डा समीर आचार्य
हेल्थ फाउन्डेसन नेपाल (एचएफएन) एक गैरसरकारी संस्था हो। यसको स्थापना नेपाल तथा संयुक्त राज्य अमेरिकामा रहेका जनस्वास्थ्य तथा मेडिकल क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिहरुको सक्रियतामा सन् २०१३ मा भएको हो। यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको न्युयोर्क तथा नेपालको काठमाडौंमा रहेको छ र फिल्ड कार्यालय दाङ जिल्ला, घोराही उपमहानगरपालिका वार्ड नं ६, जजरागाउँमा अवस्थित छ। यसै संस्थाका विभिन्न कार्यक्रमहरु मध्येको एक निकै महत्वपूर्ण आयोजना 'नसर्ने रोग सम्बन्धी अनुसन्धान तथा अध्ययन आयोजना' हो जसको सुरुवात सन् २०१७ को मे महिनाबाट गरिएको थियो। नसर्ने रोग सम्बन्धी अनुसन्धान तथा अध्ययन आयोजनाको बारेमा विस्तृत विवरण तल प्रस्तुत गरिएको छ।
परिभाषा
वर्तमान समयमा "नसर्ने रोगहरु" मान्छेको मृत्युका प्रमुख कारणहरु मध्येमा अग्र पंक्तिमा पर्ने जगजाहेर नै छ। विभिन्न वैज्ञानिक अनुसन्धानहरुको आधारमा भन्नु पर्दा संसारमा नसर्ने रोगहरुमध्ये मुटु तथा रक्तसंचारसम्बन्धी रोगहरुको कारण सिर्जित समस्याहरु सबैभन्दा बढी देखिन्छ र त्यसमा पनि लगभग ८० प्रतिशत हिस्सा संसारका नेपाल जस्ता मध्य तथा निम्न आय भएका र अति कम विकशित राज्यहरुमा विद्यमान छ। वैज्ञानिक तथ्यहरुले मध्य तथा निम्न आय भएका राष्ट्रहरुमा हृदय रोगहरुको विकराल अवस्था प्रस्तुत गरे तापनि हाम्रो जस्ता मुलुकहरुमा यथेस्ट वैज्ञानिक अनुसन्धान तथा त्यस सम्बन्धी प्रमाणहरु पुष्टि नभएको अवस्थामा हाम्रो यस खोज अनुसन्धानले ग्रामीण समुदायमा आधारित Longitudinal Epidemiological Study को आधारमा नेपालमा नसर्ने रोगहरुको महामारीको अवस्था र त्यसको निदान र रोकथामको लागि एक वैज्ञानिक कार्यविधिको विकास गर्ने प्रमुख लक्ष्य लिएको छ।
अनुसन्धानको पद्धति
करिब एक वर्षको अथक प्रयासपछि यो अनुसन्धान पूर्ण विकसित भई आजको यस मूर्त अवस्थासम्म आइपुगेको हो। विभिन्न पाइलट सेसनहरु गरेर त्यसमा सुधार गर्दै एक वर्षपछि निश्चित मापदण्ड र कार्ययोजनाहरु बनाएर एचएफएन को एनसिडी टिमद्वारा यस अनुसन्धानलाई अगाडि बढाउने कार्य भइरहेको छ। यस अनुसन्धानमा प्रत्येक महिनाको पहिलो शनिबार (अथवा १/२ दिन तलमाथि हुने गरी) मोबाइल क्लिनिक गरिन्छ जस अनुसार उक्त क्लिनिकहरु अहिले दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वार्ड नं ३, ४, ६ र ७ का टोलहरुमा पालैपालो हुने गर्छन् यसमा ४० देखि ७५ वर्ष उमेर समूहका मान्छेहरु सहभागी हुन सक्छन्।
यसमा मुखयतया दुई किसिमका सहभागीहरु जस्तै: १. नसर्ने रोग लागेका र २. नसर्ने रोगका लक्षणहरु नदेखिएका तर अस्वस्थ बानी-व्यवहारका कारणले भविष्यमा यस्ता रोग लाग्ने सम्भावना रहेका व्यक्तिहरुले सेवा लिन सक्छन्। सहभागीको अनुमति लिइसकेपछि हरेक सहभागीको परिचयात्मक विवरणहरु, जीवनशैली सम्बन्धी विवरणहरु (जस्तै मध्यपान र धूमपानको सेवन, सूर्तिजन्य पदार्थको सेवन, धुवाँयुक्त चुल्होको प्रयोग र धुवाँसँग संसर्ग भएको, खानपिन सम्बन्धी (हरियो सागसब्जी, फलफूल, रातो मासु, नून, घिउको सेवन र दैनिक व्यायाम), खराब जीवनशैली परिवर्तन सम्बन्धी विवरणहरु, व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणहरु (जस्तै उच्च रक्तचाप, मधुमेह, हृदयघात, हार्ट फेलर, मस्तिष्कघात, खुट्टाको पेरिफेरल आर्टरीमा अवरोध हुने रोग, दीर्घकालीन दम, मिर्गौलाको पत्थरी, मिर्गौला फेल, अल्पकालीन तथा दीर्घकालीन रुपमा मिर्गौला डायलाइसिस गर्नुपर्ने रोग, अर्बुद रोग, अत्यधिक रक्तश्राव हुने रगतको खराबी), सहभागीले नियमित सेवन गर्ने विभिन्न औषधिहरुका विवरणहरु, परिवारको स्वास्थ्यसम्बन्धी विवरणहरु तथा सहभागीको तौल, उचाइ, कम्मरको नाप, बडी मास इन्डेक्स (बिएमआई), रक्तचाप तथा रगतमा चिनीको मात्राको मापन र एसिडी अनुसन्धानका कार्यविधिहरुद्वारा निर्दिष्ट अन्य उपयुक्त रगत र पिसाबका परीक्षणहरु (Urine Dipstick, Lipid Profile, Serum Creatinine, Urine Creatinine, Urine Albumin र Urine Albumin Creatinine Ratio, HBA1C) को विवरणहरुको विस्तृत व्याख्या गरिएको केस रिपोर्ड फर्म (सिआरएफ) मार्फत तालिमप्राप्त व्यक्तिहरुद्वारा अन्तर्वार्ता लिइन्छ र प्रयोगशालाका रिपोर्ट सहितका तथ्यांकहरुलाई तिनै सिआरएफहरुमा टिपेर विश्लेषणको लागि तथ्यांकविदहरु समक्ष पेस गरिन्छ।
यसरी यस अनुसन्धानमार्फत हामीले नेपालको ग्रामीण समुदायमा माथि उल्लेखित नसर्ने रोगहरु र ती रोगहरुको जोखिम बढाउने विभिन्न कारणहरुको वर्तमान अवस्था र अहिलेको विकासलाई अध्ययन गरेर त्यस्ता नसर्ने रोगहरुको प्रकोप न्यूनीकरण गर्न विभिन्न वैज्ञानिक आधारहरु तयार पार्ने उद्देश्य लिएका छौं।
हाम्रो अनुसन्धानको मासिक मोबाइल क्लिनिकको नक्साङ्कनमा पहिलो स्टेसनमा तालिमप्राप्त व्यक्तिबाट सुसूचित अनुमति लिइन्छ। त्यसपछि परिचयात्मक विवरणहरु लिने स्थानमा पठाइन्छ अनि तेस्रो स्थानमा सहभागीको उचाइ, तौल, कम्मरको नाप र विएमआई लिइन्छ। त्यो काम भइसकेपछि सहभागीलाई ब्लड प्रेसर नाप्ने स्थानमा पठाइन्छ र त्यहाँबाट र्यान्डम ब्लड सुगरको लागि फिंगर स्टिक ब्लड ग्लुकोजको स्टेसनमा पठाइन्छ। बिपी, ब्लड सुगर र बिएमआईको रिपोर्ट सहित सहभागीलाई तालिमप्राप्त व्यक्तिबाट विस्तृत अन्तर्वार्ता लिइने स्टेसनमा पठाइन्छ। त्यहाँ कास्ट रिपोर्ट फर्ममा भएका प्रश्नहरु जस्ताको तस्तै विस्तृत रूपमा सोधिन्छ र कार्यविधि अनुसार रगत र पिसाबको जाँच गर्नु पर्ने भए ल्याबमा पठाइन्छ नत्र उचित काउन्सेलिङ गरेर सहभागीलाई घर पठाइन्छ। त्यो बेलामा सहभागीको सुगर/प्रेसर बढी देखिएमा आवश्यक औसधिहरु पनि प्रदान गर्ने व्यवस्था रहेको छ।
