तीर्थराज अधिकारी
संसारमा क्यान्सरका बिरामीमध्ये ५० प्रतिशत बढी बिरामीले रेडियोथेरापी उपचार कुनै न कुनै रुपमा लिइरहेका हुन्छन्। रेडियोथेरापी उपचार क्यान्सरका बिरामीलाई प्यालिएटिभ र क्युरिएटिभ उपचारको रुपमा गरिने गरिन्छ। विकसित मुलुकहरुमा क्यान्सरका बिरामीलाई रेडियोथेरापी प्राइमरी उपचारको रुपमा प्रयोग हुने भए पनि हामीकहाँ प्यालिएटिभ केअरमा बढी हुन्छ। क्यान्सरका बिरामीको रेडियोथेरापी उपचार गर्दा उपचार गुणस्तर ग्यारेन्टी गर्न रेडियसन डोजिमेट्रीको महत्व पूर्ण भूमिका रहन्छ।
रेडियोथेरापी मेसिनको एसेप्टान्स र कमिसनिङ गरिसकेपछि मेसिन क्यान्सरका बिरामीको रेडियोथेरापी उपचारको लागि तयार हुन्छ। तर उक्त मेसिनलाई अन्तर्राष्ट्रिय स्थापित मान्यता अनुरुप दैनिक बिरामीलाई डोज दिनुअघि, हप्तैपिच्छे, महिनाको अन्तिममा, त्रै-मासिक वा चौ-मासिक, अर्धवार्षिक, वार्षिक तथा मेसिनको मर्मत सम्भारपछि त्यस मेसिनले दिने रेडियसन आउटपुटको मात्रा हेर्नुपर्ने हुन्छ।
एब्सोल्युट र रिलेटिभ डोजिमेट्री गरी मेडिकल लिन्याकले कमिसनिङ गर्दाको जस्तै रेडियसन आउटपुट दिन्छ वा दिन्न हेर्नुपर्ने हुन्छ। सही मापन नदिएमा उक्त मेसिन उपचारको लागि योग्य मानिँदैन। त्यसलाई कमिसनिङको जस्तै रेडियसन आउटपुट दिने बनाउनको लागि रेडियोथेरापी मेसिनको बिम ट्युन गर्नुपर्ने हुन्छ। यो कार्यको लागि राम्रोसँग क्यालिब्रेट गरिएको रेडियसन डोजिमिटर र दक्ष ओंकोलोजी फिजिसिस्टको आवश्यकता पर्छ। यदि विकिरणको मात्रा चाहिएको रेडिएसन डोजबाट थोरै प्रतिशतसम्म फरक भयो भने यसले उपचारको नतिजा उल्लेखनीय रूपमा परिवर्तन गर्न सक्छ। बिरामीलाई विकिरणको अत्यधिक सटिक/एकुरेट डोज प्रदान गर्न मापन उपकरणहरू सेटअप र सञ्चालन राम्रोसँग गर्न आवश्यक छ।
रेडियसन उपचार प्रकियामा बिरामीको क्यान्सर ट्युमरलाई आवश्यक डोज दिई वरिपरिको नर्मल सेल र संवेदनशील अंगलाई कमभन्दा कम डोज जाने गरी प्लान बनाइन्छ। बिरामीलाई डोज दिनुअघि त्यसरी बनाइएको प्लानले के साँच्चिकै बनाइएको प्लान जस्तै डोज बिरामीमा जान्छ कि जाँदैन त्यसको चेकजाँच हुन्छ। यो प्रक्रियामा राम्रोसँग क्यालिब्रेट गरिएको मेडिकल डोजिमिटर प्रयोग गरी नर्मल सेल र संवेदनशील अंग तथा ट्युमरमा डोज वितरण हेरिन्छ। यदि यो डोज वितरण उपचार प्लानसँग ९५ प्रतिसत वा सोभन्दा बढी मिल्छ भने यो बिरामी उपचारको लागि योग्य हुन्छ र नमिलेमा प्लानलाई पुन:निर्माण गर्नुपर्ने हुन्छ। यो कार्यलाई 'पेसेन्टएस्पेसिफिक गुणस्तर सुनिश्चितता' भनिन्छ।
रेडियोथेरापीमा यो अभ्यास जटिल उपचार प्लान, जस्तै इन्टेनसिटी मोडुलेटेड रेडियसन थेरापी, भोलुमेट्रिक मोडुलेटेड आर्क थेरापी र रेडियो सर्जरीहरुमा मात्र गर्ने गरिन्छ। रेडियोथेरापीका परम्परागत उपचार प्लानहरु जस्तो टुडी, कोबाल्ट-६० र थ्रिडिसीआरटीमा पेसेन्ट एस्पेसिफिक गुणस्तर सुनिश्चित गर्ने अभ्यास रेडियोथेरापी उपचारमा छैन।
