डा अच्युतशाली घिमिरे
केही दिनदेखि निरन्तर डा गोविन्द केसीले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पुगेर बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका खबरहरु पत्रिकामा आइराखेका छन्। उनले हुम्लाबाट बाजुरा, कालिकोट हुँदै जुम्ला पुगेर सेवा दिएका थिए। त्यसपछि जुम्लाबाटै हिँडेर डोल्पा पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि हिँडेरै मुगु पुगेका छन्।
डा केसीले मुगुको जिल्ला अस्पताल ठिनीमा छायाँनाथ रारा नगरपालिकाबाट आएका विपन्न नागरिकको निःशुल्क अप्रेसन समेत गरिदिएका छन्। वर्षौं वर्षसम्म नेपालगञ्ज झरेर उपचार गर्ने आफ्नो क्षमता नभएकै कारण भाच्चिँएका हातखुट्टा लिएर बसेका धेरै हाडजोर्नीका बिरामीलाई डा केसीले सञ्चो पनि बनाइदिएका छन्। उनको उपस्थिति त्यहाँ कार्यरत अन्य चिकित्सक, स्वास्थ्यकर्मी एवं सर्वसाधरणका लागि अति नै मूल्यवान सावित पनि भएको छ।
त्यहाँका स्थानीयले लामै लाम लागेर उपचार गराएको खबरले म एउटा साधारण चिकित्सकलाई समेत खुबै उत्साहित बनाएको छ। कहिलेकाहीँ किन मैले डा केसीको जस्तै जीवन बाँच्न सकिनँ? भनेर आफैंलाई प्रश्न समेत सोध्ने गर्छु। कुन चिजले मलाई रोकेको छ, सधैं बिरामीको निःशुल्क सेवा गर्दै हिँड्न? के मभित्र लोभ, मोह, बन्धनहरु हावी भएका हुन् त?
हरेक मानिसभित्र एउटा सपना हुन्छ। झिलिमिली सपनाभित्र जब घर, परिवार र सन्तान घुस्छ तब सपना विस्तारै संकुचित हुँदै जान्छ। खुला आकाशभित्र विश्वप्रेम बाँड्ने हाम्रो चाहना विस्तारै छोराछोरीका लागि पैसा कमाउने दौडमा दगुर्न थाल्छ। तर किन डा गोविन्द केसी यी सबैभन्दा अलग छन्। सजीव अनुभवहरुमा स्वदेशको परिश्रमलाई आत्मसन्तुष्टि मान्दछन्। के स्वयंसेवी भूमिकामा निवृत्त जीवन बाँचिरहेका डा केसी यो अहिलेको समाजका लागि अपवाद पात्र हुन्? के उनी हाम्रा लागि अनुकरणीय हुन सक्दैनन् र? परोपकारी भावहरुमा हामीले अचेल सत्य नै भेट्टाउन छोडेका हौं त? अमेरिका र अष्ट्रेलियाको पिआर पाउने धोकोमा मातृभूमिको खँदिलो अस्तित्वलाई नै दाउमा लाएर हिँड्दा कति दुख्दो हो दुर्गम भेगका बिरामीहरुको मन? चिकित्सकको अभावमा आफ्नो शरीरमा पिप जमेको घाउ पालेर बस्न विवश चेहेराहरु प्रति हामी जवाफदेही हुनुपर्दैन र? जसले यो दुःखका कथाहरु बदल्ने हिम्मत गर्दैन, उसले यो कथा नपढेकै जाती, नबुझेकै जाती।
संयोगले नै सही, केएमसी पूर्व विद्यार्थी संघको आयोजना र छायाँनाथ रारा नगरपालिका वडा नं ५ को सहकार्यमा पोहोर सालको दसैं अगाडि मुगु जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको अनुभव मसँग छ। उक्त स्वास्थ्य शिविरमा करिब ६०० जना बिरामीले प्रत्यक्ष लाभ लिएको देख्दा र अशक्त, बालबालिका, वृद्ध, विपन्न, पहुँच नभएकाहरुको हकहितमा कार्य गर्न पाउँदा संस्थाको अध्यक्ष र अभिभावक भएको नाताले मलाई धेरै नै खुसी लागेको थियो। उक्त शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी समबन्धी रोग, एक सय बिरामी महिला तथा स्त्रीरोग र अरु जनरल रोगका बिरामी रहेका थिए।
