डा संसारबाबु तिवारी
'अब एचओडी म्यामको अवकाश हुँदैछ।' यो खबर हामी रेजिडेन्टहरुमाझ एउटा अकाट्य सत्य बनेर आएको पनि आज पन्ध्र महिना भएछ। आज २०७७ साल भदौ २० गतेका दिन सम्पूर्ण प्याथोलोजी विभाग शान्त छ, सबैका आँखा रसाएका छन्।
एउटा यस्तो व्यक्तित्व जसको आगमनसँगै दिनहुँ हाम्रो विभागमा सूर्यको किरण छिर्ने गर्दथ्यो, उहाँ आजदेखि अवकाश हुँदै हुनुहुन्छ। सायद मैले यति नजिकबाट कहिल्यै यस्तो विदाई नभोगेर पनि होला, यो दिन अरुको लागि जस्तै मेरो लागि पनि खिन्न अनि भिन्न महसुस भएको छ। तर म खुसी पनि छु, यो कुरामा कि यस्तो विशेष दिनमा म चेला भएर उहाँका अनुभवहरु सुन्ने मौका पाएको छु।
अगाडिपट्टि बोर्डमा 'विदाई तथा सम्मान कार्यक्रम' लेखिएको छ। कोठा बेलुन र कागजहरुले सिंगारिएको छ। आमन्त्रित सम्पूर्ण महानुभावहरु मास्क लगाएरै भए पनि पाल्नुभएको छ। अनि सामाजिक दूरी कायम गरी सबै जना मलिन मुद्रामा हुनुहुन्छ। किनकी आज ३५ वर्षपछि प्राडा गीता सायमीज्यू महाराजगन्ज मेडिकल क्याम्पसबाट अनिवार्य अवकाश हुँदै हुनुहुन्छ। यस्तो विषम परिस्थितिको बाबजुद आयोजना गरिएको यस कार्यक्रमले हामी सबैको मानसपटलमा एउटा छुट्टै तस्बिर सिर्जना गरेको छ। यस किसिमले यो दिन विशेष भने पक्कै छ।
अवकाशको दिन भएर होला सबैले उहाँको प्रशंसा मात्रै गर्दै हुनुहुन्थ्यो। सँगसँगै सबैको अनुहारमा एउटा अभिभावकको मार्गदर्शनको अभाव हुन लागेको हो कि भन्ने भाव प्रस्टै झल्किन्थ्यो। आँखाहरु रसाएका हुन् कि भन्ने भान मलाई पर्न थालिसकेको थियो। म एकएक गर्दै सबैलाई नियाली मात्र रहेको थिएँ।
बोल्दै जाने क्रममा एकजना प्रोफेसरले भन्दै हुनुहुन्थ्यो, आज यस संस्थाको प्याथोलोजी विभाग जुन स्थानमा छ, त्यहाँ पुर्याआउनमा उहाँको ठूलो योगदान छ। जब कुनै क्यान्सर कुन खालको प्रबृत्तिको हो भनेर निर्क्योल गर्न अनिवार्य हुन्छ (जस्तै स्तनको क्यान्सरमा इआरपिआर) त्यस्तोमा प्रयोग हुने विधिआई एचसी (रङ लगाएर हेर्ने) यहाँ भित्र्याउने उहाँ नै हो।
त्यस्तै क्यापिल्लरी इलेक्ट्रोफोरेसिस तथा इम्युनोफेनोटाइपिङ (जसले शरीरमा हुने विभिन्न खालको प्रोटिनको मात्रा यकिन गर्न मद्दत गर्छ) र फ्रोजन सेक्सन (जसले अप्रेसन गर्दा-गर्दै आधा घण्टाभित्रै प्याथोलोजिस्टहरुलाई काटिएको भाग क्यान्सरमुक्त छ कि छैन पत्ता लगाउन मद्दत गर्छ) पनि उहाँकै नेतृत्वमा टिचिङ हस्पिटलमा भित्रिएको रहेछ। यस्ता खालका विधिहरु आधुनिक चिकित्सा विधाको एउटा सानो पाटो मात्र हो र यसको महत्व आम-मानिसले भन्दा पनि उपचारमा प्रत्यक्ष संलग्न डाक्टरहरुले बढी बुझ्नु भएको छ। यसर्थमा उहाँले देशको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्यााउनु भएको छ।