सहभागीहरुलाई कार्यविधि अनुसार फलो अपमा आउनुपर्ने भए निश्चित समय र स्थान सहित अर्को भेटको लागि सूचित गरिन्छ। यस कार्यक्रम अन्तर्गत हरेक सेवाग्राहीले फलो अप भिजिटबाट नियमित सेवा पनि लिन सक्नछन्। नसर्ने रोग लागिसकेका सहभागीलाई नियमित रुपमा, त्यस्ता रोग नलागेका तर उच्च जोखिममा भएकाहरुलाई प्रत्येक १ वर्षमा र स्वस्थ व्यक्तिहरूलाई प्रत्येक २ वर्षमा कन्टिन्युटी अफ केयरको लागि फलो अप गरिने प्रावधान यस अनुसन्धानले निर्दिष्ट गरेको छ।
तथ्यांक व्यवस्थापन
कुनै पनि अनुसन्धानमा सहभागीहरुका तथ्यांकहरु निकै नै सम्वेदनशील महत्वका विषय हुने गर्छन्। तसर्थ सहभागीहरुका व्यक्तिगत विवरणहरु पनि संकलन गर्ने भएकाले ती सूचनाहरूलाई सुरक्षित साथ राख्नको लागि स्तरीय तरिकाहरु अपनाउने गरिन्छ। सर्वप्रथम त हाम्रो मोबाइल क्लिनिकमा आएका सहभागीहरुको व्यक्तिगत अन्तर्वार्ता प्रश्नावली फारममा सम्पूर्ण विवरणहरु संकलन गरिन्छ। अन्तर्वार्ता लिएको प्रत्येक व्यक्तिलाई एउटा युनिक नम्बर प्रदान गरिन्छ जसलाई सो व्यक्तिको आइडी भनिन्छ । त्यसपछि ती संकलित विवरणहरु पासवर्ड प्रयोग गरी सुरक्षित कम्प्युटरमा एक्सेल स्प्रेडसिटमा संकलन गरिन्छ र अफिसको दराजमा ताल्चा लगाएर सुरक्षित साथ राखिन्छ। त्यसपछि त्यसरी संकलित एक्सेल स्प्रेडसिटबाट प्रत्येक व्यक्तिको पहिचान खुलाउने विवरणहरु जस्तै नाम, थर, ठेगाना, जन्म मिति, फोन नम्बर आदि इत्यादिलाई मेटाएर ती विवरणहरुको सट्टामा युनिक नम्बर (व्यक्तिको आइडी) राखेर त्यस एक्सेल फाइललाई अनलाइन सेभ गरिन्छ। तथ्यांकहरुलाई अनलाइन सेभ गर्न हामीले पासवर्ड प्रयोग गरी इन्क्रिप्टेड अर्थात् सुरक्षित सर्भरमा यस अनुसन्धानमा काम गर्ने सिमित व्यक्तिहरुले सम्बन्धित अनुसन्धानको लागि मात्र प्रयोग गर्ने गरि पहुच प्रदान गरेर राखिन्छ।
प्रयोगशालाको व्यवस्थापन
हाम्रो अनुसन्धानमा रगत र पिसाबको परीक्षण बुटवलस्थित नेसनल रिफ्रेन्स ल्याबोरेटरी (एनआरएल) मा गरिन्छ। एनआरएलका स्टाफद्वारा मोबाइल क्लिनिकको दिनमा त्यहीँ नै पुगेर सहभागीहरुको रगत र पिसाबको नमुना संकलन, भण्डारण र ढुवानीको लागि आवश्यक व्यवस्थापन गरिन्छ। नमुनाहरु संकलन, भण्डारण र ढुवानी २-८ डिग्री सेन्ट्रिगेड तापक्रममा गरिन्छ। ३ घण्टाभित्र शिविर स्थलमै Centrifuge Machine द्वारा रगतबाट Serum छुट्ट्याएर नमुना भण्डारण गरिन्छ र नमुनाहरुलाई स्ट्यान्डर्ड प्याकेज आइसप्याक्सको साथमा ढुवानीको लागि तयार गरिन्छ। करिब एक हप्ताभित्र रगत र पिसाबको प्रयोगशाला नतिजा बुटवलबाट दाङ पठाइन्छ। यस अनुसन्धानमा प्रयोग हुने सम्पूर्ण उपकरणहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दुरुस्त राखी तथ्यांकमा एकरूपता कायम गर्ने गरिन्छ।
अनुसन्धानको वर्तमान अवस्था
यस अनुसन्धानमा घोराही उमनपाका वार्ड ३, ४, ६ र ७ का ४० देखि ७५ वर्ष उमेर समूहका अनुमानित ७०५२ जना सहभागीहरुको सहभागिताको योजना रहेको छ। हालसम्म करिब १५०० जना सहभागीहरुको विवरण संकलन गरिसकिएको छ। यो अध्ययनका धेरै उद्देश्यहरुमध्ये सबभन्दा महत्वपूर्ण उद्देश्य भनेको दाङ जिल्ला जस्तै ग्रामीण नेपालमा नसर्ने रोगहरुको epidemiological अध्ययन र त्यस्ता रोगहरुलाई समुदाय स्तरमा समयमै पहिचान गरी सम्बोधन गर्दा हुने शारीरिक, आर्थिक तथा सामाजिक लाभहरुको पहिचान गरी नसर्ने रोगहरुको समस्या समाधानको नमुना तयार पारी राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्वास्थ्य प्रणालीमा यो अध्ययनलाई प्रयोग गर्ने हो।
हाल नसर्ने रोग लागेका त्यस्ता व्यक्तिहरुलाई उपचारको निरन्तरता (Continuity of Care) मा सहभागी गराउने र उच्च रक्तचाप, मधुमेह, शरीरमा अत्यधिक बोसोको मात्रा भएको, अत्यधिक रक्सी-सुर्ती सेवन आदि जस्ता नसर्ने रोग तथा यस्ता रोगहरुको जोखिम बढाउने नराम्रा बानीहरुलाई, तथ्यमा आधारित उपचार पद्धतिद्वारा गरिने उपचारमा विशेष जोड दिने र जटिल अवस्थामा पुगेका त्यस्ता बिरामीलाई उपचारको लागि सुविधासम्पन्न अस्पतालहरुमा सिफारिस गर्ने कार्य वृहत रुपमा भइरहेको छ।
समुदाय स्वास्थ्य सेवक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह तथा समुदायका अन्य श्रोत साधनहरुको उपयोगद्वारा तयार पारिएको नसर्ने रोगहरुको वृहत सामुदायिक अनुगमन कार्यक्रममार्फत नियमित अनुगमन गर्दै र नियमित पुनः जाँच गर्दै समुदायमा त्यस्ता नसर्ने रोगहरुको वृद्धि विकासको खाका तयार पार्ने कार्य पनि कार्यविधि अनुरूप नै भइरहेको छ। विश्व स्वास्थ्य संगठनको "भर्बल अटोप्सी टुल" को प्रयोगद्वारा समुदायमा भएका मृत्यु र मृत्युका कारणहरुलाई निर्क्योल गर्ने गरिन्छ। तथ्यमा आधारित उपचार पद्धति, चिकित्सा शिक्षा र खोज-अनुसन्धानलाई सम्वर्धन गर्दै समुदायलाई नै सहभागी गरेर नसर्ने रोगहरुको भारलाई कम गर्न विभिन्न शैक्षिक क्रियाकलापहरु पनि हाम्रो एनसिडी टिमले गरिरहेको छ।
यो अनुसन्धान निरन्तर भइरहेको हुँदा अहिलेसम्म हामीले तथ्यांकको विश्लेषण गरेका छैनौं। नेपाल सरकारसँग हातेमालो गर्दै हेल्थ फाउन्डेसन नेपालको एनसिडी टिमले यस अनुसन्धानलाई अगाडि बढाइरहेको छ र निकट भविष्यमा यो अनुसन्धान, नेपालको नसर्ने रोगहरुको राष्ट्रिय स्वास्थ्य नीति-नियम निर्माणमा सहयोगी भई नसर्ने रोगहरुको समस्या कम गर्न टेवा पुर्याउन सहयोगी हुनेछ भन्ने अपेक्षा गरेका छौं।
(डा आचार्य अमेरिका न्यूयोर्कमा छन्)