पिसाब चुहिने समस्याले शारीरिक मात्र होइन, मानसिक तनाव पनि उत्पन्न गराउँछ। सामाजिक कार्यमा र दैनिक क्रियाकलापमा पनि यो समस्या तगारो बनिरहेको हुन्छ।
पिसाब चुहिने समस्या विभिन्न कारणले हुन्छ। शारीरिक तथा मानसिक अवस्था वा रोगका कारण पनि यो समस्या देखिन सक्छ। सेवन गरेको औषधि, पिसाब प्रणाली र पिसाब रोक्ने संयन्त्रमा समस्या आएको खण्डमा व्यक्तिले चाहेको अवस्थामा पिसाब रोक्न नसक्ने समस्या उपत्पन्न हुन सक्छ। यसका साथै स्नायुसम्बन्धी समस्याका कारण पनि पिसाब चुहिने समस्या उत्पन्न हुन सक्छ।
कतिपय व्यक्तिहरूमा विभिन्न कारणले जन्मजात रूपमा पनि यो समस्या देखिन सक्छ। यो समस्या कतिपयमा क्षणिक हुन्छ भने कतिपयलाई दीर्घकालसम्म सताइरहन्छ।
पिसाब रोक्ने संयन्त्र (मांसपेशी) कमजोर भएको अवस्थामा पेटमा हल्का चाप पर्नेबित्तिकै पनि पिसाब थैलीमा चाप पर्छ। यस्तो अवस्थामा पिसाब रोक्ने तल्लो पिसाबनलीमा भएको मांसपेशीले थेग्न नसक्दा पिसाब चुहिने हो। वृद्धावस्थाका व्यक्ति र धेरै बच्चा जन्माएका महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ।
स्त्रीरोगसम्बन्धी र प्रोस्टेटको शल्यक्रिया गरेका व्यक्तिहरूपमा पनि पिसाब चुहिने समस्या हुन सक्छ। खोक्दा, हाच्छ्युँ गर्दा, गह्रौँ सामग्री उचाल्दा, उफ्रिँदा पनि पेटभित्र चाप बढ्न गई उनीहरूको पिसाब चुहिन सक्छ। यसलाई शारीरिक तनावबाट हुने पिसाब चुहावट भनिन्छ।
यस्तै पिसाब थैलीको समस्याले पनि पिसाब चुहिन सक्छ। पिसाब थैलीका संवेदनशील मांसपेशीहरु बढी सक्रिय हुनुपर्ने अवस्था भएमा पनि अलिकति भरिन नै नपाई पिसाब चुहिन सक्छ।
पिसाब थैलीको संक्रमण, पिसाब थैलीमा मासु पलाएको, स्टेन्ट राखेको, पत्थरी भएको अवस्थामा पनि स्नायुको समस्याका कारण पिसाब चुहिन सक्छ। पार्किन्सोनिजम, मस्तिष्कघात मेरुदण्डका स्नायुको समस्या (चोटपटक, ट्युमर, वा स्नायु थिचिए) पनि पिसाब चुहिन सक्छ।
क्षयरोग, क्यान्सरजस्ता रोगको उपचारका क्रममा रेडियोथेरापी गर्दा थैली सानो आकारको भएर पिसाब नअटेर चुहिन सक्छ। पिसाब थैली खुम्चिन नसक्ने वा काम गर्न नसक्ने अवस्थामा पनि थैली भरिएर पिसाब नली हुँदै पोखिएर चुहिन सक्दछ। यस्तो अवस्था मेरुदण्डको स्नायुको समस्या तथा मधुमेहजस्ता स्नायुलाई प्रभावित गर्ने शारीरिक अवस्थामा हुन सक्दछ भने तल्लो मुत्रनलीको अवरोधमा (प्रोस्टेट तथा नली साँघुरिएर) पनि हुन सक्दछ।
स्त्री तथा प्रसूतिसम्बन्धी शल्यक्रिया र मलाशायको शल्यक्रियाका क्रममा स्नायुमा चोट लागेको अवस्थामा पनि यो समस्या आउन सक्छ। जन्मजात वा शल्यक्रियापछि पिसाब प्रणाली योनी वा बाहिर छालामा जोडिएमा पिसाब चुहिने समस्या हुन सक्छ।
बच्चामा पिसाब चुहिने समस्या देखिए विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ। यो समस्या लामो समयसम्म रहेमा मिर्गौलामा खराबी आउन सक्ने भएकाले पनि संवेदनशील बन्नुपर्ने हुन्छ।
विभिन्न शारीरिक तथा मानसिक समस्याहरू कब्जियत, पिसाबको संक्रमण, मदिरा सेवन, विविध औषधिहरूको प्रयोग र मधुमेह नभएमा क्षणिक रूपमा पिसाब चुहावट हुन सक्दछ।
निदान तथा उपचार
पिसाब चुहिने समस्याको निदान तथा उपचारका लागि डाक्टरले सोधपुछ तथा जाँच गरेर यसको किसिम, समस्याको जटिलता र कारक तत्त्व केलाउँछन्। पिसाब नलीमा प्रोस्टेटको अवरोध तथा साँघुरिएका कारण हुने यो समस्या विस्तारै देखिने हुन्छ। यस्तो प्रकृतिको पिसाब चुहिने समस्या सुरुमा रातीराती हुने र विस्तारै दिउँसै पनि देखिन थाल्छ।
