यसपालिको दशैंमा हाम्रो टिका छैन। टिका नभएका कारण पारिवारिक भ्रमणमा भारत जाने तयारी छ। टिका नहुँदा दशैंको रौनक नै कम भएको महशुस हुँदो रहेछ।
पुख्र्यौली घर पोखरा भएकाले दशैंमा म प्राय पोखरा जान्थें। घर पुगेर आफन्तहरुसँग दशैं मनाउँदाको रमाइलो नै भिन्नै प्रकृतिको हुन्थ्यो। सबै आफन्तहरुको भेला भएर घरैपिच्छे नै टिका लगाउन जाँदा त्यसले मन नै प्रफुल्ल पार्थ्यो।
दशैंको दिनमा समेत रात्रीकालीन ड्युटी
मेडिकल अफिसका रुपमा स्वास्थ्य सेवा प्रवेश गर्दाको समयमा भने धेरै दशैंतिहार जस्ता चाडपर्वमा घर नगइ बिरामीको सेवामा बिताइएको छ। दशैंको टीका समेत राती डयुटीमा खटिनुपरेका धेरै यादहरु अझै ताजा छन्। अहिले सिनियर भएको हिसाबले हामी फोनमा मात्रै डिल गर्छाैं। भौतिक रुपमा उपस्थित भएर गर्ने काम जुनियरलाई नै लगाइन्छ । पहिले हाम्रो सिनियरले जसरी हामीलाई लगाउनुहुन्थ्यो।
क्यान्सर उपचारमा पनि रेडियसनको पाटो हेर्ने भएकोले आकस्मिक कमै पर्छ। त्यसकारण पनि पछिल्ला वर्षहरुमा भने अन्य चिकित्सकलाई भन्दा मलाई केही सहज छ । यद्यपि चिकित्सक हुनुको नाताले यस्ता आकस्मिकहरुलाई पनि स्वीकार गर्न सक्नुपर्छ।
दशैंको उत्साह नै छैन
बच्चा बेलामा चाडपर्वका बेला धेरै नै उत्साह हुन्थ्यो। दशैं आउनृे समयको व्यग्र पर्खाइ हुन्थ्यो। स्कुल छुट्टी भएपछि साथीहरुसँग खेल्ने, आफन्तहरुसँग भेट्ने, मिठोमसिनो खाने र घुम्ने कुराले निकै हर्षित बनाउँथ्यो।
प्राय सवै गाउँमा हुन्थे वा फर्किन्थे । गाउँमा एक खालको माहोल हुन्थ्यो। अहिले गाउँका धेरै विदेश छन्। हाम्रा आफन्तहरु धेरै जस्तो विदेशमा नै रहेको अवस्थाका कारण पनि पछिल्लो समय चाडपर्वको रौनक घट्दै गएको छ । प्राय गाउँमा युवाहरु नहुँदा अहिलेको चाडपर्वमा गाउँघर शुन्य छन्, जसले चाडपर्वमा पहिले जस्तो उत्साह थपेको पनि पाइँदैन ।
मैलै एमबिबिएस नेपालगन्जमा बसेर अध्ययन गरेको हुँ । मेडिकल अध्ययनको समयतिर दशैंतिहार बिदामा छुट्टीमा घर आइन्थ्यो। लामो समयमा त्यतिबेला छुट्टीमा घर आउँदा अर्कै रमाइलो लाग्थ्यो।
चाडपर्व मनाउन घर जाँदा म आफू आफ्नो पेशा नै बिर्सन चाहन्छु । तर दशैं मनाउन जम्मा भएका आफन्त तथा साथीभाइहरुले मेरो विशेषज्ञतासँग सम्बन्धि प्रसंग झिकिहाल्नुहुन्छ । प्रश्न गरेर मलाई आफ्नो पेशा सम्झाइ दिनुहुन्छ। धेरैले आफ्ना स्वास्थ्य समस्याबारे मलाई जिज्ञासा राख्ने गर्छन्। ज्ञानको कुरा हो, भन्दिनँ भन्न पाइएन। कहिलेकाहिँ भने दिक्क पनि लाग्दो रहेछ। जतिबेला पनि बिरामी तथा स्वास्थ्यका कुरा गर्नुपर्दा आफ्नो चिकित्सकको रुपमा परिचय नै नभएको कुनै ठाउँमा जान पाए हुने भन्ने महशुस पनि हुने रहेछ।
दशैं मनाउँदा क्यान्सर बिरामीले ख्याल गरौं
क्यान्सरको सक्रिय उपचारका क्रममा रहेका बिरामीहरुले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । त्यस्ता बिरामीहरुको पाचन प्रणाली कमजोर हुने भएकोले धेरै माछामासुको सेवन गर्नुहुँदैन।
क्यान्सरका बिरामीले औषधि तथा किमोथेरापीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। काँचो खानेकुराको नपच्ने भएकोले नखान सुझाव दिइएको हुन्छ। त्यसलाई अपनाउनुपर्छ।
माछामासुले कब्जियत बढाउने भएकोले सलादको सेवन पनि गर्नुपर्छ । पोलेको मासु कम सेवन, मद्यपान तथा धुम्रपान लगायतका कुराहरु विशेष ध्यान दिनुपर्छ।
क्यान्सर उपचारपश्चात सामान्य जीवन बिताइरहेकाहरुले पनि यी कुराहरु पालना गर्नु आवश्यक छ।
यस्तै यस्तै कारण तथा टिका पनि नभएका कारण यसवर्षको दशैंमा परिवारसहित भारत भ्रमणको तयारी गरेको हुँ ।