्चालाई स्तनपानबाट बञ्चित नगराउन सुझाव दिन्छ। यसले स्तनपान कति महत्वपूर्ण छ भनेर दर्साउँछ। स्तनपानको यिनै महत्वलाई ध्यानमा राखेर हरेक वर्ष अगस्टको पहिलो हप्तालाई स्तनपान सप्ताहको रुपमा मनाइन्छ। यस वर्ष स्तनपान सप्ताहको मुल नारा 'स्वस्थ्य र सुन्दर संसार: स्तनपान एकमात्र आधार' रहेको छ।
नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा करिब सबै (९९ प्रतिशत) बच्चाले स्तनपान गरेका हुन्छन् भने सोमध्ये करिब आधा (५५ प्रतित) ले मात्र जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गरेका हुन्छन्। दुई तिहाइ (६६ प्रतिशत) ले मात्र पूर्ण स्तनपान गर्न पाएका हुन्छन् र ८९ प्रतिशतलाई दुई वर्षको उमेरसम्म थप खानासँगै स्तनपान गराइएको हुन्छ। यी आँकडा विश्वव्यापी रुपमा पूर्ण स्तनपानको हकमा ४० प्रतिशत र दुई वर्षको उमेरसम्म स्तनपानको हकमा ४५ प्रतिशतमात्र रहेको छ।
विश्व स्वास्थ्य सङ्गठनको सुझावअनुसार बच्चा जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान सुरु गर्नुपर्छ। बच्चाको उमेर ६ महिना पूरा हुँदासम्म आमाको दूधबाहेक केही पनि (पानी पनि) खुवाउनु हुँदैन र ६ महिनापछि थप खाना सुरु गरी कम्तीमा २ वर्षको उमेरसम्म स्तनपान जारी राख्नुपर्छ।
विश्वव्यापी अङ्कहरुसँग तुलनात्मक रुपमा नेपालमा स्तनपानको अवस्था राम्रै देखिए पनि बालबालिकाको एउटा ठूलो हिस्साले विश्व स्वास्थ्य सङ्गठनको सुझावअनुसार स्तनपान गर्न पाएका छैनन्। हाल नेपालको १ प्रतिशत बच्चाले स्तनपान नै गर्न नपाएको तथ्यांकले देखाउँछ। बढ्दो सहरीकरण, पारिश्रमिक सहितको कामकाजमा महिलाको बढ्दो उपस्थिति र व्यस्ततासँगसँगै परिवार तथा समाजको स्तनपानमा अपेक्षित सहयोग तथा सहभागिता नदेखिँदा यो आँकडा नबढ्ला भन्न सकिँदैन।
तसर्थ, उल्लेखित सन्देशहरु हालको अवस्थामा पनि उत्तिनै सान्दर्भिक छन्। तर यस वर्षको स्तनपान सप्ताहको नाराले स्तनपानको सामाजिक तथा वातावरणीय फाइदालाई केन्द्रमा राखेको छ। आफूलाई जिम्मेवार 'ग्लोबल सिटिजन' बनाउन खोज्ने जमातको आकार ठूलो हुँदैगर्दा स्तनपानलाई विश्व समाज र वातावरणसँग जोडेर प्रस्तुत गर्नुले कम अर्थ राख्दैन। यस वर्षको स्तनपान सप्ताहले सम्भवत: यही सोच राखेको छ।
विश्व स्वास्थ्य संगठनको सुझावअनुरुप गराइएको स्तनपानले वर्षेनी ८ लाख बालमृत्यु र २० हजार मातृमृत्यु कम गर्न सकिन्छ (युनिसेफ)। 'द ल्यान्सेट'मा प्रकाशित भएको एक शोधपत्र (Why invest, and what it will take to improve breastfeeding practices, 2016) अनुसार स्तनपान नगराउँदा हुने परिणामहरु जस्तै बालबालिकाको बौद्धिक क्षमतामा कमीले विश्वले वर्षेनी ३६० हजार करोड (नेरु) आर्थिक क्षति ब्यहोर्नु परिरहेको छ।
त्यस्तै 'सेभ द चिल्ड्रेन' को एक रिपोर्ट (Don't push it; 2018)मा स्तनपानको विकल्पका रुपमा प्रयोग गर्न उत्पादित खाद्यपदार्थहरु (breast milk subsitutes-BMS) को जम्मा बजार मूल्य सन् २०१९ मा नेपालको यस आर्थिक वर्षको वार्षिक बजेटको करिब पाँच गुणा हुने आकलन गरिएको थियो। सो मूल्य सन् २०१४ देखि २०१९ सम्ममा करिब दुई गुणा बढ्ने अनुमान गरिएको थियो। सामान्य अंकगणितको प्रयोग गर्ने हो भने विश्वले ठूलो रकम खर्चेर सोभन्दा ४-५ गुणा ठूलो आर्थिक क्षति खरिद गर्योभ। करिब ३७५ बिलियन डलरको यो घाटाको कारोबार स्तनपानको मद्दतले रोक्न सकिन्थ्यो।
