शर्मिला आचार्य
जीवन र अर्थतन्त्रको बीचमा वादविवाद कोरोना भाइरस सुरु हुँदादेखि नै देखिँदै आएको छ। विश्वमा विभिन्न देशहरुमध्ये कुनै देशले मानिसको जीवनलाई प्राथमिकता दिएका छन् भने कुनैले अर्थतन्त्रलाई।
उदाहरणका लागि अमेरिकाको सरकारले मानिसको जीवनभन्दा देशको अर्थतन्त्र रोज्यो, जसको फलस्वरुप ६ महिनादेखि कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा विश्वकै अग्रपंक्तिमा छ। त्यस्तै भारत र नेपाल जस्ता देश जसको सरकारले जीवनलाई बढी प्राथमिकता दिइरहेका छन्, त्यसको परिणाम अर्थतन्त्र ओरालो लगेर जनताको गाँस र बास नै खोसिने अवस्था सिर्जना भएको छ।
अब कोरोनाको सन्त्रासका बीच जीवन ठूलो कि अर्थतन्त्र? भन्ने प्रश्न संसारभरि नै उठिरहेको छ। किनकी, जीवन र अर्थतन्त्र दुवै एक–अर्कासँग जोडिएको छ। त्यसैले यी दुई कुराको सन्तुलन मिलेमात्र कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागेसम्म जनजीवन सहज हुने देखिन्छ। यो सन्तुलन हासिल गर्नका लागि जनस्वास्थ्यका विधिहरुको नै प्रमुख भूमिका हुन्छ।
कोरोना नियन्त्रणका लागि जनास्वाथ्यका विधिहरु यसप्रकार छन्ः
व्यक्तिगत स्तरमा
- साबुनपानी वा स्यानिटाइजरले पटकपटक हात धुने
- अरु व्यक्तिसँग कम्तीमा पनि १ मिटरभन्दा बढीको दूरी कायम गर्ने
- घरबाट बाहिर निस्किँदा मस्क लगाउने
सामुदायिक स्तरमा
- समुदायमा भीडभाड नगर्ने
- जनस्वास्थ्य वा स्वास्थ्यकर्मीको सहयोगमा समुदायमा कुन रुपमा संक्रमण फैलिएको छ खोजी गर्ने
सरकारी स्तरमा
- कन्ट्याक्ट ट्रेसिङ गर्ने
- टेस्टको पहुँच र दायरा बढाउने
- समुदायको मनोबल बढाउन समयसमयमा जनतासँग सञ्चार गर्ने र जनस्वास्थ्यका उपायहरु अपनाउन अनुरोध गर्ने
- अफवाह हटाउने र कोरोना सम्बन्धी नियम–कानुन लागू गर्ने
जापान, कोरिया, ताइवान, न्युजिल्यान्ड, डेनमार्क जस्ता देशहरुले यो सन्तुलन बनाउन सकेका छन्। नेपाल र भारतमा करिब ३ देखि ४ महिनासम्म पूर्ण रुपमा लकडाउन गरियो। तर माथि उल्लेख गरिएका देशमा थोरै समय मात्र लकडाउन भयो। उनीहरुले त्यो समयमा टेस्टिङको प्रबन्ध मिलाए र त्यसको दायरा बढाए। आफ्ना जनतासँग सहयोग मागे र जनता र सरकारले जनस्वास्थ्यका उपाय अपनाउँदै विश्व स्वास्थ्य संगठन भनेजस्तै नयाँ जनस्वास्थ्यका नियम पालना गरे। त्यसैकारण यतिबेला संसारका धेरै देशहरुले कोरोना ल्याएको मृत्यु र कोरोना प्रभावको अर्थतन्त्रसँग लड्न सफल भइरहेका छन्। त्यहाँ अरु देशभन्दा कम असर परिरहेको छ। त्यही महत्व बुझेर कुनै बेला अति प्रभाव परेका यरोपियन देशमा आजकाल जनता र सरकारले जनस्वास्थ्यका उपायहरुलाई बढी प्राथमिकता दिएका छन्।
मास्कबारे तथ्यहरु
मास्कले भाइरसलाई मुहानबाट जस्तैः नाक र मुखबाट निस्किन नदिन मद्दत गर्छ (मुहानमा नै सीमित गराउन)। अनुसन्धानकर्मीका अनुसार यदि ८० प्रतिशत मानिसले मास्क लगाए भने कडा खालको लकडाउन भन्दा पनि बढी प्रभावकारी कोरोना भाइरस फैलाउन रोक्न सक्ने बताएका छन्। जुन देशमा जनस्वास्थ्यका नियम पालना गर्दै मास्क लगाउँछन्, ती देशमा कोरोनाका कारण मर्नेको संख्या कम देखिएको पाइएको छ।
साबुन–पानीले हात धुने
जनस्वास्थ्यमा यो प्रक्रियाले धेरै सरुवा रोग नियन्त्रण गर्न मद्दत गरेको इतिहासमा देखिएको छ। साबुनपानीले हात धुँदा वा स्यानिटाइजर प्रयोग गर्दा हातमा रहेका किटाणुहरु मर्छन् र किटाणुलाई शरीर भित्र प्रवेश गर्न पाउँदैन्। हातले समयसमयमा मुख, नाक, आँखा छुनु हुँदैन।
सामजिक दूरी
विश्व स्वास्थ्य संगठनका अनुसार सामाजिक दूरी भन्नाले अर्को व्यक्तिसँग कम्तीमा पनि ६ फिट÷१ मिटरको दूरी कायम राख्ने र भीडभाडबाट टाढा रहने हो। विश्व स्वास्थ्य संगठनका अनुसार एक मिटरभन्दा कमको दूरीमा बस्दा १२ प्रतिशतले रोग लाग्ने सम्भावना बढ्छ भने कम्तीमा पनि एक मिटर र सोभन्दा बढी दूरी रह्यो भने जम्मा २.६५ प्रतिशतले मात्र बढ्ने सम्भावना हुन्छ भनेको छ।
कन्ट्याक्ट ट्रेसिङ
कुनै पनि संक्रिमत वा शंका लागेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेसिङ वा पत्ता लगाएर क्वारेन्टिनमा राख्ने र उनीहरुलाई टेस्ट गर्ने प्रक्रियालाई कन्ट्याक्ट ट्रेसिङ भनिन्छ। अरु सरुवा रोगहरु जस्तैः टिभी, एचआइभी÷एड्स, इबोला, सार्स आदि रोग नियन्त्रणमा प्रयोग हुँदै आएको छ। यसले चेन अफ ट्रान्समिसन रोक्न मद्दत गर्छ। समयमै रोगको उपचार गरी रोगले ल्याउने गम्भीरतालाई कम गर्न सकिन्छ।
कन्ट्याक्ट ट्रेसिङले बिफर रोग सन् १८६० विश्वबाट उन्मुलन गराउन यसले ठूलो भूमिका खेलेको थियो। ल्यान्सेट जर्नलमा प्रकाशित एउटा इस्टिमेसन अनुसार कन्ट्याक्ट ट्रेसिङ थप्दा भाइरसको प्रजनन संख्या (सामाजिक दूरी सहित) १.२ बाट ०.८ सम्म घटाउन सक्ने बताएको छ र मोबाइल अपले ट्रेसिङको कबरेज जम्मा २० प्रतिशत रहे पनि यसले प्रजनन संख्या १७ प्रतिशतले घटाउन सकेको छ भने पुराना विधिको ट्रेसिङका २.५ प्रतिशतले मात्र घटाउन सकेको देखिन्छ।