निःशुल्क शिविरहरुको आयोजनाले गरिब जनताको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने हुँदा भविष्यका दिनमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधैं अग्रसर रहने वाचा समेत मैले तिनै मुगुका जनता सामु गरेको थिएँ। तर एउटा संस्थाले के नै पो गर्न सक्छ र दीर्घकालीन रुपमा? गर्नुपर्ने त संघीय, प्रदेश र स्थानीय सरकारले हो। त्यसैले त्यहाँ भइराखेको स्वास्थ्य सेवाको असमान पहुँचका सम्बन्धमा जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराउन पर्ने अवस्था हो।
समयको बोलावट, स्थानको आह्वान र आत्माको आमन्त्रण थियो सायद। अहिले डा केसी जस्तै हामी आफ्नो जीवन नै जोखिममा राखेर त्यति लामो यात्रा तय गरेर निःशुल्क शिविर गर्न मुगु पुगेका थियौं। जति नै कठिनताको उकालो भए तापनि हामीमाथि सयपत्री फूलको माला र अबिर लगाएर गरिएको स्वागत र सम्मान, च्याङ्ग्राको मासुसँग मार्सी चामलको भात सहितको भोजन र त्यो आत्मीयता र कृतज्ञता अमूल्य थियो।
कति टाढाटाढाबाट स्वास्थ्य उपचार गर्न आएका ती मनहरुलाई म कसरी शब्दमा व्यक्त गरुँ? सायद चरम गरिबी र असहिष्णु सरकारका बीच जीवनको मूल्य सिकाउने ती हँसिला र सहयोगी अनुहारहरुलाई जेजे छ आफूसँग सर्वस्वै नै दिन मन लागेको थियो। स्वर्गका झिल्काहरु टिप्ने सुन्दर तर मौन ति चेतनाहरुलाई स्थानीय नेता भनाउदाँहरुले हरेक प्रहर पासोमा पारी निकम्मा बनाउँदै गइरहेका छन्। घनिष्ठ प्रभावका साथ अन्तष्करणमा नघुसी त्यहाँ सुधार हुँदैन। तर जीवनको अग्रिम रेखा भेट्टाउन पनि ताल्चा विमानस्थलबाट सिधै उड्नुपर्ने बाध्यताका बीच कोदो, फापर, ढिंडो र सिस्नोको रससँग बाचिँरहेछ मुगु।
पहाडपारिका दुनियाँका अनेकौं चमत्कारले सपनामा ऐठन परे पनि आखिर धूलोमा अक्षर नटिक्ने रैछ, मैनबत्तीले भूगोल नदेखिने रैछ, रारा हेरेरै मात्र भोक मेट्दो रैनछ। पहाडका कथा, सभ्यता र कठिनाइका कथा सारङ्गीले गाएर मात्र के गर्नु सुन्ने ले नसुनेपछि? राराले पर्यटकको इशारामा रङ मात्र बदल्छ तर मुगुले विकासको रङ अझै बदल्न सकेको छैन। यो भौगोलिक कमजोरी मात्र होइन, मुगु राज्यको आँखा उपर सौताने बन्धनमा छ। यी ठाँउहरुमा मानिसहरु कसरी आए होलान्? कसरी बाँच्दा हुन्? तुषाराले कठांग्रिने र धुलो हिलोमा लट्पटिने जीवनहरु कसरी स्वस्थ भएर फुल्दा हुन्? भविष्यको सम्भावना एउटा उपन्यासको कथा जस्तै।
गरिबीको पासोमा परी धर्म परिवर्तन र विदेशी दातृ संस्थाको शिकार भएर मुगु जिउँदो लास र चलनको दास भएर बाचिँरहेछ। मार्फाको ह्यांगमा मुगुलाई अन्यायमा पार्ने छुट कदापि राज्यलाई छैन। ओखतीको अभावमा त्यहाँका जनतालाई भौंतारिन दिने छुट कदापि राज्यलाई छैन। साँच्चै काठमाडौंका जनता र मुगुका जनताको बाँच्न पाउने अधिकारमा किन भिन्नता छ? के त्यहाँका जनता नेपाली होइनन् र? संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान किन मुगुका जनतालाई लागु हुँदैन? काठमाडौंमा चोकैपिच्छे अस्पताल हुन हुने तर मुगुको सदरमुकाममा भएको एउटा अस्पतालमा समेत डाक्टर र औषधिको अभाव किन?
