डा आलोक आत्रेय
व्यक्तिले जानीबुझी विभिन्न साधनको स्वेच्छिक प्रयोग गरेर आफ्नो जीवन अन्त्य गर्नु नै आत्महत्या हो। अध्येताहरुले विभिन्न तरिकाद्वारा आत्महत्याको वर्गीकरण गरेको पाइन्छ। संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थको आत्महत्या रोकथाम अनुसन्धान केन्द्रले पूर्ण आत्महत्या, आत्महत्या प्रयास अनि आत्महत्याको विचारका रूपमा आत्महत्याको अवधारणालाई वर्गीकृत गरेको छ।
आत्महत्याको वास्तविक नतिजाका आधारमा भने यो सामान्यतयाः तीन प्रकारमा विभाजित हुन्छ, आत्मघाती विचार, आत्महत्या प्रयास र सफल आत्महत्या। आत्महत्या गरेर मृत्यु हुनुलाई सफल आत्महत्या भनिन्छ। आत्महत्या गर्ने तर मृत्यु नहुनुलाई आत्महत्या प्रयास भनिन्छ र आत्मघाती विचार भन्नाले आत्महत्या गर्ने विचार मनमा आउनु तर कार्यान्वयन गर्न नसक्नु हो।
अर्ध–आत्महत्या वा छद्म–आत्महत्याले त्यस्तो व्यक्तिलाई जनाउँछ जसले आफ्नो जीवन समाप्त गर्ने इच्छा त गर्दैन, तर वर्तमान अवस्थाबाट छुटकारा पाउन वा धम्क्याउन वा सहयोगको अपेक्षाले आत्महत्या गर्ने व्यवहार र इशाराहरू प्रदर्शन गर्छ।
आत्महत्याको विचार भनेको आफैंलाई हानि पु¥याउने स्पष्ट इच्छा हो, तर यहाँ आत्महत्याको कुनै योजना चाहिँ हुँदैन, कुनै तयारी हुँदैन र आफूलाई हानि गर्ने कुनै वास्तविक कार्य पनि हुँदैन।
आत्महत्या दरले कुनै निश्चित जनसंख्यामा एक वर्षभित्र आत्महत्याका कारणले भएका मृत्युका घटनालाई जनाउँछ र यो प्रतिवर्ष १ लाख मानिसमा आत्महत्याले मृत्यु हुनेको संख्याको रूपमा व्यक्त गरिन्छ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा प्रतिवर्ष करिब १० लाख मानिस आत्महत्याका कारण मर्छन् जसअनुसार आत्महत्या दर प्रति लाखमा १६ हुन्छ। यसको मतलब प्रत्येक ४० सेकेन्डमा १ व्यक्ति आत्महत्याले मर्छ। संसारमा १५ देखि ४४ वर्ष उमेर समूह बीचका मानिसमा मृत्युको तीन प्रमुख कारणमध्ये आत्महत्या एक हो। आत्महत्या प्रयास त झन् सफल आत्महत्या भन्दा ८–१० गुणाले नै बढी छ।
नेपालमा आत्महत्याकै तहमा विस्तृत अध्ययनहरु त भएका छैनन् तर विगत केही महिना यताका प्रहरी तथ्यांकहरुका आधारमा विश्लेषण गर्दा दैनिक सरदर १९–२० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न चैत ११ देखि असार १३ सम्मको लकडाउन अवधिमा मात्रै कम्तीमा १,६४७ व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाउँछ।
कारक तत्व
मानसिक रोग भएका बिरामीहरूमा आत्महत्याको जोखिम धेरै हुन्छ। अन्तर्राष्ट्रियस्तरमा भएका अध्ययनका तथ्यांकअनुसार आत्महत्या गरेका करिब ९० प्रतिशत व्यक्तिमा कुनै न कुनै मानसिक रोग भएको हुने रहेछ। स्किजोफ्रेनिया (साइकोसिस), डिप्रेसन, अनि दुव्र्यसनका बिरामीहरुमा आत्महत्याको उच्च जोखिम रहेको पाइन्छ। त्यसैले त आत्महत्याको रोकथाम र समयमै उपचार मनोचिकित्साको आपतकालीन प्राथमिक उपचारको अभ्यासमा पर्छ। समयमै आत्महत्याको आकलन, मानसिक रोगहरुको निदान अनि विभिन्न मानसिक रोगहरूमा आत्महत्याको जोखिम बुझ्नु आत्महत्या रोक्नको लागि धेरै महत्वपूर्ण कारक मानिन्छ।
आत्महत्यासँग सम्बन्धित जोखिम कारकहरूमा गरिएको अध्ययनले आत्महत्याका लागि निम्न आठ कारक महत्वपूर्ण मानिन्छन्ः डिप्रेसनका लक्षणहरूको उच्च स्कोर, अघिल्ला आत्महत्याका प्रयासहरू, हालसालै घटेका तनाव दिने घटनाहरू, कम गुणस्तरको जीवनशैली, पुरानो तनाव, गम्भीर पारस्परिक द्वन्द्व, आत्महत्याको प्रयास वा सोच गरेका आफन्तहरू या आत्महत्याको प्रयास वा सोच गरेका साथीहरू। यी कारकमध्ये यदि कुनै व्यक्तिमा २–३ कारक छन् भने आत्महत्याको सम्भावना ३० प्रतिशत हुन्छ। ४–५ कारक भए ८५ प्रतिशत अनि ६ भन्दामाथि भए ९६ प्रतिशत सम्भावना रहन्छ।