सही डोजिमेट्री विकिरण चिकित्साको महत्त्वपूर्ण अंश हो, यदि विकिरण डोज कम छ भने क्यान्सर निको हुन सक्दैन र अर्कोतर्फ, यदि यो धेरै उच्च छ भने यसले हानिकारक साइड इफेक्ट पनि पुर्याउन सक्छ। ज्यानै पनि लिन सक्छ। डोजिमेट्रीय कमजोरीको कारण संसारमा रेडियोथेरापी उपचारको क्रममा धेरै जनाको ज्यान गएको देखिन्छ। जस्तो अक्टोबर २०११मा ब्राजिलको रियो दि जेनेरियोको अस्पतालमा ७ वर्षीया बालिकाको लिम्फो ब्लास्टिक ल्युकेमिया साथ पूरै दिमागको रेडियसनद्वारा उपचार गरिएको थियो तर रेडियसन डोज दिने सेसन रेजिस्टेरेसनमा गल्ति हुँदा बिरामीले प्रत्येक सेसनमा पूर्ण डोज पाउँदा बालिकालाई रेडियसनले जलाएको थियो भने बालिकाको फ्रन्टल लोब नेक्रोसिस भई जुन २०१२ मा मृत्यु भयको थियो।
त्यस्तै कोस्टारिकामा सन् १९९६ मा कोबाल्ट टेलेथेरापीको बिम मिस क्यलिबेरेसन हुँदा ११५ जना बिरामी प्रभावित भएका थिए, जसमध्ये १७ जना बिरामीको दुई वर्षपछि ओभर डोजको कारण मृत्यु भएको थियो। उक्त घटनामा ब्रेन र एस्पाइनल कर्डमा ओभर डोज पाएका एक बालक हिँड्न र सुन्न नसक्ने भएका थिए। यस्तो हुनुको कारण डोजिमेट्रिक कमजोरी र पेसेन्ट एस्पेसिफिक गुणस्तरमा कमजोरी हुनु थियो।
रेडिएसन डोज विशिष्ट मापन उपकरणको प्रयोग गरेर गरिन्छ जसलाई डोजिमेटर भनिन्छ। यी उपकरणहरूले वास्तविक डोजिमेट्री सुनिश्चित गर्न केन्द्रीय भूमिका खेल्छन्। डोजिमेट्री, विकिरण डोज नाप्ने, गणना गर्ने र आकलन गर्ने विज्ञान हो। सही डोजिमेट्री सुनिश्चित गर्न, रेडियसन परिमाण नाप्ने उपकरणहरू नियमित रूपमा क्यालिब्रेट गर्न आवश्यक हुन्छ। यिनीहरुलाई सेकेण्डरी मापदण्ड डोजिमेट्री प्रयोगशालाहरू (एसएसडिएल) मा रहेका बिसिस्ट डोजिमिटरसँग क्रस क्यालिब्रेट गरी नाप गुणस्तर कायम गरिन्छ।
सेकेण्डरी प्रयोगशालाहरूमा प्रयोग गरिने डोजिमिटर प्राइमरी प्रयोगशालामा क्यालिबेरेट गरिएका हुन्छन्। ती प्रयोगशालाहरू अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला हुन्। यी प्रयोगशालाहरु अति विकसित मुलुकहरुमा मात्र सञ्चालनमा रहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले हाम्रोजस्तो कम विकसित मुलुकलाई यो सुविधा फ्रीमा प्रदान गर्ने गर्छ तर नेपालबाट डोजिमिटर त्यहाँसम्म पुर्याउन र फिर्ता ल्याउन पर्ने अफ्ठेरोले गर्दा हरेक वर्ष डोजिमिटर क्यालिब्रेसनका लागि मुलुकले ठुलो धनराशि खर्च गर्नु परेको छ भने नेपाल उक्त कार्यको लागि भारतमा निर्भर छ।
हामी विकिरण देख्न सक्दैनौं, त्यसैले हामीले मापन उपकरणहरू ठिकसँग काम गरिरहेको छ भन्ने कुराको सुनिश्चित गर्नुपर्छ। रेडियसन थेरापीमा तोकिएको डोज स्तर सामान्यतया अन्तर्राष्ट्रिय अध्ययन र सिफारिसहरूमा आधारित हुन्छ। यी सिफारिसहरूमा प्रयोग गरिएको र त्यसपछि अस्पतालहरूमा नापिएको डोजहरू तुलना गर्न योग्य छन् भनेर पुष्टि गर्न, डोजिमेट्री उपकरणहरू क्यालिब्रेट गर्न आवश्यक छ र नाप्ने विधिहरू मिलान गर्न आवश्यक छ।
