डा नविन्द्रराज विष्ट
आज विश्व एनेस्थेसिया दिवस। विश्वभर यो दिवसमा विभिन्न सन्देशमुलक जानकारी आदानप्रदान गर्दै सम्झिने गरिन्छ। विश्वसामु सन् १८४६ अक्टोबर १६ का दिन अमेरिकाको बोस्टन अवस्थित म्यासाचुसेट्स जनरल हस्पिटलमा विलियम टिजी मोर्टनले पहिलो पटक इथर एनेस्थेसिया दिई सफलतापूर्वक शल्यक्रियाको लागि सहज बनाएकोले यो ऐतिहाँसिक दिनलाई ऐनेस्थेसिया दिवसको रुपमा मनाउँदै आएको छ।
वर्ड फेडेरेसन अफ सोसाइटीज अफ एनेस्थेसियोलोजिस्ट (डब्लुएफएसए) ले सन् २०२० को मुख्य सन्देशः अकुपेशनल वेल विइङ अर्थात पेशागत स्वस्थता रहेको छ।
एनेस्थेसियोलोजिस्टहरुले कामको सिलसिलामा लामो समय जटिल एनेस्थेसिया दिनुपर्ने, आइसियुका बिरामीको पलपलको स्थिति हेरी उपचार गर्नुपर्ने, चनाखो भई केही छोटो समयमा नै क्रिटिकल्ली बिरामीका महत्वपूर्ण र स्वविवेक निर्णय लिई बिरामीको ज्यान जोगाउनुपर्ने, perioperative physician को भूमिकासँगै तीव्र र पुरानो दुखाइ व्यवस्थापन गर्दै आफ्नो स्वास्थ्य स्वस्थ राख्नुपर्ने महत्वपूर्ण पाटो रहेको छ ।
आफ्नो काममा हुने पेशागत थकान, burnont syndrome जस्ता कुराबाट मानसिक, सामाजिक र शारीरिक स्वस्थ रहिरहनु पर्ने उपायहरुको विषयलाई पनि प्राथमिकता दिनुपर्छ। यसले गर्दा एनेस्थेसियोलोजिस्टको पेशागत स्वास्थ्य र बिरामीको सुरक्षालाई सन्तुलन ल्याउन सकिन्छ ।
यो विषयले अहिलेको कोभिड–१९ माहामारीको समयमा विशेष महत्व राख्छ। सबैतिर कोभिड–१९ को बिरामीको हेरविचार गर्नु छ भने अर्कोतिर आफू स्वस्थ रही अझ भविष्यमा थपिने कोभिड–१९ का बिरामीलाई तुरुन्त उपचारमा सहयोग गरी निको पार्नु पर्छ।
एनेस्थेसियोलोजिस्टले आफ्नो दक्षता नेपालको विभिन्न अप्रेसन थियटर, पोष्टअपरेटिभ वार्ड, आइसियु, कोभिड आइसियु, कोभिड आइसोलेसन वार्ड, इन्डोस्कोपीका प्रक्रिया र रेडियोलोजिकल प्रोसिडर जस्ता विशेष कार्यमा आफ्नो भूमिका दिँदै आएका छन्।
के हो ऐनेस्थेसिया?
शल्यक्रिया गर्दा आवश्यकता अनुसार चेत अथवा अचेत अवस्थामा बिरामीलाई राखी दुखाई महसुस नगर्ने औषधिको आविष्कार गरी चिकित्सा सेवालाई सहज र सफल बनाउन विशेष योगदान पु¥याउने महत्वपूर्ण विधाको नाम एनेस्थेसिया हो। मुख्यतः शल्यक्रिया गर्नुभन्दा अगाडि उक्त बिरामीमा केकस्ता अन्य लुकेका रोगहरु रहेका छन् भनी पत्ता लगाउने, उक्त बिरामीको सम्पूर्ण शारीरिक अवस्थालाई पूर्ण परीक्षण गरी शल्यक्रिया गर्न उपयुक्त छ वा छैन भनी सुनिश्चित गर्ने कार्य ऐनेस्थेसियोलोजिष्टहरुले गर्दछन्। शल्यक्रिया पूर्वको अवस्थादेखि शल्यक्रिया सम्पन्न भएपश्चात् बिरामीलाई पहिलेकै अवस्थामा ल्याउने महत्वपूर्ण जिम्मेवारी ऐनेस्थेसिया बिषयमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकहरुको नेतृत्वमा सम्पन्न गरिएको हुन्छ।
बिरामीहरुलाई पर्न सक्ने आपतकालीन अवस्था जस्तैः मुटुको चाल बन्द भएको अवस्थामा दिने सिपिआर अर्थात् बिरामीको छाती थिची फोक्सोलाई मुखको माध्यमबाट चिकित्सककै श्वास दिई पुनर्जीवन दिने काम पनि गरिएको हुन्छ। त्यसैले बिरामीको जीवन–मरणसँग सरोकार राख्ने महत्वपूर्ण पक्ष नै एनेस्थेसिया हो। सायद त्यसैले होला यस वर्षको सन्देश पनि यसैसँग जोडिएर आएको छ।
शल्यक्रियाको दौरानमा बिरामीको प्रभावित अंगलाई शल्यक्रिया गर्नु बाहेक शरीरका अन्य महत्वपूर्ण अंगहरु जस्तै फोक्सोमा जाने अक्सिजनको मात्रा, मुटुको चाल, मिर्गौलाले पाउने पानीको अवस्था, ब्रेन र कलेजोको उचित सन्तुलन भएको छ वा छैन, रक्तचापको उचारचढाव तथा शल्यक्रियापश्चात् बिरामीलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ कि सकिँदनै जस्ता चुनौतीपूर्ण कार्यहरुको अनुगमन र उपचार गरी बिरामीको जीवन रक्षाका निम्ति ऐनेस्थेसियोलोजिस्टले नै गहन जिम्मेवारी निर्वाह गरेको हुन्छ।
त्यसका साथै अन्य बिरामीमा सहनै नसक्ने दुखाइ, क्यान्सरका दुखाइ, विभिन्न परीक्षणको दौरानमा बिरामीलाई छोटो समयावधिका लागि स्थिर राख्न प्रयोग गरिने औषधि पनि दिने काम गरिएको हुन्छ। प्राकृतिक विपत्तिका समयमा होस् वा अस्पताल भित्र पर्नसक्ने आपतकालीन अवस्थामा ऐनेस्थेसियोलोजिस्टहरुले बिरामीको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका हुन्छन्।
यसरी भयो नेपालमा एनेस्थेसियाको विकास
डा भवानी भक्त सिंह प्रधानले सन् १९५५ मा हर्लिक्सको बोतल प्रयोग गरी ओपन ड्रप इथरको सुरुवात गरेकोले उहाँलाई नेपालमा एनेस्थेसियाका पिताको रुपमा स्मरण गरिन्छ। त्यस्तै सन् १९६६ मा डा नरेन्द्र बहादुर राणाले मसल रिल्याक्ससेनका औषधि प्रयोग गरी ब्यालेन्स एनेस्थेसियाको सुरुवात गरेकोले उनको योगदानलाई अनुकरणीय मानिएको छ।
