डा रमेश कँडेल
हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व अल्जाइमर्स दिवसका रुपमा मनाउने गरिन्छ। ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा आज पनि ‘डिमेन्सियाको बारेमा कुरा गरौं’भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवस, २०२०’मनाइँदैछ।
कुनै पनि कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथसाथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’भनिन्छ । विस्मृतिका विविध कारणमध्ये प्रमुख कारण हो ‘अल्जाइमर्स’।
अध्ययनहरूका अनुसार प्रति १०० जना विस्मृतिका बिरामीमध्ये दुई तिहाई बिरामीमा ‘अल्जाइमर्स’रोग देखिन्छ। यो रोग विशेष गरी ज्येष्ठ नागरिकमा देखिने स्वास्थ्य समस्या हो। अन्तर्राष्ट्रिय आँकडाहरूका अनुसार ६५ वर्षभन्दा कम उमेर समूहका ४ प्रतिशतलाई यो रोग देखिन्छ। ६५ देखि ७५ वर्ष उमेर समूहका १५ प्रतिशत र ७५ देखि ८५ वर्ष उमेर समूहका ४४ प्रतिशत मा यो रोग देखिन्छ ।
सरसर्ती हेर्दा अल्जाइमर्स रोग निदान भएकामध्ये ८२ प्रतिशत जति बिरामी ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्छन्। हाम्रो देशको परिप्रेक्ष्यमा हालसम्म अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए तापनि ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’को प्रक्षेपण अनुसार सन् २०१५ मा यस रोगबाट पीडितको संख्या ७८ हजार रहेको छ भने यो संख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ।
अल्जाइमर्स रोग विशेष गरी ज्येष्ठ नागरिकमा लाग्ने भए तापनि यसको यकिन कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। विभिन्न अध्ययन–अनुसन्धानले देखाए अनुसार बुढ्यौली, आनुवांशिक, अधिक मोटोपना, मधुमेह, उच्च–रक्तचाप, ‘मेटाबोलिक सिन्ड्रोम, रगतमा अधिक चिल्लोपना (डिसलिपिडेमिया), डाउन सिन्ड्रोम, मस्तिष्क सम्बन्धी चोटपटक जस्ता विभिन्न स्वास्थ्य समस्याहरूले कुनै पनि व्यक्तिमा अल्जाइमर्स रोग लाग्ने जोखिमलाई बढाइरहेका हुन्छन्।
लक्षणहरूको हिसाबले यो रोगका निम्नलिखित तीन चरण र सोही अनुसारका लक्षण हुन्छन्।
१. कम कडा अवस्था (माइल्ड स्टेज)
– स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिँदै जानु।
– पूर्वजानकारी भएका व्यक्ति र नातागोता एवं ठाउँहरूलाई चिन्नमा समस्या हुनु।
– व्यवहार र व्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु।
२. अलि कडा अवस्था (मोडरेट स्टेज)
– माथि उल्लेखित समस्याहरू क्रमिक रुपमा बढ्दै जानु।
– परिवार भित्रैका सदस्यलाई पनि चिन्नमा समस्या हुनु।
– नयाँ विषय तथा कार्यहरू सिक्नमा समस्या हुनु।
– साविकको घरको बाटो बिराउनु र हराउनु।
– एउटै कुरा र काम अनावश्यक रुपमा दोहोर्याहइरहनु।
– अधिक र अनावश्यक शंका गर्नु, नभएको कुरा देख्नु र सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु।
– सामाजिक रुपमा आपत्तिजनक काम, व्यवहार र भाषा प्रयोग गर्नु।
३. अति कडा अवस्था (सिभियर स्टेज)
– माथि उल्लेखित लक्षणहरू क्रमिक रुपले अरु बल्झिँदै जानु।
– खाना खान, चपाउन र निल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने निमोनिया (एस्पिरेसन निमोनिया) बाट बिरामी बारम्बार पीडित भइरहनु।
– तौल घट्दै जानु, आलश्य र निद्रा बढ्दै जानु।
– दिसा र पिसाबमा नियन्त्रण हराउँदै जानु, कपडा र ओछ्यानमै हुनु।
– बोल्नमा पनि समस्या बढ्दै गई अस्पष्ट रुपमा आवाज निकाल्नु।
– ओछ्यानमा सीमित भई सो सम्बन्धी जटिलताहरू बढ्दै जानु।
निदान
