काठमाडौं– नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा दुई खोपको सिफारिस गरेको छ। भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्प माग गरेको थियो। नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेलले खोप सल्लाहकार समितिको मंगलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एण्ड जोनसनलाई सिफारिस गरेको जानकारी दिए।
‘पहिलो विकल्प एस्ट्राजेनेका हो। त्यो भए हामीलाई थप तयारी गर्नु पर्दैन, भएन भने जोन्सन एण्ड जोन्सन नै भएपनि ठिक छ’ डा पोखरेलले भने।
‘कोभ्याक्ससँग पहिलो चरणमा कम्तिमा १० लाख एस्ट्राजेनेका नै चाहिने र बाँकी अरू खोप भएपनि हुन्छ भनेका छौं,’ उनले भने, ‘नेपालमा ६५ वर्षमाथिका करिब १५ लाखले पहिलो डोज खोप लगाएका छन्। उनीहरूलाई दोस्रो डोज लगाउनुपर्ने छ।’
कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले ९२ देशलाई जनसंख्या हेरेर समानुपातिक रूपमा खोप दिने जनाएको छ।
मे/जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि सेरमले तत्काल खोप उपलब्ध गराउन नसक्ने भनेपछि कोभ्याक्सले नेपालसँग खोपको विकल्प माग गरेको थियो। कोभ्याक्सले सुरुवातमा घोषणा गरे बराबर सबै कोभिसिल्ड खोप दिने बताएको थियो।
नेपालमा औषधि व्यवस्था विभागले कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।
स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोर्डना, जोन्सन एण्ड जोन्सन कम्पनीलाई पत्राचार गरेको थियो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरिकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।
यी दुई कम्पनी अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको र आवश्यक छलफल गरिने जवाफ दिएको डा सिंहको भनाइ छ। यी दुई कम्पनीले आधिकारीक एजेन्ट मार्फत खोप दिने विषय पनि पत्रमा लेखेका छन्।
जोन्सनले सरकारसँग छलफल गर्न प्रतिनिधि पठाउने विषय पनि इमेलमा लेखेको छ। तर, अमेरिकाको मोडर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ।