परिचय
दैनिक जीवनका क्रियाकलापका साथै सांस्कृतिक र धार्मिक अभ्यासले मानिसको स्वास्थ्यमा असर पारिरहेको हुन्छ। कतिपय यस्ता अभ्यास स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भने कतिपय अभ्यासले हानी पुर्या्उँछन्। त्यस्तै एउटा सांस्कृतिक र धार्मिक अभ्यास हो, होली वा फागुपर्व। प्राचीनकालदेखि नै नेपाल, भारतलगायतका हिन्दू धर्मावलम्बीले पानी र रङका माध्यमबाट प्रेम, आत्मीयता, सद्भाव र उमङ्ग व्यक्त गरी यो पर्व मनाउँछन्।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै कृषि फसलको महोत्सवको सुरुवात भएको रूपमा पनि मानिन्छ। हिन्दू पौराणिक कथा र किंवदन्तीहरूमा यो पर्वलाई विजयोत्सवको रूपमा लिइएको छ।
हिन्दू मात्र नभएर पछिल्लो समय अन्य धर्मावलम्बीहरूले पनि यो पर्व मनाउन थालेका छन्। होलीमा मानिसहरू परम्परागत रूपमा परिवार, साथीसंगी र परिचित (अपरिचितहरूमा समेत) विभिन्न रङ लगाएर, पानी छ्यापेर, नाचगान गर्छन्। होलीको धार्मिक र सांस्कृतिक महत्त्वका बाबजुद यसमा प्रयोग हुने रङले स्वास्थ्यमा पार्ने नकारात्मक असरलाई भुल्न सकिन्न।
बढ्दो औद्योगिकीकरण र सहरीकरणकसँगै प्राकृतिक रूपमा तयार हुने रङ पाउन मुस्किल हुन थालेको छ। रासायनिक पदार्थको मिसावटबाट तयार पारिएका रङले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने जानकारी हुँदाहुँदै पनि युवा पुस्ता यस्ता रङबाट सचेत भएको पाईंदैन। रङमा प्रयोग हुने रसायनहरूले छालामा समस्या निम्त्याउन सक्छन्। छालाबाहेक आँखा, कपाल, नङ, नाक, मुख र श्वासनलीमा पनि रासायनिक रङले नकारात्मक असर पार्न सक्छन्।
रङमा हुने रसायन र असर
होलीमा प्रयोग गरिने रङहरूमा विभिन्न रसायन हुन्छन्। जस्तै, कालो रङमा लिड अक्साइड, हरियोमा कपर सल्फेट र मालाकाइट ग्रिन, चाँदी रङमा एल्युमिनियम ब्रोमाइड, निलोमा प्रुसियन ब्लू, र रातोमा मर्करी सल्फेट र विभिन्न धुलोमा सिलिका आदि हुन्छन्।
पूजामा प्रयोग हुने अबिर, केसरी वा गहुँको पीठो आदिको प्रयोगसमेत रङमा हुने गरेको पाइन्छ। त्यस्ता रसायनयुक्त रङको प्रयोगले छाला चिलाउने, जलन हुने वा पोल्ने र एक्जिमा, एलर्जी वा डर्माटाइटिस गराउने, नङ तथा कपालमा असर पुर्या उने, दाग लामो समयसम्म नजाने जस्ता समस्या आउँछन्।
रङबाट सबैभन्दा बढी प्रभावित हुने अङ्ग अनुहार हो। त्यसपछि आँखा। आँखामा रङको असरले चिलाउने, घाउ हुने, र एलर्जी हुन सक्छ। कतिपयको अनुहारमा नयाँ किसिमको डन्डिफोर आउने र पुरानो डन्डिफोर बढ्ने समेत हुन सक्छ। होली सक्किएपछि दाग हटाउन धेरै जोडदार रूपमा स्क्रबिंग गर्छन्। यसो गर्नाले छाला खुइलिन सक्छ र घाउ नै पनि हुन सक्छ। होलीमा प्रयोग हुने रङहरू तथा फोहोर पानीले आँखामा समेत असर गरेर रोग निम्त्याउन सक्छन्।
उपचार
होलीमा हुने रङहरूको हानीकारक असर घटाउन प्राथमिक रोकथाम उपचार सधैं राम्रो हुन्छ। यसको लागि व्यक्तिगत सुरक्षाका लागि केही सावधानी अपनाउनु जरुरी छ। छाला नरम बनाउन र बाहिरी सतह जोगाउन मोस्चराइजर (भेसलिन, नरिवल तेल, तोरि वा जैतुनको तेल) लगाउने, सनस्क्रिन नियमित लगाउने र चस्मा लगाउने, पूरा शरीर छोप्ने कपडा लगाउने, कपालमा नरिवल तेलको प्रयोग गर्ने, आदि हुन सक्छन्। रङ लागिसकेपछि हटाउन जतिसक्दो चाँडो सफा गर्ने र मनतातो साबुनपानीले विस्तारै पखाल्नु पर्छ। क्लिन्जरको प्रयोग गर्न पनि सकिन्छ।
कोरोना र होली
कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा होलीपर्व र यसले निम्त्याउन सक्ने खतराका कारण परिवार र नजिकका नातेदारभित्र मात्र होली मनाउने हो भने कोरोनाको संभावित जोखम कम गर्न सहयोग पुग्छ। तराईमा होली पर्वलाई महत्त्वका साथ लिइने हुनाले देशविदेशमा रहेकाहरू समेत घर फर्कने हुनाले यसमा व्यक्ति स्वयं जिम्मेवार र सचेत हुनुपर्छ। समाजिक दुरी र मास्क लगाउन छोड्नु हुँदैन।
सावधानी
होलीमा प्रयोग हुने रङ स्वतन्त्र रूपमा बेचिन्छन्। तिनलाई नियमन गर्ने निकाय छैन। यी चिजहरूको व्यवस्थित बिक्री-वितरण गरी त्यसको सट्टामा प्राकृतिक रङले विस्थापित गर्न सके स्वास्थ्यमा हुने असर घटाउन सकिन्छ।
हानीकारक रङबाट असर हुने कम गर्न यसबाट हुने जोखिमको बारेमा जनचेतना बढाउनु जरुरी छ। सुरक्षित विकल्पको खोजी गरी त्यस्ता हानीकारक रसायनको उत्पादन र बिक्रीमा नियम कानून बनाउनु जरुरी छ। तर यसतर्फ सरकारी निकायको ध्यान गएको देखिँदैन। मानिसको स्वास्थ्यमा हानी पुर्यााउने रङको विक्रिवितरणमा कडाइ गर्न आवश्यक छ।
(डा पैाडेल छाला तथा यौन रोग विशेषज्ञ हुन्।)