जुम्ला- जुम्लाका स्थानीय तहमा बनेका आइसोलेसन सेन्टर प्रयोगविहिन अवस्थामा रहेकाे पाइएकाे छ। अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेकाले स्थानीय तहमा बनाइका आइसोलेसन प्रयोग विहिन भएका हुन।
स्थानीय तहमा बनेका आइसोलेसनको अवस्था, व्यवस्थापन, प्रयोग र कोभिड अस्पताल संचालनको अवस्थाबारे कर्णाली प्रदेशका सांसद पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले अनुगमन गर्दा अधिकाशं आइसोलसन खाली पाएको हो।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार अनुगमनको पहिलो दिन जुम्लाको पातारासी र गुठिचौर गाउँपालिकामा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरिएकोे थियो।
जुम्लाको गुठिचौर र पातारासी गाउँपालिकामा ५०÷५० बेडका आइसोलेसन सेन्टर छन। त्यहाँ संक्रमितलाई आवश्यक पर्ने सबै व्यवस्थापन गरिएको छ । तर संक्रमित घरमा छन। आइसोलेसन प्रयोगविहिन छन।
गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी अक्सिजन सहितको कोभिड अस्पताल र स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको आइसोलेसन बेड तयार भइसकेको बताउँछन। उनले संक्रमितहरु नै आइसोलेसनमा बस्न नमान्ने बताए।
उनले भने, ‘हामीले कोरोना संक्रमितलाई केन्द्रमा राखेर आइसोलेसन तयार गरिराखेका छौँ। संक्रमित आइसोलेसनमा बस्न मान्दैनन्। सबै होम आइसोलेसन मै बसेका छन। होम आइसोलेसनबाट संक्रमण फैलने खतरा बढेकोले अब देखिने संक्रमित सबै आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ।’
उनले कोरोना पोजेटिभ रिपोर्ट नआउँदै लक्षण देखिएको खण्डमा सिँधै आइसोलेसनमा आउनको लागि आग्रह गरे।
उनले थपे,‘संक्रमित आइसोलेसनमा बसिदिनु पर्यो। संक्रमितको उपचार, निगरानी गर्ने कार्य स्थानीय सरकारले गर्छ। गाउँमा बसेर जोखिम न फैलाइदिनको लागि सुझाव दिइरहेका छौँ।’ गुठिचौरमा हाल सम्म १७ जना संक्रमित भएकोमा सबै घरमै छन।
पातारासी गाउँपालिकामा पनि ५० बेडको आइसोलेसन तयारी अवस्थामा छ। आइसोलेसनमा चाहिने आवश्यक सामाग्री,जनशक्ति परिचालन गरिएको छ। तर संक्रमित आइसोलेसनमा आउन मान्दैनन्।
समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन संगै बनेका छन। एकान्त भएकोले संक्रमित र संक्रमितको उपचार सहज हुने गरि एउटै भवनमा ५ बेडको कोभिड अस्पताल र आइसोलेसन बनाएको गाउँपालिकाले जनाएको छ । उक्त आइसोलेसन पनि प्रयोगमा आएको छैन।
एन्टीजेन र पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन नमान्ने स्थानीय तहको दावि छ।
पातारासी गाउँपालिका अध्यक्ष लछिराम बोहोरा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार बनेको आइसोलेसन र कोभिड अस्पतालमा संक्रमित नभएको बताउँछन।
गाउँपालिकामा ३६ जना संक्रमित छन। कोही पनि आइसोलेसनमा बसेका छैनन। सबै होम आइसोलेसनका नाममा घरमै बस्ने गरेको उनी बताउँछन।
आइसोलेसन र कोभिड अस्पताल अनुगमनका क्रममा गुठिचौर र पातारासी गाउँपालिकामा पुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बनेका आइसोलेसन प्रयोगमा आउन नसकेको बताए।
उनका अनुसार गुठिचौर गाउँपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन सहितको व्यवस्था गरिएको छ।
पातारासीमा कोभिड अस्पताल सञ्चालनमा छ। तर अहिले सम्म संक्रमित भर्ना नभएको र अक्सिजन लगाउनु नपरेको स्थानीयतह बताउँछन।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘आइसोलेसन बनेका छन। प्रयोगमा आउन सकेको छैनन्। अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा छन। बिरामी भर्ना गरेर उपचार गर्नु परेको पाइएन।’
उनले गाउँगाउँमा कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्ने कार्य गर्न आग्रह गरे।
गुठिचौर गाउँपालिकाले १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ।२५ वटा सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिएको थियो। कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरे।