काठमाडौं - करिब तीन महिना अघिको कुरा हो। डा दीपक गुप्ता सधै झैँ कोरोना संक्रमितको उपचारका लागि आइसीयू वार्डमा जाँदै थिए। त्यही क्रममा एक महिलाले उनको खुट्टा समातिन्। अनि हात जोडिन्। एकछिन त उनी झस्किए पनि। के गर्ने, कसो गर्ने अलमलमा परे।
ती महिलाले डा गुप्ताको खुट्टा समातेर रुँदै भनिन्, ‘डाक्टर साब मेरो श्रीमानलाई आइसीयू चाहिएको छ। उहाँलाई धेरै गाह्रो भयो। जसरी हुन्छ आइसीयू मिलाइदिनुस् न।’
ती महिलाको श्रीमानलाई कोरोना संक्रमण भएको थियो। अवस्था पनि गम्भीर थियो। उनको श्रीमानलाई तत्काल आइसीयूमा भर्ना गर्नुपर्ने आवश्यकता थियो। तर त्यो बेला अस्पतालको आइसीयू र सबै वार्डहरु कोरोनाका बिरामीले भरिभराउ थिए। सहजै बेड पाउन सकिने अवस्था नै थिएन।
त्यो सयम बेड नपाएर छटपटाउने बिरामी र आफन्तहरुको कुनै कमी थिएन। त्यही भीडमध्येकी एक थिइन् ती महिला पनि।
डा गुप्ता सम्झन्छन्, ‘ती दिदीले एक्कासी मेरो खुट्टा समात्नु भयो। खुट्टा छोड्नै मान्नु भएन। जसरी पनि आइसीयूमा मेरो श्रीमानलाई राख्नुपर्यो भन्दै रुनु भएको थियो। त्यो घटना म कहिले बिर्सन सक्दिन।’
उनले निकै मिहेनत गरेर मुस्किलले आइसीयू वार्डमै एउटा बेड थपेर भएपनि ती बिरामीलाई भर्ना गरे। लगातारको उपचारपछि उनी निको पनि भए।
जब ती संक्रमित निको भए डा गुप्ताको आँखामा खुशीको आँशु आयो। अनुहारमा मुस्कान।
अस्पतालमा बेड नपाएका घटनाहरु उनले दैनिकजसो नै भोग्नुपथ्र्यो। बेड नपाएर तड्पिएका बिरामीका कति आफन्तले उनलाई हात जोड्थे त कतिले खुट्टा नै समातेर रुने गर्थे। मिल्ने र मिलाउनेसम्मका प्रयास त उनले पनि गर्थे। तर सधै कहाँ संभव हुन्थ्यो र?
बिरामीको त्यो भीडले उनलाई पनि अत्याउँथ्यो। छट्पटाउन्थ्यो। उनी आफै पनि के गरौँ? कसो गरौँ भन्ने अवस्थामा पुग्थे।
कति बिरामी बेड नपाएर अस्पतालको गेटबाटै फर्किन्थे। कति बिरामीको उपचार गर्दा गर्दै मृत्यु पनि हुन्थ्यो। कति बिरामीका आफन्त पीडाले रुन्थे त कति बिरामी निको हुँदा खुशीले भरिएको मुस्कान सहित घर फर्कन्थे।
यी सबै दुख, पीडा, हाँसो र खुशी उनले यो कोरोना महामारीका बेला देखेका छन् र भोगेका पनि छन्। अनि बटुलेका छन्, जीवनका अनेक तीता मीठा अनुभवहरु।
आफ्नै आँखा अगाडि कति बिरामीहरु त छटपटाएर मृत्युवरण गरिरहेका हुन्थे। बचाउन कोशिस गर्दा गर्दै पनि बिरामीको मृत्यु हुन्थ्यो। त्यो बेला उनी आफूलाई निकै लाचार महसुस गर्थे।
‘हामीले जति गर्न सक्छौं सबै गर्छौं तर कुनै बेला प्रयास गर्दा गर्दै पनि सकिदैन। बिरामीको मृत्यु हुन्छ। त्यो बेला त लाचार महसुस पनि हुन्छ’ उनले भने।
बिरामीको अत्यधिक भीड भएका कारण पनि उपचार व्यवस्थापन गर्न निकै समस्या हुने गरेको उनको भनाई छ।
सिमित स्रोत र साधनका बाबजुत पनि धेरैभन्दा धेरै बिरामीलाई निको बनाएर घर पठाउन पाउँदा उनी आफूलाई निकै खुशी र भाग्यमानी ठान्थे। बिरामीको त्यो खुशीले आफूलाई काम गर्ने हौसला र आत्मबल बढाउने गरेको उनी बताउँछन्।
