आजकाल धेरै व्यक्तिहरुले आफ्नो सौन्दर्यतामा अझै बढी निखार ल्याउनका लागि रहनसहनमा सुधार ल्यानुका अलावा विभिन्न प्रकारका सौन्दर्य प्रसाधनका सामग्रीहरु प्रयोग गर्ने प्रचलन बढेको छ। छालाको मुलायम त्वचाका लागि मोइस्चराईजर, सूर्यको विकीरणबाट जोगिनका लागि सनस्क्रिन, साथै ब्युटीक्रिम, लिपिस्टिक, स्याम्पु, नेलपोलीस, भिटामिन, सेरम, तेल, जडिबुटीहरु, लगायत अन्य थुप्रै सामाग्रीहरु प्रयोग गर्ने गर्छन्। बिहानै दिनचर्या सुरु गर्दादेखि बेलुका सुत्ने बेला समेत गरी हामीले कैयन ब्राण्डका सामग्री प्रयोग गर्दैगर्दा धेरै रसायनहरु पनि उपभोग गरिरहेका हुन्छौं। यी सामग्रीहरुमा मिश्रण गरिएका रसायनहरुको प्रभाव क्षणीक रुपमा लाभकारी देखिएता पनि ती सामग्रीहरुको दीर्घकालीन उपभोगबाट हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। तर, हामीले प्रयोग गर्ने यी सामग्रीहरुको गुणस्तरमा निर्माता उद्योगहरुले लापरबाही गरेको खण्डमा, हाम्रो सौन्दर्यतामा गम्भीर प्रभाव पनि पर्दछ भन्ने तथ्य विगतका कैयन अध्ययन अनुसन्धानहरुबाट पत्ता लागेको छ। गुणस्तरहीन नक्कली सामग्रीहरु र उपभोक्ताको शरीरमा नसुब्नेखाले रसायनहरुले बाहिरी सौन्दर्य मात्र नभई भित्रि स्वास्थ्यमा समेत असर पारिरहेका हुन्छन् ।
सौन्दर्य सामग्रीहरु उत्पादनमा प्रयोग भइरहेका सामग्रीहरुमा विभिन्न कच्चा पदार्थको उपयोग हुन्छ। केही हानिरहित हुन्छन् भने केही एलर्जी ट्रिगर वा क्यान्सरसम्मको रोग लाग्न सक्ने हानिकारक रसायन मानिन्छन्। सौन्दर्य सामग्रीहरुमा मिसाइएका रसायनिक पदार्थहरू नाक, छाला, मुख र आँखाबाट सिधै शरीरमा प्रवेश गर्छन्। अधिकतम रसायन भएका त्यस्ता सामग्रीहरुले आँखामा इन्फेक्सन हुने, आँखाको ग्रन्थीलाई बन्द गराउने, कपालको प्रोटीन नस्ट पार्ने, छाला चिलाउने, मस्तिष्कमा नकारात्मक असर पार्ने, हर्मोनको नियमित चक्रमा विचलन ल्याउने, गर्भधारण प्रक्रियामा प्रभाव पार्ने, छालाका छिद्रहरु बन्द गराउने र छाला तथा स्तन क्यान्सरसम्म हुन सक्ने सम्भावना हुन्छ । त्यसकारणले गर्दा धेरैजसो उपभोक्ताहरु आजभोलि जडिबुटीबाट बनेका, प्राङ्गारिक, प्याबिनरहित र अर्गानिक सामग्रीतर्फ आकर्षित हुने गरेको पाइन्छ।
नेपालको बजारमा यस्ता सौन्दर्य सामग्रीहरुका नक्कली उत्पादनहरु छयापछ्याप्ती भेटिने गरेका छन्। नक्कली सौन्दर्य सामग्रीहरु बनाई अन्तर्राष्ट्रिय ठूला कम्पनीहरुको स्टिकर लगाउने र उपभोक्तालाई ठग्ने, अप्रमाणीत रसायनहरु प्रयोग गर्ने, घर–घरमा डेरामा, छाप्रोमा मापदण्ड विपरीतका नक्कली कारखानाहरुमा रिफिलिङ गर्ने गरेका घटनाहरु प्रहरीले सार्वजनिक गर्दै आएको छ। करिब दुई वर्ष पहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गुणस्तर तथा नापतौल विभागले नेपाली बजारमा रहेका क्रिम, लोसन, लिपिस्टीकका नमुनाहरु संकलन गरी त्यसका रसायनहरुको गुणस्तर अध्ययन गरेको थियो। जसमध्ये कैयन ब्राण्डका नमुनाहरुले Lead, Cadmium, Chromium, Mercury जस्ता हानीकारक धातुहरु अन्तर्राष्ट्रिय मापदण्डमा निर्धारण गरिएको मात्रा भन्दा कैयन गुणा बढी परिमाणमा मिसाइएको पाइयो। बंगलादेशमा सन् २०१९ मा गरिएको यस्तै अनुसन्धानमा पनि धेरै सौन्दर्य क्रिमहरु Lead र Chromium को मात्रा विश्व स्वास्थ्य संगठन र युरोपियन संघले तोकेको भन्दा धेरै गुणा बढी परिमाणमा भेटिएको उल्लेख छ। नाइजेरीयामा सन् २०१६ मा Bayero विश्वविद्यालय, पाकिस्तानमा सन् २०२० मा COMSATS विश्वविद्यालय र इटालीको राष्ट्रिय स्वास्थ्य संस्थानले सन् २०१४ मा गरेका नमुना परीक्षण तथा विस्तृत अध्ययनबाट पनि अधिकांश सौन्दर्य सामग्रीहरु ठूलो परिमाणमा त्यस्ता विषालु धातुहरु मिश्रण गरिएको र त्यस तथ्यांकलाई विश्लेषण गर्दा क्यान्सर हुन सक्ने सम्भावना अत्यधिक बढी रहेको प्रमाणहरु भेटिएका छन्। बेलायतको Amersham अस्पतालको एक अध्ययनमा सौन्दर्य सामग्रीको प्रयोगका कारण २३ प्रतिशत महिला र १३ दशमलव ८ प्रतिशत पुरुषहरुमा छाला सम्बन्धी रोग लागेको तथ्य उच्चस्तरीय अनुसन्धानबाट फेला परेको छ।
विश्व स्वास्थ्य संगठनले सौन्दर्य सामग्रीमा प्रयोग गरिने धातुहरु र रसायनहरु सम्बन्धी मापदण्ड निर्धारण गरेको छ। हालसालै नेपालको गुणस्तर तथा नापतौल विभागले पनि यस्ता वस्तुहरुको नियमन मापदण्ड निर्धारण गरेको छ। तर, विश्वबजार लगायत नेपाली बजारमा पनि नक्कली, र शरीरको लागि घातक केमिकल मिसिएका हानिकारक सौन्दर्य सामग्रीहरु फेला पर्दै जानुले आम उपभोक्तालाई यसले पार्न सक्ने दीर्घकालीन असर भयावह हुन सक्छ । त्यसैले यस क्षेत्रका विशेषज्ञहरुले ती कम गुणस्तरका सौन्दर्य सामग्रीहरुका मिश्रण बुझ्न, प्रयोगकर्ता आफैं सचेत हुन र कडाखाले केमिकल राखिएको शंका लागेमा प्रयोग नगर्न सुझाव दिने गरेका छन्। नेपालमा पनि वि. सं. २०७५, २०७६ का लेखहरुमा नेपालमा गुणस्तरहीन सौन्दर्य सामग्री जथाभावी प्रयोगले छालासम्बन्धी धेरै प्रकारका समस्याहरु बढेको उल्लेख गरिएको छ। शरीरमा विभिन्न प्रकारका दागहरु देखिने छाला चिलाउने र बाक्लो हुने, कत्ला छाड्ने अनुहारमा चाँया पोतो डण्डिफोरका समस्या आइरहने, कपाल झर्ने जस्ता समस्याहरु बढ्नुका कारणहरुमध्ये गलत मिश्रण गरिएको सौन्दर्य सामग्रीहरुको प्रयोग, नक्कली कारखानामा बनेका कमसल उत्पादन र उपभोक्तामा चेतनाको कमी केही कारणहरु हुन।
