राजु भुषाल
हिजो दिउँसो एउटा भाइले 'बानेश्वरबासी किन यस्तो मूर्ख?' भनी सामाजिक सञ्जालमा सेयर गरेको अभिव्यक्ति पढेर चसक्क भएको मन आजसम्म पनि खुसी हुन सकेको छैन।
विगत २५ वर्षदेखि स-परिवार व्यवसाय गरेर रहँदा बानेश्वरसँग भावना गाँसिएको हुनाले सधैं यो स्थानप्रति गर्व गर्ने मलाई आज 'बानेश्वरमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार' भन्ने समाचार सुन्नुपर्दा निकै संकोच लागेको छ।
१ हप्ता अगाडि आकस्मिक शल्यक्रिया गरी डाक्टरकहाँ टाँका काट्न जानुपर्ने दिन आज बानेश्वरमा डाक्टरमाथिको आक्रमणको घटनाले मलाई लज्जित बनाएको छ। पछिल्लो १० दिनको अस्पताल बसाइमा मैले स्वास्थ्यकर्मीका बारेमा गहिरिएर बुझ्ने मौका पाएको थिएँ।
स्वास्थ्यकर्मीमाथि भएका पछिल्ला दुर्व्यवहारले आज स्वास्थ्य सेवामा एउटा संघर्ष र अन्योलको अवस्था छ। कोरोनाका कारण हिजो युरोपमा उपचार गर्न र लास व्यवस्थापन गर्ने ठाउँ नभएको समाचार टेलिभिजनमा हामीले हेरेकै हौं। हाम्रो प्रणाली त अझ कमजोर छ। सोचको त कुरै नगरौं, कोरोनाभन्दा पनि डरलाग्दो रहेछ।
चिकित्साको शस्त्र बोकेका बोकेका चिकित्सकलाई भाइरससँगको लड्नका लागि जोसिलो बनाउने कि युद्ध अगावै जत्था बोकेर मुर्खताको शस्त्रले लखेट्ने प्रयास गर्ने? आजको यो डरलाग्दो परिवेशमा अर्को भयंकर प्रश्न खडा भएको छ।
विश्व परिवेश र विज्ञहरुको विश्लेषण सुन्दा सजिलैसँग कोरोना महामारी रोकिनेवाला छैन। तर हामीले संक्रमण समुदायस्तर फैलिँदै गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै आक्रमण गर्न थालेका छौं। भोलि अवस्था भयावह भएको खण्डमा फ्रन्टलाइनमा उभिएर उपचार गर्ने तिनै स्वास्थ्यकर्मी नै हुन्।
भाइरस संक्रमणको उच्च जोखिममा पनि स्वास्थ्यकर्मी नै छन्। उपचार गर्ने स्वास्थ्यकर्मीलाई लखेट्ने प्रवृत्तिले कोरोना नियन्त्रण होइन, अझै फैलिने निश्चित नै छ।
लाखौं लगानी र बहुमुल्य तीन दशक उमेर अध्ययनमा खर्चेर, आफू र आफ्ना परिवारलाई संक्रमणको जोखिममा राखेर हामी र हाम्रो परिवारलाई बचाउन लागिपरेका स्वास्थ्यकर्मीलाई दिने उपहार दुर्व्यवहार र आक्रमण हो त?
कोरोना महामारी नियन्त्रण गर्ने जिम्मेवारी चिकित्सक र स्वास्थ्यकर्मीको मात्र हो त? के नागरिकको जिम्मेवारी अलिकति पनि छैन? वा, चीन अथवा युरोप-अमेरिकाबाट डाक्टरले कोरोना भाइरस बोकेर नेपालमा फैलाएका हुन्?
हामीले के कुरा भुल्नु हुँदैन भने, म यही घरमा बस्छु, तिम्रै समुदायमा बस्छु, तिमीलाई पनि संक्रमण सार्छु, जे सुकै होस भनेर कसरी उनीहरुको नैतिकताले देला र? हामीभन्दा हाम्रो उपचारमा खटिने स्वास्थ्यकर्मी पक्कै पनि सजग छन्। स्वास्थ्यकर्मीलाई दोष दिनुपूर्व स्वमूल्यांकन गर्नु जरुरी छ।
मास्क नलगाई साथीभाइसँग चिया खाँदै गफ गर्ने हामी, टोलमा के हुँदैछ यसो हेरेर आउँछु भन्दै बरालिने हामी, विदेशबाट आएकाहरुसँग रेस्टुराँमा मोजमस्ती गर्ने हामी, बर्थडे, दर र तीज भन्दै नजिकिने हामी अनि हाम्रै उपचारमा खटिँदा संक्रमण भएर हाम्रै सुरक्षाका लागि एउटा कुनामा बसिरहेका योद्धालाई लखेटने पनि हामी।
कोरोना नलाग्ने बुटी बाँधेझैं वा अमृत पिएझैं गर्ने मेरा वडाबासीलाई प्रश्न छ- कोभिड त १/२ वर्षमा जाला, तर सधैं बिरामीको उपचार त तिनै स्वास्थ्यकर्मीले गर्नुपर्ने होला। मूर्ख बन्न, हल्ला गर्न सजिलो होला उपचार त डाक्टरलाई लखेट्ने 'विद्वान' वर्गबाट सम्भव नहोला।
हेक्का रहोस, लकडाउनको पाँच महिनामा विश्वको इतिहासमै बन्द नभएका मन्दिर, मस्जिद, चर्च, हाम्रै पसल, घर सबै बन्द रहे तर अस्पतालका ढोका बन्द रहेनन्। मानवलाई नयाँ जीवन दिने अस्पतालका चिकित्सक भगवान् सरह हुन्।
म एक बानेश्वरबासीको तर्फबाट देशभरका स्वास्थ्यकर्मीलाई नमन गर्दछु।