हाम्रो हालको खाद्यपदार्थ उत्पादन विधि (र प्रविधि) हरितगृह ग्यास उत्सर्जनमा २६ प्रतिशत, भू-अम्लीयकरणमा ३२ प्रतिशत र जलासयको अत्यधिक खनिजीकरणमा ७८ प्रतिशत कारक रहेको 'अमेरिकन असोसिएसन फर एड्भान्समेन्ट अफ साइन्स' को एक अनुसन्धान (Reducing food's environment impact through producers and consumers, 2018) मा उल्लेख छ।
हालको खाद्यपदार्थ उत्पादन र उपभोगको तरिकाले जल तथा भू-वातावरणमा प्रतिकुल असर पार्दै जलवायु परिवर्तनलाई बढावा दिइरहेको छ। बिएमएस (Breast milk substitites) को उत्पादन, प्यकेजिङ, वितरण तथा तयारी लगायतको हरेक प्रक्रियामा यसले वातावरणमा असर पुर्यापउने गर्छ। जसकारण बिएमएसलाई वातावरणीय समस्याको रुपमा पनि देख्नु अत्यावश्यक छ। बिएमएसलाई विकल्प नबनाई स्तनपान गराउने हो भने सोका लागि आमालाई नियमित आहारमा थप ५००-६०० कि. क्यालोरी पुर्या उन सोही आहार थप खुवाउनुपर्छ जसमा तुलनात्मक रुपमा अत्यन्तै कम प्राकृतिक श्रोतहरु उपयोग र नगन्य मात्रामा विकार उत्सर्जन हुन्छ। जिम्मेवार "ग्लोबल सिटिजन"ले आर्थिक रुपले किफायती र वातावरणमैत्री विकल्प रोज्नु आवश्यक छ।
स्तनपान र कानुन
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा १३ को उपदफा (१) ले "दुई वर्षसम्मका बालबालिकालाई स्तनपानको समेत अधिकार हुनेछ" भनी प्रष्ट उल्लेख गरी स्तनपानलाई अधिकारको रुपमा स्थापित गरेको छ। यस अर्थमा सो उमेर समूहका बालबालिकालाई स्तनपान गराउनबाट बञ्चित गरेमा, गराएमा बालअधिकारको हनन भएको मानी दण्डित हुनुपर्ने देखिन्छ। यद्यपि यस प्रकारको मुद्दा न्यायिक संयन्त्रमा नपुगेकोले हालसम्म कुनै नजिर स्थापित भएको देख्न पाइएको छैन।
त्यस्तै श्रम नियमावली, २०७५ को दफा १७ ले तीन वर्ष उमेर ननाघेको शिशु भएका महिला श्रमिकलाई शिशुलाई स्तनपान तथा हेरचाहको लागि एकै पटक वा पटकपटक गरी श्रम ऐन, २०७४ ले व्यवस्था गरेभन्दा थप आधा घण्टा विश्रामको लागि समय दिनुपर्ने व्यवस्था गरेको छ। नियमावलीले सो अवधिलाई काम गर्ने समयमा गणना गर्नुपर्ने व्यवस्था गरेको छ।
सोही नियमावलीको दफा ४५ मा पचास वा सोभन्दा बढी महिला श्रमिक कार्यरत रहने कार्यस्थलमा महिला श्रमिकहरुको तीन वर्षभन्दा कम उमेरका शिशुको हेरचाहको लागि रोजगारदाताले आफैं वा अन्य रोजगारदातासँग संयुक्त रुपमा उपयुक्त वातावरण भएको शिशु स्याहार केन्द्र वा कक्षको व्यवस्था गर्नुपर्ने र सो केन्द्र वा कक्षमा रोजगारदाताले आवश्यक शिशु स्यहारकर्ताको समेत व्यवस्था गर्नुपर्ने नियम उल्लेखित छ। यी व्यवस्थाहरुले कामकाजी महिलालाई शिशुको हेरचाह गर्न एकदमै सरल नबनाए पनि केही सहजता प्रदान गर्ने छन्।
(कोइराला र मिश्र चिकित्सा शास्त्र अध्ययन संस्थान, जनस्वास्थ्य केन्द्रीय विभाग अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत छन्।)