यस रोगको निदान विशेषज्ञ चिकित्सकले बिरामी र बिरामीका नजिकका आफन्तजनसँग लक्षणमा आधारित भई गरिने कुराकानी (हिष्ट्री टेकिङ) का आधारमै हुने गर्छ। अल्जाइमर्स बाहेक विस्मृतिका अन्य विभिन्न कारणहरू पनि हुने हुँदा रगतसँग सम्बन्धित केही र आवश्यक लागेको खण्डमा मस्तिष्कको पानी (सिएसएफ) को जाँच पनि गर्नुपर्ने हुनसक्छ। त्यसैगरी मस्तिष्कको सिटी स्क्यान, एमआरआई जस्ता जाँचहरू पनि गर्नुपर्ने हुनसक्छ ताकि अल्जाइमर्स रोगसँग मेल खाने अन्य विस्मृतिसँग सम्बन्धित कारणहरूको पनि समयमै निदान हुन सकोस्।
यी बाहेक यस रोगको भरपर्दो निदानका लागि गर्न सकिने विविध खालका जाँचहरू हालसम्म अनुसन्धानकै क्रममा छन् ।
उपचार
दु:खको कुरा के छ भने हालसम्म उपलब्ध उपचार पद्धति र औषधिहरूले यो रोगलाई पूर्ण रुपमा निको पार्न चाहिँ सकिँदैन। केवल रोग एक अवस्थादेखि अर्को अवस्थासम्म बल्झिँदै जाने गतिलाई कम गर्न मात्र सकिन्छ। विविध सम्भाव्य औषधिहरू अनुसन्धानको दायरामा छन् र केही आशलाग्दा नतिजाहरू पनि आउने क्रममै छन्।
हालसम्म यो रोगको उपचारमा प्रयोग हुने औषधिहरु ‘कोलिनइस्टरेज इन्हिबिटर्स’र ‘एनएमडिए एन्टागोनिष्ट’गरी दुई समूहमा पर्छन्। व्यवहारजन्य समस्याहरुको कारण यस रोगका बिरामीको उपचार अझै बढी जटिल हुने गर्छ। उपलब्ध विभिन्न औषधिको सहयोगमा यस्ता व्यवहारजन्य समस्याहरूलाई समयमै नियन्त्रण गर्न सकिन्छ।
यस रोगको समयमै निदान गर्न सकियो भने हाल उपलब्ध उपचार पद्धतिले बिरामीलाई लामो समयसम्म बिना कुनै जटिलता बचाइराख्न सकिन्छ। उचित औषधि–उपचार, नियमित रुपमा विशेषज्ञ स्वास्थ्यकर्मीसँग परामर्श र उचित स्याहार–सुसारको प्रबन्धबाट यो रोग निदान भएपश्चात् दुई दशकभन्दा बढी बिरामी बाँचेका उदाहरण पनि छन्। त्यसको विपरीत उचित स्वास्थोपचार र स्याहार–सुसारको अभावमा दुई वर्ष पनि नपुग्दै बिरामीले मृत्युवरण गर्न पुगेका पनि छन्। यस रोगमा बिरामीको मृत्युको प्रमुख कारण खाना र पानी सर्केर हुने फोक्सोको सङ्क्रमण ‘एस्पिरेसन निमोनिया’नै हो।
पारिवारिक एवं सामाजिक प्रभाव
यो रोग दीर्घकालीन प्रकृतिको हुने र रोग बल्झिँदै जाँदा बिरामी दैनिक जीवनका सामान्य काम-कुराहरूमा पनि पारिवारिक सदस्यहरूमा पूर्ण रुपमा निर्भर हुने हुँदा यसले परिवारमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ। यो रोगले बिरामीको प्राथमिक स्याहारकर्ता (प्राइमरी केयरगिभर) लाई ‘डिप्रेसन जस्तो घातक मानसिक समस्यातर्फ धकेल्दै जाने जोखिम बढी हुन्छ। स्मरण शक्तिको क्षयीकरणसँगै देखिने मानसिक समस्याहरूका कारण बिरामीहरूले सामाजिक रुपमा आपत्तिजनक मानिने काम र व्यवहार प्रदर्शन गर्ने र कुनै–कुनै अवस्थामा यौनजन्य आपराधिक क्रियाकलापमा समेत संलग्न हुने जोखिम रहन्छ। त्यसको परिणामस्वरुप परिवार र समाजभित्र पनि विग्रहको अवस्था आउनसक्ने सम्भावना पनि रहन्छ।
तसर्थ, यो रोगको उपचार गर्ने क्रममा बिरामी मात्र होइन, बिरामीको पारिवारिक वातावरण र सदस्यहरुको शारीरिक एवं मानसिक स्वास्थ्यको पनि ख्याल गर्नु अत्यन्तै आवश्यक रहन्छ।
संक्षेपमा भन्नुपर्दा, एउटा तहसम्म सामान्य काम र कुराहरू बिर्सनु बुढ्यौलीकै उपज हुन सक्ने भए तापनि माथि उल्लेखित लक्षणहरू क्रमिक रुपमा देखिँदै गएका छन् भने ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर्स रोग लाग्ने सम्भावना बढी नै हुन्छ। बेलैमा विशेषज्ञ चिकित्सकसँग परामर्श गराई हाल उपलब्ध औषधि–उपचार सुरु गरिएको खण्डमा यो रोग बल्झिने गति र यससँग सम्बन्धित जटिलताहरूलाई पनि नियन्त्रणमा राख्न सकिन्छ। र, यसबाट स्याहारकर्ताहरूमा देखिन सक्ने शारीरिक, मानसिक पीडा एवं आर्थिक समस्याको पनि न्यूनीकरण गर्न सकिन्छ। व्यक्तिगत, पारिवारिक, सामाजिक एवं राज्यकै तहबाट अल्जाइमर्स रोगका बिरामीहरूले सम्मानजनक जीवन जिउन पाउने वातावरणको निर्माणार्थ समयमै पहल गर्नु आजको प्राथमिक आवश्यकता हो।
(डा कँडेल जेष्ठ नागरिक तथा अल्जाइमर्स रोग विशेषज्ञ हुन्।)