डा शिवजी पौडेल
शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास मौलिक अधिकारको रुपमा संविधानमा स्थापित भएको विषय हो। आज त्यही बागडोर समातेर जनताको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी व्यक्तिगत जीवनका ऐस, आराम र पारिवारिक मोहलाई त्याग गर्दै समग्र देशको स्वास्थ्य स्थिति सुधारका निम्ति आफूलाई आहुति दिन तयार भएका छन् डा गोविन्द केसी।
एक पटक होइन, १९औं पटक समष्टिमा दिनको हिसाब गर्ने हो भने लगभग १ वर्ष आमरण अनसनमा बस्ने व्यक्तिको साहस, कर्तव्य र जिम्मेवारीप्रति म नतमस्तक छु। बिडम्वनापूर्ण कुरा छ, सत्याग्रहको दौरानमा उठान भएका मागहरुका सम्बन्धमा कहिले समर्थन त कहिले विरोध। सत्याग्रहको वास्तविक अर्थ, भावना र मर्मलाई गम्भीर रुपमा आत्मसात गर्ने हो भने कसैले पनि सत्याग्रहीलाई पक्ष-विपक्षमा विभाजित गरी अन्याय गर्न खोज्नु महापाप हो। यद्यपि, डा केसी सत्याग्रहको दौरानमा नागरिकका चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै आफ्नो ज्यानको बाजी लगाएर नेपाली नागरिकको स्वास्थ्यका निम्ति आज जीवन मरणको दोसाँधमा उभिनु भएको छ।
सरकार भन्छ- डा केसीले उठाएका केही माग जनतामुखी छन्, तर सम्पूर्ण माग पूरा गर्न सकिँदैन। अनि अन्यमा जीवन रक्षार्थको नाममा आन्दोलन हुन्छ। सरकार माग सम्बोधनका नाममा सम्झौता गर्छ, तर माग पूर्ण रुपमा पूरा हुँदैन।
एवंरितले क्रमशः चरणबद्ध अनसन हुन्छ। सुभचिन्तकहरु गोविन्द केसीको जायज माग पूरा गर भन्छन्। चिकित्सक सँघ चरणबद्ध रुपमा आन्दोलनको आव्हान गर्छ। सरकार जीवन रक्षार्थको नाममा उजागर भएका मागहरुप्रति उधारो सम्झौता गर्छ। गोविन्द केसीको सत्याग्रह छुटाउन (अनसन तोड्न) जुस खुवाउनेहरुको होडबाजी चल्छ। सम्झौता कार्यान्वयनको विश्वासमा उहाँ जुस पिएर अनसन तोड्नुहुन्छ। त्यसपछि सरकार र सरोकारवाला बल्लबल्ल टुंगियो अनसन भन्छन् र उनीहरु पनि खुसी र उमंगका साथ ठूलो टेन्सन दूर भएको महशुस गर्छन्।
विभिन्न सामाजिक सञ्जालमा फोटो अपलोड हुन्छ र टेन्सन दूर भो भन्ने ठानेर मदिरामा रमाउँछन्। एवंरितले उठाएका माग र सम्झौता काजगमा मात्र सीमित हुन्छ र फेरि गोविन्द केसीलाई अनसनमा होमिन बाध्य पारिन्छ। देशको स्वास्थ्य स्थितिमा आमूल परिवर्तन नभएसम्म ३ करोड जनता सहज, सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुनु हुँदैन भन्दै आफ्नो शरीरको पर्वाह नगरी फेरि गोविन्द केसी अनसनमा बस्नुहुन्छ।
अनसनको श्रृंखला आज १९औं पटक भइसक्यो। हिजो नागरिक समाज र सम्पूर्ण सरोकारवाला सडकमा आए। अति दु:खका साथ भन्नुपर्छ, म पहिलो चिकित्सक संघको कार्यसमितिमा हुँदा जब डा केसीको अनसनको सातौं दिन थियो, सम्पूर्ण युवा चिकित्सक देशव्यापी आन्दोलन गरेर आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पार्नुपर्छ भनेर उच्च ऊर्जा र जाँगरका साथ प्रस्तुत हुनु भएको थियो। आन्दोलनको स्वरुप माइतीघरदेखि बालुवाटारसम्म मानव साङ्लोको रुपमा परिकल्पना गरिएको थियो। आज आश्चर्य लाग्छ, कहाँ गयो, त्यो जोस, जाँगर र उत्साह?