एसएसडिएलहरूले डोजिमेट्री उपकरणका लागि यी क्यालिब्रेसनहरू प्रदान गर्छन् र उनीहरूले मापनलाई मिलाइएका अन्तर्राष्ट्रिय डोजाइमेट्री मापदण्डहरूसँग पनि जोड्दछन्। एक्सटर्नल रेडियोथेरापी जस्तै इन्टरनल रेडियोथेरापीमा मेडिकल डोजिमेट्रीको उत्तिकै महत्व हुन्छ। रेडियोथेरापी सोर्स परिवर्तन गर्दा उक्त सोर्सले दिने रेडियसन डोज नापी चेक-जाँच गर्नुपर्ने हुन्छ। जसबाट नयाँ आयात गरिएको सोर्सको रेडियसन एक्टिभिटी थाहा भई बिरामी उपचारमा सहयोग हुन्छ। जस्तै: हाम्रोमा सर्भिकल क्यान्सर उपचारमा प्रयोग हुने इरिडियम-१९२ ले दिने रेडिएसनको डोज मापन।
रेडियसन एक्टिभिटी नाप गर्ने मेडिकल डिटेक्टरको पनि हरेक तीन वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एसएसडिएल क्यालिब्रेसन गर्नुपर्छ, एक्सटर्नल रेडियोथेरापी प्रयोग हुने मेडिकल डिटेक्टर जस्तै। यी नापजाँचले बिरामीको उपचार गुणस्तरमा महत्वपूर्ण भूमिका हुन्छ। त्यस्तै सेन्टिनल नोड पत्ता लगाउन प्रयोग गरिने गाम्मा प्रोबलाई पनि निश्चित समयावधिमा क्यालिब्रेसन गर्नुपर्छ। जस्बाटफिजिसिएनलाई नोड पत्ता लगाउन सहज हुन्छ।
रेडियोथेरापी जस्तै: न्युकिलियर मेडिसिनमा पनि मेडिकल डोजिमेट्रीको उपचार गुणस्तर मेन्टेन गर्न महत्वपूर्ण भूमिका हुन्छ। रेडियो फर्मासेउटिकलले इमिट गर्ने गाम्मा इनर्जीको मात्रा नाप्न एसको प्रयोग हुन्छ। न्युक्लियर इमेजिङको लागि प्रयोग हुने रेडियो आइसोटोपहरु जस्तै: १८एफ-एफडिजी, टेक्नेसियम-९९, सिजियम आदि बिरामीमा इन्जेक्ट गरी इमेजिङ गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा बिरामी नै रेडियो एक्टिभ हुन्छन् र उनीहरुको एक्टिभिटी थाहा पाउन गुणस्तरीय डोजिमिटर नभई हुन्न भने इन्जेक्ट गरिएको आइसोटोपहरुले इमिट गर्ने शक्तिलाई नाप गरी इमेज निकाल्ने मेसिनमा डिटेक्टर नै हुन्छ।
त्यस्तै थाइरोइडको सिस्टेमेटिक रेडियोथेरापी उपचारमा प्रयोग हुने आयोडिन-१३१, प्रोस्टेटको इन्टर इस्टेसिअल उपचारमा प्रयोग हुने आयोडिन-१२५, लिभर क्यान्सर उपचारमा प्रयोग हुने याट्रियम-९० को गाम्मा रेडियसनको मात्रा नापजाँच गरी क्यान्सरको बिरामी उपचार गर्दा रेडियसन डोजिमेट्री नगरी हुँदैन। डायग्नोस्टिक रेडियोलोजी तथा न्युक्लियर मेडिसिनद्वारा क्यान्सरका बिरामीको डाइग्नोसिस गर्दा र रेडियोथेरापी उपचारमा गर्दा खटिने स्वास्थ्यकर्मीहरुको रेडियसन सुरक्षा र बिरामीको तथा आम मानिसहरुको रेडियसन सुरक्षा कवजको रुपमा रेडियसन डोजिमिटर प्रयोग गरिएको हुन्छ।
यसरी प्रयोग गरिएका डोजिमिटरको हरेक तीन-तीन महिनामा नाप-जाँच अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा हुन्छ। जसबाट रेडियसनसँग काम गर्ने स्वास्थ्यकर्मीहरुको रेडियसन डोज पत्ता लागी सुरक्षित रहन सहयोग पुग्छ। रेडियसन उपचारमा उल्लेखित उपचार प्रक्रियामा मेडिकल रेडियसन फिजिसिस्टको महत्वपूर्ण भूमिका हुन्छ।
रेडियोथेरापी उपचारमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न कम्प्रिहेन्सिभ/विस्तृत गुणस्तर सुनिश्चित कार्य हरेक रेडियोथेरापी उपचार केन्द्रमा हुनुपर्छ। रेडियसन डोजिमेट्रीको सुरक्षित रेडियोथेरापी उपचारमा महत्व पूर्ण भूमिका रहन्छ।
(अधिकारी अन्तर्राष्ट्रिय मान्यताप्राप्त रेडियसन ओंकोलोजी फिजिसिस्ट हुन्।)