एनेस्थेसियाको विकासक्रमलाई आजको अवस्थासम्म ल्याउने अग्रज चिकित्सकहरुको योगदान अतुलनीय रहेको छ। सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालमा दर्ता भएका चिकित्सकहरुको संख्या हाल ४०० पुगेको छ। जुन प्रतिलाख जनसंख्याको लागि १ जनाभन्दा कम अनुपात हुन्छ। विकसित देशहरुको अवस्थालाई उदाहरणको रुपमा लिने हो भने अमेरिकामा प्रतिलाख जनसंख्याका लागि २०.८ अनुपातमा एनेस्थेसिओलोजिस्टहरु पर्छन्।
दुर्गम जिल्लाका अस्पतालहरुको शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति समेत पर्याप्त मात्रामा पुग्न सकेको छैन। अझ त्यसमा पनि एनेस्थेसियाका क्षेत्रमा काम गर्ने चिकित्सकहरुको दरबन्दी अपुग भएको विद्यमान अवस्था छ। क्रमिक रुपमा उत्पादन भएको एनेस्थेसिया क्षेत्रको दक्ष जनशक्ति सहर केन्द्रित हुन बाध्य हुनु, शल्यचिकित्सकहरुको तुलनामा यस क्षेत्रका विशेषज्ञहरुको पारिश्रमिकमा असन्तुलन, विशेषज्ञ समाजले तयार पारेको आफ्नै पारिश्रमिक मापदण्ड कार्यान्वयन हुन नसक्नु तथा शल्यक्रियाका लागि बल्लतल्ल तयार भएका स्वास्थ्य संस्थाहरुमा समेत एनेस्थेसियाका उपकरणहरुको न्यून उपलब्धता र पुराना उपकरणहरुको सहयोगमा काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिले स्वास्थ्य क्षेत्रको आशातित प्रतिफललाई सहज मापन गर्न नसकिएको यथार्थ हो।
त्यसलै यस क्षेत्रमा प्रयोग हुने स्तरीय मापदण्ड र आधुनिक उच्च स्तरीय उपकरणहरुलाई स्वास्थ्य संस्थाहरुले प्रयोगमा ल्याई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ठूलो योगदान पु¥याउन सकिने र विद्यमान बिरामी, चिकित्सक तथा अस्पताल बीचको असामानजश्यता न्यूनीकरण गर्न ठूलो मद्दत पुग्नेमा कुनै द्विविधा छैन।
बुझ्नै पर्ने महत्वपूर्ण तथ्य
यस वर्षको मुख्य सन्देशसँगै अस्पतालमा कार्यरत एनेस्थेसियाका सम्बन्धमा बिरामीहरुमा आजको दिनसम्म पनि वास्तविक ज्ञानको अभाव भएको पाइन्छ। जब बिरामी अस्पतालमा आउँछ, उसको शल्यक्रिया गर्नु पर्दछ भनी शल्य चिकित्सकले बताउँछ र बिरामी त्यसमा सहमत भई उपचार गर्न मञ्जुर हुन्छ। तर बिडम्वनापूर्ण अवस्था नै भन्नुपर्छ। उक्त बिरामीले को चिकित्सकले मलाई शल्यक्रिया गर्नुअघि मेरो स्वास्थ्य अवस्थाको बारेमा विस्तृतमा अध्ययन गरेको छ? शल्यक्रियाका लागि म उपयुक्त छु वा छैन भनी यकिन गर्ने चिकित्सक को हो? गुणस्तरीय एनेस्थेसिया दिनका लागि सक्षम चिकित्सक मसँग छ कि छैन? शल्यकक्षमा लैजानुअघिको चिकित्सकले मलाई कति समयसम्मका लागि एनेस्थेसिया दिन लाग्नु भएको छ? भन्ने जस्ता विविध सवालहरु प्रायः बिरामीहरुले जानकारी नै माग्ने गरेको अवस्था छैन। त्यसैले कुनै पनि बिरामीको उपचार प्रक्रियामा को एनेस्थेसियोलोजिस्ट चिकित्सक संलग्न हुनु भएको छ भन्ने जानकारी सबैमा हुनु अत्यन्त जरुरी छ। जसले गर्दा गुणस्तरीय स्वास्थ्य सेवा ग्रहण गर्न मद्दत पुग्ने कुरामा सायद कसैको पनि विमति नहोला।
(त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक डा विष्ट सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालका महासचिव हुन्।)