कि भन्न सक्नुपर्योआ, हामीले हिजो गरेको आन्दोलन मिथ्या हो भनेर। कि भन्न सक्नुपर्योर, गोविन्द केसीले उठाएका माग खराब हुन भनेर। होइन भने हिजो मानव साङलोको परिकल्पना गर्नेहरु आफैं कुनै साङ्गोले बाँधिएका छन्। सबैले आत्माआलोचना गर्दै आफैंलाई प्रश्न गर्ने समय आएको छ। आफ्नो नैतिक धरातललाई नियाल्ने समय आएको छ। विगतका क्रियाकलापहरुलाई नियालेर भावी दिनको परिकल्पना गर्नु नै उचित हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ। त्यसैले डा केसीको जीवनरक्षा र उहाँले उठाउनु भएका मागहरुको सम्बोधन गराउनका निमित्त पुनः सडकमा आउनुको कुनै विकल्प छैन। यदि यसो हुन सकेन भने हामीलाई इतिहासले सराप्ने छ। यस्तो सत्याग्रहीलाई धर्तिमाताले कहिल्यै पनि जन्माउने छैनन्। त्यसैले विचार गरौं, हामीले उहाँको जीवनरक्षाका लागि के गर्न सक्छौं भनेर।
मिडिया र सामाजिक सञ्जालमा सुन्ने गर्छु, केही माग ठिक छन्, सबै माग पूरा गर्न सकिन्न। भन्नेहरुले भनिदिनुपर्योक कुनकुन माग ठिक हुन् त? होइन भने खाली विरोधका लागि विरोध गर्ने र एउटा निष्ठावान सत्याग्रहीलाई विभिन्न राजनीतिक रङ छर्दै निश्वार्थ देशको स्वास्थ्य स्थिति सुधारमा लागेको व्यक्तिलाई लान्छना लगाउने अधिकार किमार्थ कसैलाई पनि छैन।
आज गोविन्द केसीको माग खराब हो भन्नेहरु उहाँको आन्दोलनले स्थापित गरेको चिकित्सा शिक्षा आयोग खारेज गर। दूरदराजका नेपालीले सहुलियतमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा पाउनुपर्छ भनेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज स्नातकोत्तर तहको पठाइ सुरु हुँदैछ। जुन असाध्यै सराहनीय कुरा हो। अहिले समस्त प्रदेशवासीहरु यस विषयमा खुसी छन्। जुन हामी सबैको चाहना पनि हो। के कर्णालीका जनताको भविष्य सुनिश्चित गर्ने उहाँको सोच गलत हो?
आज २३औं दिनको अनसनसम्म पनि सरकार मौन रहनुले सरकारको जनताप्रतिको जिम्मेवारीशून्य रहेको अनुभूति भएको छ। वृद्ध अवस्था, २३औं दिन नखाएको गलेको शरीर अब कति धान्छ भन्न सकिन्न। निस्वार्थ अटल गोविन्द केसीलाई अमर बनाउन खोजियो भने यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन। त्यसैले उहाँको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर यथाशीघ्र उहाँको माग सम्बोधन गरी जीवनरक्षा गर्ने दायित्व सरकारको हो। घर ढलिसकेपछि इनार खन्नुको कुनै औचित्य हुँदैन। म सरकारलाई यथाशीघ्र जायज माग सम्बोधन गरी उहाँको जीवनरक्षा गर्न हार्दिक अपिल गर्दछु।
यदि सत्याग्रहीलाई अमर बनाउने प्रपन्च गरिन्छ भने चिकित्सकहरु सेतोकोट खोलेर, टाउकोमा कालो कफन बाँधेर सडकमा उत्रन बाध्य हुने छन्। त्यसैले यसलाई गम्भीर रुपमा लिएर छिटोभन्दा छिटो समाधान गर्न म सरकारलाई हार्दिक अनुरोध गर्छु।
(डा पौडेल नेपाल मेडिकल काउन्सिलका सदस्य हुन्।)