कमलराज बराल
डाक्टरी पेसालाई संसारभर सम्मानजनक रूपमा हेरिन्छ। सुन्दा जति सजिलो छ, डाक्टर बन्न र काम गर्न त्यति सजिलो चाहिँ छैन। अझ नेपालजस्तो देशमा कठिनाइ धेरै छन्।
नेपालमा अहिले डाक्टरलाई जति सम्मान छ, त्यति नै डर र त्रास पनि छ। आफूले गल्ती गरेर हुने डरभन्दा बढी विनाकारण नबुझेर समाजले तिरस्कार गर्ने होकी भन्ने डर छ। सायद यस्तै परिस्थितिले होला स्नातक उत्तीर्ण गरेका नेपाली डाक्टरहरु विदेशिने क्रम बढ्दो छ। नेपाली डाक्टरहरु विदेशिन किन बाध्य छन् त? यसबारे यो लेखमा चर्चा गर्न खोजिएको छ।
स्वास्थ्यकर्मीमाथि भएका हिंसात्मक गतिविधि
सन् २०१३ मा बागलुङमा गरिएको एउटा सर्भेमा ६४.७ प्रतिशत स्वास्थ्यकर्मी कुनै न कुनै तवरबाट हिंसाबाट पीडित भएको देखाउँछ। ११.३ प्रतिशतलाई शारीरिक आक्रमण गरिएको पाइएको छ, ५८.८ प्रतिशतलाई मौखिक गालीगलोज र ११.३ प्रतिशतलाई यौन दुर्व्यवहार गरिएको पाइएको छ।
पछिल्ला दुई वर्षलाई हेर्ने हो भने १०० भन्दा बढी डाक्टरमाथि हिंसात्मक घटाना भएका छन्। अझ अहिले कोरोनाको समयमा त सामाजिक अन्धविश्वासले गर्दा स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको देखिन्छ।
जुन स्वास्थ्यकर्मीलाई अहिले हौसलाको खाँचो छ, तिनीहरूलाई नै समाजले तिरस्कार गर्दा एउटा सेवकको चित्त त अवश्य नै दुख्छ। जुन स्वास्थ्यकर्मी यस्तो कहरको डरमा पनि भोक, निद्रा, प्यास र परिवारलाई एकातिर राखेर २४ घन्टाको 'फ्रन्ट लाइन वर्कर' को सिफ्टमा होमिन नडराउने हामी, शारीरिक थकान, मानसिक तनाव सहँदै बिरामीको सेवामा निरन्तर खटिने हामीहरूलाई हौसलाको सट्टा घृणा गर्दा काम गर्ने जाँगर त घट्छ नै।
डाक्टरको तलब
निजी खर्चमा नेपालमा एमबिबिएस पढ्न एउटा विद्यार्थीलाई औसतमा ४५ देखि ५५ लाख र एमडी पढ्न पनि त्यति बराबरकै खर्च आउँछ। यति धेरै खर्च गरेर पढ्दा उसको मानसिकता पैसा कमाउने त अवश्य हुन्छ। किनकी, घरपरिवारका आसा र आफ्ना रहर पूरा गर्न पनि त्यत्तिकै चाप परिरहेको हुन्छ। तर नेपालमा भने एमबिबिएस सकिने बित्तिकै उसलाई सरकारी तवरबाट जम्मा मासिक ४० हजार तलब दिइन्छ। अमेरिका र अष्ट्रेलिया जस्ता देशहरूमा यस्तै प्रथम वर्षको रेसिडेन्सको तलब करिब ८ लाख हुन्छ, जुन नेपालको भन्दा १६ गुणा बढी हो।
हुन त नेपालमा अहिले सरकारीमा काम गर्ने डाक्टरले बाहिर एउटा न एउटा प्राइभेट अस्पतालमा काम गरिरहेकै हुन्छन् तर त्यसैको भरमा त बस्न सकिँदैन नि। अझ यो बाहिर प्राइभेटमा काम गर्ने पद्धतिले उपचारमा धेरै महँगी बढेको देखिन्छ र यो सास्ती बिरामीले भोग्नु परिरहेको छ। त्यसैले यसको व्यवस्थापन सरकारी तवरबाट नै गर्नुपर्ने देखिन्छ।
विदेशिने मानसिकता
नेपालको डाक्टरहरुलाई दिइने तलब र सामाजिक व्यवहारको दृष्टिकोणले हेर्दा विदेश जाने मानसिकता आउनु त स्वभाविक नै हो। विदेश जान नेपालबाट भाग्नलाई मात्र नभएर ती देशहरुले आकर्षण गर्ने पक्षहरु पनि धेरै छन्। त्यहाँको स्वास्थ्य व्यवस्था, तलब, सेवा सुविधा र कानुनी व्यवस्थादेखि लिएर अन्य पक्षले आकर्षण गर्छन्। तर एउटा नेपालको देशभक्त छोरो र नेपालको माया लाग्ने भएकाले नेपाल छोडेर बाहिर जान कसलाई पो रहर लाग्ला र?
