विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई “शारीरिक रोग वा समस्या विहीन अवस्था मात्र नभई समग्र रूपमा शारीरिक, मानसिक तथा सामाजिक कुशलताको स्थिति” भनी परिभाषित गरेको छ। तसर्थ मानसिक स्वास्थ्य पनि हाम्रो समग्र स्वास्थ्यको एक अभिन्न पाटो हो। मानसिक स्वास्थ्यलाई “त्यस्तो अवस्था जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ, जीवनका सामान्य तनावको सहजतापूर्वक सामना गर्न सक्छ, उत्पादनमूलक तथा फलदायी रूपमा काम गर्न सक्छ अनि आफ्नो समुदायका निम्ति केही योगदान दिन सक्छ” भनि परिभाषित गरिएको छ।
तर विडम्बना विश्वभर नै मानसिक स्वास्थ्य तुलनात्मक रूपमा उपेक्षित छ र हाम्रो जस्तो विकासशील मुलुकहरुमा त यो पाटो झनै उपेक्षित छ। अनि आधा आकाश ओगटेका महिलाहरुको मानसिक स्वास्थ्यको पाटो त झनै उपेक्षित छ।
लिंग मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो हो। महिला र पुरुषको भिन्नता भौतिक संरचनामा मात्रै नभएर मनोवैज्ञानिक बनावटमा पनि छ। वास्तवमा महिला र पुरुषको मनोवैज्ञानिक संरचना फरक किसिमको हुन्छ र उनीहरुले घटनाहरू र अवस्थाहरूमा प्रतिक्रिया दिने तरिका पनि फरक हुन्छ। जस्तै- महिला र पुरुषको कुराकानी गर्ने शैली, सम्बन्ध, सम्झौता, भावना व्यक्त गर्नमा र तनावमा देखाउने प्रतिक्रिया आदिमा निकै फरक हुने गर्छ। यसरी लिंग भेदहरू भौतिक, शारीरिक, र मनोवैज्ञाक विशेषताहरूमा आधारित छन्।
त्यसै गरी यो लिंग भेद विभिन्न मानसिक समस्याहरु, जस्तै- डिप्रेसन, एन्जाइटी र मनोशारीरिक समस्या- आदिको दरमा पनि देखिन्छ। यी रोगहरु अक्सर महिलामा बढी देखिएका छन्। अझै आधुनिक समाजमा महिलाहरुको सबलता बढेसँगै घर बाहिर काम गर्ने क्रम बढेको छ तर बच्चा जन्माउने, हुर्काउने देखि लिएर घरायसी काम सम्हाल्ने सम्मका कामहरु अक्सर महिलाकै जिम्मेवारीमा रहने गरेको छ, जसका कारण पनि उनीहरु बढी मानसिक बोझमा पर्दछन्। एकातिर मानसिक स्वास्थ्य नै कम प्राथमिकतामा परेको स्थिति छ भने यसमा महिला मानसिक स्वास्थ्य त झनै ओझेलमा परेको छ।
महिला मानसिक स्वास्थ्यबारे तथ्य
१. वयस्कहरुको मानसिक स्वास्थ्य समस्याहरुको अग्रस्थानमा डिप्रेसनको मनोरोग छ जसमा महिलाहरु पुरुषको तुलनामा झन्डै दुइ गुणा बढी प्रभावित छन्। तथ्यांकहरुका अनुसार हरेक चार महिलामध्ये एक महिला आफ्नो जीवनकाल भरीमा डिप्रेसनको मनोरोगको जोखिममा हुन्छिन्।
२. विश्वभर वर्षेनी ५० लाख मानिसहरु जो हिंसात्मक द्वन्द, युद्ध र विस्थापनका शिकार हुन्छन् ती मध्ये अनुमानित ८० प्रतिशत महिला र बच्चाहरु छन्।
३. विभिन्न अध्ययनको तथ्यांकहरुका अनुसार १६ देखि ५० प्रतिशत महिला आफ्नो जीवनकालमा हिंसाको शिकार हुने गरेका छन्।
४. जीवनभरमा कम से कम पाँच महिला मध्ये १ जना बलात्कार वा बलात्कारको प्रयासको शिकार भएका छन्।
मासिक महिनावारीसंगै महिलामा मुड र व्यवहार परिवर्तन हुने गर्छ। झर्को लाग्ने, छटपटी हुने, तनाव हुने, उदासी, निन्द्रामा समस्या, एकाग्रताको कमी आदि लक्षणहरु महिनावारी हुनु केही समय अगाडिबाट देखा पर्छन्। प्राय: जसो गर्भवती बेलाको पछिल्लो समय र सुत्केरी अवस्थामा केही मानसिक असन्तुलन देखिने गर्छ। त्यसैगरी सुत्केरी अवस्थामा हुने एक किसिमको मानसिक समस्या जसलाई "पोस्टपार्टम ब्लूज" भनिन्छ, जसले ५० देखि ८० प्रतिशतसम्म सुत्केरी आमाहरुलाई असर गरेको पाइन्छ। त्यस्तै गरि "पोस्टपार्टम डिप्रेसन" भन्ने समस्या सुत्केरी आमाहरुमा ६ हप्ता भित्रमा देखा पर्न सक्छ। जसमा आमालाई निरन्तर उदासी हुने, बच्चाप्रति पनि कुनै माया मोह नहुने, बच्चाको नियमित हेरचाह पनि गर्न मन नलाग्ने/नगर्ने, निद्रा तथा खानामा गडबडी हुने, बढी रिसाउने/झिंजिने, अत्यधिक भावुकताले गाँज्ने, रोइरहने, डराउने/शंका गर्ने जस्ता समस्या देखा पर्न सक्छन्।