मुगु जस्तै डोल्पा, हुम्ला, कालिकोट लगायत अरु विकट जिल्लाहरुमा समेत स्वास्थ्यका अवस्थाहरु नाजुक र बिजोग छन्। नत्र सुधारका लागि सत्याग्राही गोविन्द केसी किन धाउँथे? पिडौंला कहिले पनि नछोपिने शिशुहरु, नाकमा सिंगान बोकेर हिँडेका बच्चाहरु, दिसामुक्त हुन नसकेका सार्वजनिक स्थलहरु सायद यिनै पर्यावरणमा दृष्टि राख्दा पनि स्वास्थ्यको दरिद्रता देख्न सकिन्छ। स्वास्थ्यको प्रतिकुलतालाई धर्म परिवर्तनको अस्त्र बनाएर खेलिएको धमिलो खेलको मुकदर्शक बनेको छ सरकार। जीब्रो मात्र मिठो बनाउने सेता आयतित चामल भन्दा स्थानीय तहमा उब्जनी हुने र ताकत दिने कोदो, फापर, ढिंडोलाई हेला गर्ने प्रवृत्तिलाई रोक्न समेत सकेको छैन सरकार। खै! यी कथाहरु कहिले सकिएलान्? झन् लेख्यो, सुनायो उति नै मन भरिएर आउँछ। आदतले बिगारेको त्यो भूगोलको सभ्यतालाई कसरी निरोगी राख्न सकिन्छ, अब दिमाग खियाउने बेला आएको छ। हुन त सरकारका मन्त्रीज्यूहरुलाई फुर्सदै कहाँ छ र? स्वास्थ्य उपचारका निम्ति विदेश धाउँदैमा। विकट जिल्लाका स्वास्थ्य सेवाका पीडा नदेखेरै काठमाडौंमा बिरामी लुट्ने नर्सिङ होम खोल्न दिँदैमा कहाँ 'वाहवाह' पाइन्छ र? केही नदेख्नुमा र देखेर पनि वास्ता नगर्नुमा फरक छैन र?
अब पनि बाटो बिग्रिँदा ज्वरो घटाउने 'टाटा' (औषधि) कुर्न ताल्चा विमानस्थल वरिपरि आँखा घुमाउन पर्यो भने? सुत्केरी व्यथा लाग्दा उही ताल्चामा विमान आउने दिन कुर्नु पर्यो भने? के काम भयो आखिर स्थानीय र प्रादेशिक सरकार भएको? अब पनि बिगार निको पार्न पूजा, मन्त्र, बली, धामीझाँक्रीकै भर पर्नु पर्यो भने? के काम भयो यो स्वास्थ्य मन्त्रालयको? अब पनि विज्ञानभन्दा ज्यादा विश्वासमा मानिस अडिग रहे भने के काम भयो कम्युनिस्ट सरकारको? अझै पनि आशा छ, यही सरकारको कार्यकालमा मुगु जस्तै विकट जिल्लाका स्वास्थ्य क्षेत्रका अभावहरु मेटिँदै जानेछन्। मानवजीवनको रक्षाका लागि सरकार लोककल्याणकारी नीतिमा जाने छ। स्वर्गका देवताहरु बास बस्ने यी स्थलहरुमा सरकारको उपस्थिति उल्लेखनीय हुनेछ। आशा छ, धार्मिक कल्पना र अन्धविश्वासहरुमा रुमल्लिनेहरुलाई आधुनिक स्वास्थ्य उपचारको घेरामा पक्कै पनि ल्याइने छ। पोषिलो मानवताका बीच फराकिलो सोचाइ र गहिरो सहानुभूतिले विकट भूगोललाई सुगम बनाउँदै लगिनेछ।
आशा छ, डोल्पा जिल्लामा जस्तो अन्य जिल्लामा डा केसीले स्थानीय सरकारको अवरोध खेप्नुपर्ने छैन। सरकारले यो महामारीमा सबै चिकित्सकलाई डा केसी जस्तै बन्न प्रेरणा जागृत गर्नेछ। अनि सबै सुखी हुनेछन्, सबै निरोगी हुनेछन्।