प्रिय पत्रकारज्यूहरू,
कृपया संवेदनशील विषयमा संवेदनशील भई दिनु होला, क्रस भेरीफाई गरेपछि मात्र र प्रसारण गर्नैपर्ने भएमात्र समाचार बनाउनुहोला।
एउटा ठूलो भीडमा कसैले ठट्टा गरेर आगो लाग्यो भनिदियो। मान्छेहरु भागाभाग गर्न थाले। अब, तपाईंले जतिसुकै ठूलो माइक लगाएर 'ए त्यो आगो लागेको होइन। ठट्टा मात्र गरेको हो' भनेपनि त्यो भागदौडलाई रोक्न सक्नुहुन्न। विशेषगरी राष्ट्रियस्तरका र लोकप्रिय सञ्चारमाध्यमले दिने जानकारी पनि यस्तै हो।
पत्रकारहरूले एकपटक 'हो' भनि/लेखिदिएपछि त्यसलाई आँखा चिम्लेर विश्वास गर्ने जमात ठूलै छ। त्यो विश्वास जति ठूलो शक्ति हो, त्यसलाई स्थापित गर्न त्यति नै धेरै मेहनत गर्नुपर्ने पनि हुन्छ। तसर्थ, कुनै कुरा उठान गर्नुअघि त्यसको तथ्यगत बाटोलाई राम्ररी केलाएर, क्रस भेरिफाई गरेर विश्वस्त भइसकेपछि मात्र सार्वजनिक गर्नु पत्रकारहरूको दायित्व हुनुपर्ने जस्तो मलाई लाग्छ। यो आलेखको मुख्य उद्देश्य पनि सम्बन्धित सबैमा त्यही अनुभूति होस् भन्ने नै हो।
केही दिन अगाडि 'सिधा कुरा जनतासँग' कार्यक्रम (एपिसोड ६२१, ९:४० पश्चात् प्रसारण भएको)मा प्रस्तोता पत्रकार एवम् उहाँको टिमले विज्ञहरुसँग सल्लाह नगरी प्रसारण गरेको भ्रामक समाचारबारे प्रष्ट्याउने कोसिस गरिएको छ। भरपर्दो कहलिएको निकायले त यसरी प्रसारण गर्छ भने यो देशमा अरुको के हालत होला सहजै अनुमान गर्न सकिन्छ।
वास्तविकता के थियो त?
यो एक जना २० वर्षीय युवतीको वेदनाको सत्यकथा हो। पहिलो कुरो त, उनी ९ महिनाको गर्भवती, दोस्रो-पेटभित्र मृत बच्चा, तेस्रो- उच्च ज्वरोसहितको कोरोना संक्रमण र चौंथो- कोरोना अस्पतालभित्र बिना आफन्त एक्लै बस्नुपर्ने अवस्था। यी सबै कुराहरुले एकैपटक उनलाई प्रहार गर्दै थिए। शब्दले बयान गर्न सकिँदैन, कति हदसम्मको पिडाबाट उनी गुज्रिरहेकी थिइन् भनेर।
यस्तो अवस्थामा आँफै व्यथा लागे हामीले डेलिभरी गर्नैपर्ने बाध्यात्मक अवस्था हुन्थ्यो। तर, आफैं व्यथा नलागेको र संक्रमणसँग सक्रिय रुपमा जुधिरहेको यस जटिल परिस्थितिमा पेटको बच्चा निकाल्नको लागि औषधि दिनु वा अन्य उपचार गर्नु उनलाई मृत्युमा धकेल्नु सरह हुन्थ्यो। पेटको बच्चा ज्युँदै हुँदासमेत आमा र बच्चालाई यदि खतरा छैन भने यसरी ज्वरो आएको बेलामा केही दिन कुर्नु नै राम्रो मानिन्छ। किनकि, त्यसले संक्रमण जिउभर फैलिई अन्य मुख्य अङ्गहरु (जस्तै; मुटु, मृगौला, दिमाग, आदि) ले काम गर्न छाड्ने र मृत्यु हुने जोखिमलाई बढाउने हुन्छ। अत्यधिक रक्तश्राव हुने, अपूर्ण गर्भपतन हुने, र उस्तै परेमा रक्तश्राव रोक्न पाठेघर नै निकालेर फाल्नुपर्ने अवस्था सिर्जना गर्न सक्दथ्यो।
तसर्थ, उनलाई प्राकृतिक रूपमै पनि केही दिन व्यथा नलागोस् भनेर हामीले प्रार्थना गरिरहेका थियौं। त्यो समाचार प्रसारण भएको एक दिन अगाडिसम्म पनि उनलाई उच्च ज्वरो (१०१ डिग्री फरेनहाइट) आइरहेको थियो। तसर्थ, उनलाई जोखिममुक्त बनाउने, कोरोनाका लक्षणहरू सामान्य हुन दिने र सकेसम्म १० देखि १४ दिन उनलाई कोरोनासँग लड्न दिने र आमा पूर्ण रुपमा स्वस्थ भइसकेपछि गर्भको बच्चा निकाल्ने हाम्रो योजना अनुरुप नै उनले उपचार पाइरहेकी थिइन् उनले। किनकि, १०-१४ दिनमा धेरैजसो कोरोना सङ्क्रमितहरू सामान्य अवस्थामा फर्किसकेका हुन्छन्।
पेटमै बच्चा खेर गइसकेको गर्भवतीको १४ दिनभित्रमा आफै व्यथा लाग्ने संभावना ८० प्रतिशत रहन्छ (हेर्नुहोस् तस्वीर)।