जीवनका आधाभन्दा बढी समय यस संस्थामा बिताउनु भएकी डा सायमी भन्नुहुन्छ, म आज जुन स्थानमा छु, त्यसको सम्पूर्ण श्रेय यस संस्थालाई नै दिन चाहन्छु। यो मेरो दोस्रो घर समान छ र हामी एकै परिवार हौं। कुनै बेला मेरो जरुरी पर्योु भने म हरदम सहयोग गर्नेछु भन्दै गर्दा सबैजनाको मन प्रसन्न भएको मैले पनि अनुभुतl गरें।
म जन्मिनुभन्दा एक दशक अगाडिदेखि उहाँ यस संस्थामा आवद्ध हुनुभएको रहेछ। यसै क्रममा पन्ध्रपन्ध्र वर्ष विभागीय प्रमुख भई काम गर्नु भएकी सरल व्यक्तित्व, कुशल कार्यशैली र ज्ञानकी भण्डार डा सायमिले २०५३ सालको पहिलो ब्याच एमडी प्याथोलोजीदेखि हालसम्म २३ वटा ब्याचलाई अध्यापन गर्नु भएको छ। यसरी हेर्दा नेपालको प्यथोलोजी शिक्षामा उहाँको योगदान अतुलनीय छ। तीन वर्ष उहाँसँग संगत गर्दा धेरै मानिसहरु उहाँकै अनुयायी हुँदा रहेछन्, त्यसैले होला मैले सिएमसीमा एमबिबिएस पढ्ने बेला मेरा प्याथोलोजी डिपार्ट्मेन्टका सर-म्यामहरु पनि साह्रै सरल र अनुशरणीय हुनुहुन्थ्यो।
यस्तैमा अर्का प्रोफेसरले भन्दै हुनुहुन्थ्यो, उहाँको चेला मात्र हुन पाउनु पनि जीवनको ठूलो उपलब्धि हो। नियतिले मलाई पनि त्यो अवसर प्रदान गरेकोमा म धन्य छु। यसर्थमा जसका गुरुहरु नै उहाँप्रति यति कृतज्ञ छन्, स्वयं उहाँकै चेला हुन पाउनु पनि अत्यन्तै ठूलो कुरा रहेछ भन्ने मैले आज महसुस गरेको छु।
यसै सिलसिलामा अरु गुरुहरु भन्दै हुनुहुन्थ्यो, हामी आज जुन स्थानमा छौँ, म्यामको ठूलो सहयोग छ। यति बेलासम्म त म पनि अब केही आकलन गर्न सक्ने भइसकेको थिएँ। हुन पनि यतिसम्म कि विभागमा अलिकति पनि केही समस्या पर्योइ भने हामी भोलि म्यामलाई देखाउनुपर्छ ल भनेर राख्ने गर्थ्यौं। भाग्यवश एक महिना उहाँकै रहोवरमा पोष्टिङ गर्न पाउँदा मैले पनि धेरै कुराहरु सिक्ने मौका पाएको छु।
हरेक दिन बिहान सबैजना बसेर फरकफरक खालका रोगहरुको अध्ययन गर्दै जाने क्रममा उहाँले हामीलाई आफ्नो अनुभव सुनाउँदै जानुहुन्थ्यो। केटाहरुलाई 'है बाबु' अनि केटीहरुलाई 'है माया' भन्ने गर्नुहुन्थ्यो। हामी उहाँको कथा सुन्न पाउँदा निकै प्रफुल्लित महसुस गर्थ्यौं र बाल्यकालमा निदराजलाई बोलाएकोझैं हामी लट्ठ पर्यौँ् । यसरी हात समाईसमाई भविष्य निर्माण गरिदिने म जस्ता थुप्रै विद्यार्थीको मन मष्तिस्कमा सदा रहिरहनु हुनेछ म्याम।
जिन्दगीमा तपाइँसँगका पलहरु सदैव अविस्मरणीय रहिरहने छन्। तपाईंको यस प्यथोलोजी विधाप्रतिको माया, स्नेह र सपनाको खातिर केही गर्न सकेमा हामी तपाईंका चेलाहरु निकै खुसी हुने थियौं। सदैव तपाईं एउटा गुरुआमा मात्र नभई, एक असल अविभावक, अनुयायी र प्रेरणाको स्रोत हुनु हुनेछ।
यस अवकाशको दिनमा तपाईंलाई चिन्ने सम्पूर्णको तर्फबाट सुस्वास्थ्य, दिर्घायू र समृद्धिको लाखौँलाख शुभकामना।
(डा तिवारी माहाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडी प्याथोलोजी दोस्रो वर्षमा अध्ययनरत छन्।)