सबै खाले मानसिक रोग भएका बिरामीमा आत्महत्याको लागि साझा जोखिम कारकहरू भने अघिल्लो आत्महत्याको प्रयास, विगतमा परिवारमा सफल आत्महत्या वा प्रयास, गम्भीर नकारात्मक जीवन घटना वा तनाव, अविवाहित, एकल वा विधवा, पारिवारिक संघर्ष, कमजोर आर्थिक स्थिति वा बेरोजगारी, परनिर्भरता, सीमान्तकृत वा लैङ्गिक अवहेलना, गम्भीर शारीरिक अस्वस्थता, डिप्रेसन, चिन्ता आदि हुन्।
लागूपदार्थ दुव्र्यसनीका बिरामीहरूमा आत्महत्याको जोखिम कारकमा २४ घन्टाभित्र अत्यधिक मादक पदार्थ सेवन, लागुपदार्थ सेवन गर्न नपाएर भएको छट्पटी र त्यसका भौतिक लक्षण, मतिभ्रमता या उदासीनता आदि पर्छन्।
मध्यमदेखि गम्भीर उदासिनताका लक्षण स्किजोफ्रेनिया आत्महत्याको मुख्य कारण हो। मनोरोगको लक्षण जस्तैः श्रवणभ्रम (बिरामीले अरूले बोलेको सुन्छ जुन आदेश हुन्छ, सामान्य व्यक्तिले केही सुन्दैन किनकी त्यहाँ कोही बोलेकै हुँदैन) द्वारा हावी आत्मघाती व्यवहार वा सताइएको भ्रमको कारण हतासाको डर। श्रवणभ्रमको आदेशले सताएर त्यसबाट छुटकारा पाउन आत्महत्या प्रयास पनि गर्न सक्छन्।
आत्महत्याको झन्डै एक तिहाइ कारण व्यक्तित्वजन्य अव्यवस्थाहरूका कारण पनि हुन्छन्। व्यक्तित्वजन्य अव्यवस्थाहरूले आत्महत्याका सामान्य जोखिमका कारकहरूलाई टेवा दिन्छन्, जस्तैः कमजोर सामाजिक र आर्थिक अवस्था, पारिवारिक कलह, आदि, जसले गर्दा आत्महत्याको घटना बढ्छ। त्यस बाहेक यस्ता व्यक्तिहरूमा अक्सर गम्भीर उदासिनताका लक्षण र मादक पदार्थ दुव्र्यसन हुन्छ, जसले आत्महत्याको जोखिमलाई झनै बढाउँछ।
आत्महत्या कसरी रोक्न सकिन्छ?
सबै आत्महत्या रोक्न सकिँदैन, तर प्रायः आत्महत्या रोक्न सकिन्छ। समुदाय र राष्ट्रिय स्तरमा धेरै जोखिमहरू कम गर्न धेरै उपायहरू अपनाउन सकिन्छः
- आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने (जस्तै कीटनाशक, लागुपदार्थ, बन्दुक)
- मानसिक समस्या भएका बिरामीको उपचार गर्ने (विशेष गरी डिप्रेसन, मद्यपान र स्किजोफ्रेनियाको बिरामी)
- विगतका आत्महत्याका प्रयासका कुरा गरेर वर्तमान अवस्थाको मूल्यांकन गर्ने
- मिडियाले पनि जिम्मेवारीपूर्वक सामग्री प्रसारण गर्ने
- प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम दिने
यो बुझ्नु महत्वपूर्ण छ कि, थोरै आत्महत्या मात्र कुनै चेतावनी वा संकेतहरु बिना पनि हुन सक्छन्। प्रायः आत्महत्यामा आत्महत्याको स्पष्ट संकेतहरू हुन्छन् जसले उनीहरूको मनसाय दर्शाउँछ। तसर्थ, कसैले आत्महानिको डर (त्रास) देखाँउछ भने त्यसलाई गम्भीरताका साथ लिनु पर्छ। प्रायः आत्महत्या गर्ने प्रयासहरू विरोधाभासपूर्ण हुन्छन् र जानाजानी मर्दैनन्।
धेरै आत्महत्याहरू सुधारको अवधिमा हुन्छन् जब एक व्यक्तिसँग निराश विचारहरूलाई विनाशकारी कार्यहरूमा परिणत गर्ने इच्छा हुन्छ। यद्यपि आत्महत्या प्रयास गरेका व्यक्तिहरू जोखिममा नहुन पनि सक्छन्। आत्महत्याका विचारहरू फेरि देखा पर्न सक्छन् तर स्थायी हुँदैनन् र केही व्यक्तिहरूमा त्यस्ता विचारहरू कहिल्यै देखा पर्दैनन्।
(डा आत्रेय लुम्बिनी मेडिकल कलेजको फरेन्सिक मेडिसिन विभागमा उपप्राध्यापक हुन्।)