काठमाडौं– कोजेन्ट हेल्थले इसेवासँगको सहकार्यमा ‘कोजेन्ट इलेक्टोनिक मेडिकल रेकर्ड एप’ बनाएको छ।
कोजेन्ट हेल्थले अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सम्पूर्ण विवरणलाई इलोक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा राख्न सो एप बनाएको हो।
अस्पतालमा हुने बिरामीको विवरणलाई कागजी भन्दापनि प्रविधिमैत्री बनाउने उद्देश्यले सो एप बनाएको कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले बताए। उनले उक्त प्रणाली देशभरका विभिन्न ३० वटा सरकारी अस्पतालमा सञ्चालनमा ल्याइसकेको जानकारी दिए।
अस्पतालमा उपचारका लागि आउने बिरामीको विवरणलाई उनीहरुले बनाएको सफ्टवयरमा राख्दा बिरामीको रोग लगायतका विवरणहरु अस्पतालको इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा हुने भएकाले अस्पतालको सेवा प्रवाह प्रभावकारी हुने श्रेष्ठको भनाइ छ। श्रेष्ठका अनुसार सो एप अस्पतालले आफ्नो रेकर्ड सिस्टमलाई व्यवस्थित गर्न प्रयोग गर्ने गर्छन्।
हाल अस्पतालमा प्रयोगमा आएका इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमहरु टिकट लिने र पैसा तिर्ने कामका लागि मात्र प्रयोगमा आएको भन्दै श्रेष्ठले आफ्नो कम्पनीले बनाएको हेल्थ सफ्टवयरमा बिरामीको रोगको अवस्था, मेडिकल हिस्ट्री तथा औषधि उपचार लगायत बिरामीको सबै रेकर्ड राखिने छ।
सो एप मार्फत राखिने रेकर्ड व्यवस्थित भएमा अस्पतालबाट बिरामी रेफर हुँदा वा फलोअपका लागि अस्पतालमा जाँदा बिरामीले कागजमा आफ्नो मेडिकल रेकर्ड बोक्नुपर्ने बाध्यता हुने छैन। बिरामीको सबै विवरण अस्पतालमै हुनेछ।
एप बिरामीको गोपनियता र साइबर सुरक्षा प्रणालीलाई विशेष ध्यान दिएर बनाएएकाले सुरक्षित रहेको पनि श्रेष्ठले जानकारी दिए।
सो एप सञ्चालन गर्ने अस्पतालहरुमा एप सञ्चालनका लागि अस्पतालका कर्मचारी तथा चिकित्सक, नर्सलाई तालिम समेत आफूहरुले नै दिने गरेको उनले बताए।
यसैगरी, कोजेन्ट हेल्थले अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको समेत शुरूवात गरेको छ । जसमार्फत् बिरामीले इसेवाको एपबाट आबद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गर्र्नुका साथै इसेवामार्फत् शुल्कसमेत तिर्न सक्नेछन्।
उनले आफूहरुले नेपालको हेल्थ सिस्टमलाई डिजिटल इकोसिस्टम निर्माण गर्न सहयोग पुग्ने उद्देश्यले सफ्टवयर बनाएको जानकारी दिए।
कोजेन्ट हेल्थले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माण गर्ने कार्य गर्दै आएको पनि श्रेष्ठको भनाइ छ।
कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट्स र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका १०० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेको श्रेष्ठको भनाइ छ।
उनले हेल्थ सेक्टरमा डिजिटलाइज हुन अझै बाँकी रहेको भन्दै स्वास्थ्य प्रणालीलाई डिजिटलाइज गराउन आफूहरुले विभिन्न योजना बनाएर काम गर्दै जाने बताए।
‘हेल्थ सेक्टरमा डिजिटलाइज हुन धेरै काम गर्न बाँकी छ,’ श्रेष्ठले भने, ‘उनले भने, ‘हेल्थ सिस्टमलाई डिजिटलाइज गराउन हामीले यो एप ल्याएका हौं। यसले स्वास्थ्यको सिस्टमलाई थप प्रभावकारी बनाउछ भन्ने अपेक्षा छ।’