सन् २००८ मा नेपालमै भएको एक अध्ययनले बच्चा पाउने उमेरका महिलाहरुको मृत्युको प्रमुख कारण "आत्महत्या" भएको देखाएको छ। कम आयस्रोत, छोरीको जन्म, सासु र श्रीमानको घर परिवारसंगको सम्बन्धमा कठिनाइहरू, गर्भावस्थाको समयमा प्रतिकूल घटनाहरु घट्नु र शारीरिक सहायताको कमी आदि "पोस्टपार्टम डिप्रेसन" को शुरुआतको लागि जोखिम कारकहरू हुन्। यसको अतिरिक्त, सुत्केरी अवस्थामा पहिला भएको मानसिक समस्याको लक्षणहरु पुन: बल्झिने सम्भावना हुने गर्छ।
अन्य महत्वपुर्ण जोखिमका कारकहरूमा छोरा र छोरीबीच भेदभाव, महिलाको भूमिकामा घरायसी कामकाज र शिशु स्याहार, अत्यधिक कार्यभारहरू, विशेष गरी बहुपुस्ते परिवारमा जहाँ बुहारीलाई कम स्वायत्तता छ र लिंगमा आधारित हिंसा आदि पर्छन्।
यसबाहेक, जब एक महिला मानसिक रोगी हुन्छिन्, स्वास्थ्य सेवा दिनमा प्राय: ढिलाइ गरिन्छ। बरु उनी आफैंलाई बिमारीको लागि दोषी मानिन्छ। मानसिक रोगकै कारणले महिलाहरुलाई पति र तिनको आफ्नै परिवारले त्याग्न सक्छ। त्यसो हुँदा अधिकांश महिला दीदिबहिनी "स्त्री"हुनु र "मानसिक रोग" हुनु दोहोरो श्राप पाए जस्तो विडम्बनाको शिकार भइरहेका छन्।
के गर्न सकिन्छ?
शिक्षा
सबैभन्दा पहिलो कदम भनेको महिलाहरुलाई शिक्षा प्रदान गर्नु हो। शिक्षित हुनु भनेकै अधिकार र स्रोतहरूको जागरूकता, शोषण र अन्यायसँग लड्ने क्षमता विकास गर्नु हो। जसले महिलालाई आत्मनिर्भर एवं मनोवैज्ञानिक रूपमा सबल बन्न मदत पुग्छ।
महिला मैत्री प्राथमिक स्वास्थ्य सेवा
प्राथमिक स्वास्थ्य सेवाका कर्मचारीहरूले महिला मानसिक स्वास्थ्यको आवश्यकताप्रति संवेदनशील हुन आवश्यक छ र महिलाहरुलाई सहयोग पुर्याउन सशक्त रुपमा प्रशिक्षित हुन आवश्यक छ।
सामुदायिक सेवा र सहयोग
महिलाहरुको पहुँच विशेष सेवाहरुसम्म हुन जरुरी छ, जस मध्ये महिला हिंसाविरुद्ध रक्षा गर्नका लागि आश्रय र उनीहरुलाई उचित मानसिक स्वास्थ्य सेवाहरु, यौन र प्रजनन स्वास्थ्य सेवाहरु, लागुपदार्थ/जाँडरक्सी लगायतका दुर्व्यसनका निम्ति पुर्नस्थापना सेवाहरु, एचआइभी संक्रमितहरुलाई सेवाहरु आदि प्रमुख हुन्।
महिला मैत्री नीति निर्माण तथा रणनीति
यस्ता रणनीतिहरूको विकास गर्नु जरुरी हुन्छ, जसले महिलाहरुको सामाजिक स्थिति सुधार गर्नेछ, लैंगिक असमानताहरू हटाउनेछ, आर्थिक र राजनीतिक शक्ति प्रदान गर्दछ र अधिकारको जागरूकता बढाउँछ। हुन त धेरै कुरा नीति निर्माता र योजनाकारहरुमा निर्भर हुन्छ, तथापि महिलाहरुले पनि आफ्नो लागि अवाज उठाउन सिक्नु पर्दछ। संघीय गणतन्त्र नेपालको संविधानले कानूनी रूपमा महिला सबलीकरणको निम्ति धेरै प्रशंसनीय कुराहरु समेटेको छ तर अझै पनि महिला सबलीकरणका धेरै पक्षहरु व्यवहारिक कार्यान्वयनमा आउन बाँकी छ। त्यसको निम्ति पनि महिलाहरुले आवाज उठाउनै पर्छ।
संचार माध्यमको प्रयोग
संचार माध्यमलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै- महिला मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण र व्यवहारहरु बनाउने।
पहिलो त त्यस्ता तस्विरहरू, सन्देशहरू र कथाहरुलाई निगरानी, रोकथाम तथा हटाउन जरुरी छ, जसले महिला मानसिक स्वास्थ्यलाई नकारात्मक असर पुर्याूइरहेको छ। दोस्रो त संचार माध्यमबाट महिला मानसिक स्वास्थ्यसंग जोडिएका सामुदायिक समस्याहरु बारे जानकारी प्रदान गर्न सकिन्छ। साथै मानसिक रोग पनि अरु शारीरिक रोगहरु जस्तै निको हुन सक्छ र मानसिक स्वास्थ्य सेवाहरु कहाँ उपलब्ध छन् भन्ने बारे प्रचार गर्न सकिन्छ।
(प्रेक्षा थापा, एमएस्सी (मनोचिकित्सा नर्सिङ), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान)