डा भुमेष काफ्ले
जेठ ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट फोन आयो, ‘डाक्टर एउटा बिरामीको मुखको हड्डी (म्यान्डिबल) भाँचिएजस्तो छ, हेर्न आइदिनूस् न।’
म भने त्यतिबेला प्रतिष्ठानले कोरोना नियन्त्रणका लागि कर्णालीका हरेक गाउँगाउँमा चिकित्सक खटाएकाले जुम्लाको पातारासी गाउँपालिकामा थिएँ।
म गाउँमा रहेकाले अन्य डाक्टरहरुलाई देखाउन सुझाएँ। अर्काे दिन जनरल सर्जन डा हरिहर देवकोटाले बिरामी हेरेर सोही बिरामीको सिटिस्क्यानको रिपोर्ट पठाउनुभयो।
मुखको हड्डी (म्यान्डिबल) दुई ठाउँमा भाँचिएको रहेछ। मैले सिटीको रिपोर्ट हेरिसकेपछि डा देवकोटालाई बिरामीको सर्जरी गर्नुपर्ने हुनाले सर्जरीको लागि ओरल मेक्सिलोफेसियल सर्जनकहाँ रिफर गर्न सुझाएँ।
जुम्लामा ओरल मेक्सिलोफेसियल सर्जन नभएका कारणले बिरामी रिफर गर्नुको विकल्प थिएन। फेरि म पनि अस्पताल बाहिर थिएँ। अन्य डेन्टल सर्जनले पनि रिफर गर्न सुझाउनु भएछ।
केही दिन बितिसकेको थियो। बिरामी जान्छुजान्छु भन्ने तर नजाने गरेकोले डा हरिहर देवकोटा लगायत अन्य डाक्टरहरु चिन्तित हुनुहुन्थ्यो।
मसँगै जुम्लामै सर्जरी आँट्ने कि भनेर सल्लाह पनि गर्नुभएछ। मैले जुन ठाउँमा हड्डी भाँचिएको छ, त्यो ठाउँमा मुखको महत्वपूर्ण स्नायुहरु पर्ने हुनाले गर्न नसकिने बताएँ। बिरामीले पनि जाने कुरा गरेछन्। पठाइदिने कुरो भयो भनेर खबर आयो।
म पाताराशि गाउँबाट फर्केर तीन दिन क्वारेन्टाइनमा बसेर कोठामा आउँदा फेरि वार्डबाट फोन आयो, ‘अस्तिको बिरामी हेर्न आउनुप¥यो, हजुरलाई देखाउने भन्दै बस्नुभएको छ।’
करिब १५ दिन भइसकेछ जान्छुजान्छु भन्दै भाँचिएको मुखको हड्डी लिएर बिरामी अस्पतालमा बसेको।
म आउँदा बिरामी सर्जिकल वार्डमा हुनुहुन्थ्यो। उहाँको अवस्था अत्यन्तै नाजुक थियो। मुख सुन्निएको र पुरै बाङ्गो भएको थियो। घाउ पाकिसकेको थियो। भाँचिएको ठाउँमा निचोर्दा पिप निस्किरहेको थियो।
बिरामीको हिस्ट्री लिन थालें। ३८ वर्षीय उहाँ गोठीचौर गाउँपालिका– २, गोठगाउँ जुम्लाका बासिन्दा हुनुहँुदोरहेछ, नाम कालिबहादुर बोहोरा।
असार ३ गते गाउँमा काठको पुल बनाउने क्रममा खम्बा ढल्केर शरीरमाथि परेर लड्नु भएको रहेछ। बेहोस अवस्थामा गाउँलेले बाइकमा राखेर प्रतिष्ठान पु¥याएका रहेछन्।
गाउँमा दुई लाखमा काठे पुल बनाउने योजना रहेछ। अलिकता पैसा पाउने आशामा सम्पूर्ण गाउँलेहरु आफैं पुल बनाउन लागेका रहेछन्। तर बिरामी १५–१६ दिनसम्म पैसा अभाव भएकाले उपचारका लागि बाहिर जान नसक्नु भएको रहेछ।
मैले बिरामीको हिस्ट्री लिँदै गर्दा थाहा पाएँ, आर्थिक अवस्थाका कारण बिरामी उपचारका लागि जुम्ला बाहिर जानसक्ने अवस्था नै छैन।
