शरदचन्द्र ओझा
आजभन्दा तीन दशक पहिले एलोपेथिक औषधिको मार्केटिङको जागिर सुरु गर्दा काम गर्ने शैली फरक थियो। अहिले परिस्थिति फरक भएको छ। त्यो जमानामा मार्केटिङको जागिर गर्ने एमआरको परिचय भनेको गाढा खैरो अथवा कालो रङको छालाको ब्याग बोक्ने, घाँटीमा टाई, चिट्टिक्क परेको लुगा, राम्रो तरिकाले गरिएको केस बिन्यास इत्यादी थियो, जुन दशकयता आएर समयसापेक्ष केही परिवर्तित भएको छ। भविष्यमा यसमा अरु पनि नयाँपन अवश्य आउला भन्न सकिन्छ।
आजको विश्वको बजारीकरणको विशिष्ठ माध्यम भनेको प्रचारप्रसार नै हो, तर यो प्रचारप्रसार अथवा एडभर्टिजमेन्टको तरिका फरक छन्। यसलाई बजार व्यवस्थापनको भाषामा मार्केट प्रमोसन अथवा बजार विस्तारको वैज्ञानिक उपाय पनि भनिन्छ। जस्तो कि अरु उत्पादहरुको विज्ञापन गर्न पाइन्छ भने औषधिको खुला रुपमा विज्ञापन गर्न पाईंदैन। औषधि पसलबाट बेच्न सकिने औषधि जसलाई ओटिसी औषधि भनिन्छ, त्यस्ता औषधिको केही देशमा विज्ञापन गर्न पाइन्छ। तर हाम्रो देशमा त्यसको पनि विज्ञापन गर्न पाउने खासै व्यवस्था छैन।
कोरोना भाइरसको व्यापक बिगबिगी तथा संसारभरि नै पारेको प्रभावलाई नियालेर हेर्दा अन्य कतिपय क्षेत्र जस्तै फर्मास्युटिकल उत्पादनको बजारीकरण चुनौतीको रुपमा खडा भएको छ। हिजोको दिनमा वर्षौंदेखि चलिआएको एक पटकमा एकदेखि बढीसम्म पनि ग्राहक भेटघाटको प्रक्रियामा अब प्रश्नचिह्न लागेको छ। अहिलेको परिस्थितिमा मानिसले मानिसबाट सामाजिक दूरी कायम राख्नुपर्छ भन्ने सँम्न्धमा चिकित्सक महोदयहरुको चेम्बरभित्र बसेर प्रडक्ट प्रमोसन त्यति सान्दर्भिक र सहज भइरहेको छैन।
भनिन्छ, यो कोरोनाकाल कहिलेसम्म रहने हो यकिन गर्न गाह्रो छ। नेपालको औषधि बजारमा जनसंख्याको सापेक्षमा औषधिको ब्राण्ड घनत्व धेरै छ, भनेपछि त्यसैको अनुपातमा प्रतिस्पर्धा पनि अस्वम्भाविक रुपमा बढेको छ। जहाँ प्रतिस्पर्धा बेसी हुन्छ, त्यहाँ मार्केटिङको रुप पनि फरक नै हुन्छ। जहाँ ब्राण्डहरुको बीचमा होड हुन्छ, त्यहाँ अवसर पनि हुन्छ र त्यसलाई ग्राहकको कलममा स्थापित गर्ने कार्यलाई मूर्त रुप दिन बजारीकरणको आधुनिक उपायहरु पक्कै पनि अबलम्वन गर्नुपर्ने हुन्छ। फेरि प्रश्न कहाँ आउँछ भने के विद्यमान शैलीको मार्केटिङ अहिले र भविष्यमा पनि आउनसक्ने यस्तै विषम परिस्थितिमा उपर्युक्त छ? कि यसमा कुनै समयसापेक्ष परिवर्तन ल्याउनु पर्छ। मेडिको प्रडक्ट मार्केटिङलाई विश्वभरि नै यो चुनौती भएको छ भने हाम्रो जस्तो अतिकम विकसित मुलुकमा त यो चुनौती झनै चिन्ताको विषय हुने नै भयो। आज झण्डै ६ महिनादेखि बन्दप्राय रहेको समयमा कसरी मार्केटिङलाई चुस्तदुरुस्त बनाउने होला? यक्ष प्रश्न यहाँ पनि छ।