विश्वभर हालसम्म १८ करोड २० लाख वटा रसायनहरु सूचीकृत गरिएको छ। अमेरिकन एकेडेमी अफ साइन्समा प्रकाशित एक लेखका अनुसार अमेरिकामा मात्रै १२ हजार ५०० रसायनहरु र चीनको कस्मेटिक तथ्यांक निकाय आईईसीसीआईका अनुसार ८ हजार ९७२ वटा रसायनहरु क्रमश: व्यक्तिगत स्याहार र सौन्दर्य सामग्रीहरु बनाउनका लागि अनुमति दिएको छ। युरोपियन संघमा भने करिब एक हजार ३०० वटा यस्ता रसायनहरुलाई कस्मेटिक उत्पादन गर्न प्रतिबन्ध लगाइएको छ। नेपालमा पनि सौन्दर्य सामग्रीहरु वस्तु उत्पादन क्षेत्रलाई नियमन गरी वैज्ञानिक आधारमा यस्ता हानीकारक रसायनहरुलाई वर्गीकरण गरी सूचीकृत गर्ने, नीति निर्माण गरि सबै कस्मेटिक उद्योगलाई कुसल उत्पादन मापदण्ड भित्र राख्ने, र उत्पादन अनुमतिका लागि परिमाण समेत तोक्ने खालको व्यवस्ता कडाइका साथ लागू भएमा आम उपभोक्ताले अझ गुणस्तरिय सामाग्रीहरु पाउने थिए । तर सौन्दर्यताका लागि खान प्रयोग हुने केही उत्पादनहरुले कलेजो र रक्त प्रणालीमा असर पारेको तथ्य सन् २०२० मा बेज्लियमका प्राध्यापक Tamara Vanhaecke को समूहले प्रकाशन गरेको छ। अर्कोतर्फ, जडिबुटीजन्य श्रोतहरुबाट तयार पारिएका धेरैजसो सौन्दर्यका सामग्रीहरुले शरीरमा खासगरी प्रतिकूल प्रभाव नपारेको तथ्य दक्षिण कोरियाका प्राध्याक सोङ जुङ किमको टोलीले दाबी गरेको छ।
सौन्दर्य सामग्रीहरु मिश्रण तयार पार्दा त्यसमा प्रयोग गरिने प्रत्यक रसायनहरु मापदण्ड अनुरुप सही अनुपातमा मिसाइएको हुनुपर्छ। अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार सौन्दर्य सामग्रीहरु उत्पादनमा मिसाइएका प्रत्येक तत्वहरुको एक–आपसको प्रतिक्रिया र परिमाणले त्यस उत्पादनको विषाक्तता निर्धारण गर्छ। कुशल उत्पादन प्रक्रिया अपनाई उत्पादन गरिएको, स्टिकरमा उत्लेख गरिए बमोजिम सक्रिय तत्वहरुको गुणस्तर परीक्षण गरिएको र विधिहरु सही तरिकाले अवलम्बन गरेको हुनुपर्छ। अझ महत्वपूर्ण कुरा के छ भने, सौन्दर्य सामग्रीहरुमा प्रयोग हुने सबैखाले कच्चा पदार्थको पहिचान, छनोट, खरिद, भण्डारण र गुणस्तर परीक्षणमा कस्ता प्राविधिकहरु संलग्न हुन्छन्, उत्पादन गर्ने उद्योगको स्तरियता र त्यसबाट उत्पादन हुने सौन्दर्य सामग्रीहरुको गुणस्तर निर्धारण गर्दा अन्तर्राष्ट्रिय मापदण्ड अबलम्बन आदिका आधारमा मात्र ती उत्पादनहरु सुरक्षित मान्न सकिन्छ। त्यसैले दक्ष जनशक्तिद्वारा सञ्चालित उद्योगहरुबाट बनेका कस्मेटिक उत्पादनहरु प्राय: कुशल उत्पादन अभ्यास र इन्टरनेशनल कोअपरेसन अन कस्मेटिक रेगुलेसनको निर्देशिका अनुसार त्यसको गुणस्तर र दीर्घकालीन दुश्प्रभावहरुको परीक्षण गरिएको हुन्छ, र त्यस्ता सामग्रीहरु सुरक्षित मानिन्छ। त्यस्ता सौन्दैर्य बस्तुको निर्माणमा प्रयोग हुने केहि कच्चा पदार्थहरु र तिनीहरुको असर का बारेमा यस लेखमा चर्चा गरिएको छ।