डा दीपक गुप्ता कोरोना महामारीमा पहिलो लहरदेखि नै खटिरहेका छन्। पहिलो लहर र दोस्रो लहरमा आएका सबै किसिमका उतारचढावसँग साक्षात्कार हुने मौका उनले पाए।
उनले लगातार २४ घण्टासम्म पनि ड्युटी गरे। नेपालगञ्जको त्यो गर्मीमा २४ सै घण्टा पिपिइ भित्र गुम्सिनुको पीडा हामीले सहजै अनुमान गर्न सक्दैनौं। जति अनुमान गर्छौ, त्यो भन्दा बढी पीडा कोरोना विरुद्धको लडाइँमा होमिएका योद्धाहरुले भोगिरहेका छन्।
पहिलो लहरमा बिरामीहरु त्यति धेरै गम्भीर अवस्थाका थिएनन्। अधिकांशजसो संक्रमित वृद्धवृद्धा र दीर्घरोगीहरु नै हुन्थे। तर दोस्रो लहरको कोरोना महामारीमा अवस्था ठिक उल्टो भएको डा गुप्ता बताउँछन्।
उनी भन्छन्, ‘पहिलो लहरमा बिरामीहरु त्यति क्रिटिकल हुन्थेनन्। तर यो पटक धेरै गम्भीर अवस्थाका बिरामीहरु थिए। २० वर्ष, ३० वर्षका युवाहरु पनि संक्रमित भइरहेका थिए। गम्भीर पनि थिए।’
दोस्रो लहरमा कोरोनाका कारण हुने मृत्युदर पनि बढेको उनी बताउँछन्। बेड अभाव हुँदा धेरै बिरामीहरु होम आइसोलेसनमा बस्न बाध्य भए।
होम आइसोलेसन बसेका धेरैजसो बिरामीहरु अस्पताल आउँदा अवस्था गम्भीर भइसकेको हुने उनले बताए। होम आइसोलेसनमा बस्दा सामाजिक सञ्जालमा भनिएका र देखाइएका औषधिहरु आफूखुशी बिरामीले प्रयोग गर्दा पनि समस्या बढ्ने गरेको उनले बताए।
‘धेरैजसो बिरामीहरु बेड अभावले गर्दा होम आइसोलेसनमै बस्थे’ उनले भने, ‘श्वास फेर्न गाह्रो हुने बित्तिकै र अक्सिजन कमी हुनासाथ उनीहरुले घरमै अक्सिजन राखेर बस्थे। सामाजिक सञ्जालमा भनिएका औषधिहरु खाएर घरमा बस्छन्। उनीहरु नै पछि अवस्था गम्भीर भएर अस्पताल आउने गर्थे।’
उनका अनुसार होम आइसोलेसनमा बसेका धेरैजसो बिरामी चिकित्सक माथि कम र सामाजिक सञ्जालमा बढी निर्भर हुने गर्थे।
यो महामारीमा उनले नेपालको स्वास्थ्य प्रणालीलाई नजिकबाट नियाल्ने मौका पनि पाए। किनभने उनलाई सधै लाग्थ्यो, ‘यदी अस्पतालको स्रोत साधन र जनशक्ति प्रशस्त हुन्थ्यो भने धेरै बिरामीलाई बचाउन सकिन्थ्यो।’
उनी भन्छन्, ‘बिरामीको भीड धेरै तर जनशक्ति निकै कम हुन्थ्यो। बेड पनि पर्याप्त मात्रा हुन्थेन। एक जना मेडिकल अफिसरले ७० जनासम्म बिरामीलाई हेर्नुपथ्र्यो। एक जनाले २० जना र ७० जना बिरामीलाई हेर्नु कतिको फरक होला।’
२४ सै घण्टा बिरामीको उपचारमा खटिरहँदा कहिलेकाँही त उनलाई निकै दिक्क पनि लाग्थ्यो। म त सक्दिन अब, छोड्छु जस्ता विचारहरु नआउने पनि होइन। तर कोरोना संक्रमितको उपचारमा सक्रिय भएर कर्तव्य पुरा गरेको कुरालाई प्राप्ति सम्झेर डटिरहेका डा गुप्ता पछि हट्न सकेनन्।
उनी परिबन्दमा परेर होइन, आफ्नै मनवचनले कोरोना विरुद्धको यो लडाइँमा होमिएका हुन्। र उनलाई विश्वास छ, ‘एकदिन कोरोनालाई जसरी पनि परास्त गरिछाड्छौं।’