कोरोना संक्रमणबाट तङ्ग्रिएपछि आफैं व्यथा लाग्यो भने पूर्ण डेलिभरी हुने र कुनै जटिलता नआउने सम्भावना उच्च रहन्छ। र अन्ततः उनले कोरोनालाई हराएरै छाडिन्। शरीर पूर्णरुपमा स्वस्थ भइसकेपछि १२औं दिनमा उनलाई आफैं व्यथा लाग्यो र बिना कुनै अप्रेसन, बिना कुनै जटिलता उनको सामान्य प्रसूतिबाटै बच्चा एवम् साल निस्कियो। र, अर्को दिन उनी डिस्चार्ज भएर सकुशल घर पुगिन्। यस अवस्थामा उनको नियमित औषधि उपचार भइरहेको थियो भने हरेक दिन हामीले भेटेर सम्झाइरहेका थियौं। हामीले सम्झाइरहेको उनले नबुझेकी पनि हुन सक्छिन्। यसमा, हाम्रो पनि केही कमीकमजोरी भएको तथ्य स्वीकार्नै पर्दछ।
आफ्नो पेटमा बसेको बच्चा एकै महिनामा किन नहोस्, गर्भ तुहिनु अत्यन्त पीडादायी हुने गर्दछ हरेक महिलाको जीवनमा। त्यसमा पनि ९ महिना पुगिसकेको गर्भ आफ्नो काखमा खेल्नु अगाडि पेटमै खेर जानु वज्रपातसरह हुने गर्दछ। ती महिलालाई हुने पीडा शब्दमा बयान गरी साध्य हुँदैन। मृत बच्चा जन्माउनुपर्ने अवस्था वा गर्भपतन गर्नुपर्ने अवस्था चिकित्सकका लागि बाध्यात्मक भएतापनि अत्यन्तै पीडादायी रहने गर्दछन्। चिकित्सकका नाताले सेवा दिनुपर्ने आफ्नो ठाउँमा छ, तर मन भारी हुने गर्दछ। रोइरहेको बच्चालाई अभिभावकको काखमा राखेर धेरै बधाई छ भन्दै दिने क्षण हरेक चिकित्सकका लागि हर्षविभोर हुने क्षण हुन्छ। किनकि, ती शिशुका बाबुआमाले झैं चिकित्सकले पनि ९ महिना आमा र बच्चाको स्वास्थ्यको हेरचाह गरेका हुन्छन् र त्यही खुशीको क्षणको पर्खाईमा हुन्छन्।
कार्यक्रम प्रस्तुतिका बारे?
खासमा यो समाचार राष्ट्रियस्तरको टेलिभिजनमा सनसनीखेज बनाउनु जरुरी नै थिएन। बरु आम जनतालाई त्यसका लागि जानकारी दिने इच्छा भएको भए समय मिलाएर मजाले जानकारी दिन सकिन्थ्यो। त्यस कार्यक्रमको शीर्षक नै 'पेटमा मृत बच्चा बोकेकी आमा ११ दिनदेखि कोरोना अस्पतालमा, पिसिआरको पर्खाइमा भएन अप्रेसन' थियो। यो शीर्षक नै गलत एवं लान्छना लगाउने उद्देश्यले अभिप्रेरित छ। यसलाई करिब एक लाख बीस हजारभन्दा बढीले हेरेका छन् भने कैयौँ नकारात्मक टिप्पणीहरू पनि प्रतिक्रियास्वरुप लेखिएका छन्।
अप्रेसन गरेर मृत बच्चा निकाल्नु पर्ने भनेर पटक-पटक भनिएको छ जुन गलत हो। पेटमा मृत भइसकेको बच्चालाई हरसम्भव सामान्य तरिकाबाट निकाल्ने हो, न कि अप्रेसन गरेर। उक्त भिडियोको प्रस्तुति नै यसरी गरिएको छ कि उपचार गर्ने चिकित्सक ती महिलामा परेको बज्रपातको उद्धारकर्मी नभई सबै दुखको कारक हुन्। उहाँ (प्रस्तोता) आफैं एकातिर यो विषय एकदमै संवेदनशील भएको भन्नुहुन्छ भने अर्कोतिर यसलाई अनावश्यक सनसनीपूर्ण बनाइरहनुभएको छ।
न उपचार गरिरहेका चिकित्सकलाई प्रसारणपूर्व सोधिएको छ, न त कुनै विशेषज्ञसँग राय लिइएको छ। तथ्यपरक समाचार हुनुपर्नेमा भावनात्मक शब्दहरुले भ्युज र लाइक बटुल्ने प्रयासमा छन्। केवल सनसनी बनाउने हतारो मात्र देखिएको छ। ती महिला वास्तवमै अन्यायमा परेकी हुन्? ती महिलाले कस्तो उपचार पाउनुपर्छ? भन्ने कुरामा उहाँको ध्यान नै छैन। यदि भएको भए फलोअप रिपोर्ट आउँथ्यो होला।
उहाँलाई त केवल आफ्नो टिआरपी, भ्युज, लाइक र वाहवाही बटुल्नुसँग मात्रै सम्बन्ध छ। त्यो पनि ती कर्मठ स्वास्थ्यकर्मी र एक प्रतिष्ठित अस्पताललाई हिलो छ्यापेर। यो कार्यक्रमको यति तुच्छतम प्रस्तुति होला भनेर भनेर मैले कल्पनासम्म नगरेको कुरा हो। त्यसबारे आम जनतालाई बुझाउन उपचार गर्ने र त्यसको विज्ञता हासिल गरेका व्यक्तिलाई सोध्नुपर्ने होइन र?
