सुदर्शन पौडेल
विश्वव्यापी स्वास्थ्य महामारीको कारण सिर्जना भएको बन्दाबन्दीका कारण नेपालमा संगठित क्षेत्रमा कार्यरत सात लाख जनाले रोजगारी गुमाउने प्रक्षेपण गरिएको छ। असंगठित क्षेत्र जस्तैः कृषि, घरेलु तथा साना उद्योग, सेवा क्षेत्रमा कार्यरत लाखौं श्रमशक्ति पहिलेदेखि नै अर्धरोजगार र न्यूनतम प्रतिफलमा जीवन निर्वाहको अवस्थामा रहेकोमा उनीहरुको अवस्था थप जोखिममा पर्न सक्ने सहज अनुमान गर्न सकिन्छ।
चुलिँदो युवा बेरोजगारी कुनै पनि राष्ट्रको लागि घातक अवस्था हुन सक्छ। यस्तो अवस्थामा युवाहरु कतिपय आफैंलाई घात गर्ने, कुलतमा फस्नेदेखि अतिवादी समूह वा व्यक्तिको बहकाव वा प्रलोभनमा आएर देश र समाजको अमनचैनमा खलल पार्ने कार्यमा लाग्न सक्ने सम्भावना पनि रहन्छ।
नेपालमा विगतदेखि राज्यले युवाहरु लक्षित केही कार्यक्रम बनाउने गरेको भए तापनि त्यस्ता कार्यक्रमले युवाको भावनालाई सम्बोधन गर्न नसकेकै कारण युवाहरुमा राज्यप्रति निराशा देखिन्छ। समाज र राष्ट्रमा युवाको भूमिका सुनिश्चित गर्न अवलम्बन गर्नुपर्ने पक्ष भनेको शिक्षामा रुपान्तरण हो। यस सम्वन्धमा पन्ध्रौं पञ्चवर्षीय योजनाले सात वटा रणनीति बनाएको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप विकासका अवसर विस्तार, युवालाई उद्यम र व्यवसाय सञ्चालनमा प्रोत्साहन र प्रवर्धन, वित्तीय स्रोत साधनमा पहुँच विस्तार, नीति निर्माण र कार्यान्वयनमा सहभागिता, स्वयंसेवी संस्कृतिको विकास जस्ता रणनीति रहेका छन् भने त्यसै अनुसारका २० वटा कार्यनीति पनि तय गरिएको छ।
पाँच वर्षे योजना अवधिमा १२ हजार युवालाई स्वरोजगार तालिम वा सिप विकास, परम्परागत ज्ञान र सिपको आधुनिकीकरण एवं स्तरोन्नति गरी स्वदेशी उत्पादन अभिवृद्धि, लघु, घरेलु, साना तथा मझौला उद्योगहरु स्थापना तथा पुनस्र्थापनाको माध्यमबाट रोजगारी तथा स्वरोजगारी सिर्जना हुने अपेक्षा राखेको छ।
नेपालमा हरेक वर्ष चार लाखको हाराहारीमा युवाहरु श्रम बजारमा आउने भएका कारण त्यसको व्यवस्थापनका लागि पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी आवश्यक पर्ने नेपाल सरकारको एक अध्ययनमा देखिन्छ। यस अवस्थापनका लागि हालको तयारी प्रर्याप्त देखिँदैन।
संयुक्त राष्ट्र संघका अनुसार विश्वव्यापी रुपमा शिक्षा, रोजगार वा सिपमूलक तालिमविहीन युवाको संख्या २०१९ को तुलनामा २०२१ मा ६ मिलियनले बढेर २७३ मिलियन पुग्ने प्रक्षेपण गरेको छ। यसको मुख्य कारणमा कोभिडले सिर्जना गरेको अन्योलको अवस्था हो भने अर्कोतर्फ युवा बहुल देशहरुमा प्राविधिक ज्ञान र सिपको विकास गर्ने नीति तथा कार्यक्रमको अभाव पनि जिम्मेवार छ।
यसै तथ्यलाई मध्यनजर गर्दै विश्वव्यापी प्रचारप्रसार गर्ने र दबाब सिर्जना गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले यो वर्षको विश्व युवा दिवसलाई दक्षता अभिवृद्धि दिवसको रुपमा मनाउने घोषणा गरेको थियो। तर कोभिडको कारण यो दिवस ओझेलमा प¥यो। यद्यपि, कोभिडको असरलाई सामना गर्न युवाको सामथ्र्य विकास गरी अधिकतम परिचालन गर्ने कार्यक्रम ल्याउनुपर्ने टड्कारो आवश्यकता रहेको महसुस सर्वत्र गरिएको छ।
युवाका समस्या यति विकाराल भइसकेका छन् कि कहाँबाट थालनी गर्ने र त्यसका लागि कस्ता नीति तथा कार्यक्रम प्रभावकारी हुन्छन् भन्ने सोच्न सक्ने नेतृत्व देशले अपेक्षा गरेको छ। विश्वव्यापी स्वास्थ्य महामारीले सिर्जना गरेको सामाजिक, आर्थिक, सांस्कृतिक संकटको अवस्थामा युवाले नेतृत्वदायी भूमिका लिनुपर्ने आवश्यकता टड्कारो छ। त्यसका लागि युवालाई प्राविधिक दक्षता हासिल गर्न सघाउने र उनीहरुलाई आवश्यक स्रोतसाधनले सुसज्जित गर्ने ठूलो चुनौती छ। यसका लागि राज्य संयन्त्रले उपयुक्त वातावरण सिर्जना गरिदिनु पर्छ भने राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक विषयका क्षेत्रले नवीनतम क्षेत्रको पहिचान र रोजगारीका अवसरको उपलब्धता सुनिश्चित गर्न पछि हट्नु हुँदैन।
नेपालमा युवालाई सिपमूलक शिक्षा दिन स्थापित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले आफना पाठ्यक्रममा समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ भने विश्वविद्यालय, कलेज, शैक्षिक प्रतिष्ठान लगायतका निकायहरुले प्रदान गर्ने शिक्षालाई युग सापेक्ष प्राविधिक पक्षको सैद्धान्तिक ज्ञान र त्यसलाई व्यवहारमा उतार्ने कला पनि प्रदान गरिदिनुपर्छ। ज्ञान र सिप भएका युवालाई रोजगारी वा स्वरोजगारीमा लाग्न उत्प्रेरणा दिने ठोस नीति तथा कार्यक्रमको पनि टड्कारो आवश्यकता छ।
हाल नेपालमा प्राविधिक उच्च शिक्षा हासिल गर्ने युवाको संख्या अत्यन्त न्यून छ। त्यसका लागि आर्थिक अवस्था कमजोर भएका जेहेन्दार युवालाई छात्रवृत्तिको अवसर प्रदान गर्नुपर्छ। अर्कोतर्फ देशका शिक्षित युवाले देश र समाजका चुनौतीको सामना गर्न आफैं अग्रसर भई समाधानका लागि नवीनतम सोचका साथ अगाडि बढ्नुपर्छ।
काम सानो वा ठूलो हुँदैन, यत्ति हो कि उक्त कामले व्यक्ति, समुदाय र राष्ट्रलाई योगदान दिन सक्ने हुनुपर्छ। जब हजारौं, लाखौं युवाले आफ्नो दक्षता र सिपको माध्यमबाट अरु कयौं युवालाई सम्मानजनक रोजगारी वा स्वरोजगारीका लागि मार्ग प्रशस्त गर्ने अवस्था सिर्जना हुनेछ तब मात्र देशको मुहार फेरिने अपेक्षा गर्न सकिन्छ।
(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन्।)