विदेशमा काम गर्न पनि त्यत्तिकै चुनौतीहरू छन्। त्यहाँ पनि आफ्नै नियम छन्, कानुन छन्। एउटा सानो गल्तीले जागिरसम्म जाने डर त त्यहाँ पनि छ। तर त्यहाँका कानुनी पक्षहरु, अस्पताल र अस्पताल भित्रको व्यवस्थापनका धेरै कुराहरू नेपालको भन्दा भिन्नै छन् र सान्दर्भिक र वैज्ञानिक छन्। त्यसैले नेपालले पनि यस्ता पक्षहरुलाई सिक्न जरुरी छ।
नेपालमा डाक्टरको आवश्यकता
हाल नेपालमा औसतमा २००० डाक्टर वार्षिक रूपमा उत्पादन हुन्छन्। नेपालमा अहिलेको डाक्टर-जनसंख्याको अनुपात हेर्ने हो भने १-१७२१ रहेको छ तर डब्लुएचओका अनुसार यो अनुपात १-१००० हुनुपर्छ भनिएको छ। डब्लुएचओको यो मापदण्ड पुर्याउन नेपालमा हालको डाक्टरको संख्याको ७२.१ प्रतिशत बढी डाक्टरको खाँचो छ।
सन् २०१७ को एक अनुसन्धान अनुसार नेपालमा तत्कालीन डाक्टरको संख्या १६ हजार ४३२ थियो। त्यसको मतलब नेपालमा अझै ११ हजार ८४७ को संख्यामा डाक्टरको कमी छ र यो आपूर्ति गर्नका लागि नेपाल सरकारले ग्रामीण क्षेत्रदेखि सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा पुग्ने गरी अस्पतालहरूको निर्माण र त्यही अनुसारको डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी खुलाउन जरुरी छ।
यति हुँदाहुँदै पनि वार्षिक उत्पादित २ हजार डाक्टरको ३६ प्रतिशत नेपाली डाक्टर वर्षेनि विदेशिने गरेको पाइएको एक अध्ययनले देखाउँछ। अझ विदेशिने प्रायः डाक्टर अब्बल नै हुन्छन् र विदेशमा गएर तिनै डाक्टरले धेरै राम्रो गरेका उदाहरण छन्। त्यसैले नेपालबाट डाक्टर विदेशिनु भनेको नेपाललाई ठूलो नोक्सानको कुरा हो।
यदि साँच्चै म जस्तै हजारौं डाक्टर अध्ययनरत विद्यार्थीहरु नेपालमै काम गर्न प्रेरित गर्न नेपाली समाजमा सामाजिक बानी-व्यहोराको विकास हुनेदेखि लिएर राज्यले पनि अनुकुल वातावरण सिर्जना गर्नु जरुरी छ। भोलिका दिनमा म लगायत मेरा साथीहरु विदेश जान नपरोस् र सोचे अनुसारको काम गर्ने वातावरणको विकास होस भन्ने कामना गर्दछु।
(बराल कलेज अफ मेडिकल साइन्सेज, भरतपुर, चितवनमा एमबिबिएस तेस्रो वर्ष अध्ययनरत छन्।)