यस्तै यो समस्याको निदान तथा उपचारअघि स्नायुसम्बन्धी रोग, अन्य शारीरिक तथा मानसिक रोग, पहिलेका शल्यक्रिया, पिसाब प्रणालीका रोग, औषधि सेवन, प्रसूति तथा प्रजनन प्रणालीको अवस्था तथा समस्या, पिसाब प्रणालीमा संक्रमण आदिबारे जान्न जरुरी हुन्छ। महिलामा देखिने यस्तो समस्यामा स्त्रीरोग विशेषज्ञको पनि ठूलो भूमिका रहन्छ। उनीहरूमा सबैभन्दा पहिले पिसाब जाँच गर्न दिइन्छ तथा साधारण रगतको जाँच दिइन्छ।
यसमा मधुमेह तथा पिसाबको संक्रमण हेरिन्छ। पेटको अल्ट्रासाउन्ड गरी पिसाब थैली तथा मिर्गौलाको अवस्थाका साथै पिसाब फेर्दा पूर्ण रूपमा निख्रिएको/ननिख्रिएको हेरिन्छ।
अर्को साधारण जाँच भनेको पिसाबको डायरी हो। यसमा पिसाब लागेको समय, प्रत्येक चोटि फेरेको पिसाबको मात्रा, पिसाब चुहिएको समय र मात्रा (प्याड फेरेको संख्या) र पिएको पानीको तथा झोलपदार्थको मात्रा बिरामी आफैंले भर्नुपर्छ। दुरबिनले पिसाब नली र थैली हेर्ने, पिसाब थैली/नलीमा औषधि हालेर बनोट हेर्ने सिटी-स्क्यान, एमआरआई या युरोडाइनामिक्स गर्नुपर्ने हुन्छ।
पिसाब चुहिने समस्याको उपचारमा सिधै रोगको उपचार हुँदैन। यसमा कारक तत्त्वको निदान र उपचार गरिन्छ। पिसाब संक्रमण, कब्जियत, पिसाब नलीको अवरोधको समस्या निवाकरण गर्नुका साथै पिसाब थैलीको समस्या, सेवन गरिरहेको औषधि, मिर्गौलाका समस्या, मधुमेह, मुटु इत्यादिको उपचार गर्नुपर्ने हुन्छ।
यसमा आवश्यकताअनुसार अन्य विशेषज्ञको सहयोग लिनुपर्ने पनि हुन सक्छ। व्यवहारिक शिक्षा, परेको खण्डमा औषधि तथा शल्यक्रिया विधि पनि अपनाउनु पर्ने हुन्छ।
धेरैजसो पिसाब चुहावट व्यवहारिक शिक्षाद्वारा कम भएको पाइन्छ। कारक तत्त्वको पहिचान गरी उपचार पद्धतिमा व्यवहारिक शिक्षा पिसाब थैली अत्यधिक सक्रिय वा संवेदनशील भएमा वा पिसाब रोक्ने संयन्त्र कम भएमा धेरै प्रभावकारी भएको पाइन्छ।
नियमित व्यायाम गर्ने, तौल घटाउने, सन्तुलित खानपान गर्ने, पानीको मात्रा मिलाउने, चिया, कफी, मसालेदार खाना, रसायनयुक्त पेय पद्दार्थ कम गर्ने, धुम्रपान/मदिरापान नगर्ने, डाक्टरको निर्देशनअनुसार नियमित पिसाब रोक्ने संयन्त्र (मांसपेशीको) व्यायाम, पिसाब चुहिनुभन्दा पहिले नै पिसाब फेर्ने र लागेमा सकेसम्म च्याप्ने र चुहिन नदिने बानी अपनाउँदा फाइदाजनक हुन्छ।
व्यावहारिक शिक्षा सधैं डाक्टरको निगरानीमा अपनाउनु पर्दछ। पिसाब चुहावटको कारण र किसिम नछुट्याई रहेको व्यावहारिक शिक्षाको कुनै अर्थ रहँदैन बस् समस्या बढ्दै जाँदा पिसाब थैली झन् बिग्रिने, नियमित पिसाब संक्रमण हुने र मिर्गौला पनि बिग्रिने डर हुन्छ।
कुनै कारणबिना बच्चा ५ वर्ष पुगेर पनि राति ओछ्यानमै पिसाब चुहावट हुने समस्या पनि व्यवहारिक शिक्षा, दिसापिसाबको तालिमबाट धेरै हदसम्म कम हुन्छ। यसको लागि पनि विशेषज्ञको परामर्श अत्यावश्यक छ। शल्यक्रियाको विधि धेरैजसो पिसाबको नली अवरोध भएमा, पिसाब प्रणालीको बनोटको समस्या भएमा तथा पिसाब रोक्ने मांसपेशी अत्यधिक कमजोर भएमा/काम नगरेमा गर्नुपर्ने हुन सक्छ।
(डा पौड्याल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा युरोलोजिस्टका रूपमा कार्यरत छन्।)