दसैं उसै पनि स्वास्थ्य समस्याको कोणबाट सचेत रहनुपर्ने चाड हो। त्यसैले यसअघिका दसैंहरुमा पनि खानपिनमा ख्याल गर्न चिकित्सकहरुले आग्रह गर्ने गर्थे। अत्यधिक मासु खाइने, शारीरिक व्यायाम नगर्ने तथा मदिरा लगायत सेवन गर्ने भएकाले स्वास्थ्यमा जोखिम निम्तिने चिन्ता व्यक्त गरिन्थ्यो। पुराना जोखिम यस पटक पनि यथावत् छँदैछ। र, थपिएको छ– कोरोना महामारी। त्यसैले यस पटकको दसैं मनाउने तयारी गरिरहँदा वा मनाइरहँदा हामीले अतिरिक्त सचेतता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ।
सरकारले पटकपटक यस पटकको दसैंलाई फरक रुपमा मनाउन आग्रह गरिरहेको छ। विशेषगरी किनमेललाई प्राथमिकता नदिन, भीडभाड नगर्न, वृद्धवृद्धालाई नभेट्न जस्ता आग्रह गरिएको छ। ‘पुरानै लुगा लगाएर दसैं मनाऔं र आशिर्वादलाई बचाऔं’ जस्ता शब्दावली प्रयोगमा आएका छन्। यी कोरोना महामारीबाट जोगिने केही उपाय हुन्।
दसैंमा काठमाडौं लगायतका ठूला सहरबाट जागिरे युवाहरु गाउँतिर जाने प्रचलन छ। विशेषगरी काठमाडौं उपत्यकाबाट विभिन्न जिल्ला जानेको ताँतीले सवारी साधनमा समेत भीड र असुरक्षित यात्रा हुने गरेको विगत छ। अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। जसले गर्दा आम रुपमा त्रास पनि सिर्जना भएको छ। त्यसैले भीडभाडयुक्त यात्रामा केही कमी आउने अपेक्षा गरिएको छ। तर वास्तविक अवस्था कस्तो रहन्छ भन्न सकिने अवस्था छैन। विगतकै जस्तो दृश्य दोहोरिएमा वा सामान्यतयाः भीडभाडयुक्त यात्रा भएमा उपत्यकाबाट देशभरमै कोरोना संक्रमण फैलने खतरा छ।
यसरी यात्रा गर्नेहरु सामान्यतयाः सक्रिय उमेर समूहका हुन्। तर उनीहरु पुग्ने घरमा भने वृद्धवृद्धा र बालबच्चा हुनेछन्। जो कोरोना संक्रमण र मानवीय क्षतिको दृष्टिले जोखिमपूर्ण वर्ग हुन्। परिणामतः कोरोना संक्रमण र संक्रमितको मृत्युको खबर अहिलेसम्म धेरैका निम्ति सुनिने खबर मात्रै भएको छ, तर अब देखिने क्षति हुनसक्छ। ‘मलाई केही हुँदैन’ भनेर कोरोना संक्रमणको सम्भावनालाई हेलचेक्र्याइँ गर्नेहरुले अब चाहिँ बुझ्नुपर्छ– आफूलाई त केही नहोला तर आफ्ना प्रियजनलाई जे पनि हुनसक्छ। जिन्दगीभर पछुतो मान्नुपर्ने अवस्था आउनुभन्दा अहिल्यै सचेत हुनु बुद्धिमत्तापूर्ण काम हो।
त्यसैले अवस्था विगतको जस्तो छैन र त्यसैले हाम्रा व्यवहार पनि विगतको निरन्तरता हुनु हुँदैन। यो आत्मसंयम अपनाउने बेला हो। जसले आफूलाई महामारीबाट बच्न सघाओस्, आफ्ना कारणबाट प्रियजनलाई कोरोना संक्रमण नहोस। यसका लागि हामीले आफू बच्ने कुरामा सबैभन्दा पहिले ध्यान दिनु जरुरी छ। त्यसका निम्ति केही महिनायता नियमित रुपमा अपनाउँदै आएको सचेततालाई निरन्तरता दिने छँदैछ। त्यस्तै, दसैंसँग सम्बन्धित व्यवहारमा पनि कोरोना संक्रमित नहुने सुनिश्चित गर्नुपर्छ। दसैं आयो भन्दैमा आवश्यकभन्दा पनि रहरले ‘सपिङ’ गर्ने प्रचलन छ। अझ साना नानीबाबुहरुलाई सँगै लैजाने गरिन्छ। यसले परिवारैलाई कोरोना संक्रमणको जोखिमपूर्ण क्षेत्रमा पु¥याउँछ। समूहमै जाँदा सबै उत्तिकै सचेत बन्न र जोगिन मुस्किल हुन्छ। धेरै जना जाँदा धेरै सामान छोइने, धेरै मानिससँग सम्पर्क हुने तथा पैसाको कारोबार बढी हुने भएकाले संक्रमणको जोखिम पनि बढी नै हुन्छ। परिवारका जोकोहीलाई संक्रमण भयो भने बाँकीमा फैलने सम्भावना हुन्छ। त्यसैले ‘सपिङ’ मा संयमता अपनाउने उपायको खोजी आवश्यक छ।
अर्कोतिर, आफ्ना कारणले आफ्ना प्रियजनमा संक्रमण नहोस भनेर पनि सचेत हुनुपर्ने आवश्यकता छ। दसैंमा भेटघाट वा आशिर्वादका लागि जहाँ पुगिन्छ, त्यहीँ आफ्नो कारणले संक्रमण फैलिने हो कि भन्नेमा सबै सजग हुनुपर्छ। आफू र आफ्ना आफन्त बाँचिरहियो भने आशिष त जहिले लिए पनि हुन्छ, जसरी लिए पनि हुन्छ। सरकारले भनिरहेको ‘आशिर्वाद बचाऔं’ भनेको हाम्रा प्रिय अभिभावक र नानीबाबुहरुलाई कोरोना संक्रमणबाट जोगाउने भनिएको हो। भौतिक भेटघाटलाई व्यक्ति स्वयंका तर्फबाट निरुत्साहित गर्न सकियो भने आशिर्वाद जोगाउन सकिन्छ। साथै, दसैंमा तीव्रता पाउने विश्लेषण गरिएको कोरोना संक्रमणको दरलाई न्यूनीकरण गर्न सकिन्छ।
यस पटकको दसैंमा संयमताको आवश्यकता छ। र, संस्कृति र परम्पराको भन्दा पनि परिस्थितिको बोध गर्नु जरुरी छ। तपाईं हाम्रो जिन्दगीभन्दा दसैं र दसैंको रमाइलो विशेष महत्वको चाड होइन। त्यसैले यात्रा र भौतिक सम्पर्कबाट जोगिऔं। यस पटकको मात्रै होइन, आगामी दसैंहरु पनि खुसीसाथ मनाउनुपर्छ भन्ने ख्याल गरौं।