काठमाडौं– चिकित्सा शिक्षा अन्तर्गतको स्नातकोत्तर तह (पिजी) को चैत २ गते (सोमबार) देखि हुने भनिएको कक्षा संचालन अन्यौलमा परेको छ।
पिजीको मेरिट लिस्टबाट विद्यार्थीलाई हटाइएको विषयमा सर्वोच्चमा परेको मुद्धामा पूर्ण फैसला नआइसकेकाले सोमबारदेखि हुने भनेको कक्षा संचालनको विषय अन्यौलमा परेको हो।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले अदालतमा सोमबार नै सुनुवाइका लागि पेसी रहेको जानकारी दिए।
अदालतको फैसला आएपछि मात्र पिजीको कक्षा संचालन हुने प्राडा गिरीको भनाइ छ।
‘अदालतमा भोलि फेरी छलफल छ, भोलि के फैसला आउँछ त्यसपछि मात्र थाहा हुन्छ, पिजीको कक्षा कहिलेदेखि संचालन गर्ने भनेर,’ प्राडा गिरीले भने, ‘अदालतको पूर्ण फैसला नआएसम्म कक्षा संचालन कहिले हुन्छ भन्न गाह्रो छ।’
आयोगले विभिन्न मेडिकल कलेजका लागि तोकेको १६ सय सिट मध्ये १२ सय सिटमा विद्यार्थी भर्ना भइसकेका छन् भने ४ सय सिटमा विद्यार्थी भर्ना हुन बाँकी रहेको प्राडा गिरीको भनाइ छ।
चिकित्सा शिक्षा आयोगले पूर्णता पाएपछि पहिलोपटक एकिकृत परीक्षा लिएर चैत २ गतेदेखि कक्षा संचालन गर्ने योजना बनाएको थियो।
सोही योजना अनुसार आयोगले पुस १८ गते देखि एमडीएमएस लगायतका चिकित्सा शिक्षाको स्नातकोत्तर तहको एकिकृत प्रवेश परीक्षा लिइएको थियो।
प्रवेश परीक्षामा उत्तिण भएका विद्यार्थीहरुको पहिलो र दोस्रो तहको मेरिट लिष्ट समेत निकालिसकेको थियो।
आयोगले प्रवेश परीक्षा उत्तिर्ण भइसकेका विद्यार्थीहरुलाई आयोगले दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अंकमा झूटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको भन्दै १३ जना सरकारी चिकित्सक र खुल्ला तर्फका ३६ जनाको नाम मेरिटको सूचीबाट हटाएको थियो।
प्रवेश परीक्षा उत्तिर्ण भइसकेपछि आफुहरुलाई मेरिटको सूचीबाट हटाइएको भन्दै केही विद्यार्थीले सर्वोच्च अदालतमा आयोग विरुद्ध रिट निवेदन दिएका थिए।
आयोग विरुद्ध उजुरी परेपछि सर्वोच्चले मेरिटको सूचीबाट ती विद्यार्थीलाई नहटाउन अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चको अन्तरिम आदेश पछि आयोगले गत फागुन १४ गतेदेखि खुला तर्फको दोस्रो म्याचिङको कार्यक्रम नै स्थगित गरेको थियो।
खुला तर्फको दोस्रो म्याचिङको कार्यक्रम नै स्थगित भएपछि ४ सय विद्यार्थी भर्ना हुन बाँकी नै छन्।
सर्वोच्चमा सो मुद्धा छलफलकै क्रममा रहेकाले सोमबार देखि हुने भनिएको पिजीको कक्षा अन्यौलमा परेको हो।