मैले जुनसुकै हालतमा ढिलो नगरी जुम्लामै उपचार गर्नपर्ने भयो। मैले बिरामीको आफन्त र बिरामीलाई सम्झाउन थालें। उनीहरु जान्छौं जस्तो कुरा गर्दै थिए। मैले हुन्छ लैजानुस्, तपार्इंहरु गाडी र पैसा खोज्नुस् म यता सम्भव भएको उपचार यतै गर्दै गर्छु भनें। तर पैसा जुट्न नसकेकाले बाहिर लैजान सम्भव पनि थिएन।
यस्तो खालको समस्या (म्यानिडबुलर फ्याक्चर) लाई दुई वटा तरिकाले उपचार गर्न सकिन्छ। पहिलो मैले अघि भने जस्तै सर्जरी गर्ने घाउलाई खोलेर भाँचिएको ठाउँमा प्लेटिङ गरेर बन्द गरिदिने। जुन यता जुम्लामा सम्भव थिएन। र, अर्काे मुखको तल र माथिका दाँतहरुमा तार लगाएर कस्ने र दुइटै बंगारालाई इन्टर म्यासिलेरी फिक्सेसन गर्दिने। जसले गर्दा बिरामीले मुख चलाउन नपाओस् र हड्डी हल्लिन नसकोस्। यो काम जुम्लामै सम्भव थियो।
मैले नेपालगन्जमा कार्यरत ओरल मेक्जिलो फेसियल सर्जन डा अरुण महतसँग परामर्श लिन थालें। उपचार त गर्ने तर सामान पाइन्छ कि पाइँदैन भन्ने अर्काे तनाव थियो। जुम्लामा मैले यस्तो उपचार गर्नुपर्ने बिरामी पहिलो थियो। म सामान खोज्नतिर लागें।
हामीसँग वायर थिएन। सामान मगाउन हुन्थ्यो, लकडाउनले त्यो पनि सम्भव थिएन। फेरि सामान नेपालगन्ज कि त काठमाडौंबाट मगाउनुपर्ने भएकाले कहिले आइपुग्ने ठेगान थिएन।
ओटीमा पाइन सक्छ कि भनेर अर्थाेपेडिक सर्जनलाई फोन गरेँ। वायर त रहेछ तर मलाई चाहिने भन्दा मोटो। त्यसैले भए पनि काम गर्न प¥यो भनेर लिएर आएँ। बिरामी र डेन्टल हाइजिनिस्टलाई एसिस्टेन्टको लागि बोलाएर काम गर्न थालें। करिब २ घन्टा लाग्यो फिक्स गर्न। तार मोटो भएकोले बिरामी र म दुवै जनालाई कठिनाइ भयो।
मेरो पूरै हात रातो भयो। बिरामीलाई पनि दुखाइ भयो। त्यो दुखाइका लागि म हृदयदेखि माफी माग्छु।
बिरामीसँग कत्ति पनि पैसा थिएन। अलिअलि भएको यत्रो दिन अस्पताल बस्दा खर्च भइसकेछ। अस्पतालको उपचार सबै फ्रिमा भएको थियो। गाउँपालिकाले पनि पैसा नदिएकाले सबै फ्रिमा गर्नुको विकल्प थिएन।
मुख पूरै फिक्स गरेकोले बिरामीले झोलिलो कुरा बाहेक केही खान सक्ने अवस्था थिएन। जुस मज्जाले खुवाउनु भनेर सम्झाएको थिएँ। बिरामीको अवस्था हेर्दा घर पठाउन मन नलागेर सर्जिकल वार्डमा राखेको थिएँ।
बिरामीले केही पनि नखाएर शरीरमा चिनीको मात्रा कमी भएछ। बिरामी तेस्रो दिनमा हाइपोग्लामिमियामा गएछ। धन्न घर पठाइएन छ। म आएर किन नखानु भएको, पाइपको सहायताले खानुपर्छ भनेर सम्झाएँ।
बिरामीको आफन्तसँग गर्दा ‘सर बिरामीले बाँच्ने रहर हराइसक्यो बरु मर्छु भनेर केही पनि खान मान्दैन। गाउँ जान्छु र बिष खाएर मर्छु भनेर जिद्धी गरेको छ’ भनेर सुनाए।
मैले बिरामीलाई राम्ररी सम्झाएपछि अलिअलि खान थाल्नु भयो। अब त बिरामीका आफन्तहरुले बिरामी घर लैजान्छौँ भन्न पनि छाडेका थिए।