मेरो यो लेख जनताले पढेर मनन गर्दै बुझ्लान् कि चर्चित 'प्रस्तोता'ले विषयको गम्भीरता नबुझी भावनामा बगेर भनेको कुरालाई? यो प्रश्न सहज छ, यसको उत्तर त्योभन्दा धेरै कठोर छ।
यी र यस्ता भ्रामक समाचारका घटनाहरु बारम्बार दोहोरिइरहेका छन्। बग्रेल्ती खुलेका युट्युब च्यानलले पत्रकारिताको धज्जी उडाउनु अर्कै कुरा होला, किनकि ती पत्रकार होइनन्। तर स्थापित, राष्ट्रियस्तरका र त्यसमा पनि चर्चित व्यक्ति वा मिडियाले कुनै पनि हालतमा यस्ता कार्यहरु गर्नुहुँदैन। पत्रकारिताको आचरण बाहिर गएर प्रस्तुत हुने यस्ता कुराहरुमा विरलै मात्र सम्बन्धित निकायको ध्यान गएको छ। यसले
१. चिकित्सक र बिरामीबीचको सम्बन्धलाई खोक्रो बनाउँदै छ (जुन हरेक उपचारमा अत्यन्तै महत्वपूर्ण हुन्छ)
२. चिकित्सक र अस्पतालमाथिको भौतिक एवं मानसिक आक्रमणलाई पूर्ण प्रश्रय गरेको छ। यसले गम्भीर एवं जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्न चिकित्सकहरु हिच्किचाउने र बिरामीको रेफर गर्दागर्दै बाटैमा वा एम्बुलेन्समै मृत्यु हुने अवस्थालाई मलजल गरिरहेको छ।
३. तथ्यपरक नरहेका यस्ता समाचार सम्प्रेषण गर्दा यस महामारीमा एकातिर 'कोरोना भए उपचार हुँदैन' भनेर आफ्नो लक्षणहरु चिकित्सकलाई नभन्ने, लुकाउने कुरालाई मलजल गरेको छ भने अर्कोतर्फ आम जनमानसमा 'कोरोना भए उपचार हुँदैन' भन्ने विषयलाई त्रासको खेती पनि बनाउन दुष्प्रेरित गरेको छ।
४. यस्ता कार्यले आफ्नो र आफ्नो परिवारको स्वास्थ्यलाई जोखिममा राख्दै दिनरात बिरामीप्रति दत्तचित्त भई कार्य गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने मात्र नभई स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको प्रतिष्ठामा आँच पुर्याउने कार्यसमेत गर्दछ।
फेरि एकपटक, प्रिय पत्रकारज्यूहरू,
पत्रकार भनेका जनताका आँखा हुन्। कैयौं आयोग र निकायले गर्न नसकेका काम पत्रकार वा मिडियाले गरेका धेरै उदाहरण छन्। स्थापित पत्रकार वा मिडियाले भनेका कुरा नेपालजस्ता देशका कैयौं जनताले आँखा चिम्लेर विश्वास गर्दछन्। पत्रकारिता र चिकित्सा दुवै पेसा संवेदनशील हुन्। यी पेसामा संवेदनशिलता अपनाउनै पर्छ। स्वास्थ्यजस्तो संवेदनशील विषयमा अझ बढी गम्भीर भएर कलम चलाउन आग्रह गर्छु। कृपया क्रस भेरिफाई गरेपछि मात्र समाचार बनाउनुहोला। शुभकामना।
(डा एसपी रिमाल ती महिलाको उपचारमा संलग्न विशेषज्ञ चिकित्सक हुन्।)