सभा, सेमिनार, कन्फेरेन्सको माध्यमबाट भइरहेको ब्राण्ड प्रमोसन, ब्राण्ड प्रथम अवतरण पनि यस्तो परिस्थितिमा सम्भव देखिँदैन। अब उपाय के त, के बजार राम्ररी खुल्ला अनि काम पुरानै शैलीमा सुरु गरौँला भनेर पर्खेर बस्ने कि उपाय खोज्ने, यहाँ पनि गहिरिएर सोच्नुपर्ने बेला आएको छ। यहाँ दिन, सप्ताह भन्दाभन्दै महिना अनि विगत वर्षको अन्तिम त्रैमासिक बन्दप्राय खासै उपलब्धीविहीन सकियो भने यता आएर नयाँ आर्थिक वर्षको प्रथम त्रैमासिक पनि सकिने बेला भइसक्यो।
त्यसो त ब्राण्डहरु नचलेका होइनन्, कतिपय स्थापित र अन्य ब्राण्डहरु प्रेस्क्रिप्सन मार्केटमा देखिन्छन्, तर नयाँ उत्पादन अनि बजारीकरणमा त्यति अघि बढ्न नसकेका ब्राण्डहरुलाई साँच्चै नै चुनौती भएको छ। उत्पादन क्षेत्र पनि यस कोरोनाकालमा त्यतिकै प्रभावित भएको छ। उत्पादकलाई समयानुकुल तदारुकताका साथ कच्चा पदार्थ प्राप्त हुन नसक्नु, ढुवानी अत्यन्त प्रभावित हुनु, कतिपय अवस्थामा बैँकहरुसितको असमन्जस, कर्मचारीहरुको नियमित उपस्थिति र व्यस्थापन, रोग सर्नसक्ने डरत्रास, विदेशबाट छोटो समयका निमित्त ल्याउनैपर्ने आवश्यक जनशक्ति, बजारबाट हुने अर्थ संकलनमा/कलेक्सनमा आएको डी ग्रोथ (गिरावट), अर्थतन्त्रको व्यवस्थापन, प्रशासनिक कार्य व्यवस्थापन, नियमित कार्यसम्पादनमा देखिन आएको अन्य चुनौती हुन्। यस्तो अवस्था अनि बिक्रीवितरणमा आएको विषम परिस्थितीमा अब कसो गर्ने भन्ने वातावरण सिर्जना भएको छ।
यो जसरी हुन्छ बाँच्नुपर्छ भन्ने वर्ष हो किनभने कोरोनाको कहरले दिएको चुनौती विकराल छ। यहाँ कर्मचारी र रोजगारदाता दुवैलाई घोरिएर सोच्नुपर्ने अवस्था छ।
डिजिटल मार्केटिङ आजभोलि दरिलो विकल्पको रुपमा हेरिँदैछ। डिजिटल मार्केटिङ आफैंमा एक महत्वपूर्ण माध्यम हो भने समग्रमा भन्नुपर्दा यसको सहयोगले पनि यस्ता योजनाहरु तर्जुमा गर्न सक्नुपर्छ जसले ग्राहकलाई आफ्नो योजनामा दत्तचित्त समाहित गर्न सकोस् अनि ब्राण्ड प्रमोसनलाई अभिवृद्धि गर्न मद्दत पुर्याओस्। सामाजिक सञ्जालहरुको प्रयोग गर्न पनि अप्ठेरो छ। गर्नै मिले पनि यसमा स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुले कुनै रोगको सम्बन्धमा र त्यसको उपचार पद्धतिको बारेमा बोल्दा औषधिको पनि कुरा गरेको श्रब्यदृष्य देखाउन पाएला। तर यो त ब्राण्डिङको दृष्टिकोणले कति फलदायी तरिका हो, विज्ञहरुले नै सुझाउनु पर्ला।
