गजेन्द्र मर्हजन
काठमाडौंंमा जसरी कोरोना संक्रमण बढेको छ, यसले खतराको घन्टी उपत्यकाभरि बजेको छ। यही कुरालाई मनन गरेर ललितपुरको गोदावरी नगरपालिकाले पनि तयारी थालेकाे छ। नगरले दुईवटा विद्यालयहरुलाई अस्थायी कोरोना अस्पताल बनाउने अन्तिम तयारी गरेको छ।
५० बेडको आइसोलेसन सेन्टर लेले र बज्रबाराहीमा निर्माण भइरहेको छ। दुईवटा विद्यालयलाई अस्थायी अस्पतालको रुपमा रुपान्तरण गरेर हामी उपचार गर्नेछौं। हालसम्म गोदावरी नगरपालिकाका ३५ जनामा मात्र संक्रमण पुष्टि भएको छ। तीमध्ये २० जनाले कोरोना जितेर घर फर्केका छन् भने ९ जना अहिले होम आइसोलेसनमा र एक जना अस्पतालमा छन्। कोभिड-१९ को लक्षण देखिएका एक बिरामीलाई पाटन अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य र कुनै दीर्घरोगी नभएकाले छिट्टै निको भएर फर्कने छन्।
५० वटा क्वारेन्टाइन
नगरले सम्भावित खतरालाई ख्याल गरेर ५० वटा क्वारेन्टाइन निर्माण गरेको छ। बिस्तारै संक्रमित बढ्दै गए भने क्वारेन्टाइन आइसोलेसनमा रुपान्तरण हुन सक्नेछन्। हाललाई नगरभित्र रहेका अस्पताललाई पनि उपचारका लागि तयार रहन नगरले निर्देशन दिएको छ। आपतकालीन अवस्था आएमा उनीहरुले पनि कोभिड-१९ अस्पतालको रुपमा सेवा दिनेछन्। नगरले सबैकाे सल्लाह र सहयोगबाट यी काम गर्नेछ। हाल बिरामीहरुलाई पाटन अस्पताल पठाउनु पर्ने अवस्था छ। उपत्यकामा संक्रमण बढ्दै गएकाले उक्त अस्पतालमा राख्ने सम्भवाना कम हुँदै गएको छ।
संक्रमण बढ्दैछ सचेत बनौं
संक्रमण बिस्तारै उपत्यकामा व्यापक हुने चेतावनी जनस्वास्थ्यविदहरुले दिएका छन् । यो कुरालाई ख्याल गर्दा सबैजना घरमै बस्ने र अत्यावश्यकीय कामबाहेक बाहिर निस्कन भएन। नगरवासीलाई पनि हामीले यही आग्रह गरेका छौं। नगरपालिकाले अहिले अत्यावश्यक बाहेक अन्य पेशा र व्यवसायमा रोक लगाएका छौं। बुधबार खाद्यान्न ,तरकारी र अन्य आवश्यक बस्तुको पसल खोल्ने पनि समय तालिका निर्धारण गरिएको छ। बिहान र बेलुका कसरी खोल्ने र के-के मापदण्ड अपनाउने भनेर नगरले सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आजबाट निषेधाज्ञा जारी गरेकाले नगरबासी थप सर्तक हुनु जरुरी छ। नगरले भदौ १५ गतेसम्म अति आवश्यकबाहेक अन्य कार्यमा रोक लगाएको छ। सबै नगरबासीले त्यसको पालना गरेर संक्रमणको जोखिमबाट आफू आफ्नो परिवार र समाजलाई बचाउनु सहयोग गर्ने आशा गरेका छौं।
केन्द्रको सहयोग पाएनौं
अहिलेसम्म केन्द्र सरकारबाट कुनै पनि सहयोग पाएका छैनाै। संघीय राजधानीबाट नजिकै भए पनि हामीले एम्बुलेन्सलगायत अन्य सेवाहरु माग्दै पटक-पटक स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छौं। तर, मन्त्रालयले आश्वासनमात्र दिने गरेको छ। गाउँ-गाउँबाट बिरामी ल्याउनुपर्ने भएकाले हामीले एम्बुलेन्स र अस्पताल निर्माणका लागि केन्द्रको सहयोग खोजेका छौं। हामीले खोजे अनुसार केन्द्रबाट सहयोग भएन। प्रदेश सरकारले कोरोना महामारी सुरु भएपछि एकपटक १२ लाख रुपैयाँ उपलव्ध गराएका थियाैं। उक्त रकमलाई हामीले क्वारेन्टाइन बनाउन र राहत वितरणमा खर्च गरिसकेका छौं। अब हामीलाई केन्द्रको सहयोगको आवश्यकता छ।
सचेत हुनु नै उपचार
कोरोनाको हालसम्म कुनै पनि औषधि नभएकाले यसबाट सचेत भएर सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र भिडभाडमा नजानेजस्ता कार्य अनिवार्य रुपमा सबैले पालना गर्न आग्रह गर्दछु । सामाजिक सचेतना मुख्य उपचार भएकाले सबैले सचेत भइदिन अनुरोध छ। भिडभाड र संक्रमण फैलन रोक्नका लागि अत्यावश्क बाहेक अन्यलाई १५ गतेसम्म भिडभाड हुने पसलहरु खोल्न नपाउने निर्णय नगरले गरेको छ। यसले संक्रमण फैलन रोक्ने आशा गरेकाले सबै नगरबासीले पालाना गर्नु हुनेछ। उपत्यका सानो छ। यहाँ जनघत्व धेरै छ। एकै व्यक्तिको धेरैसँग सम्पर्क हुने भएकाले फैलने जोखिम धेरै छ। होसियार हौ सामाजिक दूरी कायम गरौं।
(महर्जन ललितपुरको गोदावरी नगरपालिकाका मेयर हुन्)