इरु पौडेल
‘डाक्टर नर्स चाहिँदैन, यो टोलमा बस्न पाईंदैन।’
आए दिनयता यस्तो हेलापूर्ण बचन सुन्न पाउँदा म यो समाजको दुष्कर्म देखेर स्तब्भ भएकी छु। धर्मको नाममा स्वास्थ्यसँग खेलवाड गर्ने समाज र धार्मिक क्रियाकलापको नाममा आफ्नो पाप वा कुकार्य बिर्सने प्रयास गर्दै गरेका केही समाजसेवीहरु जात्रा भन्दै कैयौं जना भेला भई भव्य जमघट गर्ने, कृष्णाष्टमीको दिन घरमा पूजाआजा, भजनकीर्तन लगाउने, तीज घरमै मनायौँ भन्दै टोल–छिमेकमा ५–१० दिदीबहिनी जमघट गरी नाच्ने, उफ्रिने अनि आरोप चाहिँ डाक्टर र नर्सलाई लगाउने अधिकार कुन समूह वा पार्टीले दियो? यो कस्तो रुढीवादी समाज?
जीवन बिताइदिए डाक्टर–नर्सले हाम्रो सेवामा। हरेक पल, हरेक क्षण ऐया–आथ्यु नभनी बिरामीकै सेवामा तत्पर छन् स्वास्थ्यकर्मी। यो महामारीमा सेवा दिँदै गर्दा कति त आफैं संक्रमित हुन पुगेका छन्।
आजभोलि ख्वाक्क एकपल्ट खोकी लाग्दा कतै कोभिड–१९ त भएन भनेर तनाव पुगेर छट्पटाउन थाल्छौं हामी। यस्तो बेला हाम्रा डाक्टर र नर्स त्यस्तै कैयौं बिरामीको सेवामा खटिरहेका हुन्छन्। हाम्रो समाज सही–गलत सुन्न नचाहने त थियो नै, अब त समाज दृष्टिविहीन पनि हुन थालिसकेछ।
सारा विश्व एकजुट भई कोभिड विरुद्ध लडिरहेको बेला स्वास्थ्यकर्मीप्रतिको दुव्र्यवहार कसरी सहन सकिन्छ? पटकपटक स्वास्थ्यकर्मीमाथि प्रहार हुन्छ। फेरि कुनै संगठनले आवाज उठाउँछ। ऊ कारबाहीको अपिल गर्छ, कुरो सेलाउँछ। फेरि घटना बारम्बार दोहोरिन्छ। तर यो महामारीको बेला जुन दुव्र्यवहार समाजले स्वास्थ्यकर्मीप्रति देखाइरहेको छ, त्यसलाई एउटा ठूलो अपराधको रुपमा लिनैपर्ने हुन्छ।
हौसला बढाउने, धाप मार्ने, प्रशंसा गर्ने, साथ दिने र हामी हातेमालो गरेर अगाडि बढौं भन्नुपर्ने ठाउँमा टोलटोलले स्वास्थ्यकर्मीलाई घर÷डेराबाट निकाल्नुपर्छ भन्नु कुन न्याय हो? आज झन्डै ५ महिना बितिसक्दा मै आपैmंले केही डाक्टर र नर्स दिनहुँ आफ्नो ड्युटीमा खटिइरहेको देखेको छु। निजी संस्थामा होस वा सरकारी, सबै क्षेत्रमा स्वास्थ्यकर्मी अग्रपंक्तिको भूमिकामा प्रत्यक्ष रुपमा छन्।
समाजसेवी शब्दको सही अर्थ लगाउने हो भने स्वास्थ्यकर्मी नै हुन् समाजसेवी। रुढीवादी सोच राखी महामारीमा महोत्सव मनाउनेलाई समाजसेवी कदापि भन्न सकिँदैन। भोलिका दिनमा स्वास्थ्यकर्मीले सेवा दिन बन्द गरे भने तपाईं–हामी घरको दैलोमा नै थन्किने अवस्था सिर्जना हुने कार्य कसैले नगरुन्।
कतिलाई तितो लाग्ला तर म नास्तिक होइन। म पनि तपार्इं जस्तै यही समाजको एक अङ्ग हुँ। तर पहिला हाम्रो दायित्व पूरा गरौं। एउटा सच्चा नागरिक भई यो महामारीबाट बच्ने सम्पूर्ण नियमको पालना गरौं। सके स्वास्थ्यकर्मीलाई सहयोग गरौं, हौसला बढाऔं नसके धर्मको नाममा जमघट, चाडबाडको नाममा नाँचगान, भजन–कीर्तन जस्ता क्रियाकलाप तुरुन्तै बन्द गरौं। यो महामारीमा स्वास्थ्यकर्मीलाई सबैको साथ आवश्यक छ। उनीहरुलाई साथ दिनु नै हाम्रो प्रथम धर्म साथै कर्तव्य हुनेछ।
डाक्टर र नर्सलाई हेला गर्न पाइँदैन, हेला गर्ने समाज हामीलाई पनि चाहिँदैन।