अहिले कोभिडको सन्दर्भमा कहिले आइबरमेक्टिन, कहिले डेक्सामेथासोन, पहिले अजिथ्रोमाइसिन अहिले रेम्डेसिभिरको बारेमा स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनले तथा अन्य सरोकारबालाहरुले सञ्जालको प्रयोग गरी आफ्नो मन्तब्य राखेको एक उदाहरण पनि हो। जेनेरिक औषधिको बारेमा बोलिएकोले यो उदाहरणको माध्यमले ब्राण्डलाई स्थापित गर्न मद्दत पुर्याउन सक्छ होला। तर पनि चुनौतीहरु त छन्। केही माध्यमहरु चाहिएको ब्राण्डिङ, ब्राण्डेड औषधिको बिक्रीमा अभिवृद्धी, भविष्यको सुनौलो बढोत्तरीको निश्चितताका निमित्त कोशेढुङ्गा साबित हुन सक्ला र? प्रश्न गहिरो छ, सायद मार्केटिङका गुरु फिलिप कट्लर तथा अन्य समाधानको उपाय खोज्दै होलान्।
गुगलमा पनि प्रचार गर्न गाह्रो छ, किनभने प्रतिष्ठानले बनाएको साइटमा ग्राहकले कसरी र किन सम्मिलित हुने त। इमेल लगायतका माध्यम पहिले पनि प्रयोगमा आएकै हुन्, यो पनि कत्तिको ब्राण्डिङ र मेडिको मार्केटिङमा सहयोगी हुन्छ होला गुणाभाग गर्नैपर्छ। तर पनि समग्रमा अहिले औषधिको मार्केटिङमा पनि डिजिटल माध्यमको उपादेयताका सम्बन्धमा राम्रै जनमत बन्दै गएको भेटिन्छ। तर हाम्रो जस्तो भौगोलिक विषमताले भरिपूर्ण मुलुकको कुनाकन्दरासम्म जहाँ इन्टरनेटको सुविधा सहरको जस्तो अथवा पुग्नै नसकेको अवस्था छ, डिजिटल मार्केटिङ कत्तिको योजना अनुसारको सफल हुनसक्छ होला, विश्लेषण हुन जरुरी छ?
यता सहरकेन्द्रित डिजिटल मार्केटिङ गर्दा अत्यन्तै कसोमाइज्ड (ग्राहक अनुसारको कार्यविधि) बनाउनुपर्ने हुन्छ कि भनेर प्रतिष्ठानहरुले पक्कै सोच्नुपर्छ होला। यहाँ कस्टमरको (ग्राहकको) अनुमतिले उहाँहरुले सम्पर्कमा आउन सक्ने डिजिटल माध्यम अपनाउनुपर्ने हुन्छ भने सम्बन्धविशेष बजारीकरण (रिलेसनसिप मार्केटिङ)को आवश्यकता पनि पर्नसक्छ। यसमा त्यस्ता योजनाहरु समाहित हुनुपर्छ होला, जसले कस्टमरलाई लग ईन हुन आकर्षित गर्न सकोस्। त्यसमा विभिन्न रिसर्च पुस्तिका, लेख आलेख, विशेस पुस्तकहरुको विवेचना, सम्बन्धित क्षेत्रका विशेषज्ञ अथवा वैज्ञानिकहरुको प्रस्तुतिको सत्र महत्वपूर्ण हुनसक्छ। तर पनि पहिलो केही वर्ष डिजिटल मार्केटिङका लागि परीक्षणको वर्षा पनि हुनसक्छ, किनभने यसले पुरानो प्रक्रियामा चलिरहेको बजारीकरणलाई एकाएक परिवर्तन गर्न त सक्दैन होला अनि अहिलेको बजारीकरणमा महत्वपूर्ण अंग मानिने मानव संसाधनको सहयोगले नै चलायमान बनाउनु उपर्युक्त हुन्छ होला। औषधिको बजारीकरणमा महत्वपूर्ण योगदान गर्ने मेडिकल रिप्रेजेन्टेटिभ र मेनेजरहरुलाई डिजिटल मार्केटिङमा प्रमुख भूमिकामा राखिनुपर्छ।