लिड– परम्परागत आइलाइनर जस्तै; गाजल (नेपाल), खोल (अरबियन राष्ट्रहरु), सुरुमा (भारत) आदि उत्पादनहरुमा लिडको परिमाण अत्यधिक मात्रामा भेटिन्छ। लिपस्टिक, लिपग्लस, आइस्याडो, ब्लुसेस, स्याम्पु, बडि लोसन आदिमा पनि लिडको प्रयोग हुने गरेको संयुक्त राज्य अमेरिकाको स्वास्थ्य एवं मानव सेवा विभागले उल्लेख गरेको छ। लिडको सम्पर्कमा लामो समय रहेमा यसले स्मरण शक्तिमा असर पार्ने, महिनावारीमा समस्या आउने, गर्भवती महिलाको बच्चा खेर जाने, प्रजनन् प्रक्रियामा नकारात्मक असर पार्ने, छाला सम्बन्धी समस्या देखिने आदि प्रमुख असरहरु देखिन्छन ।
क्याडमियम र फ्थालेट्स – खास गरेर नेलपोलिस र लिपस्टिकमा चम्किलो रंगको प्रयोजनका लागि क्याडमियम र फ्थालेट्सको अत्यधिक प्रयोग गरेको पाइन्छ। यस्ता सौन्दर्य सामग्रीहरु प्रयोग गर्दा, क्याडमियम शरीरको छालाको छिद्र हुँदै सजिलै शरीरभित्र प्रवेश गर्दछ। शरीरबाट बाहिर निस्कन लामो समय लाग्ने भएकाले यसले मिर्गौला र कलेजो लगायत अन्य अंगहरुमा नोक्सान गर्छ भन्ने तथ्य जर्मनीका अनुसन्धानकर्ताहरुले सन् २००६ मा उल्लेख गरेका छन्। अमेरिकी स्वास्थ्य एवं मानव सेवा विभागले यस्ता धातुहरुलाई हर्मोनको गडबडी र साथै स्तन क्यान्सर गराउन सक्ने भनेर किटान गरेको छ। साथै यसले रक्तचापमा घटीबढी हुने, बान्ता हुने, मिर्गौलामा असर गर्ने लगायत हड्डी कमजोर हुने जस्ता प्रभावहरु सुरक्षित कस्मेटिक अभियानमा सन् २००७ मा प्रकाशित छन्।
क्रोमियम– क्रोमियमको खासगरी आँखाको सौन्दर्यतामा प्रयोग गरिने सामग्रीहरु उत्पादन गर्न प्रयोग गरिन्छ। तुलनात्मक रुपमा सौन्दर्य सामग्रीहरुमा अन्य धातुहरुभन्दा क्रोमियमको परिमाण कम मात्रामा भेटिने तथ्य प्राध्यापक हवाङ्गको दक्षिण कोरियामा सन् २००९ मा गरेको अनुसन्धानले देखाउँछ। भारतमा मर्करी र क्रोमियमको प्रयोगमा बन्देज समेत लगाइएको छ। यो धातुले छाला चिलाउने, घाउ हुने, रातो हुने जस्ता समस्याहरु निम्त्याउँछ।
मर्करी– मर्करीलाई सौन्दर्य सामग्रीहरुमा छाला उज्यालो पार्नका लागि ह्वाइटिनिङ्ग क्रिम र साबुनहरुमा मिसाउने गरेको पाईन्छ। साथै आँखाको सौन्दर्यतामा प्रयोग हुने कस्मेटिकहरु जस्तै, मस्कारा, आईमेकअपहरुमा पनि प्रयोग गरिन्छ। तर मिनामाता (जापान) सम्मेलनमा यसलाई कस्मेटिक प्रयोजनका लागि एक मिलिग्राम प्रतिकिलोसम्म राख्न सकिने मापदण्ड बनाइएको छ। त्यसलाई ११२ देशले अनुमोदित गरेका छन्। अमेरिकाको मिनेसोटा डिपार्टमेन्ट अफ हेल्थको एक सर्वेक्षणमा कस्मेटिक क्रिमहरुमा मर्करीको मात्रा ३३ हजार मिलिग्राम प्रतिकिलोसम्म फेला परेको थियो। एसियाली र मध्य अफ्रिकी राष्ट्रहरुमा प्रयोग गरिने छाला उज्यालो पार्ने क्रिम र साबुनहरुमा मर्करीको परिमाण उच्च रहेको कुरा विश्व स्वास्थ्य संगठनको सन् २०११ को अनुसन्धानमा देखिन्छ। मर्करी एक खतरनाक धातु हो, जुन सिधै स्नायु प्रणालीमा पुग्छ र त्यसलाई नोक्सान पुर्याउँछ। साथै प्रजनन्, श्वासप्रश्वास, मिर्गौला लगायत शरीरको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ।
स्टेरोईड– स्टेरोईडहरुको प्रयोग सौन्दर्य सामग्रीहरुमा लुकाएर प्रयोग गर्नु भनेको यसको दुरुपयोग जस्तै मानिन्छ । साथै उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गर्नु पनि हो। सन् २०१७ मा इटालीका वैज्ञानिकहरुले नक्कली र अवैध रुपमा फेला परेका कस्मेटिकका नमुनाहरु अध्ययन गर्दा त्यसमा १० प्रकारको संवदेनशील कर्टिको स्टेरोईडहरु मिश्रण गरेर बनाइएको पाइएको थियो। कर्टिकोस्टेरोईडको प्रयोगले तत्काल रुपमा छालाको समस्या समाधान गर्न प्रभावकारी पनि मान्न सकिन्छ। तर लामो समयसम्म यस्ता स्टेरोईड मिश्रण गरिएका सामग्रीहरु प्रयोग गर्दा छालामा नकारात्मक प्रभाव पार्ने, निलो डाम बस्ने, छाला बाक्लो हुने र त्यसबाहेक मधुमेह, उच्च रक्तचाप, हड्डी खिइने जस्ता रोगहरु पनि लाग्न सक्छ भनेर सन् २०१२ मा वैज्ञानिकहरुले तथ्यसहित प्रस्तुत गरेका थिए।
अक्सोबेन्जोन– सूर्यको परावैजनिक किरणबाट जोगिन प्रयोग गरिने सनस्क्रिमहरुमा Avobenzone, Oxybenzone, Octocrylene जस्ता रसायनहरुको प्रयोग हुन्छ। अक्सोबेन्जोनले हाम्रो शरीरमा प्रवेश गरी ग्रन्थीहरुमा असर पार्दछ। त्यसकारण यस्ता सनस्क्रिमहरुको प्रयोगले थाइरोइडको समस्या, प्रजनन् क्षमतामा समस्या र क्यान्सरसम्म हुन सक्ने प्रमाणहरु सन् २०२० को संयुक्त राज्य अमेरिकाको स्वास्थ्य एवं मानव सेवा विभागले उल्लेख गरेको छ।
ट्राईक्लोसान– ट्राईक्लोसानले सुक्ष्म जिवाणु मार्ने हुनाले यसको प्रयोग दन्त मञ्जन, साबुन र सरसफाईका सामग्रीहरुमा गरिन्छ। एन्टीबायोटिकको कार्यलाई यसले दुस्प्रभावित पार्ने भएकाले अमेरिकी नियामक निकायले सन् २०१७ मा यसबाट कस्मेटिक सामग्रीहरु बनाउन प्रतिबन्ध लगाएको छ।
पेट्रोलियम– क्रिम, लोसन, लिपगार्ड र अन्य थुप्रै सौन्दर्य सामग्रीमा पेट्रोलियम जेलीको प्रयोग हुन्छ। युरोपियन संघले उल्लेख गरेअनुसार यस रसायनले छालामा दीर्घकालीन असर पार्ने, शरीरभित्र सजिलै प्रवेश गर्नाले उपभोक्ताहरुमा क्यान्सर हुन सक्ने सम्भावना बढी रहन्छ।
त्यसैले सौन्दर्य सामग्री छनोट गर्दा माथि उल्लेख गरिएका बुँदाहरुमा ध्यान दिन सके, आफूले उपभोग गर्ने ति बस्तुहरुबाट सुरक्षित रहन सकिन्छ।
(लेखक: जडिबुटी विज्ञ एवं सम्बन्धित बिषयका स्वतन्त्र परामर्शदाता हुन्।)