काठमाडौं- पेशाले सञ्चार क्षेत्रमा रहेकी निश्मा ढुंगाना चौधरी मनोपरामर्शकै क्षेत्रमा औपचारिक अध्ययन गरिरहेकी थिइन्। सामाजिक सञ्जालमार्फत मनोपरामर्श पनि दिने गर्थिन्। इन्स्टाग्राममा ‘मिसिङ काउन्सिलर’को नामबाट मनोचिकित्सासँग जोडिएका पोस्टहरू गर्नेदेखि आवश्यक पर्नेलाई परामर्श दिन वा दिलाउन सक्रिय थिइन्।
अजय पाण्डेय भने विभिन्न किसिमका अनलाइन ‘स्टार्ट-अप’ गर्न सक्रिय थिए। ‘ग्लोकल’, ‘ट्रेड टक’ लगायत स्टार्ट-अपमा सहभागी थिए। प्राविधिक क्षेत्रहरूमा पनि काम गरिरहेका थिए। उनले अनलाइनकै माध्यमबाट मनोपरामर्शको काम गर्ने सोच बनाउँदै थिए।
निश्मा र अजयको पेशा फरक भए पनि सोच एउटै थियो। त्यही सोचले उनीहरुलाई एक ठाउँमा ल्यायो। अनि जन्मियो- माई सिरानी।
उनीहरुले ‘द मिसिङ काउन्सिलर’ नामक कम्पनी दर्ता गरे। उक्त कम्पनीको उत्पादनको रुपमा गत वर्ष ‘माई सिरानी’ सुरु भयो।
‘माई सिरानी भनेको इन्टरनेटको माध्यमबाट मनोपरामर्श र मानसिक स्वास्थ्यसँग सम्बन्धित काम गर्ने एउटा प्लेटफर्म हो,’ अजय भन्छन्, ‘म प्रविधिको मान्छे, निश्माजी यही क्षेत्रमा काम गरिरहनुभएको थियो। हामी दुवैको सोचलाई एक ठाउँमा लिएर मानसिक स्वास्थ्यका क्षेत्रमा केही गर्न माई सिरानी सुरु गरेका हौँ।’ माई सिरानीको सेवा एप र वेबसाइट दुवैमार्फत लिन सकिन्छ।
पछिल्लो समय विश्वभर बढिरहेको नैराश्यतालाई हेर्ने हो भने मानसिक स्वास्थ्यको अवस्था निकै नाजुक भएको अजय बताउँछन्। विकसित देशहरुमा यसलाई न्यूनिकरण गर्न अनेक उपाय निकाल्न थालिएको छ। खासगरी जनचेतनाका लागि विभिन्न ‘कन्टेन्ट’ र माध्यम तयार पारिएको छ। तर, नेपालजस्ता विकासोन्मुख देशमा मानसिक स्वास्थ्यबारे गलत जानकारी व्याप्त छन्।
‘हाम्रोमा मानसिक रोग वा मानसिक स्वास्थ्य भनेको निषेधित विषय हो, यसबारे कतै पनि बहस हुँदैन,’ अजय भन्छन्, ‘शहरी क्षेत्रमा केही मात्रामा जनचेनता जागेको छ। तर, गाउँघरमा त्यसलाई रोगको रूपमा नलिँदा पछि गम्भीर समस्या हुने गरेको छ।’ माई सिरानीले समाजमा रहेको यही भ्रमलाई चिर्न र मानसिक स्वास्थ्यबारे जानकारी दिन सेवा सुरु गरेको अजय बताउँछन्।
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना नहुँदा अनलाइनमार्फत यही क्षेत्रसँग जोडिएर काम गर्नु सहज नभएको उनीहरुको अनुभव छ। मानसिक स्वास्थ्यसँग जोडिएका समस्यामा पनि कतिपयले ‘पानी खानु’, ‘सुत्नु’ जस्ता सुझाव दिँदा बिरामी गम्भीर हुने गरेको छ।
‘केटाहरुकै सर्कलमा डिप्रेसनको समस्या हुँदा ‘एक पेग हानौ, रिल्याक्स बनौं’ भन्ने सोच छ। समाजमा पनि यस्तै सोच छ। कसैले उपचार लिइरहेको छ भने पनि ‘यो पागल भयो, पाटन लगिदिउँ’ भन्ने अवस्था छ। यो समस्या भत्काउन सहज त छैन्, तर प्रयास गर्ने हो,’ अजय भन्छन्, ‘माइ सिरानीमार्फत हामीले जनचेतना र परामर्श गरी दुई क्षेत्रमा काम गरिरहेका छौँ।’
मानसिक स्वास्थ्यसम्बन्धी रोगलाई मजाक नबनाएर उपचार आवश्यक भएको उनी बताउँछन्। ‘मानसिक स्वास्थ्यको समस्या हुँदा अन्य रोगमा जस्तै विशषज्ञकैमा गएर सहयोग लिनुपर्छ। त्यसैको लागि हामीले प्रयास गरिरहेका छौँ।’
अहिले नेपालमा इन्टरनेटको पहुँच बढिरहेको छ। गाउँमा पनि इन्टरनेट सुविधा विस्तार हुने क्रममा छ। तर, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना शहरमा मात्रै विकास हुँदै गरेको छ। अनलाइन माध्यमबाट सेवा दिँदा गाउँसम्म पुग्न सकिने अवस्था भएकै कारण माई सिरानीले प्रविधिको प्रयोग थालेको हो।
‘माइ सिरानी’ले विभिन्न ब्लग र पोस्टहरूमार्फत मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने गरेको छ। मनोपरामर्शका लागि विशेषज्ञहरूको सहयोग लिन्छ। सेवाग्राहीले एप वा वेबसाइटमार्फत नाम दर्ता गरेपछि आफूलाई आवश्यक पर्ने चिकित्सक वा परामर्शदातासँग कुराकानी गर्न सक्छन्। जसका लागि सेवाग्राहीले निश्चित रकम भने तिनुपर्छ। मानसिक स्वास्थ्य समस्या भएकाहरूले च्याट र भिडियो कलमार्फत कुरा गर्न पाउँछन्।
‘कसैलाई बोल्न समस्या भएको छ भने हामीले च्याटमार्फत पनि सेवा लिन सक्ने व्यवस्था गरेका छौं,’ अजय भन्छन्, ‘बोलेरै कुरा गर्न सहज हुनेलाई बोलेरै सेवा दिन सकिन्छ।’ प्रयोगकर्ताले जुन किसिमको सेवा लिन्छन्, त्यहीअनुसारको रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ।
कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको बेला माइ सिरानीमार्फत सेवा लिनेहरुको संख्या उल्लेख्य थियो। अहिले त्यो संख्यामा केही कमी आएको छ। तर, मानसिक स्वास्थ्य बुझ्नेहरुले अहिले पनि सेवा लिइरहेको अजय बताउँछन्।
हाल माइ सिरानीले ६ जना मनोपरामर्शदाता र एक जना मनोचिकित्सकमार्फत सेवा दिने गरेको छ। अहिलेसम्म सेवाग्राहीबाट राम्रो प्रतिक्रिया पाएकाले उत्साही भएको अजय बताउँछन्। उनी भन्छन्, ‘हामीसँग सेवा लिनेहरुमा धेरै जनाले आफूलाई निकै सहज भएको भन्नु भएको छ। अनलाइन माध्यम भएकाले आफ्नै ठाउँबाट सेवा लिन पाउनु पनि महत्वपूर्ण सुविधा हो।’