अर्काे दिन बिरामिको एक्स–रे गरेर भाँचिएको हड्डी ठाउँमा भए–नभएको कन्फर्म गरेर बिरामीलाई सम्पूर्ण प्रिकसन सिकाएर डिस्चार्ज गरेँ।
१४ दिनपछि फेरि आउनु भनेर बोलाएको थिएँ। तर मनमा भने निकै डर थियो,
मुख पूरै बन्द छ। बिरामीलाई दायाँबायाँ केही भयो भने डाक्टरले मुख थुनिदिएर यस्तो भयो अवगाल आइलाग्ने डर थियो।
फेरि हड्डी जोडिएन भने डाक्टरले बिगा¥यो भन्ने सुनिरहेका कुराहरु हुनाले डर लाग्ने नै भयो। टाढा घर भएका बिरामी हुनाले केही समस्या भए पनि अस्पताल आइहाल्न सम्भव थिएन।
१४ दिनमा बिरामी फलोअपमा आउनुभयो। डाइरिया भएर झन् कमजोर भएर आउनुभएको थियो। मायालाग्दो हुनुभएको थियो।
मैले फिक्स गरेको तार निकालेर आफैं मेडिसिनको डाक्टरकहाँ लगेर देखाइदिएँ। मेडिसिनले पनि औषधि लेखिदिए।
मैले तार निकालेपछि पनि अझै एक महिनासम्म सारो खाने कुराहरु नखानु, नरम कुरा खानु, मुख धेरै नचलनाउनु र ठूलो मुख नखोल्नुहोला भनेर सम्झाएँ। एक महिनापछि पनि फेरि फलोअपमा आउनु भनेर पठाएँ।
महिना दिनपछि बिरामी पलोअपमा आउनुभयो। यस पटक उहाँलाई देखेर निकै खुसी लाग्यो। दाह्रीजुँगा काटेर चिटिक्क परेर हाँस्दै आउनुभएको थियो।
यस पटक पनि उहासँग पैसा रहेन छ। गाउँकै पुल बनाउन गाउँपालिकाले पैसा दिने भनेपछि काम गर्दा उहाँ घाइते हुनुभएको थियो। तर गाउँपालिकाले अझै पैसा दिएको रहेन छ। गाउँपालिकासँग मलाई सारै रिस उठिरहेको थियो।
बिचरा गाउँको विकासको काममा खटिँदा लडेर मुखको हड्डी भाँचिएको छ। रिफर भएको बिरामी पैसाको अभावमा जान सक्नुभएन, अझैसम्म पैसा नदिने। यो कस्तो खालको रबैया हो, जनप्रतिनिधिहरुको। मानवीयता भन्ने पनि कुरा छ नि।
फेरि पनि हड्डीको एक्स–रे गर्नुपर्ने थियो। हड्डीको अवस्था हेर्नलाई र तार निकालिसकेपछि मुख सफा (स्केलिङ) गर्नुपर्ने थियो।
यस पटक पनि बिरामीको निःशुल्क उपचार गरिएको थियो। एक्स–रे गर्दा थाहा भयो, हड्डी जोडिने क्रममा रहेछ। बिरामीलाई पनि धेरै ठिक भइसकेको थियो।
आज त्यो तार निकालेर मुख सफा गर्यौँ। साह्रै खुसी लागेको थियो बिरामीको आजको अवस्था हेर्दा।
विश्व कोरोनाको यत्रो महामारीमा छ। नेपालका हरेक अस्पतालमा उपचार गराउन बिरामीहरुलाई निकै कठिनाइ छ।
कालिबहादुर यसरी यतै उपचार पाउँदा निकै दंग हुनुहुन्थ्यो। कोरोनाको त्रासमा सबैभन्दा बढी एरोसोल मुखबाट निस्किने हुनाले नेपाल सरकार र नेपाल डेन्टल एसोसिएसनले अत्यावश्यक बाहेकका मुख सम्बन्धी कुनै पनि काम नगर्न सुझाएको छ।
हामीले सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर बिरामीको पूर्ण उपचार गरेका थियौँ।
जुम्ला जस्तो दुर्गममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यी र यस्ता बिरामीहरुको लागि वरदान सावित भएको छ।
(डेन्टल सर्जन काफ्ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।)